२४ पुस, काठमाडौं । नेपाली राजनीतिको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस यतिबेला आन्तरिक संकटको भुमरीमा फसेको छ । पार्टीभित्रको विवाद यति चुलिएको छ कि कतै पार्टी नै टुक्रिन्छ कि भन्ने संशय बढ्दो छ ।
महाधिवेशन सम्बन्धी विवाद चुलिएसँगै नेपाली कांग्रेस ठूलो विग्रहउन्मुख बनेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनले कांग्रेस नफुट्ने दाबी गरिरहेका छन् भने संस्थापन पक्षले भने विभाजनको भय सञ्चार गरिरहेको छ ।
महामन्त्री थापाले विष पिएर भए पनि पार्टीका एकता कायम राख्ने बताएको एक दिनपछि अर्का महामन्त्री शर्माले बिहीबार कांग्रेस फुट्ने स्थिति आए विशेष महाधिवेशन हलबाट सबैभन्दा पहिले आफू बाहिरिने अभिव्यक्ति दिए ।
तर, पनि संस्थापन पक्ष भने विशेष महाधिवेशनले पार्टी विभाजनमा जाने संशयलाई बल पुग्ने अभिव्यक्ति दिइरहेको छ । कांग्रेसमा छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालालले बिहीबार नेतृत्वलाई पार्टी विभाजनउन्मुख भएको भन्दै रोक्न सुझाव दिए ।
विगतमा कांग्रेस विभाजनको पीडा देशले र पार्टीले भोगेको स्मरण गराउँदै उनले बिहीबार सभापति शेरबहादुर देउवालाई भेटेरै पुनः त्यही अवस्थामा पार्टीलाई नपुर्याउन आग्रह गरे ।
जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमसँगै विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनका लागि भन्दै पार्टी विधानको अधिकार प्रयोग गरेर २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूले २९ असोजमा हस्ताक्षरसहित निवेदन केन्द्रीय कार्यालयमा बुझाएका थिए ।
तर, संस्थापन पक्षले १४ औं महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको समयावधि अन्तिमतिर पुगिसकेका कारण देखाएर विशेष महाधिवेशन बोलाउन सम्भव नरहेको तर्क गरेर माग अनदेखा गर्यो ।
केन्द्रीय कार्यसमितिले विधानअनुसार इच्छा नदेखाएपछि देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेको समूहले बुधबार २७–२८ पुसका लागि विशेष महाधिवेशन आह्वान गर्यो ।
विशेष महाधिवेश पक्षधरले पत्रकार सम्मेलनमार्फत महाधिवेशन आह्वान गरेपछि कांग्रेस केन्द्रीय कार्यालयले यस्तो अधिकार कुनै व्यक्तिलाई नहुने भन्दै वक्तव्य जारी गर्यो ।
उक्त वक्तव्य जारी भएको केही समयपछि बिहीबार नै महामन्त्रीद्वय थापा र शर्माले संयुक्त विज्ञप्ति जारी गरेर पहिलोपटक औपचारिक रूपमै विशेष महाधिवेशन आह्वान गरे ।
कांग्रेसमा बढ्दै गएको आन्तरिक टकरावका बीच विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधरहरू विधि र विधानको आ–आफ्नै ढंगले व्याख्या गरिरहेका छन् ।
महामन्त्रीद्वय थापा र शर्मा जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति, पार्टीभित्रको आन्तरिक असन्तुलन, नेतृत्वप्रतिको प्रश्न र संगठनात्मक पुनर्संरचनाको आवश्यकताले विशेष महाधिवेशन अपरिहार्य र बाध्यकारी भएको बताइरहेका छन् ।
उता, संस्थापन पक्ष भने व्यक्तिगत रूपमा पदाधिकारीले अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि विधानविपरीत हुने चेतावनी दिइरहेको छ ।
पार्टीको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरले एकअर्कामाथि विधान पालना नगरेको आरोप लगाइरहँदा कांग्रेसको इतिहासमा एकपटक विशेष महाधिवेशन विशेष हर्षोल्लासका साथ सम्पन्न भएको स्मरण गर्न थालिएको छ ।

त्यो विशेष महाधिवेशन
कांग्रेसले ९ माघ २०१२ मा पार्टीको छैटौं महाधिवेशन आयोजना गरेको थियो । वीरगञ्जमा तीन दिनसम्म चलेको महाधिवेशनले पार्टीको नीति ‘प्रजातान्त्रिक समाजवाद’ हुने घोषणा गरेको थियो । छैटौं महाधिवेशनले पारित गरेको नीतिअनुसार नै कांग्रेस अहिले पनि चलिरहेको छ ।
बीपी कोइरालाले प्रतिस्पर्धा नगरेको छैटौं महाधिवेशनमा गणेशमान सिंह र सुवर्ण शमशेरबीच प्रतिस्पर्धा भयो । सुवर्ण शमशेर पार्टी सभापतिमा निर्वाचित भए । १७ फागुन २०१२ मा सभापति शमशेरले केन्द्रीय कार्यसमिति गठन गरे ।
महाधिवेशनलगत्तै कोइराला, शमशेरलगायतका नेताहरू देश दौडाहामा निस्के । यसबीचमा तत्कालीन राजा महेन्द्र शाहले आमनिर्वाचनको घोषित मिति सार्ने, नयाँ मन्त्रीमण्डल बनाउने लगायतका तिकडमबाजी गरिरहे । राजालाई चुनावका लागि दबाब दिन कांग्रेसले विभिन्न देशव्यापी अभियान चलाइरह्यो ।
पार्टी सभापतिमा निर्वाचित भएको झण्डै एक वर्षपछि (१४ मंसिर २०१३) सुवर्ण शमशेरले पुरानो कार्यसमिति र संसदीय बोर्ड भंग गरे । उनले ३ पुस २०१३ मा पार्टीका शीर्ष नेताहरूलाई कार्यसमितिमा नराखी दोस्रो पुस्ताका नेताहरूमात्रै समावेश गरेर केन्द्रीय कार्यसमिति गठन गरे ।
सप्तरीको राजविराजमा ८ चैत २०१३ देखि नेपाली कांग्रेसका जिल्ला सभापति र सचिवहरूको दुई दिने सम्मेलन भयो ।
सम्मेलनको अन्त्यमा सभापति शमशेरले विराटनगरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गराएको ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप–२’ नामक पुस्तकमा लेखक पुरुषोत्तम बस्नेतले उल्लेख गरेका छन् ।
जिल्ला सभापति र सचिवहरूको सम्मेलनले पारित गरेको प्रस्तावमा अनुसार १० जेठ २०१४ मा कांग्रेसको विशेष अधिवेशन विराटनगरमा सुरु भयो । विराटनगरमा विशेष तवरले निर्मित भव्य पण्डालमा सभापति शमशेरले पार्टीको झण्डोत्तोलन गरेर विशेष महाधिवेशनको समुद्घाटन गरे ।

विशेष महाधिवेशन तयारी समितिका अध्यक्ष तथा मोरङ सभापति गिरिजाप्रसाद कोइरालाको सभापतित्वमा भएको उद्घाटन समारोह सम्बोधन गर्दै सुवर्णले बीपी कोइरालालाई पार्टीको नेतृत्व लिन अनुरोध गरे ।
‘नेपाली कांग्रेस अहिले फेरि एउटा अर्को महत्त्वपूर्ण जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने परिस्थिति आएको छ । कांग्रेसका निमित्त यो सन् १९५०–५१ (२००७ साल) को जस्तै महत्त्वपूर्ण परिस्थिति हो । सन् १९५०–५१ मा बन्दुक बोकेर हामी एकतन्त्रीय राणा शासनको विरोधमा लडेका थियौं । अब बन्दुक नबोकी शान्तिपूर्ण रूपमा हामीले प्रजातन्त्रको लडाइँ लड्नुपर्ने भएको छ । यो लडाइँमा हामी हार्यौं भने त्यो क्रान्तिको उपलब्धि पनि समाप्त हुने छ । त्यसैले यो लडाइँ हाम्रो निम्ति महत्त्वपूर्ण छ । क्रान्ति गरेर लडाइँ जित्नुभन्दा शान्तिपूर्ण तवरले लडाइँ जित्न गाह्रो हुन्छ ।
यो शान्तिपूर्ण लडाइँ निर्धारित समयमा चुनाव गराउन सरकारलाई बाध्य गराउने र चुनावमा विजय हासिल गर्ने हो । त्यसको निम्ति सक्षम र गतिशील नेतृत्वको आवश्यकता छ । त्यसैकारण सभापति पदबाट मैले आफूले राजीनामा गर्ने निर्णय गरिसकेको छु र त्यो पद अब फेरि साथी विश्वेश्वरप्रसाद कोइरालाजीले सम्हाल्नुपर्छ भन्ने मेरो अनुरोध छ,’
– नेपाली कांग्रेसको इतिहासको प्रारूप–२ बाट
पुस्तकमा उल्लेख गरिएअनुसार समारोहलाई सम्बोधन गर्ने क्रममा बीपीले भनेका थिए:
‘साथी सुवर्णजी अहिले हाम्रो पार्टीको सभापति पदमा हुनुहुन्छ । त्यो पदबाट उहाँले राजीनामा दिएर अर्को सभापतिको चयन गर्न उहाँले यो विशेष महाधिवेशन बोलाउनु भएको छ । यसले सुवर्णजी पार्टी र प्रजातन्त्रको हितबाहेक अरू केही चाहनु हुन्न भन्ने कुरालाई अरू पुष्टि गरेको छ ।
उहाँको यो चाहनालाई केवल यो घटनाले मात्र होइन, अरू अनेक घटनाक्रमले मैले राम्रोसित चिन्ने अवसर पाएको छु । उहाँले विशेष महाधिवेशन बोलाएर राजीनामा गर्ने कुरा बताउनुभयो । त्यसले मलाई स्तब्ध पार्यो । कतै हाम्रो सहयोगको अभाव उहाँलाई खड्किएको त होइन भन्ने पनि मलाई लाग्यो ।
तर, मनमा एउटा कुरा राखेर, मुखले अर्को कुरा भन्ने मानिस उहाँ होइन । उहाँले यसबारेमा सबै कुरा गरिसकेपछि पनि मैले भनेको थिएँ– तपाईं सभापति पदमा नै रहनुहोस् । म आफू सभापति भए सरह नै काम गर्छु । तपाइँ आफ्नो कार्यकाल पूरा गर्नोस् ।
अनेक तर्क दिएर उहाँले त्यो मान्नु भएन । मैले बडो असजिलो अवस्थामा उहाँको यो प्रस्ताव मञ्जुर गर्नुपर्यो । हामी विशेष महाधिवेशनमा भेला भएका छौं । यो मलाई सभापति पदमा राख्ने महाधिवेशनभन्दा पनि सुर्वणजीको पार्टीप्रतिको निःस्वार्थ सेवाको सम्मान गर्ने महाधिवेशन हो । सुवर्णजीले मलाई पार्टीको सभापति बन्ने प्रस्ताव गरेर पार्टी प्रतिको दायित्व र उहाँप्रतिको कृतज्ञताको बोझ पनि मलाई थपिदिनु भएको छ ।’
दुई दिनसम्म चलेको विशेष महाधिवेशनले बीपी कोइरालालाई सभापतिमा सर्वसम्मत चयन गर्यो । तत्कालीन सभापति सुवर्ण शमशेर कोषाध्यक्ष बने । विश्वबन्धु थापा र तुलसी गिरीलाई महामन्त्री चयन गरियो ।
अनि दुई तिहाइ बहुमत
विराटनगरको विशेष महाधिवेशनबाट सभापतिमा चयन भएपछि बीपीले पहिलो आमनिर्वाचन (२०१५) मध्यनजर गर्दै पार्टी कार्यालयको व्यवस्था मिलाए । जिल्ला–जिल्लाबाट कांग्रेसमा आएको सुस्ती र कार्य तत्परताको कमी सम्बन्धी गुनासो अन्त्य गरी केन्द्रलाई मजबुत बनाउँदै गए ।
विशेष महाधिवेशन सम्बोधनका क्रममा बीपीले भनेका थिए, ‘निर्धारित तिथिमा चुनाव भयो भने अब चार महिनामात्र हामीसित समय छ । एक महिनापछि वर्षाले हिँडडुल गर्न पनि सजिलो हुँदैन । त्यसैले हामी सबैले काम बाँडेर युद्धस्तरमा चुनावको तयारी गर्नुपर्छ ।
यो महाधिवेशनमा सबै जिम्मेवार साथीहरू आउनु भएको छ । यहाँबाट फर्केर जाँदा तपाईंहरू सबैले आ–आफ्नो जिल्ला र आ–आफ्नो क्षेत्रको जिम्मेवारी कसरी पूरा गर्ने, त्यो अठोट लिएर फर्कनु होला ।’
तत्कालीन राजा महेन्द्र शाहले १ फागुन २०१५ मा जारी गरेको संविधानको धारा १८ देखि २२ सम्म संसद् र संसद् गठनबारे व्यवस्था गरिएको थियो । सोही व्यवस्थाअनुसार २८ चैत २०१५ मा नेपालमा पहिलो प्रतिनिधिसभा निर्वाचन सम्पन्न भयो ।
डा. राजेश गौतमद्वारा लिखित ‘नेपालको निर्वाचन इतिहास–१’ पुस्तकअनुसार पहिलो आम निर्वाचन ७ फागुन २०१५ बाट सुरू भएको थियो । विभिन्न चरणमा गरी सम्पन्न गर्ने क्रममा ४५ दिन लागेको थियो । निर्वाचनको अन्तिम परिणामको घोषणा २८ वैशाख २०१६ मा भएको थियो ।
बीपी कोइरालाको नेतृत्वमा पहिलो संसदीय चुनावमा प्रतिस्पर्धा गरेको कांग्रेसले १०९ सिट मध्ये दुईतिहाइ बहुमत (७४ सिट) पाएको थियो । कम्युनिस्ट पार्टीले चार सीटमात्रै जितेको थियो ।
कांग्रेसपछि प्रमुख प्रतिपक्षी दल बनेको नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९ सिट ल्याएका थियो । संयुक्त प्रजातन्त्र पार्टीले पाँच सिट जितेको थियो भने नेपाल प्रजा परिषद् (कोदालो) ले दुई र नेपाल प्रजापरिषद् (हलो) ले एक सिट जितेका थिए । स्वतन्त्र उम्मेदवारले चार सिटमा जित दर्ज गरेका थिए ।
चुनावमा भाग लिएका नौ दलमध्ये तराई कांग्रेस, नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक महासभाले शून्य सिटमा चित्त बुझाउनु पर्यो । नेपाली कांग्रेसले त्यसबेला देशभरिबाट छ लाख ६६ हजार ८९८ मत पाएको थियो । कम्युनिस्ट पार्टीले पाएको कुल मत एक लाख २९ हजार १४२ थियो ।
गोर्खा परिषद्ले तीन लाख पाँच हजार ११८ मत पाएको पाउँदा संयुक्त प्रजातन्त्र पार्टीले एक लाख ७७ हजार ४०८ मत ल्यायो । कम्युनिस्ट पार्टी मत र सिट दुवै हिसाबले चौथो शक्ति बन्यो ।
२०१५ सालको संसदीय चुनावमा मतदाताको संख्या ४२ लाख ४६ हजार ४६८ थियो । निर्वाचनमा ४२.१८ प्रतिशत मतदाताले मात्रै मतदान गरेका थिए ।
योग्यलाई जिम्मेवारी दिन विशेष महाधिवेशन
तत्कालीन राजा महेन्द्र शाहले २४ साउन २०१२ मा आमचुनावको घोषणा गरेका थिए । लेखक बस्नेतका अनुसार आमचुनावको तिथि थियो– आश्विन पूर्णिमा वा आश्विन २२ । तर, सरकारले तयारी अघि नबढाएका कारण निर्धारित मितिमा आमचुनाव हुनेमा आशंका बढेको थियो ।
‘नेपाली कांग्रेसको इतिहासको प्रारूप–२’ मा लेखिएको छ, ‘चुनाव भयो भने कांग्रेसले आफ्नो संगठनलाई अझ सशक्त, अझ सक्रिय र अझ सुव्यवस्थित ढंगले अघि लग्न आवश्यक थियो । चुनाव भएन भने त्यसलाई चुपचाप स्वीकार गरेर बस्न नेपाली कांग्रेस किमार्थ तयार थिएन । एक सशक्त आन्दोलन गरेर सरकारलाई चुनाव गराउन बाध्य पार्नुपर्छ भन्ने सोचाइमा नेपाली कांग्रेस थियो ।’
जसका निम्ति संगठनलाई क्रियाशील बनाउने बीपी कोइरालाजस्ता जिल्ला–जिल्ला एवं गाउँ–गाउँसम्म संगठनको यथार्थ वस्तुस्थिति बुझ्ने एक गतिशील व्यक्तिलाई सभापति जिम्मेवारी सुम्पनुपर्छ भन्ने मनस्थितिमा सुवर्ण थिए ।
सुवर्णको यही मनस्थितिले उनलाई पार्टीप्रति निष्काम भावले समर्पित एक निर्विकार नेताको रूपमा चिनाएको थियो । उनका निम्ति पद गौण तथा पार्टी हित महत्त्वपूर्ण थियो । सुवर्ण शमशेर आफैंले राजविराजमा सम्पन्न पार्टीका सभापति र सचिवहरूको सम्मेलनमा विशेष महाधिवेशनको प्रस्ताव गरेका थिए ।
‘वास्तवमा आफूले नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएर त्यो पद बीपी कोइरालालाई विधिवत हस्तान्तरण गर्न सभापति सुवर्ण शमशेरले विराटनगरमा नेपाली कांग्रेसको विशेष महाधिवेशन बोलाएका थिए,’ पुस्तकमा उल्लेख छ ।
जेनजी आन्दोलनले ल्याएको उथलपुथल
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सामाजिक सञ्जालबाट सुरु भएको जेनजी आन्दोलनका क्रममा मुलुकले ठूलो जनधनको क्षति भोग्नु पर्यो । २३ र २४ भदौको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गयो । निजी र सार्वजनिक सम्पत्तिमा अकल्पनीय क्षति पुग्यो ।
जेनजीआन्दोलनले तत्कालीन प्रतिनिधिसभाका दुई ठूला दल मिलेर बनेको शक्तिशाली सरकारका प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर बालुवाटारबाट भाग्नुपर्ने अवस्था आयो ।
सत्ता साझेदार ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवामाथि बूढानीकलण्ठस्थित निवासमा सांघातिक आक्रमण भयो । देउवालाई धर्मपत्नी (तत्कालीन परराष्ट्रमन्त्री) डा. आरजु राणालाई पनि देउवाका साथ रगताम्य अवस्थामा सुरक्षाकर्मीले उद्धार गर्नुपर्यो ।
घाइते सभापति देउवाको उपचार चलिरहेकै बेला कांग्रेसमा नेतृत्व परिवर्तनको बहस चरमोत्कर्षमा पुग्यो । नेतृत्व परिवर्तनको पक्षमा मुखरित देखिएका महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा नियमित वा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर २१ फागुनका लागि निर्धारण गरिएको निर्वाचनमा जानुपर्ने पक्षमा दृढतापूर्वक उभिए । उता सभापति देउवानिकट नेताहरू उपचार भइरहेकै अवस्थामा नेतृत्वको विकल्प खोज्न थालिएको भन्दै असन्तुष्ट देखिए ।
यसैबीच गुरूराज घिमिरेको नेतृत्वमा १०९ महाधिवेशन प्रतिनिधिहरूले (६ असोज) विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियानको सुरुवात गरे ।
उनीहरूले २९ असोजमा देशभरका २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाए । त्यसको अघिल्लो दिन सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक घोषणा गरे ।

बहसमा विशेष महाधिवेशन
२०१५ सालको आमनिर्वाचन र त्यसअघि सम्पन्न विशेष महाधिवेशन झैँ अहिले पनि पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा जानुपर्ने बहस कांग्रेसमा चलिरहेकै छ ।
२०१४ सालको भन्दा अहिलेको माग विशेष रहेको विशेष महाधिवेशन पक्षधरको भनाइ छ । ‘त्यतिबेला नेताहरूले परिस्थिति बुझेर विधानअनुसार निर्णय गरेका थिए,’ विशेष महाधिवेशन पक्षधर युवाहरू भन्छन्, ‘तर, अहिले कार्यकर्ताहरूले परिस्थिति बुझेर विधानअनुसार चल्न नेताहरूलाई आह्वान गरेका छन् ।’
कांग्रेसको ‘विशेष महाधिवेशन पक्षधर’ समूहले १४औँ महाधिवेशनमा भाग लिएकामध्ये ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरसहित २९ असोजमा विशेष महाधिवेशन बोलाउन माग गर्दै पार्टीमा निवेदन दिएका थिए ।
उनीहरूले जेनजी आन्दोलनपछि विकसित घटनाक्रमका बीच ६ असोजमा संयुक्त विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनका लागि सुरू गरिएको हस्ताक्षर अभियानमा जोडिन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका थिए ।
मुलुकको पछिल्लो परिस्थितिको गम्भीरतालाई बोध गरेर विशेष महाधिवेशन बोलाउने दायित्वलाई केन्द्रीय कार्यसमितिले मनन् गर्ने सम्भावना क्षीण बन्दै गएकाले महाधिवेशन प्रतिनिधिहरूमा रहेको वैधानिक अधिकारको उपयोग गर्दै तयारीमा लाग्ने संकल्प लिएको उनीहरूको दाबी थियो ।
‘पार्टीलाई यथास्थितिमा राख्ने कि अग्रगमनतर्फ लैजाने आजको मूल प्रश्न यही हो । आजको विषम परिस्थिति र संकटबाट नेपाली कांग्रेसलाई मुक्त गर्न वर्तमान केन्द्रीय समितिमात्र होइन हाम्रो पनि उत्तिकै दायित्व हो,’ विज्ञप्तिमा भनिएको थियो ‘इतिहासको यस संवेदनशील घडीमा पार्टीलाई वर्तमान दुरवस्थाबाट निकालेर समयसापेक्ष, लोकप्रिय, प्रभावकारी र सुदृढ तुल्याउन आवश्यक रहेको जिम्मेवारीबोध गरी पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको प्रक्रियामा सामेल हुन आग्रह गर्दछौँ ।’
हस्ताक्षर संकलन अभियानमा लागेकाहरूले परिवर्तित राजनीतिक अवस्था र विषम राजनीतिक परिवेशमा कांग्रेस मुकदर्शक रहन नमिल्ने भन्दै पछिल्लो अवस्था सिर्जना हुनुको कारण र कारक पक्षबारे अविलम्ब समीक्षा गरेर निर्णयमा पुग्नुलाई प्राथमिक र ऐतिहासिक आवश्यकता भनेका छन् ।
‘नेपाली कांग्रेसको स्थापनाकालदेखि नै पार्टी सामु धेरै संकटहरू उत्पन्न भए । हामीले ती सबै संकट र चुनौतीहरूसँग मुकाविला गर्यौँ । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रमाथिका हरेक संकटको सामना गर्दै पार्टीमाथिका आक्रमणलाई परास्त गर्दै आएका छौँ । तसर्थ, यतिवेला उत्पन्न संकटलाई कसरी सामना गर्ने र भविष्यको यात्रा तय गर्ने भन्ने चुनौती हाम्रो अगाडि आइपरेको छ,’ विज्ञप्तिमा भनिएको थियो ।
सरकार र पार्टी सञ्चालनका विषयमा आफूहरूले विगतमा पटक–पटक आलोचनात्मक र सिर्जनात्मक सुझाव दिएको र भविष्यमा उत्पन्न हुने सक्ने संकटका बारेमा समेत जानकारी गराएको उनीहरूको जिकिर थियो ।
‘तथापि, न त सरकार, न त पार्टीले नै सुनुवाइ गर्न सक्यो । न त आफूलाई सच्याउन तयार भयो,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेतृत्वका कार्यशैलीका बारेमा बारम्बार प्रश्न उठाउने पार्टीका साथीहरूलाई किनारामा धकेल्ने र विभेदपूर्ण व्यवहारसमेत भएको कुरा दुःखका साथ स्मरण गराउन चाहन्छौँ ।’
जेनजी आन्दोलनले विकसित राजनीतिक घटनाक्रमपछि विशेष महाधिवेशनमार्फत् नेतृत्व परिवर्तनका लागि पार्टी विधानको धारा १७ (२) अनुसार दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए ।

विधानमा के भनिएको छ ?
कांग्रेसको विधानअनुसार तीनवटा अवस्थामा पार्टी विशेष महाधिवेशनमा जान सकिन्छ । पहिलो, विधानको धारा १७ (२) बमोजिम केन्द्रीय कार्यसमितिले आवश्यकता महसुस गरे विशेष महाधिवेशन बोलाउन सक्छ ।
दोस्रो, सोही धाराअनुसार केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गर्न सक्छन् ।
‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ,’ विधानको धारा १७ (२) मा भनिएको छ ।
तेस्रो, केन्द्रीय सभापतिले पदबाट राजीनामा दिएमा वा कुनै कारणले पद रिक्त हुन गएको अवस्थामा पनि विशेष महाधिवेशन आयोजना गरेर नयाँ नेतृत्व छनोट गर्ने विधानमा व्यवस्था छ ।
विधानको धारा २६ अन्तर्गत ‘केन्द्रीय सभापतिको राजीनामा’ राखेर विधानमा निम्नानुसार लेखिएको छ ।
१. केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिमार्फत् केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नुपर्ने छ ।
२. केन्द्रीय कार्यसमितिले राजीनामा स्वीकृत गरेमा उपसभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्ने छ र ६ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिनेछ ।
३. अन्य कुनै कारणबाट केन्द्रीय सभापतिको पद रिक्त हुन आएमा उपधारा (२) बमोजिम गरिने छ ।
अहिलेको कांग्रेस विवादले पार्टीको इतिहासमा २०१४ सालमा सम्पन्न विशेष महाधिवेशन सम्झना गराउँछ, जहाँ बदलिएको सन्दर्भलाई बुझेर सुवर्ण शमशेरले सभापति पदबाट राजीनामा दिई सौहार्दपूर्वक बीपी कोइरालाई नेतृत्व सुम्पिएका थिए ।
नेतृत्व हस्तान्तरण गर्दै उनले भनेका थिए, ‘यो शान्तिपूर्ण लडाइँको निम्ति सक्षम र गतिशील नेतृत्वको आवश्यकता छ ।’ उक्त विशेष महाधिवेशनलाई कांग्रेसका पुराना नेताहरू त्याग र एकताको प्रतिकका रूपमा सम्झन्छन् ।
यसरी पार्टी सभापतिले स्वविवेकले पद त्याग गरी पार्टीलाई एकताबद्ध बनाउँदा कांग्रेसले पहिलो आम निर्वाचनमा १०९ मध्ये ७४ सिट जितेर ऐतिहासिक सफलता हासिल गरेको थियो ।
इतिहासको त्यो विशेष महाधिवेशनले पार्टीलाई एकढिक्का बनाएको स्मरण गरिरहँदा यो विशेष महाधिवेशनले कतै पार्टी नै विग्रहतिर जाने हो कि भन्ने संशय कांग्रेस पंक्तिभित्र बढिरहेको छ । के कांग्रेसको आफ्नै इतिहासले यो संकटबाट बाहिर निस्कने बाटो देखाउन सक्छ त ? नतिजाको लागि अझै केही दिन कुर्नुपर्नेछ ।
प्रतिक्रिया 4