+
+
Shares

एआई कम्पनीमा इलेक्ट्रिसियन र प्लम्बरको अभाव, इन्जिनियर फालाफाल

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते ११:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एआई कम्पनीहरूले उत्कृष्ट सफ्टवेयर इन्जिनियर मात्र नभई इलेक्ट्रिसियन, प्लम्बर र प्राविधिकहरूको अभावले पनि प्रभावित भएका छन्।
  • अमेरिकी श्रम तथ्यांक ब्युरोले सन् २०३४ सम्म एआई उद्योगमा हरेक वर्ष औसतमा ८१ हजार इलेक्ट्रिसियनको अभाव रहने जनाएको छ।

उत्कृष्ट सफ्टवेयर इन्जिनियर र अनुसन्धानकर्ता भित्राउनका लागि एआई कम्पनीहरूले करोडौँ खर्च गरिरहेका छन् । तर पछिल्लो समयमा त्यस्ता अत्याधुनिक प्रविधिका दक्ष जनशक्तिको होइन इलेक्ट्रिसियन, प्लम्बर र साधारण प्राविधिकहरूको अभावले पनि उनीहरूलाई असर पार्न थालेको छ।

एआईको क्षेत्रमा ट्यालेन्ट वार अर्थात् प्रतिभा युद्धको चर्चा प्रायः सफ्टवेयर इन्जिनियर र अनुसन्धान वैज्ञानिकको क्षेत्रमा मात्रै सीमित हुने गर्थ्यो । मेटा र ओपनएआईजस्ता कम्पनीहरूले उत्कृष्ट एआई प्रतिभा तान्न करोडौँ डलरका आकर्षक प्याकेजहरू दिइरहेका छन् । तर यस प्रतिस्पर्धाको एउटा महत्वपूर्ण पाटो प्रायः ओझेलमा पर्छ ।

एआईको दौडमा तीव्र र दक्ष सफ्टवेयर इन्जिनियरहरू जति आवश्यक छन्, त्यत्तिकै ठूलो मात्रामा विशाल डेटा सेन्टरहरू निर्माण र सञ्चालन गर्न दक्ष इलेक्ट्रिसियन, प्लम्बर तथा हिटिङ-कुलिङ टेक्निसियनहरूको माग पनि तीव्र रूपमा बढिरहेको छ।

समस्या कति गम्भीर ?

अमेरिकी श्रम तथ्यांक ब्युरोका अनुसार एआई उद्योगमा सन् २०३४ सम्म हरेक वर्ष औसतमा ८१ हजार जना इलेक्ट्रिसियनको अभाव कायम रहनेछ । आगामी दशकमा इलेक्ट्रिसियनहरूको संख्यामा ९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यो अन्य अधिकांश पेशाहरूको औसत वृद्धिभन्दा निकै बढी हो ।

म्याकिन्सेको एक प्रतिवेदनले त अझै गम्भीर अवस्था देखाउँछ । प्रतिवेदनअनुसार, सन् २०३० सम्म अमेरिकालाई थप १ लाख ३० हजार प्रशिक्षित इलेक्ट्रिसियन, २ लाख ४० हजार निर्माण श्रमिक तथा डेढ लाख जना निर्माण सुपरभाइजरहरूको आवश्यकता पर्नेछ ।

डेटा सेन्टरका कारण बढ्दो माग

अमेरिकाभर तीव्र गतिमा निर्माण भइरहेका एआई डेटा सेन्टरहरू नै यस्तो बढ्दो मागको मुख्य कारण मानिँदै आएका छन् । इन्टरनेशनल ब्रदरहुड अफ इलेक्ट्रिकल वर्कर्सका अनुसार धेरै क्षेत्रमा एउटै डेटा सेन्टर परियोजनाका लागि अमेरिकामा हालका इलेक्ट्रिसियनको सङ्ख्याभन्दा दुईदेखि चार गुणासम्म बढी कामदार आवश्यक परिरहेको छ ।

अहिले कुनै पनि एउटा उद्योगभन्दा धेरै जनशक्तिको माग डेटा सेन्टरको क्षेत्रबाट आइरहेको छ । एआई प्रणाली सञ्चालन गर्न अत्यधिक मात्रामा बिजुली चाहिने भएकाले थप जनशक्तिको आवश्यकता बढेको हो।

कतिपय प्रविधि कम्पनीहरूले यस्तो अभावका विषयमा पहिल्यै चेतावनी दिइसकेका छन् । गुगलले गतवर्ष इलेक्ट्रिकल ट्रेनिङ अलायन्सलाई कोष उपलब्ध गराउने घोषणा गरेको थियो । जसको उद्देश्य सन् २०३० सम्म १ लाख जना वर्तमान इलेक्ट्रिसियनलाई नयाँ सीप प्रदान गर्नु र ३० हजार जना नयाँ जनशक्ति तयार गर्नु हो ।

हरेक क्षेत्रमा कामदारको कडा प्रतिस्पर्धा

डेटा सेन्टर निर्माण गर्ने कम्पनीहरूले हाउजिङ, अस्पताल, कारखाना र ऊर्जा परियोजनाका क्षेत्रमा पनि दक्ष कामदार पाउनका लागि संघर्ष गर्नुपरिरहेको छ । रिपोर्टहरूका अनुसार पहिले यस्तो सीपमूलक प्राविधिक क्षेत्रका कामदारहरूले आफ्नो सीप अर्को पुस्तालाई हस्तान्तरण गर्थे । तर अहिले धेरैजसोले आफ्ना सन्तानलाई कलेज डिग्री पढ्न सल्लाह दिने गरेका छन् । यसको परिणामस्वरूप सबैभन्दा अनुभवी कामदारहरू अहिले अवकाशको उमेरमा पुगेका छन् ।

सफ्टवेयर उद्योगतर्फ बढ्दो झुकाव : घट्दो सीप-आधारित श्रम

यस संकटको एउटा ठूलो कारण युवाहरूमा सफ्टवेयर उद्योगका रोजगारीप्रति बढ्दो आकर्षण पनि हो । पुराना र अत्यन्त अनुभवी श्रमिकहरूले अवकाश लिँदै गएका छन्। अर्कोतर्फ पछिल्ला केही दशकदेखि नयाँ पुस्तालाई चार वर्षे कलेज डिग्री लिन प्रोत्साहन गरिँदै आएकोले सीप-आधारित पेशातर्फ युवाहरूको रुचि घट्दै गयो । अहिले त्यही प्रवृत्तिको प्रत्यक्ष असर दक्ष श्रमिकको अभावका रूपमा देखिन थालेको छ।

भविष्यमा एआईले धेरै काम आफैं गर्न थाले पनि एआईलाई सञ्चालन गर्ने डेटा सेन्टरहरू निर्माण गर्न मानवीय हातहरूको नै आवश्यकता हुनेछ । अहिलेको अवस्था यस्तो छ कि एकातिर करोडौँ पारिश्रमिक प्राप्त गर्ने कोडरहरू छन् भने अर्कोतिर उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने ती मिस्त्रीहरू पनि छन्, जो बिना एआईको ‘स्विच’ नै अन हुन सक्दैन ।

(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?