News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री करिश्मा मानन्धरले बुधबार आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतमा सिर्जना गरिएका आफ्ना फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरिन्।
- करिश्माले एआई फोटोमा रङ्ग संयोजन, प्रकाश व्यवस्था र पहिरनका लागि उत्कृष्ट आइडिया भएको उल्लेख गरिन्।
- उनले जेनजी आन्दोलनपछि एमाले पार्टीमा नरहने घोषणा सामाजिक सञ्जालबाटै गरिसकेकी छिन्।
काठमाडौं । आर्टिफिसियल इन्टिलिजेन्स (एआई) ले सर्वसाधारणदेखि सेलिब्रेटीलाई धेरै कुरामा सजिलो बनाएको छ । कुराकानी, फोटो र भिडियो आफूले दिएको प्रम्टको आधारमा सम्पादनदेखि, रुचि र चाहना केलाउन पनि कृत्रिम बुद्धिमत्ताको प्रयोग ब्यापक हुन थालेको देखिन्छ ।
कतिपय सेलिब्रेटीले एआईको मद्दतमा बनाइएका फोटो सामाजिक सञ्जालमा सेयर गर्ने क्रम बढ्न थालेको देखिन्छ । आफ्नो रुचिअनुसारको फोटो बनाउन कलाकारले पछिल्लो समय एआईको साथ लिन खोजिरहेका छन् ।
अभिनेत्री करिश्मा मानन्धरले बुधबार एआईको मद्दतमा सिर्जना गरिएका आफ्ना फोटोलाई सार्वजनिक गरेकी छन् । वास्तविक जीवनमा समेत सुन्दर देखिने करिश्माको एआई फोटोमा अझै सौन्दर्य थपिएको देखिन्छ ।
ती फोटो सेयर गर्दै करिश्मा लेख्छिन्, ‘रमाइलो । एआईको कमाल- न फोटोग्राफर, न लोकेसन, न लाइटिङ, न फोटोसुटको झन्झट । रङ्ग संयोजन, प्रकाश व्यवस्था र पहिरनका लागि उत्कृष्ट आइडिया । सिर्जनात्मकताका लागि धेरै कुरामा आइडिया लिन सकिन्छ ।’
यसबाहेक करिश्माले पछिल्लो समय घुमघामका आकर्षक फोटो पनि पोस्ट गरिरहेकी छिन् । हालै उनी छोरी र साथीहरूसँग थाइल्यान्ड घुमघाममा ब्यस्त थिइन् । यसरी हेर्दा उनी पछिल्लो समय फुर्सदमा देखिन्छिन् । जेनजी आन्दोलनपछि करिश्माले सामाजिक सञ्जालबाटै आफू एमाले पार्टीमा नरहने घोषणा गरेकी थिइन् ।






प्रतिक्रिया 4