२४ पुस, पोखरा । माघ ११ गते हुने राष्ट्रिय सभाको चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन गरेर जाने निर्णय थाहा पाए पनि टिकट कसले हात पार्ला भनेर नेताहरु चनाखो थिए । उम्मेदवारी मनोनयन गर्ने दिन बुधबार बिहानै एमालेबाट यसअघिकै उम्मेदवार गोरखाकी सम्झना देवकोटालाई नै उभ्याउने निर्णय हुँदा कांग्रेस नेताहरु पनि अन्योलमै थिए ।
पछि एकाएक सोच्दै नसोचेको जगत तिमिल्सिनाको नाम कांग्रेस सभापति शेरबहादुर देउवाले दिएपछि नेताहरु चकित परे । न चर्चामा आएको, न सिफारिस र प्रस्ताव नै भएको पात्रले एकाएक टिकट पाएपछि कांग्रेस नेताहरु बल्ल उनको परिचय र योगदानको खोजी गर्दै थिए ।
गण्डकीका ११ जिल्लाबाट ५० जना आकांक्षीको नाम केन्द्रमा सिफारिस भएको थियो । त्योभन्दा बाहेकबाटै सभापति देउवाले तिमल्सिनाको नाम दिएपछि कांग्रेसभित्र अर्को तरंग सिर्जना हुन पुग्यो । एकातिर विशेष महाधिवेशनले फुटको संघारमा पुगेको कांग्रेस विभाजित थियो भने अर्कोतिर देउवा समूहबाटै पनि गण्डकीमा चर्चाबाहिरको नाम आएको थियो ।
२०५६ सालमा राष्ट्रिय सभा सदस्य बनेका नेपाली कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा फेरि एकपटक सांसद बन्ने धोकोसहित प्रदेशबाट १ नम्बरमा सिफारिस भएका थिए । उनलाई गण्डकीकै नेताहरुले करिब २ महिना अगाडि नै राष्ट्रिय सभा सदस्यको रुपमा चर्चा गरेका थिए ।
सिफारिस हुने २ नम्बरमा पटक–पटक सांसद र मन्त्री बनेका गोपालमान श्रेष्ठको नाम थियो । तेस्रोमा गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल थिए ।
तनहुँका प्रभावशाली नेता मानिने धुव्र वाग्ले चौथो नम्बरमा थिए । गोरखाका अब्दुर सतार, तनहुँका रघु पौडेल, स्याङ्जाका शंकरप्रसाद पाण्डे, कास्कीका सोभियतबहादुर अधिकारी, देवराज चालिसे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मूल्मीलगायत ५० जना आकांक्षीको नाम केन्द्रमा सिफारिस भएको थियो । तर, ती सबै नामहरुलाई एकातिर पन्छाएर सभापति शेरबहादुर देउवाले ‘खल्तीबाट’ सहप्राध्यापक जगत तिमिल्सिनाको नाम निकालेको नेताहरु बताउँछन् ।
‘५० जनाको नाम सिफारिस थियो । उहाँको नाम न चर्चामा थियो न कतैबाट प्रस्ताव नै आएको थियो । हामी सबै योग्य नै थियौं । मलाई नदिए पनि सभापति देउवा भनेर राजनीति गर्नेहरु धेरै थिए,’ कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले भने, ‘सहप्राध्यापकजस्तो मान्छेलाईलाई डिन, उपकुलपति पो बनाउने हो ।’
निर्वाचन आयोगमा कांग्रेस, एमालेका उम्मेदवारसहित नेता–कार्यकर्ता मनोनयन दर्ता गराउन पुगेका थिए । तर, कांग्रेसका नेता–कार्यकर्ता भने उत्साही थिएनन् ।

को हुन् जगत ?
गण्डकीमा कांग्रेसलाई चक्मा दिने गरी कांग्रेस सभापति देउवाको हातबाट टिकट ल्याउने जगत को हुन् त ? यो चर्चा र खोजी कांग्रेसभित्रमात्रै होइन, गठबन्धन गरेको दल एमाले र राजनीतिमा चासो राख्ने अन्यलाई पनि छ ।
जगत तनहुँ शुक्लागण्डकी वडा नम्बर ७ खैरेनीटार निवासी हुन् । कांग्रेस पृष्ठभूमिमै हुर्किएका उनी पार्टीको जिम्मेवारीमा भने थिएनन् । उनी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागमा अध्यापनरत थिए ।
कांग्रेस समर्थित प्रजातान्त्रिक प्राध्यापक संघमा उनी अध्यक्ष भएयता निर्वाचन नै हुन सकेको छैन । महासचिव हुँदै प्राध्यापक संघको २०७३ सालमा केन्द्रीय अध्यक्ष भएका जगत नै नेतृत्वमा छन् । त्यसैले उनलाई कांग्रेस निकटकाले ‘आजीवन अध्यक्ष’ भन्ने टिप्पणी गर्दछन् ।
उनले राष्ट्रिय सभामा गण्डकीबाट टिकट पक्का गरेर त्रिभुवन विश्वविद्यालयबाट राजीनामा दिएको नेताहरु बताउँछन् । जगतले भने एक महिना अगाडि नै आफूले राजीनामा दिएको र यही २० गतेमात्र स्वीकृत भएको अनलाइनखबरलाई बताए ।
‘म राजनीतिमा आउन इच्छुक थिएँ र एक महिना अगाडि नै राजीनामा दिएको हुँ तर स्वीकृत भने २० गतेमात्र भएको हो,’ जगतले भने, ‘म प्राध्यापनबाट नीति निर्माणको तहमा पुगेर योगदान गर्न चाहन्छु ।’
दाइ र बुबा राजनीतिमा
एक्लै चुनाव लडे पनि गण्डकीमा कांग्रेस पहिलो दल थियो । तर, अहिले संकटका बेला एउटा समूहले मत हाल्ने स्थिति बनेनछ भने पनि एमालेको समर्थनले दुईतिहाइ मतका साथ उनी राष्ट्रिय सभा छिर्ने पक्काजस्तै छ ।
देउवासँग नजिक भए पनि प्राध्यापन पेशा छाडेर एकाएक राजनीतिमा आउँछन् भन्ने अनुमान नगरिएको देउवानिकट एक केन्द्रीय सदस्यले बताए । ‘जनताको घरमा जाने पो चर्चामा आउँछन्, नेता, कार्यकर्ता र जनताले पनि चिन्छन् । नेतासँग हुने के चर्चामा आउँछन् र ? चिन्ने हो,’ देउवानिकट ती केन्द्रीय नेताले भने, ‘तर, नेतृत्वले निर्णय गरिसकेपछि त्यसकोविरुद्ध बोल्ने अवस्था अहिले छैन ।’
गण्डकीका धेरै कांग्रेस नेता–कार्यकर्ताले भने तिमिल्सिनाको नाम छनोटप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । जनतासँग नजिक हुने नेताले पो प्रतिनिधि सभामा प्रत्यक्ष चुनाव लड्नुपर्ने उनको तर्क थियो । विज्ञता प्रदर्शन गर्ने थलोको रुपमा राष्ट्रिय सभालाई विकास गर्नुपर्ने उनले बताए ।
आफ्नो दाइ जीवन कांग्रेस महासमिति सदस्य र बुबा पनि पहिले तनहुँको सो क्षेत्रमा चर्चित कांग्रेस नेता नै भएकाले आफू राजनीतिक व्यक्ति नै भएको उनले सुनाए ।
‘वुद्धिजीवीको प्रतिनिधित्व गरेँ’

प्राध्यापनबाटै क्षमता र दक्षता देखाउनका लागि विश्वविद्यालयदेखि शैक्षिक क्षेत्रमै प्रतिस्पर्धामा जान सकिने हुँदा हुँदै राजनीतिको भोक कसरी जाग्यो त ?
उनी भन्छन्, ‘म राजनीतिक मान्छे नै थिएँ । राष्ट्रिय सभा भनेको विज्ञहरु नै जाने ठाउँ त हो । कानुन बनाउने ठाउँ हो । लोकतन्त्र, गणतन्त्रको वकालत गर्ने ठाउँ हो । मैले पेशागत वुद्धिजीवी प्रतिनिधित्व गरेको हुँ ।’
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गण्डकीका २ सिटमा प्रतिस्पर्धा हुन लागेको छ । नेकपाका नारायणकाजी श्रेष्ठ र एमालेकी भगवती न्यौपानेको कार्यकाल सकिन लागेकाले अब गोरखाबाटै सम्झना र तनहुँका जगत सांसद बन्ने निश्चितजस्तै देखिएको छ ।
प्रतिक्रिया 4