
News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेस एक्सले मंगल ग्रहमा मानिस पठाउने योजनामा काम गरिरहेको छ र यससँगै अन्तरिक्षमा गर्भावस्था र बच्चा जन्माउने जोखिमबारे प्रश्न उठेका छन्।
- अन्तरिक्षमा सूक्ष्म गुरुत्वाकर्षणले गर्भाधारण र भ्रूण विकासमा असर पुर्याउन सक्छ भने विकिरणले कोशिकामा क्षति पुर्याउने खतरा हुन्छ।
- अहिलेसम्म मानव जाति अन्तरिक्षमा सुरक्षित गर्भावस्था र बच्चा जन्माउन तयार छैन र यो जोखिमयुक्त प्रक्रिया नै रहनेछ।
एलन मस्कको कम्पनी स्पेस एक्सलगायतले मंगल ग्रहमा मानिस पठाउने योजनामा काम गरिरहेका छन् । योसँगै मंगल मिसनसँग सम्बन्धित विभिन्न सवालहरु पनि बढिरहेका छन् । मंगल ग्रहमा जान-आउनका लागि यतिधेरै लामो समय लाग्दछ कि त्यहाँ जाने महिला अन्तरिक्षयात्रीहरू गर्भवती भएर बच्चाको जन्म दिउन्जेलसम्म अन्तरिक्षयात्रामा रहनुपर्ने हुनसक्छ । यस्तो अवस्थामा के अन्तरिक्षमा गर्भावस्था सुरक्षित हुन्छ ? अन्तरिक्षमा बच्चा जन्माउन सम्भव हुन्छ ? अनि त्यहाँ जन्मिने बच्चामा के असर पर्दछ ? भन्ने लगायतका प्रश्न उठ्नु स्वभाविक छ ।
यी सवालहरु सुन्नमा अनौठा लाग्न सक्दछन् । तर वैज्ञानिकहरुले यही प्रश्नको जवाफ खोजिरहेका छन्। आखिर अन्तरिक्षमा बच्चा जन्माउनुका जोखिम के कस्ता हुन्छन् अनि त्यो कसरी सम्भव हुनसक्छ ?
गर्भावस्था : पृथ्वी र अन्तरिक्षसम्म
हामीमध्ये धेरैले आफू जन्मनुभन्दा अगाडि कतिधेरै जोखिमबाट गुज्रियौं भन्ने कुरा सोंचेका हुँदैनौं । तथ्यांक अनुसार गर्भाधान भएका मानव भ्रूणमध्ये करिब दुई तिहाई अर्थात् ६६ प्रतिशत गर्भमै खेर जान्छन्, त्यो पनि केही हप्ताभित्रै र स्वयं गर्भवती महिलालाई नै जानकारी नभइकन । भ्रूण राम्रोसँग नबन्दा तथा पाठेघरको भित्तामा राम्रोसँग नटाँसिएमा यसरी सहजै गर्भ खेर जान्छ ।
गर्भावस्थालाई एक श्रृंखलाको रुपमा बुझ्न सकिन्छ । जसमा हरेक चरणहरु सही क्रममा तथा सफलतापूर्वक पूरा हुनु आवश्यक रहन्छ । पृथ्वीमा डाक्टर तथा वैज्ञानिकहरुले यसको सम्भावनाको आँकलन गर्न सक्दछन् । तर अन्तरिक्षमा गर्भावस्थाका ती चरणहरु कत्तिको सुरक्षित हुन्छन् भन्ने कुरा बताउन गाह्रो छ ।
अन्तरिक्षमा सुक्ष्म गुरुत्वाकर्षण (माइक्रो ग्रेभिटी) का कारणले शरीरको सन्तुलन नै बिग्रिने हुनाले गर्दा गर्भाधारण गर्नु केही कठिन हुन्छ । तर एकपटक गर्भाशयमा भ्रूण टाँसिएपछि गर्भको भ्रूणलाई कायम राख्न खासै समस्या हुँदैन ।
गर्भाधारण र गर्भ हुर्काउन अन्तरिक्षमा तुलनात्मक रुपमा सहज हुने भएपनि बच्चा जन्माउन र त्यसको हेरचाह गर्ने कुरा निकै नै कठीन हुन्छ । अन्तरिक्षमा गुरुत्वाकर्षण हुँदैन । त्यसैले त्यहाँ तरल पदार्थ पनि तैरिन्छ र मानिसपनि तैरिनु पर्दछ । जसले गर्दा बच्चा पाउने तथा हुर्काउने काम पृथ्वीको तुलनामा अन्तरिक्षमा निकै अस्वस्थ र जटिल हुनसक्छ ।
गर्भमा सूक्ष्म गुरुत्वाकर्षणको असर
अनौठो त के भने पृथ्वीमा समेत भ्रूण पहिलेदेखि नै सूक्ष्म गुरुत्वाकर्षणको जस्तै स्थितिमा रहन्छ । गर्भमा रहँदा भ्रूण एम्नियोटिक तरल पदार्थमा तैरिन्छ, जसले भ्रूणलाई हलुका र सुरक्षित राख्दछ । अन्तरिक्षयात्रीहरुलाई पानीको ट्यांकीमा तालीम सोही कारणले दिइएको हुन्छ ताकि उनीहरुले तौलविहीनताको अनुभव गर्न सकुन् । त्यसैले गर्भ पनि एक प्रकारको माइक्रोग्रेभिटीकै प्रतिरुप हो । तर गुरुत्वाकर्षण केवल एक पहलु हो । वास्तविक खतरा चाहीँ अरु नै छन् ।
विकिरण : अन्तरिक्षको ठूलो खतरा
पृथ्वीभन्दा बाहिर सबैभन्दा खतरनाक चिज भनेको कस्मिक किरणहरू हुन् । यी उच्च ऊर्जायुक्त कण हुन्, जो करिब प्रकाशकै गतिमा अन्तरिक्षमा दौडिन्छन् । यी त्यस्ता परमाणु हुन् जसको इलेक्ट्रोन निस्किएर गएको हुन्छ र केवल प्रोटोन तथा न्युट्रोनको घना हिस्सामात्रै बाँकी रहेको हुन्छ । जब यी मानव शरीरसँग ठोक्किन्छन्, तब कोशिकाहरुमा असर पुग्दछ ।
पृथ्वीमा यसको मोटो वायुमण्डलीय पत्र तथा चुम्बकीय क्षेत्रले हामीलाई यस्ता विकिरणयुक्त कस्मिक किरणबाट बचाउँछ । तर अन्तरिक्षमा भने यस्तो सुरक्षा हुँदैन । जब यी विकिरणहरु हम्रो शरीरको सम्पर्कमा आउँछन् तब परमाणुहरुसँग ठक्कर खाई इलेक्ट्रोन निकाल्न सक्छन् अनि कोशिकाहरुमा क्षति पुग्दछ । यदि यी विकिरण डिएनएसँग ठक्कर खाएमा क्यान्सरको खतरा पनि बढ्दछ ।
गर्भावस्थाको सुरुका हप्ताहरुमा भ्रूणका कोशिकाहरू तीव्र गतिमा बढ्दछन् । त्यसबेला एउटा कस्मिक किरणको प्रत्यक्ष सम्पर्कले भ्रूणलाई मार्न सक्दछ । यदि त्यस्तो भएमा गर्भ तुहिन सक्छ, जुन पत्ता पनि नलाग्न सक्छ ।
गर्भावस्थामा विकिरणको जोखिम
जब गर्भको भ्रूणको वृद्धि हुन्छ, तब जोखिमको प्रकारमा पनि परिवर्तन आउँछ । पहिलो तीन महिनापछि सालनाल अर्थात् प्लासेन्टा बन्दछ जसले आमा र बच्चाको बीचमा रक्तप्रवाह सुरु गर्दछ । त्यसपछि बच्चा र र गर्भाशय तीव्र गतिमा बढ्छ । यदि कस्मिक किरण गर्भाशयको मांसपेशीसँग ठोक्किएमा यसले संकुचन पैदा गर्नसक्छ । जसका कारण समय नपुग्दै बच्चा जन्मिने हुनसक्छ, जसलाई प्रिमेच्योर डेलिभरी भनिन्छ । पृथ्वीमा पनि गर्भावस्था तथा प्रसवका जोखिम हुन्छन् । तर अन्तरिक्षमा यी जोखिम अझै धेरै बढ्दछन् । तथापि अन्तरिक्षमा बच्चा जन्माउन पूर्ण रुपमा असम्भव हुन्छ भन्ने होइन ।
जन्मपछिको विकास
अन्तरिक्षमा जन्मिएपछि पनि बच्चा सुक्ष्म गुरुत्वाकर्षणमा बढ्नेछ, जसले बच्चाको शारीरिक विकासमा असर पार्नसक्छ । टाउको उठाउने, बस्ने, घुमफिर गर्ने, घुम्ने जस्ता मानवीय स्वचालित क्रियाकलापहरु गुरुत्वाकर्षणमा निर्भर हुन्छन् । अन्तरीक्षमा तल–माथिको अनुभव नहुने हुनाले पृथ्वीमा विकसित हुने त्यस्ता सीपहरु फरक तरिकाले विकसित हुनसक्छन् र नहुन सक्छन् ।
बच्चा जन्मिसकेपछि पनि विकिरणको खतरा समाप्त हुँदैन । बच्चाको मस्तिष्क जन्मपछि पनि वृद्धि हुन्छ । लामो समयसम्म कस्मिक विकिरणको सम्पर्कमा रहनाले मस्तिष्कमा असर पर्नसक्छ । यसबाट स्मरण शक्ति, व्यवहार तथा दीर्घकालीन स्वास्थ्यमा असर पर्नसक्छ ।
के अन्तरिक्षमा बच्चा जन्मिन सक्छ ?
सिद्धान्तत: यसलाई नकार्न सकिंदैन । तर, अहिलेसम्म मानव जाति त्यसका लागि तयार भैसकेको छैन । जबसम्म हामीले भ्रूणलाई विकिरणबाट जोगाउन सक्दैनौं र अवधि नपुग्दैको प्रसव रोक्न सक्दैनौं तबसम्म अन्तरिक्षमा गर्भाधारण निकै जटिल हुन्छ । सूक्ष्म गुरुत्वाकर्षमा बच्चाको सुरक्षित विकास सुनिश्चित हुन सक्दैन । त्यसैले अन्तरीक्षमा गर्भावस्था एक जोखिमयुक्त प्रयोगको रुपमा रहनेछ ।
प्रतिक्रिया 4