२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवालाई पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत विशेष महाधिवेशनको निमन्त्रणा सन्देश पठाएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले विशेष महाधिवेशनको सुरु हुन दिन (पुस २७) गतेको कार्यक्रममा सहभागी हुन आग्रहसहित सन्देश सुनाइदिन भनेका हुन् ।
‘कार्यवाहक सभापतिले सभापतिलाई यो कुरा पुर्याइदिनु होला- सभापति पुस २७ गते उहाँ सहभागी हुनुपर्छ । उहाँको पनि मान बढाउँछ । यहाँ बसेर फिर्ता लिउ भन्नुभन्दा पनि यो अधिवेशन हाम्रो हो भनेर स्वामित्व लिँदा विधानको मर्यादा बढ्छ।’
उनले पार्टी विधानले विशेष महाधिवेशन माग्यो भने कसले अधिवेशन गर्ने भन्ने उल्लेख गरेको विषयमा भने, ‘४० प्रतिशतले माग्यो भने अधिवेशन माग्यो भने गर्ने । तर, कसले अधिवेशन गर्ने भन्ने लेखिएन । केन्द्रीय समितिले यस्तो गर्ला भन्ने हेक्का नहुँदा राखिएन नि ।’
आजको बैठकमा कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनले पार्टी विभाजन हुन्छ, हस्ताक्षर फिर्ता लिन लगाऔँ भनेर प्रस्ताव गरेका थिए ।
प्रतिक्रिया 4