News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको ईश्वरपुर नगरपालिका-२ राईटरखोट टोलमा ५२ वर्षीय वन चौकीदार रामेश्वर महतोको हत्या भएको छ।
- हत्या अभियोगमा गाउँकै रुपनारायण महतोको छोरा रामवली महतोलाई प्रहरीले पुस १९ गते पक्राउ गरेको छ।
- रामवलीले टिक र मसलाको काठ चोरी गर्ने क्रममा रामेश्वरले सम्झाएपछि रिसले हत्या गरेको प्रहरीले खुलाएका छन्।
२४ पुस, जनकपुरधाम । सर्लाहीमा तस्करहरूले वन चौकीदारको हत्या गरेको खुलेको छ । गत पुस १९ गते सर्लाहीको ईश्वरपुर नगरपालिका- २ राईटरखोट टोल घर भएका सागरनाथ वन विकास परियोजनाका चौकीदार ५२ वर्षीय रामेश्वर महतोको घाँटी छिनाएर हत्या भएको थियो ।
उनको हत्या अभियोगमा गाउँकै रुपनारायण महतोको छोरा रामवली महतोले गरेको पुष्टि भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राइले जानकारी दिए ।
उनलाई प्रहरीले सोही दिन शंकाको आधारमा घरबाटै पक्राउ गरेको थियो । राईटरखोर घाट टोलको सागरनाथ वन विकास परियोजना भक्तिपुरको प्लट नम्बर १० को जङ्गलमा रहेको वनमाराको झाडीमा रामेश्वरको टाउको विनाको शव फेला परेको थियो ।
घटनास्थलबाट ७७ मिटर पूर्व NEKISOO लेखिएको कालो रंगको एक जोर चप्पल, घटनास्थलमा रगत लागेको बन्चरो फेला परेको थियो । चप्पल र बञ्चरोको आधारमा अनुसन्धान गर्दा घटनामा रामवलीको संलग्नता हुन सक्ने प्रहरीको आशंका थियो ।
उनी जङ्गलमा काठ दाउरा काटन जाँदा यही बन्चरो बोकेर जाने गरेको खुलेको थियो । त्यस बेलै घरमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
घर खानतलासी गर्दा सुत्ने कोठा भित्र काठको हेङगरमा माथि ज्याकेट र जिन्स पाईन्टमा अगाडीको भागमा रगत जस्तो रातो दाग देखिएको थियो ।
अनुसन्धानमा रामवली धेरै पटक जंगलमा प्रवेश गरेर टिक र मसलाको रुख काटी चोरी गर्ने क्रममा रामेश्वरले पटक पटक सम्झाउने गरेका थिए ।
स्थानीयका अनुसार एक पटक काठ काट्दै गर्ने क्रममा रामवलीलाई पक्राउ गर्न खोज्दा दुबैजनाबीच जङ्गल भित्र लछारपछार भएको थियो र रामवली भागेका थिए ।
रामवली महतोले सागरनाथ वन विकास परियोजनाको जंगलबाट टिकको काठ काटी चोरी गरी दाउरा चिरी बेच्नको लागी राखेकोले भन्ने कुरा रामेश्वरले थाहा पाएपछि घटना हुनु भन्दा ४/५ दिन अगाडी रामेश्वरले दाउरा उठाएर लगेका थिए ।
सो रिसमा रामवलीले रामेश्वरलाई काट्छु भन्ने धाक धम्की दिएको पत्ता लागेको प्रहरीले बताएका थियो ।
रामवलीलाई १९ गते नै पक्राउ गरी ज्यान मार्ने कसूरमा ६ को म्याद थप थपेर इलाका प्रहरी कार्यालय केशरगंजमा थप अनुसन्धान गरिरहेको डिएसपी राईले बताए ।
प्रतिक्रिया 4