+
+
Shares
ब्लग :

महाभारतका कर्ण र कांग्रेसका गगनहरू

म्याक्स वेबरले भनेका थिए- परम्परागत नेतृत्व तबसम्म वैध हुन्छ, जबसम्म त्यसले समाजलाई अगाडि बढाउँछ। जब परम्परा आफैं अवरोध बन्छ, तब त्यो इतिहास होइन, बोझ हुन्छ। के नेपाली कांग्रेस आज इतिहास बोकेको पार्टी हो कि इतिहासले बोकेको बोझ?

शालिक सुवेदी शालिक सुवेदी
२०८२ पुष २३ गते १६:२९

कुन्तीपुत्र कर्ण महाभारतका सबैभन्दा करुण तर सबैभन्दा दार्शनिक पात्र हुन्। उनको जीवन कुनै एक युद्ध, एक निर्णय वा एक गल्तीको परिणाम थिएन; त्यो त वंशवाद, नश्लीय अहङ्कार र संरचनागत अन्यायले योग्यतालाई कसरी पराजित गर्छ भन्ने दीर्घ कथा हो।

सूर्यपुत्र भएर पनि सूतपुत्रको पहिचान थोपरिनु केवल व्यक्तिगत अपमान थिएन, त्यो तत्कालीन सामाजिक व्यवस्थाको ऐना थियो, जहाँ जन्म नै योग्यताको प्रमाण मानिन्थ्यो। धनुर्विद्यामा अद्वितीय क्षमता हुँदाहुँदै पनि कर्णलाई बारम्बार ‘तिमी को हौ?’ भन्ने प्रश्नले रोक्यो। यो प्रश्न जिज्ञासा थिएन, यो सत्ता र अवसरको ढोका बन्द गर्ने अस्त्र थियो।

कर्णको जीवनले देखायो- जब समाजले वंशलाई प्राथमिकता दिन्छ, तब प्रतिभा पनि अपराध बन्छ। सूर्यपुत्र भएर पनि सूतपुत्रको पहिचानले जीवनभर पछ्याइनु कर्णको निजी दुर्भाग्य मात्र थिएन; त्यो त्यस्तो समाजको सामूहिक असफलता थियो, जहाँ वंश नै सत्य थियो र क्षमता सधैं सन्देहको घेरामा।

आज यो प्रश्न फेरि फर्किएको छ, तर पात्र फेरिएका छन्। महाभारतको सभा होइन, नेपाली कांग्रेसको बैठक कक्षमा। धनुष होइन, विचार बोकेर उभिएका छन् गगनकुमार थापा। यहाँ पनि प्रश्न उस्तै छ, ‘गगन को हुन्? कसको मान्छे हुन्? किन यति हतार?’
यी प्रश्नहरू निर्दोष देखिए पनि गहिराइमा एउटै कुरा लुकेको छ। राजनीतिमा पनि जन्मिन्छ नश्ल, तर त्यो जैविक होइन; त्यो राजनीतिक वंश हो। र जहाँ वंश बलियो हुन्छ, त्यहाँ विचार कमजोर बन्छ।

कर्णलाई द्रोणाचार्यले शिक्षा दिन अस्वीकार गरे, कारण योग्यता थिएन, वंश थियो। गगनलाई जब पार्टीभित्र विचारको बहस गर्दा ‘अनुशासनहीन’ ठहर गरिन्छ, कारण पनि योग्यता होइन, संरचना हो। यहाँ समस्या व्यक्तिको स्वर होइन, संस्थाको कान हो, जो नयाँ आवाज सुन्न डराउँछ।

जर्मन राजनीतिक चिन्तक हाना आरेन्ड्टले चेतावनी दिएकी थिइन्, ‘जब प्रश्न सोध्नुलाई खतरा ठानिन्छ, तब राजनीति सत्ताको होइन, डरको शासन बन्छ।’

आरेन्ड्टले ‘द ओरिजिन अफ टोटालिटेरियनिजम’ भन्ने पुस्तकमा हिटलरको नश्लवादलाई केवल सामाजिक घृणा नभई राज्यसत्ताद्वारा संस्थागत गरिएको विचारधाराका रूपमा व्याख्या गरेकी छिन्। उनका अनुसार नाजी नश्लवादले यहुदीहरूलाई ‘राजनीतिक शत्रु’ मा रूपान्तरण गर्दै मानवअधिकारबाट पूर्णतः वञ्चित गर्‍यो।

गगनको राजनीतिक हस्तक्षेप केवल पुस्तान्तरणको माग होइन; त्यो पार्टीको बौद्धिक आत्माको पुनर्जीवनको प्रयास हो।

आरेन्ड्टले यस्तो व्यवस्थालाई ‘आइडियोलोजी द्याट एक्सप्लेनस् एभ्रिथिङ बट परमिट्स नथिङ’ भनेर सङ्केत गरेकी छन्। उनका लागि नश्लवाद विचार मात्र होइन, पूर्ण अधिनायकवादको आधार थियो।

आज प्रश्न गर्नेलाई खतरा ठान्ने पार्टीले आफूलाई लोकतान्त्रिक कसरी भन्न सक्छ? यहुदी मूल, स्वतन्त्र बौद्धिक चिन्तन र नाजी नश्लप्रतिको आलोचनात्मक दृष्टिकोणका कारण उनी जर्मनीमा असुरक्षित र अन्ततः देश छोड्न बाध्य भइन्।

गगनको राजनीतिक हस्तक्षेप केवल पुस्तान्तरणको माग होइन; त्यो पार्टीको बौद्धिक आत्माको पुनर्जीवनको प्रयास हो। उनले उठाएको विशेष महाधिवेशनको प्रश्न सत्ता कब्जाको युक्ति होइन, आत्मपरीक्षणको आह्वान हो।

उनको यो विशेष महाधिवेशनको विषय विधिप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अविच्छिन्न विश्वास र ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको मागको पूरक हो। अझ त्योभन्दा बढी विद्यमान अवैचारिक र अप्राकृतिक सत्ता अहङ्कार र मोहका कारण युवा पुस्ताको निराशा चिर्दै अकिञ्चनलाई किञ्चन बनाउने दृढ अभीष्ट हो।

तर नेतृत्व किन यस प्रश्नबाट तर्सिन्छ? किन आत्मसमीक्षाको संस्कारलाई कमजोर बनाउँदैछ? के पार्टी यति कमजोर भइसकेको छ कि प्रश्नले नै ढल्छ? जर्मन दार्शनिक हानाले भने जस्तै मुलुकको सबैभन्दा पाको लोकतान्त्रिक पार्टी भएर पनि आज विशेष महाधिवेशन गर्न रोकेर कांग्रेस संस्थापन ‘आइडियोलोजी द्याट एक्सप्लेनस् एभ्रिथिङ बट परमिट्स नथिङ’ गरिरहेको छ।

त्यसो त कार्ल मार्क्सले पनि ‘पुरातनको अन्त्य; नूतनको उदय’ नै समाज विकासको आधार भनेका छन्। तर यहाँ न त नूतनको आशालाई स्वागत गरिन्छ, न पुरातनले वर्तमानलाई नै भरोसा दिन सकेको छ।

गगन-विश्वको माग, प्रदीप र गुरुहरूको माग, अझ भनौं बहुसङ्ख्यक महाधिवेशन प्रतिनिधिहरूको माग स्थिर कांग्रेस होइन, पश्चगामी कांग्रेस होइन, थकित र अवसानमा रुझान राख्ने अतृप्त प्यासी कांग्रेस होइन। बरु चलायमान, सापेक्ष, सपना र समृद्धि रोजेको कांग्रेसको खोजी हो। कांग्रेसभित्र विनिर्माणको भोक हो।

फ्रान्सेली दार्शनिक ज्याक डेरिडाले राजनीतिक प्रभुत्व, वैधता र सत्ताको प्राकृतिकीकरणलाई अस्वीकार गर्ने आलोचनात्मक हस्तक्षेपलाई विनिर्माण भन्छन्। विनिर्माणले नीति, कानून र शासनमा रहेको बहिष्करणको तर्क उजागर गरी लोकतन्त्रलाई केवल प्रक्रियागत होइन, निरन्तर प्रश्न गरिनुपर्ने अभ्यासका रूपमा पुनर्संरचना गर्छ।

यस अर्थमा, विनिर्माण विमर्शात्मक राजनीति हो जहाँ अर्थमाथिको सङ्घर्ष नै सत्तामाथिको सङ्घर्ष बन्छ। विनिर्माण भनेको अराजकता होइन, त्यो साहस हो- स्थापित अर्थलाई प्रश्न गर्ने साहस। गगनको राजनीति यही साहस हो। उनले व्यक्तिलाई होइन, अर्थलाई चुनौती दिएका छन्- नेतृत्वको अर्थ, अनुशासनको अर्थ, आवश्यकताको अर्थ। तर जब अर्थ नै नेतृत्वको सुविधासँग गाँसिएको हुन्छ, तब विनिर्माण अपराध बन्छ।

नेतृत्वलाई सिधा प्रश्न छ- तपाईंहरू के चाहनुहुन्छ? मौन कार्यकर्ता कि सोच्ने नागरिक? उत्तराधिकार कि उत्तरदायित्व? परम्परा कि प्रासङ्गिकता? पुरातन कि नूतन? निराशा कि आशा अनि भरोसा?

म्याक्स वेबरले भनेका थिए- परम्परागत नेतृत्व तबसम्म वैध हुन्छ, जबसम्म त्यसले समाजलाई अगाडि बढाउँछ। जब परम्परा आफैं अवरोध बन्छ, तब त्यो इतिहास होइन, बोझ हुन्छ। के नेपाली कांग्रेस आज इतिहास बोकेको पार्टी हो कि इतिहासले बोकेको बोझ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?