News Summary
Generated by OK AI. Editorially reviewed.- पिन्ट्रेस्टले आफ्नो सिफारिस प्रणालीमा चिनियाँ एआई मोडेलहरू प्रयोग गर्दै आएको छ र सन् २०२५ को जनवरीमा डिपसिक आर-१ मोडेल सार्वजनिक भएको थियो।
- चिनियाँ एआई मोडेलहरू अमेरिकी मोडेलको तुलनामा छिटो, सस्तो र सजिलै कस्टमाइज हुने भएकाले धेरै अमेरिकी कम्पनीहरूमा लोकप्रिय छन्।
- स्ट्यानफोर्ड विश्वविद्यालयको रिपोर्ट अनुसार चिनियाँ ओपन सोर्स एआई मोडेलहरूले विश्वका अन्य मोडेलसँग बराबरी वा अग्रता हासिल गरिसकेका छन्।
हरेक महिना करोडौँ प्रयोगकर्ताहरू नयाँ-नयाँ फेसन र सिर्जनात्मक आइडिया खोज्दै सोसल मिडिया प्लेटफर्म पिन्ट्रेस्टमा प्रवेश गर्छन्।
यस प्लाटफर्ममा ‘दी मस्ट रिडी क्युलस थिंग्स’ नामको एउटा पेज छ, जहाँ कल्पनाशील मानिसहरूका लागि अनगिन्ती फरक र रोचक उदाहरणहरू भेटिन्छन् । जसमा जाली चप्पलका फूलदानीदेखि चीजबर्गरजस्तै देखिने आइ स्याडो अनि तरकारीबाट तयार गरिएको जिन्जरब्रेड घर लगायतका छन् ।
अमेरिकी सोसल मिडिया कम्पनी पिन्ट्रेस्टमा त्यस्ता सामग्री सिफारिस गर्ने प्रविधि कहाँ विकसित भएको हो सायद धेरैलाई थाहा नै छैन । वास्तवमा पिन्ट्रेस्टले आफ्नो सिफारिस प्रणालीलाई अझ स्मार्ट बनाउन चिनियाँ एआई मोडेलहरूको प्रयोग गर्दै आएको छ ।
कम्पनीका सीईओ बिल रेडीका अनुसार उनीहरूले पिन्ट्रेस्टलाई अहिले एउटा एआई-सञ्चालित शपिङ असिस्टेन्टको रूपमा विकास गरिरहेका छन् ।
यस्तो उक्त सोसल मिडिया प्लटेफर्मले पर्दा पछाडिको त्यस प्रविधिका लागि आफ्नो इच्छाअनुसार कुनैपनि अमेरिकी एआई कम्पनी रोज्न सक्थ्यो।
तर सन् २०२५ को जनवरीमा चीनको डिपसिक आर-१ मोडेल सार्वजनिक भएपछि पिन्ट्रेस्टमा चिनियाँ एआई प्रविधिको प्रयोग र प्रभाव लगातार बढ्दै गएको छ।
‘डिपसिक मोमेन्ट’
सिइओ रेडीले उक्त ‘डिपसिक मोमेन्ट’ लाई ठूलो उपलब्धि भनेका छन् । उनका अनुसार डिपसिकलाई चिनियाँ कम्पनीले ओपन सोर्स बनाएसँगै ओपन सोर्स एआई मोडेलहरूको नयाँ लहर सुरु भएको हो।
चीनका प्रतिस्पर्धी कम्पनीहरूमा अलिबाबाको ‘क्वेन’ र मूनशटको ‘किमी’ छन् । साथै टिकटकको मातृ कम्पनी बाइटडान्सले पनि यस्तै प्रविधिमा काम गरिरहेको छ।
पिन्ट्रेस्टका प्रमुख प्रविधि अधिकृत म्याट म्याड्रिगलका अनुसार यी मोडेलहरूको सबैभन्दा ठूलो फाइदा भनेकै यसलाई कुनै रोकावटबिना डाउनलोड गरेर आफ्नो आवश्यकताअनुसार सजिलै कस्टमाइज गर्न सक्नु हो । जबकि च्याटजिपिटी निर्माता ओपनएआईका एआई मोडेलमा यस्तो सुविधा हुँदैन।
म्याड्रिगल भन्छन्- हामीले प्रयोग गर्ने ओपन सोर्स मोडेलबाट प्रशिक्षण दिइएका इनहाउस मोडेलहरूले बजारमा उपलब्ध शीर्ष रेडिमेड मोडेलहरूको तुलनामा करिब ३० प्रतिशत बढी सटिकता प्रदर्शन गर्दछन् ।
त्यसैगरी त्यस्तो उन्नत खालको रिकमेन्डेसन प्रणाली निकै कम लागतमा कम्पनीलाई उपलब्ध हुन्छ । र अमेरिकी एआई मोडेलको तुलनामा करिब ९० प्रतिशत सस्तोमा तयार हुन्छ।
‘छिटो र सस्तो’
चिनियाँ एआई प्रविधिमा निर्भर भइरहेका अमेरिकी कम्पनीहरूमा केवल पिन्ट्रेस्ट मात्र होइन । फर्च्युन म्यागेजिनको सूचीमा रहेका शीर्ष ५०० कम्पनीहरूमध्ये धेरैमा यस्ता चिनियाँ एआई मोडेलहरू तीब्ररूपमा लोकप्रिय बनिरहेका छन्।
एयरबीएनबीका सीईओ ब्रायन चेस्कीका अनुसार आफ्नो एआई कस्टमर सर्भिस एजेन्ट सञ्चालन गर्न एयर बिएनबी धेरै हदसम्म अलीबाबाको ‘क्वेन’ मोडेलमा निर्भर रहेको छ।
उनका अनुसार यसका तीनवटा मुख्य कारण छन्- यो धेरै राम्रो, छिटो र सस्तो छ।
यो तथ्य हगिंग फेस नामक प्लेटफर्ममा पनि देख्न सकिन्छ । यो त्यस्तो ठाउँ हो जहाँबाट प्रयोगकर्ताहरूले तयारी अवस्थाका एआई मोडेलहरू डाउनलोड गर्छन्, । यसमा मेटा र अलीबाबा जस्ता ठूला डेभलपर्सका एआई मोडेलहरू पनि समावेश छन्।

प्लेटफर्मका प्रोडक्ट हेड जेफ बूडियरका अनुसार सस्तो मूल्यका कारण नयाँ स्टार्टअप कम्पनीहरूले अमेरिकी मोडेलहरूको सट्टा चिनियाँ मोडेलहरूमा बढी विश्वास गर्दछन् ।
बूडियर भन्छन्– यदि तपाईं हगिंग फेसमा सबैभन्दा ट्रेन्डिङ मोडेलहरू हेर्नुभयो भने शीर्ष १० मा अधिकांश चिनियाँ एआई मोडेलहरू नै देख्नुहुन्छ।
उनका अनुसार कहिलेकाहीँ त शीर्ष ५ ट्रेनिङ मोडेलमध्ये चारवटा चिनियाँ ल्याबका हुन्छन् ।
गत सेप्टेम्बरमा हगिंग फेस प्लाटफर्ममा अलिबाबाको एआई मोडेल ‘क्वेन’ ले मेटाको ‘एलएलएएमए’ लाई पछि पारेको थियो।
मेटाले आफ्नो ओपन सोर्स एलएलएएमए मोडेल सन् २०२३ मा रिलिज गरेको थियो । डिपसिक र अलिबाबाका नयाँ मोडेलहरू बजारमा नआउँदासम्म डेभलपर्सका लागि मेटाको उक्त ओपनसोर्स एआई मोडेल प्रमुख रोजाइ थियो।
तर गत वर्ष रिलिज भएको एलएलएएमए-4 ले डेभलपर्सलाई खासै आकर्षित गर्न सकेन । समाचारका अनुसार मेटाले अहिले उल्टै अलिबाबा, गुगल र ओपनएआईका ओपन सोर्स मोडेलहरूको प्रयोग गरेर आफ्ना नयाँ एआई मोडेलको प्रशिक्षण गर्न थालेको छ। उसको नयाँ एआई मोडेल निकट भविष्यमै सार्वजनिक हुने बताइएको छ।
चिनियाँ सफलता
सन् २०२५ को सुरुवाततिर आम धारणा थियो कि, अमेरिकी प्रविधि कम्पनीहरूले अरबौं डलर खर्च गरिरहेको भए पनि चिनियाँ कम्पनीहरू ती भन्दा अघि बढ्ने बाटोमा छन् ।
तर अहिले अवस्था फरक भइसकेको र सबैभन्दा उत्तम मोडेलको रूपमा ओपन सोर्स मोडेल बनेको बुडिएरको तर्क छ।
स्ट्यानफोर्ड विश्वविद्यालयको पछिल्लो रिपोर्टअनुसार चिनियाँ एआई मोडेलहरूले प्रयोगकर्ता तथा क्षमताका आधारमा विश्वका अन्य एआई मोडेलसँग बराबरी गरिसकेका छन् अनि कतिपय त अगाडि बढिकसेका छन् ।
हालै बीबीसीलाई दिएको अन्तर्वार्तामा बेलायतका पूर्व उप-प्रधानमन्त्री सर निक क्लेगले भनेका छन्- अमेरिकी कम्पनीहरू यस्तो एआईका पछाडि आवश्यकता भन्दा बढी कुँदिरहेका छन् जसले मानव बुद्धिलाई माथ दिन सकोस् ।
सर निकले गतवर्ष मात्रै मेटा कम्पनीको ग्लोबल अफेयर्स विभागको प्रमुखबाट राजीनामा दिएका थिए।
मेटाका सीईओ मार्क जुकरबर्गले ‘सुपर इन्टेलिजेन्स’ हासिल गर्न अरबौं डलर लगानी गर्ने बाचा गरेका छन् । तर धेरै विशेषज्ञहरूका अनुसार यस्ता महत्त्वाकांक्षी लक्ष्यहरू स्पष्ट रूपमा परिभाषित छैनन् । अमेरिकी कम्पनीहरूको सोही अष्पष्टताको कारणले गर्दा चिनियाँ कम्पनीहरूलाई ओपन सोर्स एआईमा खुला अवसर र अग्रता मिलिरहेको छ ।
सर निक भन्छन्- बिडम्बना यो छ कि विश्वको सबैभन्दा ठूलो तानाशाही भनिएको चीन र ‘विश्वको सबैभन्दा ठूलो लोकतन्त्रिक मुलुक भनिएको अमेरिका बीचको प्रतिस्पर्धामा चीनले यो प्रविधिलाई बढी लोकतान्त्रिक बनाइरहेको छ ।
स्ट्यानफोर्ड विश्वविद्यालयको रिपोर्ट अनुसार चिनियाँ ओपन सोर्स मोडेलहरूको सफलताका पछाडि त्यहाँको सरकारले गरिरहेको सहयोग पनि एक ठूलो कारण हुनसक्छ ।
अर्कोतर्फ ओपनएआई जस्ता अमेरिकी कम्पनीहरूमाथि छिटै आम्दानी गर्ने र नाफा कमाउनुपर्ने दबाब छ । जसका कारण कम्पनी पछिल्लो समय विज्ञापनमा निर्भर हुन थालेको छ ।
ओपनएआईले गत वर्ष दुई वटा ओपन सोर्स एआई मोडेल रिलिज गरेको थियो । तर उसले पैसा कमाउनकै लागि आफ्नो अधिकांश स्रोत महँगा तथा स्वामित्वयुक्त मोडेलहरूमा लगाएको छ।
ओपनएआईका सीईओ स्याम अल्टम्यानले ओपन एआई कम्पनीले निरन्तर रूपमा अधिक कम्प्युटिङ पावरको विकास तथा साझेदारहरूसँगको पूर्वाधारमा लगानी गरिरहेको गत अक्टोबरमा बताएका थिए।
उनले भनेका थिए, ‘आम्दानी छिटो बढ्नेछ । तर तपाइँले के विश्वास राख्नुपर्छ भने हामीले नयाँ मोडेल, त्यसपछि अझै नयाँ र त्यसभन्दा पनि नयाँ मोडेलको प्रशिक्षणमा ठूलो लगानी जारी राख्नेछौं।’
बीबीसीबाट
प्रतिक्रिया 4