
News Summary
Generated by OK AI. Editorially reviewed.- अङ्गदेशको राजा कर्णले हस्तिनापुरमा दुर्योधन र मामा शकुनिसँग भेटघाट गरी राज्य व्यवस्थापनमा व्यस्तता जनाए।
- पाण्डवहरूका लागि निर्मित नयाँ दरबारमा आगो लागेर राजमाता कुन्तीसहित पाँच भाइ जलेर मरेको खबर प्राप्त भयो।
- कर्णले ब्राह्मणहरूलाई मन्दिर मर्मत र नयाँ मन्दिर स्थापना गर्न सहयोग गर्ने निर्णय गरे र गजाधरलाई मन्दिरमा नियुक्ति दिए।
मलाई अङ्गदेशको सिंहासनमा अभिषेक गर्न हस्तिनापुरबाट ठूलो तयारीका साथ दरबार निकटस्थ व्यक्तिहरू गएका थिए । मेरो राज्याभिषेकपश्चात् मलाई बधाईसहित उपहार दिनेहरूको लामो लस्कर थियो । अङ्गदेशको राजा बन्दा म जति प्रसन्न थिएँ, त्योभन्दा अधिक प्रसन्न दुर्योधन देखिन्थे ।
मेरो राज्यारोहणका उपलक्ष्यमा आयोजित रात्रिभोजमा समेत अत्यन्त उत्साहजनक उपस्थिति थियो । अङ्गदेशका सामन्तहरू अब देशको उन्नति हुन्छ भन्ने आशाका साथ मलाई अनेक समस्या र सम्भावनाहरूबारे अवगत गराइरहेका थिए ।
आजको रात्रिभोजमा राजकुमारी दुःशला प्रायः मेरो निकट थिइन् । उनले एकपटक मेरो मुखमा हेरेर मुस्कुराउँदै भनिन्, ‘महाराज, एउटा कुराको अभाव खड्किरहेको छ ।’
‘के राजकुमारी ?’, मैले सहज भावमा सोधेको थिएँ ।
‘अब तपाईंलाई महारानीको खाँचो छ ।’, दुःशलाको कुरा सुन्नासाथ मलाई आजको भोजमा मालाको खाँचो अनुभव भयो । दुःशलाले कुन तात्पर्यमा यसो भनेकी हुन्, त्यो भने मैले बुझ्न सकिनँ । त्यसकारण म उनको अभिव्यक्तिको प्रत्युत्तरमा मात्र मुस्कुराएँ ।
राज्याभिषेकको औपचारिक कार्य सम्पन्न भएपछि हस्तिनापुरबाट आएका व्यक्तिहरू बिदा भए । हिँड्ने बेलामा दुर्योधनले भनेका थिए, ‘मित्र ! राजा बनेर अङ्गदेशमै रमाउने होइन नि ! तिम्रो आधा समय हस्तिनापुरमा बित्नुपर्छ ।’
‘अवश्य मित्र, तिमीले भनेजस्तै हुनेछ ।’, मैले दुर्योधनलाई आश्वस्त पारेर बिदा गरेँ । दुर्योधनसँगै हिँड्न लागेकी दुःशलाले भनिन्, ‘महाराज, हामी तपाईंलाई हस्तिनापुरमा पर्खिरहेका हुनेछौ’ ।’, उनको अभिव्यक्तिसँगैको कुटिल हाँसोमा कुनै अर्थ थियो तर मैले बुझ्न सकिनँ ।
केही समय म राज्यको व्यवस्थापनमा व्यस्त भएँ । सामन्त तथा पूर्व भारदारहरूसँग भेट, परामर्श, राज्यका विविध समस्या र समाधानका उपायबारे छलफल गर्दै त्यसैक्रममा उनीहरूको योग्यताको पहिचान, तदनुसारको नियुक्ति र जिम्मेवारीमा मेरा केही मास बिते ।
राज्यले एक प्रकारको गति लिएपछि मलाई हस्तिनापुर पुग्ने विचार आयो । म केही समयका लागि हस्तिनापुर लागें ।
*** ***
म हस्तिनापुर पुगेको रात दुर्योधनले आफ्नो विशिष्ट कक्षमा एउटा विशेष जलपानको आयोजना गरेका थिए । त्यहाँ उनका केही विश्वासपात्र भारदार, उनका आफ्ना केही भाइहरू, मामा शकुनि, अश्वत्थामा र म थियौं । जलपानमा अनेक मांस व्यञ्जन, फलफूल र मदिरा थियो ।
करिब चार घडीको जलपानपछि दुर्योधनले अन्य सबैलाई बिदा गरे । अब त्यहाँ हामी दुर्योधन, शकुनि, अश्वत्थामा, दुःशासन र म मात्र थियौं । हामी एउटा मेचमा बसेर खाइरहेका थियौं । दुर्योधन र मामा शकुनि विशेष तयारीको कुरा गर्दै थिए । मैले स्पष्ट बुझिनँ । दुर्योधनले मामासँग मलाई विषयवस्तुको जानकारी गराउन भने । शकुनिलाई मदिरा राम्रै लागिसकेको थियो । उनी उत्तेजित भएर बोल्दै थिए ।
उनको हातको प्यालाबाट थोरैथोरै मदिरा बाहिर पोखिँदै थियो । उनी आफ्नो बायाँ हातलाई हावामा घुमाइरहेका थिए । जतिसुकै मदिरा लागे पनि उनी चनाखो छु भन्ने देखाउन खोजिरहेका थिए । त्यस कक्षमा अरू कोही आउने सम्भावना थिएन । दासीहरू बीच–बीचमा मांसपरिकार र मदिरा ल्याइरहेका थिए ।
शकुनिले आफूहरूले पाण्डवहरूलाई सिध्याउन एउटा रणनीति बनाएको कुरा बडो मसिनो स्वरमा मेरो कानैनेर आएर सुनाए । म त्यो कुरा सुनेर आश्चर्यचकित भएँ । उनीहरू पाण्डवहरूलाई सिध्याउन लाक्षागृहको निर्माण गरिरहेको कुरा बताउँदै थिए ।
पाण्डव र कौरवमा वैमनस्य छ; यो मलाई थाहा थियो तर दुर्योधन छलपूर्वक पाण्डवहरूको हत्या गर्ने प्रयत्न गर्नेछन्, यो मैले सोचेकोसम्म पनि थिइनँ । तर यस बेला यस विषयमा बोल्न मलाई उचित लागेन । मैले भनें, ‘मित्र, यति बेला हामी सबैले मदिरा सेवन गरिरहेका छौ’ । त्यसकारण यो समय त्यस्तो कुरा गर्नु उपयुक्त होइन । बरु अब सबै आआफ्नो कक्षमा विश्राम गर्न जाऊँ ।’
‘कर्णको मुटु छैन कि क्या हो ?’, शकुनिले मेरो छातीमा हात राख्दै लर्बराएको स्वरमा भनेका थिए । उनको अभिव्यक्तिमा दोहोरो अर्थ थियो । मलाई उनीमाथि रिस उठेको थियो तर त्यसलाई दबाएर ठट्टाकै शैलीमा भनें, ‘कसको मुटु कति बलियो छ, यो कुरा मदिरापान नगरेको बेला परीक्षण गर्दा राम्रो होला, मामा ।’
शकुनिले मलाई उनको भनाइ मन परेन भन्ने बुझेका थिए । त्यसकारण आफ्नो अभिव्यक्तिमा मलाई कमजोर मुटु भएको अछूत भन्ने आशय थिएन भन्ने स्पष्टीकरण दिन खोज्दै थिए । दुर्योधनले मेरो कुराको समर्थन गर्दै जलपानको समापन गरे । उनको अभिव्यक्ति सुनेर शकुनि आफ्नो प्यालामा भएको मदिरा एक घुट्कोमा पिएर उठे ।
हामी त्यहाँबाट बाहिर निस्कियौ’ । दरबारमा मेरा निम्ति एउटा अलग्गै वासस्थानको व्यवस्था गरिएको थियो । दुर्योधनका कक्षबाट त्यसतर्फ लाग्दा बाटोमा दुःशलाको कक्ष पर्थ्यो । मलाई लाग्यो, एकपटक उनलाई भेटेर जाऊँ । फेरि सोचें, यो रात्रिको समयमा एक युवतीका कक्षमा मदिरा सेवन गरेर पस्दा के अर्थ लाग्ने हो ? प्रातःकाल
भेट्नुपर्ला भन्ने सोचेर म अगाडि बढे’ ।
पछाडिबाट दुःशलाको आवाज आयो, ‘अङ्गराज !’
‘अरे दुःशला !’, मैले पछाडि फर्कंदै भनेँ ।
‘महाराज केही भूल भयो कि ? भेट्दा पनि नभेटी ।’, दुःशलाले कटाक्ष गरिन् ।
‘त्यसो होइन, दुःशला । अहिले रात परेकाले ।’, मैले यति भन्दै गर्दा उनी म निकट आइसकेकी थिइन् । मेरो कुरामा ध्यानै नदिएर उनले मेरो हात समातेर आफ्नो कक्षतर्फ तान्न लागिन् ।
दुःशलाले मलाई आफ्नो कक्षमा पुर्याएर द्वार बन्द गरिन् । ‘तपाईंले मेरो कक्ष नाघेर जान पाउनुहुन्न, अङ्गराज ।’, उनले कटाक्ष गर्दै भनिन् ।
‘क्षमा पाऊँ राजकुमारी । मेरो उद्देश्य हजुरको उपेक्षा गर्नु थिएन ।’
‘थिएन !’, उनले भनिन्, ‘तपाईं मेरो कक्ष नाघेर जाँदै गरेको मैले देखें । अनि भन्नुहुन्छ, उपेक्षा गर्ने उद्देश्य थिएन ।’
उनी रिस प्रकट गर्दै थिइन् र मेरो कुराको प्रतिवाद पनि गर्दै थिइन् ।
मलाई ठट्टा गर्न मन लाग्यो । मैले उनका अगाडि उभिएर हात जोड्दै भनें, ‘राजकुमारी, त्रुटि हुन गयो । म अपराधी भएँ । दण्ड पाऊँ !’
‘दण्ड त भोग्नैपर्छ, महाराज । तपाईंले दुःशलाको चित्त दुखाउनुभएको छ ।’, उनले भनिन् । उनले ओठमा कुटिल हाँसो उत्पन्न गरिन्, ‘तर आज होइन । उपयुक्त समय आएपछि म तपाईंलाई दण्डित गर्नेछु । त्यस दिन तपाईंले दण्ड सम्झिएर मेरा आदेशको पालना गर्नुपर्नेछ ।’
‘राजकुमारी, मलाई त्यस दिनको प्रतीक्षा रहनेछ ।’
*** ***
अर्को दिन बिहानै म गाउँ गएँ । मलाई सोझै मालाको घर जान मन लाग्यो । मैले मालाको आँगनमा रथ रोके’ । रथको आवाज सुनेर माला बाहिर निस्की । ऊ मलाई देखेर हेरेको हेर्यै भई । मुखबाट एक शब्द निकाल्न सकिनँ ।
‘के भयो माला ? किन नबोलेको ?’, मैले सोधें ।
उसले आँखाबाट आँसु झारी तर बोल्न सकिन । यति मात्र भनी, ‘मैले विश्वास गर्न सकिरहेकी छैन कर्ण कि यो सत्य हो ?’
‘माता सन्चै हुनुहुन्छ ?’, म भित्र पस्दै भनें । माला पनि मेरो पछिपछि भित्र पसी ।
‘काकी, के छ हालखबर ?’, मैले काकीको मुखमा हेरेर सोधें ।
काकीले हात चलाउन खोजिन् तर उनका हात चलेनन् । उनका आँखामा एक प्रकारको जिज्ञासा थियो ।
‘माताले तिमीलाई नमस्कार गर्नुभएको छ ।’, मालाले भनी, ‘को महाराज हुनुहुन्छ भनेर सोध्नुभएको छ ।’
‘काकी, चिन्नुभएन ? म कर्ण !’, मैले शीरको मुकुट खोल्दै भनें ।
मलाई त्यस रूपमा देखेर काकी ज्यादै खुशी भइन् । उनको खुशीको सीमा रहेन । यो मैले बुझेको होइन । माला त्यसो भन्दै थिई ।
‘यी बुढी पनि ।’, माला रिसाई ।
‘के भन्दै हुनुहुन्छ र ?’, मैले सोधें ।
‘मलाई कहिले लैजान्छौ रे !’, यसो भन्दै गर्दा माला केही सर्माएकी थिई ।
‘मालालाई मात्र होइन, तपाईंलाई पनि लाने हो ।’, मैले काकीलाई हेरेर भनें ।
‘पत्याउनुभएन रे !’, मालाले मसँग जिस्कँदै भनेकी थिई ।
‘तिमीले कि काकीले ?’, मैले पनि उसलाई जिस्क्याएको थिएँ ।
‘मैले तिमीमाथि कहिले विश्वास गरिनँ र कर्ण !’, उसले मेरो छातीमा मुड्की हानी ।
‘ऐयाऽऽ !’, म जिस्किएँ ।
उसले मेरो छातीमा टाँसिएर सोधी, ‘दुख्यो ?’
‘मलाई होइन । यहाँभित्र कोही छ । उसलाई दुख्यो ।’
मालाले मेरो छातीबाट शिर उठाई र शङ्कालु आँखाले हेर्दै सोधी, ‘को ?’
‘माला ।’, मैले भनें ।
उसले मेरो छातीमा दुवै हातले जोड–जोडले हान्न थाली ।
‘यति बढी रिसाएकी छौ ?’, मैले सोधें
‘कोसँग ?’, उसले सोधी ।
‘मालासँग ।’, मैले भनें ।
माला मेरो छातीमा टाँसिई । ऊ रुन थालिछ । उसका आँखाबाट खसेका आँसुले मेरो छाती भिजेपछि थाहा भयो ।
म मालाकहाँबाट घर पुगे’ । मातापितालाई भनें, ‘अब तपाईंहरू मसँग जानुपर्छ ।’
‘कहाँ ?’, पिताले सोध्नुभयो ।
‘मसँग अङ्गदेश । हजुरहरू अब सामान्य मान्छे होइन । तपाईंहरूका सुसारे हुनेछन् । सुख के हो ? अब म तपाईंहरूलाई अनुभव गराउँछु ।’
‘भो पर्दैन पुत्र ।’, पिताले भन्नुभयो, ‘दरबारको सुख नभोगे पनि मैले राम्रोसँग देखेको छु । बाहिरबाट जति वैभव देखिए पनि भित्रभित्र रित्तो र यान्त्रिक हुन्छ, दरबारको जीवन । आफ्नै भनाउँदा वैरी हुन्छन् । हामी यही’ खुशी छौ’, पुत्र । बस्, तिमीसँग यत्ति आग्रह छ, हामीलाई नबिर्सनू । आउँदै गर्नू ।’
जतिसुकै सम्झाउँदा पनि मातापिताले मान्नुभएन । अन्त्यमा उहाँहरूको आशीर्वाद लिएर म आफ्नो राजधानी फर्किएँ ।
*** ***
भारदार तथा सामन्तहरूसँग राज्यका विभिन्न बस्तीहरूमा खानेपानीको व्यवस्थापनका विषयमा परामर्श चलिरहेको थियो । केही समय पहिला त्यस विषयमा बस्तीहरूको अवस्था अध्ययन गरी प्रतिवेदन प्रस्तुत गर्ने निर्देशन भएको थियो । त्यही निर्देशनका आधारमा प्रस्तुत भएका प्रतिवेदनका आधारमा विभिन्न बस्तीहरूमा साना ठूला आकारका इनार खन्ने खनाउने निर्णय र त्यसका निम्ति आवश्यक मुद्रा व्यवस्थापन विषयक चर्चा चलिरहेको थियो ।
एक द्वारपाल सभामा आयो । ‘भन द्वारपाल ।’, मैले उसलाई भनें ।
‘महाराज द्वारमा केही ब्राह्मणहरू आएका छन् । उनीहरू हजुरलाई भेट्न चाहन्छन् ।’, द्वारपालले भन्यो ।
‘ब्राह्मणहरू ! कहाँबाट आएका हुन् ?’, मैले सोधें ।
‘थाहा भएन, महाराज ।’
‘जाऊ, सोधेर आऊ ।’, मैले द्वारपाललाई आदेश दिएँ । ऊ बाहिर निस्कन लागेको थियो । ‘भयो, रहन देऊ । उनीहरूलाई केही समय प्रतीक्षा गर्न भन ।’, मैले निर्देशन दिएँ ।
सभा समापन भएपछि मैले द्वारपाललाई ती ब्राह्मणहरूलाई भित्र पठाउन निर्देशन दिएँ । केही क्षणमै सभाकक्षमा मेरो गाउँका ब्राह्मणहरू उपस्थित भए । त्यहाँ शशिधर, उनको छोरो गजाधर, यज्ञदत्त पण्डित, शशिधरका भाइ र अन्य छिमेकी ब्राह्मणहरू थिए ।
उनीहरू मेरासामु दुई हात जोडेर उपस्थित भएका थिए । मैले भनें, ‘हजुरहरूले यो के गर्नुभएको ? मैले हजुरहरूलाई हात जोड्नुपर्नेमा हजुरहरूले !’
‘त्यसो नभन्नुहोस्, महाराज ।’, यज्ञदत्तले भने ।
‘मलाई महाराज नभन्नुहोस्, काका । म त त्यही गाउँले न हुँ । बरु भन्नुहोस्, के कति कामले पाल्नुभएको हो ?’
यज्ञदत्तले भने, ‘सरयू किनारको शिवमन्दिरको मर्मत तथा रङरोगन गर्नुपर्ने थियो । त्यहाँ एउटा नारायण मन्दिर पनि स्थापना गरौ’ कि भन्ने सोच बनाएका छौ’ । तिम्रा पिताले भनेकाले हामी तिमीसामु सहयोग माग्न आएका हौं ।’
‘कति लाग्ला खर्च ?’, मैले सोधें ।
उनीहरूले स्पष्ट भन्न सकेनन् । मैले भनें, ‘जानुहोस्, मन्दिरको निर्माणमा लाग्ने खर्चको तथ्याङ्क निकाल्नुहोस् । त्यसको व्यवस्था म मिलाउनेछु ।’
मेरो कुरा सुनेर उनीहरू प्रसन्न भए ।
मैले उनीहरूलाई ससम्मान भोजन गराएर बिदा गरेको थिएँ । उनीहरूले बडो प्रसन्न हुँदै भोजन गरे र बिदा भए । बिदाइमा मैले उनीहरूलाई दक्षिणास्वरूप केही स्वर्णमुद्रा समेत प्रदान गरेको थिएँ ।
केही क्षणपछि शशिधर र गजाधर पुनः मलाई भेट्न आए ।
‘काका, के भयो ? केही कुरा भन्न छुट्यो कि ?’, मैले सोधें ।
‘होइन महाराज ।’, शशिधरले हात जोड्दै भने, ‘गजाधरलाई यतै कतै केही काम लगाउन पाए हुन्थ्यो भनेर निवेदन गर्न आएको ।’, शशिधर बोल्दै गर्दा ज्यादै झुकिरहेका थिए । उनको अभिव्यक्तिमा पर्याप्त चाकरीको भाव र दास मनोवृत्ति झल्किएको थियो ।
‘के गर्न सक्छौ गजाधर तिमी ?’, मैले गजाधरको मुखमा हेरेर भनें ।
गजाधर मेरो प्रश्न सुनेर अलमल्ल भयो । शशिधरले नै भने, ‘कतै मठमन्दिरमा राखिदिनुहोस्, महाराज । बडो उपकार हुने थियो ।’
‘अहिले कहाँ के गर्दै छौ ?’, मैले गजाधरलाई सोधें ।
‘घरमै छ, महाराज । कतै केही गरेको छैन ।’, उत्तर शशिधरले दिए ।
‘गजाधरको बिहे गरिदिनुभयो, काका ?’, मैले शशिधरलाई हेरेर सोधें ।
‘भयो महाराज । एक पुत्री पनि छ ।’, उनले उसैगरी भने ।
‘त्यसो भए उसलाई सपरिवार पठाइदिनुहोस् । म केही व्यवस्था मिलाउँला ।’
शशिधर पूर्ण कृतज्ञताका साथ हात जोडेर बिदा भए । हि’ड्दै गर्दा मैले गजाधरलाई भनें, ‘तिमी आएपछि मलाई भेट्नू ।’
*** ***
केही दिनपछि गजाधर सपरिवार मसामु आयो । उसको परिवारलाई हेरेर म विस्मित भएँ । उसलाई देख्नासाथ मेरो मुखबाट निस्कियो, ‘नैना !’ उसको काखमा एउटी बालिका थिइ, ठिक नैनाजस्ती ।
‘महाराज कर्ण !’, नैनाका नयन पनि मलाई हेरेर विस्मित थिए ।
‘तिमीले महाराजलाई चिनेकी छौ ?’, गजाधरले सोध्यो ।
‘चिनेकी छु । केही वर्ष पहिला हाम्रो गाउँमा आउनुभएको थियो ।’, नैनाले गजाधरसँग यति मात्र भनी ।
नैना मलाई हेरेर भावुक भएकी थिई । मलाई ऊ फेरि उही पुरानो कुरा स्मरण नगराओस् भन्ने लाग्यो । मैले यथाशीघ्र गजाधरलाई एउटा मन्दिरमा भगवान् नारायणको सेवा गर्न नियुक्त गरिदिएँ । उनीहरूको बसोवासको व्यवस्था समेत मन्दिरमै रहने जानकारीसहित मासिक वेतनको पत्रमा हस्ताक्षर गराएर एक सेवकलाई उनीहरूलाई नारायण मन्दिरमा पुर्याउने निर्देशन दिएँ ।
त्यस दिनभर मेरो मन अशान्त रह्यो । नैनाको गाउँ र त्यो घटना मनमा आइरह्यो । सायंकाल शान्ति सुरक्षाका विषयमा बोलाइएको बैठकमा मैले ध्यान पुर्याउन नसकेपछि आफ्नो अस्वस्थता जनाउँदै बैठकलाई अर्को दिनका निम्ति सार्नुपरेको थियो ।
कस्तो अचम्म केही वर्षअघि जसको स्वभावका कारण म उसको गाउँबाट भाग्नुपरेको थियो, त्यही नैना संयोगले आज पुनः मेरा अगाडि उपस्थित भई । नियतिले पनि मान्छेलाई कहाँ ल्याएर भेट गराउँछ ।
०००
एक दिन मैले गजाधरलाई बोलाएँ । नारायण मन्दिरको व्यवस्थापन सम्बन्धी सम्पूर्ण कुराहरू सोधें । गजाधर मन्दिरको सबै कुरा व्यवस्थित ढङ्गले चलिरहेको बताउँदै थियो । ऊ ज्यादै प्रसन्न पनि थियो । मैले उसको परिवारबारे पनि सोधें । ‘नैना खुशी छन् ?’
गजाधरले भन्यो, ‘ज्यादै प्रसन्न छन्, महाराज । उनी त हजुरको प्रशंसा गरिरहन्छिन् । भन्छिन्, महाराज कस्तो ठूलो मन भएको मान्छे ।’
गजाधरको कुरा सुनेर म मुस्कुराएँ । मैले भनें, ‘गजाधर, मैले तिमीलाई एउटा कुरा सोधुँ भनेर बोलाएको हुँ । यदि तिमीलाई भन्न अप्ठेरो लाग्दैन भने मलाई बताऊ ।’
‘सोध्नुहोस् महाराज । के हो त्यस्तो कुरा ?’, गजाधर केही सशड्ढित र भयभीत थियो ।
‘डराउनु पर्दैन, गजाधर । यदि तिमीलाई अप्ठेरो लाग्छ भने नबताउँदा पनि हुन्छ ।’, मेरो कुरा सुनेर ऊ केही निश्चिन्त भयो ।, ‘तिम्रो र लाक्षाबीचको सम्बन्ध के भयो ?’
मेरो प्रश्न सुनेर गजाधरको अनुहारको रङ परिवर्तन भयो । उसले म यो प्रश्न सोध्छु भन्ने सोचेको पनि थिएन होला । मैले उसलाई पुनः भनें, ‘तिमीलाई भन्न मन छैन भने कर छैन । तिमीले लाक्षासित जेसुकै गरेको भए पनि म तिमीलाई केही गर्दिनँ । केही पनि भन्दिनँ । तिमीहरूको सम्बन्ध के भयो भनेर बुझ्न मात्र खोजेको हुँ ।’
मैले धेरै आश्वस्त पारेपछि मात्र गजाधरले केही साहस बटुलेर भन्यो, ‘महाराज लाक्षा र म धेरै पहिलेदेखि एकअर्काका निकट थियौं । ऊ समय–समयमा आफ्नी माताका साथ सिलाएका वस्त्र पुर्याउन हाम्रो घरमा आउने गर्थी । उसकी माता निकै राम्री थिइन् । मेरी माता घरमा नभएको बेला पारेर पिता उनलाई घरभित्र बोलाउनुहुन्थ्यो । हामीलाई बाहिर खेल्न भन्नुहुन्थ्यो ।’
गजाधर निसङ्कोच भएर बोल्न थाल्यो । उसको कुराले म आश्चर्यमा परे’ । उसले भन्यो, ‘एक दिन मैले पिता र लाक्षाकी मातालाई निर्वस्त्र देखेको थिएँ । पिताले मलाई कसैसँग नभन्नू भनेर फकाउनुभयो । बिस्तारै उमेर बढ्दै गएपछि म लाक्षातिर आकर्षित भएँ । पिता र लाक्षाकी माताको सम्बन्ध देखेकाले मलाई कुनै भय पनि थिएन । बिस्तारै हामी गाउँ बाहिर भेट्न थाल्यौ’ । शायद पितालाई यो थाहा थियो तर केही भन्न सक्नुहुन्थेन ।
जुन दिन मलाई अजिङ्गरले आक्रमण गरेको थियो, त्यस दिन पनि म लाक्षालाई भेट्न भनेर त्यहाँ गएको थिएँ । अजिङ्गरले मलाई आक्रमण गरेको देखेर लाक्षा डराएर भागेकी थिई ।
हामी नियमित रूपमा एक अर्कालाई भेट्ने गथ्र्यौ’ । पछिपछि गाउँको निकट भेट्न डर हुँदै गएपछि वनमा जान थाल्यौ’ ।
एक दिन लाक्षाकी माताले मेरा पितासँग भनिछन्, ‘पण्डित मेरी छोरीले तिम्रा छोराको नासो पालेकी छ, पेटमा । अब के गर्नुपर्छ गर । मेरो इज्जत जाने होइन, इज्जत तिम्रो जाने हो ।’
लाक्षाकी माताको कुरा सुनेर पिता भयभीत हुनुभयो । उहाँले लाक्षाकी मातालाई सम्झाउँदै भन्नुभयो, ‘हेर् मञ्झिका, यसलाई जसरी भए पनि मिला । म तँलाई जे सहयोग गर्नुपर्छ, गर्छु ।’
केही दिनपछि लाक्षाकी माताले पितालाई भनिन्, ‘पण्डित, एउटा केटो लाक्षालाई भिœयाउन तयार भएको छ । तर केही नभएको नाङ्गो छ । तपाईंले उसको व्यवस्था मिलाउनुपर्यो ।’
पितालाई जसरी पनि समस्या समाधान गर्नु थियो । त्यसको केही दिनपछि हाम्रो घरमा चोरी भयो । माताका गहना र घरमा भएको स्वर्णमुद्रा सबै चोरी भएको थियो । मैले पछि थाहा पाएँ, त्यो पिताले नै चोर्नुभएको रहेछ । पिताले दरबारमा बिन्ती गरेर केही क्षतिपूर्ति प्राप्त गर्नुभयो । त्यसैले मातालाई गहना बनाइदिनुभयो । त्यसपछिका दिनमा मैले लाक्षाकी मातालाई कहिल्यै वस्त्र पुर्याउन गाउँमा हि’डेको देखिन । उनी एक सम्पन्न नारीझै’ भएर हि’ड्छिन् हिजोआज ।’, गजाधरले भन्यो ।
‘लाक्षा ?’, मैले सोधें ।
‘त्यसपछि मैले लाक्षालाई भेटेको छैन । एक दिन लाक्षाकी माताले मलाई बाटोमा भेटेर भनेकी थिइन्, ‘साना पण्डित ! लाक्षाले छोरो पाएकी छ । भेट्न जान्छौ ? ठ्याक्कै तिमीजस्तो छ मेरो नाति ।’, त्यो थाहा पाएर पिताले लाक्षाकी मातालाई हप्काउनुभयो र भन्नुभयो, ‘मञ्झिका, आइन्दा यस्तो ठट्टा नगर्नू ।’
गजाधरले भन्यो, ‘लाक्षाको पनि राम्रै व्यवस्था छ भन्ने सुनेको छु ।’
‘तिमीले लाक्षासित बिहे किन गरेनौ त गजाधर ?’, मलाई उसमाथि रिस त उठेको थियो तर रिसलाई मनमै दबाएर सोधेको थिएँ ।
‘उसको र मेरो जात मिल्दैन त महाराज ।’, गजाधरको अभिव्यक्ति ज्यादै सरल थियो ।
‘अनि उसलाई गर्भवती तुल्याउन जातले रोकेन ?’, मैले रिसलाई नियन्त्रण गरेरै सोधेको थिएँ ।
गजाधर केही बोल्न सकेन । उसको अनुहारमा एक प्रकारको भय व्याप्त थियो ।
‘अहिले तिमी जाऊ ।’, मैले उसलाई बिदा गर्दै भनें ।
मेरो मन धेरैबेर अस्थिर भयो । गजाधरले भनेका कुराहरू मेरो मनमस्तिष्कमा घुमिरहे । शशिधर जसले कुरैपिच्छे जातभातको कुरा गथ्र्यो, ब्राह्मण भएकोमा अहङ्कार गथ्र्यो र दलितलाई अपमान गथ्र्यो । ऊ स्वयम् एक दलित महिलाको यौन शोषण गर्थ्यो भन्ने सुनेर अचम्म लाग्यो ।
मान्छेको चरित्र कस्तो अचम्मको रहेछ भन्ने लाग्यो । मान्छे बाहिर एउटा रूप देखाएर भित्रभित्रै अर्कै रूपमा कसरी बाँच्न सक्छ भन्ने सोचेर म विस्मयमा परे’ । सम्झिँदा शशिधरप्रति घृणा उत्पन्न भयो । आफूलाई उपल्लो जाति हुँ भन्ने र तल्लो जातिलाई उपेक्षा गर्नेहरूप्रति मनमा घृणा उत्पन्न भयो ।
*** ***
एक गुप्तचरले खबर सुनायो, ‘महाराज हस्तिनापुरमा ठूलो दुर्घटना भएछ ।’
‘के भएछ ?’, उसको कुरा सुनेर मेरो मन भयभीत भयो ।
‘पाण्डवहरूका लागि निर्मित नयाँ दरबारमा उनीहरू बसाइँ सरेकै दिन राति आगो लागेछ । राजमाता कुन्तीसहित पाँच भाइ जलेर खरानी भएछन् ।’
‘कति आधिकारिक हो यो खबर ?’, मैले सोधें ।
‘आधिकारिक हो, महाराज ।’, गुप्तचरले भन्यो ।
यो घटना सुनेर मन विचलित भएन । दुर्योधनहरू यो रणनीति बनाइरहेका छन् भन्ने पहिला नै थाहा थियो । ‘राज्यसत्ता बडो स्वार्थी हुन्छ । त्यहाँ कोही पिता–पुत्र हुँदैन, दाजु–भाइ हुँदैन । सत्ता सर्वोपरि हुन्छ ।’, गुरु परशुरामले राजनीतिशास्त्रको शिक्षा दिने क्रममा भनेको सम्झिएँ ।
यो घटना सुनेर धेरै दुःख त लागेन । राजमाताको निधनको खबरले भने केही नरमाइलो लागिरहेको थियो । कुन्नि किन उहाँ मप्रति केही स्नेह प्रकट गरिरहनुहुन्थ्यो । आफ्नो पुत्र अर्जुनलाई सर्वश्रेष्ठ धनुर्धर हुनबाट मैले रोक्दा पनि उहाँको मुहारमा मप्रति कुनै रिसराग थिएन । सहज मुस्कान झल्किरहेको थियो उहाँको मुहारमा । उसै दिन साँझ दासीसँग बधाई पठाउनुभएको थियो । मलाई भेट्न खोज्नुभएको थियो । मैले नै उहाँलाई भेट्न सकिनँ ।
दुर्योधन आफ्नो योजनामा सफल भएको खबर सुनेर उनीसँग भेट्न मन लाग्यो । उनलाई बधाई भन्न मन लाग्यो । उनले आफ्नो मार्गको व्यवधान सदासदाका लागि पन्छाएका थिए ।
मलाई औपचारिकताका लागि समेत हतार भएको थियो । त्यसकारण रथ र अङ्गरक्षक समेत नलिई धनु तरवार र कटारी लिएर मेरा लागि पिताले किनिदिनुभएको घोडामा म हस्तिनापुरतिर लागें ।
*** ***
लामो यात्रा गरिसकेपछि बल्ल थाहा पाएँ, मैले बाटो बिराएँछु । म हस्तिनापुर जाने बाटो छोडेर अर्कै बाटो लागेंछु । तर म बाटो बिराएर कुन दिशामा कति टाढा आइपुगे’ भन्ने समेत मलाई ज्ञान थिएन । सूर्य ठीक मेरो शिरमाथि थिए । अब कसो गर्ने होला ? मनमा यही प्रश्न थियो । तत्काल एउटा उपाय सोचें । अब अगाडि बढ्दै जान्छु । जहाँ पुग्दा बस्ती भेटिएला वा कोही मान्छे भेटिएला, त्यही’ सोधेर आफ्नो दिशा पहिचान गरेर अघि बढ्नेछु ।
म सरासर अघि बढिरहेको थिएँ । धेरै अगाडि बढ्दा पनि बस्ती भेटिएको थिएन । कोही मान्छे पनि भेटिएन तर कृषियोग्य जमिन भेटिएकाले म अब बस्तीको निकट छु भन्ने लाग्यो । केही अघि बढेपछि मैले एक सुन्दर सरोवर देखें । हि’ड्दाहि’ड्दै तिर्खा लागेको थियो । सोचें, सरोवरमा पुगेर जलपान गरेर अघि बढ्नुपर्ला । म सरोवरतिरै लागें।
सरोवरको एक किनारमा पुग्दा अर्को किनारमा केही मानवाकृति देखापरे । उनीहरूलाई भेटेर मार्ग सोध्नुपर्ला भन्ने उद्देश्यले म जल पनि नपिई उतै लागें । नजिक पुगेपछि देखें ती मानवाकृति युवतीहरू रहेछन् । एउटी युवती कुनै राजकन्या प्रतीत हुन्थी, ज्यादै सुन्दर । मैले आफ्नो जीवनकालमा यति सुन्दर युवती कहिल्यै देखेको थिइनँ । कुनै युवतीप्रति यसप्रकार आकर्षित पनि कहिल्यै भएको थिइनँ ।
त्यस युवती मलाई एकोहोरो हेरिरहेकी थिई मानौ’ ऊ पनि मप्रति आकर्षित भएकी छ । म घोडाबाट उत्रिएर युवतीसामु पुगे’ ।
‘म यहाँको परिचय पाउन सक्छु ?’, मैले विनम्रतापूर्वक सोधें ।
‘अवश्य सक्नुहुन्छ । परन्तु… ।’, अर्कीले भनी ।
‘परन्तु के ?’, मैले त्यस सुन्दरीबाट आँखा नहटाईकनै सोधें ।
‘मेरो परिचय सोध्ने मान्छेको परिचय चाहि’ ?’, सुन्दर युवतीले भनी ।
‘म अङ्गदेशको राजा हुँ ।’, मैले भनें ।
‘ए कर्ण !’, सुन्दरीले भनी ।
‘हो, मेरो नाम कर्ण हो । मलाई चिन्नुभएको रहेछ । खुशी लाग्यो ।’, म केही औपचारिक भैदिएको थिएँ ।
‘राजकुमारी, हजुर आफ्नो परिचय स्वयम् दिनुहुन्छ कि म भनिदिऊँ ?’, अघि बोल्ने अर्की युवती बोली ।
ऊ राजकुमारी हो भन्ने त थाहा भयो । यसबाट म कुनै राजधानीको नजिक छु भन्ने पनि अनुमान लाग्यो तर कहाँ ?
‘राजकुमारी, हजुरको परिचय पाऊँ न त ?’, मैले विनम्र भएर आग्रह गरे’ ।
‘म पाञ्चाल राजकुमारी हुँ । मेरो नाम द्रौपदी हो ।’, उनले आफ्नो परिचय अत्यन्त शालीन र शिष्टतापूर्वक दिइन् ।
‘पाञ्चालकी राजकुमारी दु्रपदकी पुत्री द्रौपदीलाई अङ्गराज कर्ण अभिवादन गर्दछ ।’
‘अभिवादन ।’, हात जोड्दै द्रौपदीले भनिन् । उनले आफ्ना दासीहरूलाई टाढा जान सङ्केत गरेको मैले देखेर पनि नदेखेझै’ गरेको थिएँ । दासीहरू एउटा बहाना बनाएर एकातिर लागेका थिए ।
‘अङ्गराज यहाँलाई पाञ्चालको राजधानी काम्पिल्यको नजिक रहेको यस सुन्दर सरोवर काम्यहंशको किनारमा स्वागत छ ।’
‘धन्यवाद !’, मैले भनें ।
‘अङ्गराज, हजुर यहाँ कसरी ?’, द्रौपदीले सोधेकी थिइन् ।
‘म हस्तिनापुर जाँदै थिएँ, हतारमा दौडि’दा कहाँनेर मार्गभ्रम भयो, मैले थाहै पाइनँ । अनि यहाँ आइपुगे’छु ।’
‘यो संयोग पनि राम्रै हो, अङ्गराज । नियतिले आज हजुर र मेरो भेट हुन लेखेको थियो । त्यसैले हजुरलाई मार्गभ्रम हुन गयो ।’
हामी एक लहरमा पाइला चाल्दै अगाडि बढिरहेका थियौं । राजकुमारीका पाउजुले छनछन, छनछन आवाज गर्दै बजिरहेका थिए । त्यसले मेरो मनलाई चञ्चल तुल्याएको थियो । त्यही चञ्चलतावश मैले भनें,
‘राजकुमारीज्यू, लामो बाटो यात्रा गर्दा तिर्खा लागेको थियो । यदि जलपान गर्ने अनुमति पाए… ।’
‘अवश्य अङ्गराज, म पिलाऊँ कि !’, कटाक्षपूर्ण दृष्टिले मलाई हेरेर हाँसिन् द्रौपदी ।
‘मेरो सौभाग्य ।’, म उनलाई हेरेर मुस्कुराइदिएँ ।
द्रौपदी आफ्नो अञ्जुलीले पानी उबाउँथिन् र मुखमा जोडिएको मेरो अञ्जुलीमा खन्याउँथिन् । यस क्रममा हामी दुईका नयन जुधिरहेका थिए ।
मेरो जलको तिर्खा त मरेको थियो तर द्रौपदीलाई यति नजिकबाट हेर्ने तृष्णा मेटिएको थिएन । लाग्थ्यो, यसैगरी जल पिइरहूँ, यसैगरी उनलाई हेरिरहूँ ।
‘अङ्गराज कर्ण !’, अञ्जुलीले जल छोड्दै द्रौपदीले भनिन् ।
‘भन्नुस् राजकुमारी ।’, मैले अञ्जुली फुकाउँदै भनें ।
‘तपाईंको धनुर्विद्याको बडो चर्चा सुनेकी छु ।’
‘धन्यवाद !’, मैले भनें ।
‘धन्यवाद भनेर उम्कन पाइँदैन अङ्गराज ।’
‘आज्ञा होस् राजकुमारी, के सेवा गरूँ ?’
‘संयोगले हाम्रो भेट भएको छ । तपाईंको क्षमताको बडो चर्चा छ । केही देख्न पाए हुन्थ्यो ।’
‘जो आज्ञा राजकुमारी ।’, यति भनेर मैले आफ्नो धनु काँधबाट झिकेर त्यसमा एउटा तीर चढाएँ । केही पर राजकुमारीको रथ उभिएको थियो । मैले त्यसमा झुन्ड्याइएका
एकतर्फका सबै झुम्का एकै प्रहारमा खसालिदिएँ । राजकुमारी चकित भइन् ।
‘क्षमा चाहन्छु राजकुमारी, हजुरको रथमा क्षति पुर्याएँ ।’, मैले ठट्टा गरेको थिएँ ।
‘यसका लागि अवश्य दण्ड मिल्नेछ ।’, उनले पनि ठट्टा नै गरेकी थिइन् ।
‘यी सुन्दर हातबाट दण्ड भोग्न तयार छु राजकुमारी, आज्ञा होस् ।’, द्रौपदीका हात सुमसुम्याउँदै भनें ।
द्रौपदी भावुक भइन् । ‘महाराज, आज हाम्रो पहिलोपटक भेट भएको छ तर यस्तो लाग्छ, हजुरसँग लामो परिचय छ ।’
‘यस्तो अवस्था प्रेमको सङ्केत हो राजकुमारी ।’, मैले भनें ।
हाम्रा कुरा कहिल्यै सिद्धिदैनन् जस्ता थिए । तर सूर्य क्रमशः पश्चिम दिशातर्फ लागेका थिए ।
‘राजकुमारी, क्षमा चाहन्छु । मलाई आज हस्तिनापुर पुग्नु छ । त्यसकारण अब बिदा चाहन्छु ।’
‘संयोग नै सही, मार्ग भुलेर नै सही, तपाईं पाञ्चाल आउनुभएको छ, अङ्गराज । के एक दिन अतिथिको सत्कार गर्ने मौका पनि दिनुहुन्न ?’, द्रौपदीको अभिव्यक्तिमा मप्रति पर्याप्त आसक्ति थियो । त्यसो त म पनि आसक्त थिएँ तर यति बेला मलाई हस्तिनापुर पुग्नु अति आवश्यक थियो ।
‘क्षमा चाहन्छु, राजकुमारी । मैले आज हस्तिनापुर पुग्नैपर्नेछ । फेरि कुनै दिन मार्ग बिर्सू’ला ।’
राजकुमारीले मुस्कुराएर बिदा दिइन् । अश्वमा चढेपछि उनले भनिन्, ‘यी नयनलाई ती नयनको प्रतीक्षा रहनेछ, अङ्गराज ।’
म मुस्कुराएर त्यहाँबाट अघि बढे’ ।
*** ***
हस्तिनापुर पुग्नासाथ मैले थाहा पाएँ, मालती काकीको निधन भएछ । एकपटक दुर्योधनलाई भेटेर म गाउँ पुगे’ । मालालाई भेटे’, ऊ आज पनि धेरैबेर मेरो छातीमा शिर राखेर रोइरही । मैले उसलाई सम्झाएँ । ‘अब तिम्रो यस गाउँमा बस्नुको कुनै प्रयोजन छैन, माला ! हि’ड, मसँगै अङ्गदेश ।’, मैले उसलाई भनें ।
तर उसले मानिन । ‘म माताको निधन भएको यति छिटो गाउँ छोड्न सक्दिनँ, कर्ण !’, मालाले भनी ।
‘त्यसो भए आजबाट तिमी मेरा मातापितासँग बस्नुपर्छ ।’, मैले उसलाई आग्रह गरे’ । पहिला त उसले मानिन तर धेरै सम्झाएपछि तयार भई । म मातापितालाई मालाको जिम्मा लगाएर हस्तिनापुर फर्किएँ । त्यसपछि केही दिन हस्तिनापुरमै बसे’ ।
एक दिन म आफ्नो कक्षमा थिएँ । मेरो स्वीकृति समेत नलिई ढोका खोलेर दुःशला मेरो कक्षमा छिरिन् । मलाई आश्चर्य लाग्यो, ‘दुःशला तिमी !’, मैले भनें ।
‘अङ्गराज, मलाई देखेर यतिविघ्न आश्चर्य मान्नुपर्ने कारण ?’
‘त्यस्तो त केही होइन दुःशला तर पनि एक एक्लो पुरुष बसेको कक्षमा तिमी युवतीले यसरी प्रवेश गर्नु ठिक होइन ।’
‘के फरक पर्छ र अङ्गराज ।’, दुःशला निकै चञ्चल र उत्तेजक लागिरहेकी थिइन्, ‘म त यही चाहन्छु कि तपाईंको कक्षमा आउन जतिसुकै बेला स्वीकृति लिनु नपरोस् ।’
‘के भनेको दुःशला ? तिम्रो तात्पर्य ?’
‘बुझेर पनि नबुझेझै’ नगर्नुहोस्, अङ्गराज ।’, दुःशलाले मलाई काँधमा समातेर सुमसुम्याउन थालिन् ।
म उनीबाट तर्किएर पर सरे’ र भनें, ‘तिमीले यो के गरेको दुःशला ? तिम्रा दाजु दुर्योधन मेरा मित्र हुन् । तिमी मेरी बहिनी समान छौ ।’
‘बहिनी समान छु महाराज; बहिनी त होइन नि !’, उनी पुनः म निकट आएर मेरा ओठमा आफ्ना औ’लाले सुमसुम्याउन थालिन् ।
दुःशलाको उत्ताउलो र कामुक क्रियाकलाप देखेर मलाई घृणा उत्पन्न भयो तर उनी झन् बढी उत्तेजक हुँदै थिइन् ।
मैले उनलाई अनेक तरहले सम्झाउन खोजे’ तर उनले मेरो एउटा पनि कुरा सुनिनन् । उनको वश चलेको भए आजै मसँग निर्वस्त्र हुन चाहन्थिन् तर मैले प्रतिवाद गरे’ । अन्त्यमा उनले भनिन्, ‘कर्ण, तिमीले मलाई वचन दिएका थियौ ।’
‘कस्तो वचन ?’, मैले सोधें ।
‘यही कि मैले जे भने पनि मान्नेछौ ।’
‘म नशामा थिएँ ।’
‘बहाना नबनाऊ, कर्ण !’, दुःशलाले मप्रति अधिकार जताउँदै क्रोध प्रकट गरिन् ।
यतिमै द्वारमा कसैले खटखट आवाज दियो । म झटपट गएर ढोका खोले’ । द्वारमा दुर्योधन उभिएका थिए ।
‘दुर्योधन ।’, मैले अचम्म मान्दै भनें । उनले द्वारबाटै आफ्नी बहिनीलाई मेरो कक्षमा देखे ।, ‘ओ, म गलत समयमा आएँछु’ भन्दै उनी त्यहाँबाट हि’डे । मैले उनलाई रोक्न खोजे’ तर उनी गैसकेका थिए ।
मैले दुःशलासँग क्रोध प्रकट गरे’, ‘तिम्रा कारण आज दुर्योधनले मलाई गलत सम्झेका छन् ।’
‘के फरक पर्छ र ! ढिलोचाँडो थाहा पाउनु नै थियो, सो आजै थाहा भयो । राम्रो भयो ।’, दुःशलामा लेस मात्र पनि डर र लज्जा थिएन । तर मलाई भने ज्यादै असहज लागिरहेको थियो ।
म तत्काल दुःशलालाई कक्षमै छोडेर दुर्योधनको कक्षमा गएँ । म कक्षमा पुग्दा उनी त्यहाँ थिएनन् । भानुमतीले द्वार खोलिन् । ‘आउनुहोस् अङ्गराज ।’, उनले मुस्कुराउँदै भनिन् ।
‘युवराजसँग मेरो काम थियो ।’, मैले द्वारमै उभिएर भनें ।
‘युवराज त भर्खरै निस्कनुभयो ।’, भानुमतीले भनिन् ।
‘कहाँ निस्कनुभयो होला ?’, मैले सोधें ।
‘खोइ ? मसँग भनेर निस्कने भए पो !’, भानुमती मसँग गुनासो गर्न खोज्दै थिइन् तर मलाई उनको गुनासो सुन्ने फुर्सद थिएन ।
म त्यहाँबाट निस्किएँ । निस्कन लाग्दा भानुमतीले भनेकी थिइन्, ‘अङ्गराज भित्र पनि नपसी… ।’
‘फेरि बसौ’ला युवरानी, अहिले मलाई हतार छ’ भनेर म त्यहाँबाट निस्किएँ । कहाँ गए होलान् दुर्योधन ? उनी प्रायः मामा शकुनिकहाँ गइरहन्छन् । त्यसकारण म पनि सरासर त्यतै गएँ ।
दुर्योधन मामा शकुनिकै कक्षमा रहेछन् । मलाई देख्नासाथ दुर्योधनले ‘आऊ मित्र, आऊ’ भने । म भित्र पसेँ ।
‘के छ भान्जा, अङ्गदेशको हालखबर ?’, मामा शकुनिले यसरी भनिरहेका थिए मानौँ उनी भर्खर आफूहरूबीचमा चलिरहेको प्रसङ्ग परिवर्तन गर्न चाहन्छन् । आखिर मसँग उनीहरू के लुकाउँदै छन् ? मसँग
केही नलुकाउने दुर्योधन र शकुनिले कुरा लुकाउन खोजेको देखेर आश्चर्य लाग्यो ।
‘ठिक छ मामाश्री । सब कुशल नै छ ।’, प्रत्युत्तरमा मैले भनेँ ।
‘अरू त ठीकै छ । अब एक महारानीको खाँचो छ भान्जा, जो तिम्रो ख्याल राखोस् ।’, मामाले भने । यो अप्रासङ्गिक विषयले मेरो मनमा चिसो पस्यो ।
‘युवराज, तपाईंसँग एउटा सानो काम थियो ।’, मैले दुर्योधनलाई हेरेर भनें ।
दुर्योधन उठ्नै लागेका थिए । ‘मसँग पनि लुकाउनुपर्ने त्यस्तो के थियो र भान्जा ?’, मामाले भने ।
‘त्यस्तो त केही पनि होइन, मामाश्री ।’, मैले भनें ।
‘त्यसो भए यही’ भन ।’, उनले भने ।
मलाई पनि ठीकै हो भन्ने लाग्यो, ‘अघि तिमीले जे देख्यौ, त्यो वास्तवमा तिमीले बुझेजस्तो केही थिएन, दुर्योधन ।’, मैले दुर्योधनलाई भनेँ ।
‘मैले के देखें र कर्ण ? मैले के बुझे’ र ? तिमीले भन्न खोजेको के हो ?’, दुर्योधन यसरी भनिरहेका थिए मानौ’ उनीलाई केही पनि थाहा छैन ।
‘के भएको थियो र भान्जा ? तिमी नै भन ।’, शकुनिले भने ।
‘त्यस्तो केही होइन मामा । दुर्योधनलाई मप्रति भ्रम परेजस्तो लाग्यो, त्यसैले ।’
‘मलाई कुनै भ्रम परेको छैन, कर्ण ! बरु तिमीलाई भ्रम परेजस्तो छ ।’, दुर्योधन सामान्य बन्न खोज्दै थिए तर उनको अभिव्यक्तिले उनलाई असामान्य बनाइरहेको थियो । दुर्योधन आफ्नो मनोभाव लुकाउन खोजेर पनि सक्दैनथे । यो उनको एक प्रकारको दुर्बलता नै थियो ।
शकुनीको कक्ष मेरा लागि यस्तो अस्वाभाविक भैदियो कि म एकक्षण पनि त्यहाँ बस्न सकिनँ । म तत्काल त्यहाँबाट निस्किएँ । तर मेरो मनले मानेन र बन्द द्वारको बाहिर उभिएर भित्रको कुरा सुने’ ।
दुर्योधन भनिरहेका थिए, ‘शूद्र भनेको आखिर शूद्र नै हुँदो रहेछ, मामा । कर्णले यति छिटो आफ्नो हैसियत बिर्सिएला र मेरै घरमा आँखा गाड्ला भन्ने लागेकै थिएन ।’
‘तिमीले गोबरलाई गणेश बनायौ, भान्जा । तर अब कुरा बढाउनु हाम्रै लागि पनि हितकर छैन ।’
‘के गर्नु त मामा ?’
‘यथाशीघ्र भान्जीको बिहे गरिदिनुपर्छ ।’
परबाट कोही आइरहेकाले म त्यहाँ उभिइरहन सकिनँ । म सरासर आफ्नो कक्षतिर लागें । मेरो कानमा दुर्योधनको ‘शूद्र आखिर शूद्र नै हुँदो रहेछ’ भन्ने वाक्य र शकुनिको ‘तिमीले गोबरलाई गणेश बनायौ भान्जा’ भन्ने अभिव्यक्ति गुञ्जिरहेको थियो ।
नखाएको विषले मन अधिक पोल्दो रहेछ । म आफ्नो कक्षमा छट्पटाइरहेको थिएँ । मसँग केही उपाय पनि थिएन ।
म तत्काल निर्णयमा पुगे’ र आफ्नो घोडा लिएर अङ्गदेशतिर लागें ।
*** ***
म आफ्नै कक्षमा बसेर विभिन्न ठाउँबाट दर्ता गरिएका निवेदन र तिनमा भनिएका समस्याहरूका विषयमा चिन्तन गरिरहेको थिएँ । एक अङ्गरक्षक मसामु आएर उभियो ।
‘के खबर ल्यायौ ?’, मैले सोधें ।
‘हस्तिनापुरबाट एक पत्रबाहक आएको छ, महाराज ।’
‘भित्र पठाऊ ।’
ऊ निस्कियो । केही क्षणमै हस्तिनापुरबाट आएको व्यक्ति मेरासामु उपस्थित भयो ।
‘के समाचार ल्याएका छौ ?’, मैले सोधें ।
‘यो पत्र लिएर आएको हुँ, महाराज ।’ उसले पत्र दि’दै भन्यो ।
मैले उसका हातबाट पत्र लिएँ र खोलेर हेरे’ । वास्तवमा त्यो पत्र थिएन । विवाहको निमन्त्रणा थियो ।
दुःशलाको विवाहको खबरले मलाई ज्यादै खुशी लाग्यो । उनी हस्तिनापुरमा मेरा लागि समस्या बनिदिएकी थिइन् । तर दुःख यस कारण लाग्यो कि पाण्डवहरूको निधन भएको पैतालिस दिन नबित्दै उनको विवाह गरिदिएर मप्रति शङ्का गरिएको पुष्टि भैरहेको थियो ।
म ठीक विवाहको दिन दुःशलाका निम्ति उपहारहरू लिएर हस्तिनापुर पुगे’ । म आएको खबर पाउनासाथ दुर्योधन मेरो कक्षमा आए । उनले मसँग भने, ‘कर्ण, बहिनी तिमीसँग भेट्न चाहन्छे । तिमी एकपटक बहिनीको कक्षमा जाऊ ।’
फेरि अर्को घटना नहोस् भन्ने हेतुले मैले दुर्योधनलाई सँगै हि’ड्न आग्रह गरे’ । तर उनी आफ्नो व्यस्तता बताउँदै अर्कोतर्फ लागे ।
म दुःशलाको कक्षमा पुग्दा सेविकाहरू उनको शृङ्गारमा व्यस्त थिए । मलाई देख्नासाथ दुःशलाले दासीहरूलाई बाहिर पठाइन् । ‘बधाई छ दुःशला ।’, मैले बोल्ने बहाना बनाउँदै भने, ‘तिमीले मसँग भेट्न खोजेकी थियौ रे !’
उनले आँखाभरि आँसु बनाएर मलाई हेरिन् । केही क्षण त बोल्न पनि सकिनन् । केही क्षणपछि बल गरेर ओठ कमाउँदै आँखाबाट आँसु झारेर भनिन्, ‘मेरो बिहेको खबर सुनेर तिमी त खुशी भयौ होला, कर्ण !’
उनको बोली मेरो मुटुमा तीर बनेर घोच्यो ।
‘त्यसो नभन, दुःशला । मेरो बाध्यता बुझ्ने प्रयत्न गर ।’
‘अब बुझ्नु र नबुझ्नुको के अर्थ रह्यो र कर्ण ! त्यही पनि भन, तिम्रो के बाध्यता थियो ?’
म भन्न चाहन्थे’, ‘दुःशला, म दासपुत्र हुँ, शूद्र हुँ । त्यसकारण तिम्रा दाजु यो कदापि स्वीकार गर्ने थिएनन् ।’ तर मैले त्यसो भन्न सकिनँ । मैले भनें, ‘दुःशला, म पहिलादेखि नै कसैलाई प्रेम गर्छु । मैले उसलाई नै जीवनसङ्गिनी बनाउने वचन दिएको छु ।’
‘छोड कर्ण, अब यी सब कुराको कुनै अर्थ छैन ।’, उनले भारी आवाजमा भनिन्, ‘मेरो मनको कुनामा तिमीप्रति सधै’ एउटा गुनासो रहनेछ, कर्ण कि तिमीले मलाई तिरस्कार गर्यौ ।’
म दुःशलासँग बहस गर्न चाहन्नथे’ तर उनले मलाई तिरस्कार गरेको आरोप लगाइन्, जुन सर्वथा असत्य थियो ।
‘तिमीले जयद्रथ जस्तो वीर र सुन्दर पति पाएकी छौ, दुःशला ।’
‘मैले को र कस्तो पति पाएँ, यो महङ्खवपूर्ण होइन कर्ण ! तिमीलाई पाउन सकिनँ भन्ने कुरा मात्र मेरा निम्ति महङ्खवपूर्ण हो ।’
उनलाई सम्झाउनुको कुनै अर्थ छैन ठानेर म उनको कक्षबाट निस्किएँ ।
राति स्वयंवर सभामा उपस्थित भएर जब मैले दुःशलालाई उपहार भेट गरे’ । उनले मुस्कुराएर मेरो उपहार ग्रहण गरिन् र जयद्रथसँग मेरो परिचय गराउँदै भनिन्, ‘यिनी कर्ण हुन् । दाजु दुर्योधनका आत्मीय मित्र र अङ्गदेशका राजा ।’
‘ए ! तपाईंका बारेमा सुनेको थिएँ । खुशी लाग्यो ।’, जयद्रथले भने । पातलो र अग्लो कदका जयद्रथ हँसिला र सरल स्वभावका लाग्थे ।दुःशलाको बिहेपछि म गाउँ गएँ । मालालाई दुःशलासँगका सबै घटना बताएर यथाशीघ्र मसँग विवाह गर्न आग्रह गरे’ । मेरो समस्यालाई बोध गर्दै माला मसँग गन्धर्व विवाह गरेर अङ्गदेश हि’ड्न तयार भई ।
अङ्गदेश पुगेर मैले विवाह भोजको आयोजना गरेको थिएँ । मेरा मातापिता पहिलोपटक बिहे भोजमा संलग्न हुन अङ्गदेश आउनुभयो । माला र मैले अनेक अनुरोध गर्दा पनि नमानेपछि उहाँहरूलाई बिदा गरेका थियौं ।
विवाह भएको केही समयमै माला गर्भवती भइन् र पुत्रलाई जन्म दिइन् । वृषसेन उसको नाम हो । ज्यादै सुन्दर छ ऊ । देख्दै माया लाग्दो । माताले भन्नुभएको थियो, ‘म नदीमा भेटि’दा ठीक यस्तै थिएँ रे !’
बिस्तारै अङ्गदेश एउटा बलियो र सम्पन्न देश बनेको थियो । मेरो कुशल नेतृत्वको परिचय बनेको थियो, अङ्गदेश । भारदार र प्रजा खुशी थिए ।
*** ***
द्वारपाल कक्षमा आएर भन्यो, ‘महाराज, एक दरिद्र ग्रामीण परिवार द्वारमा आएको छ । हजुरलाई भेट्न चाहन्छ ।’
‘को हुन् ? कहाँबाट आएका हुन् ? सोध उनीहरूलाई ।’, मैले द्वारपाललाई आदेश दिएँ ।
केही क्षणमै मसामु आएर उसले भन्यो, ‘महाराज, युवती भन्छे– मेरो नाम महाराजलाई सुनाइदेऊ । महाराजले चिन्नुभएन भने म महाराजलाई नभेटी फर्कनेछु ।’
‘यतिविघ्न विश्वासका साथ मलाई भेट्न खोज्ने को हुन सक्छ ?’, मनमनै सोचें । ‘के रहेछ युवतीको नाम ?’, द्वारपालसँग सोधें ।
‘उषा भन्छे महाराज ।’, द्वारपालले भन्यो ।
‘उषा !’, विस्मयपूर्वक यति भन्दै म द्वारतर्फ नै लागें । द्वारमा उषा एक युवकका साथ काखमा नवजात शिशुलाई च्यापेर मेरो प्रतीक्षा गरिरहेकी थिइन् । उनीहरूको भेषभूषाले उनीहरूको पारिवारिक अवस्थाको परिचय दिइरहेको थियो; उनीहरूको दरिद्रताको परिचय दिइरहेको थियो । मैले यथाशीघ्र उनीहरूलाई आफ्नो भवनमा पुर्याएँ । मालासँग उषाको परिचय गराउँदै भने, ‘माला, यी उषा हुन् । म शिक्षा लिन
तिमीसँग बिदा भएर हि’डेको दिन राति यिनकै घरमा बास बसेको थिएँ ।
उषाप्रति मैले देखाएको सद्भाव मालालाई ज्यादै मन पर्यो । मालाले उषा र उनका श्रीमान्को सत्कार गरिन् । जलपानपछि हामी धेरैबेर कुराकानी गरेर बस्यौ’ ।
मैले उषालाई भने, ‘एक दिन नैना यहाँ आएकी थिइन् । उनको विवाह मेरै गाउँमा भएको रहेछ ।’
उषाले अचम्म मान्दै सोधिन्, ‘के नैना यही’ छ ?’
‘हो, मैले उनीहरूलाई नारायण मन्दिरमा व्यवस्था गरिदिएको छु ।’, मैले भनें ।
‘राम्रो भएछ ।’, उषाले भनिन्, ‘तपाईं हि’डेपछि नैना पागलजस्तै भई । अनेक उपाय गर्दा पनि उसलाई ठीक भएन । एक वैद्यले नैनाको समस्यालाई मनोरोग बताउँदै विवाह गरिदिए ठीक हुन्छ भन्ने सल्लाह दिए । परन्तु एक विक्षिप्त युवतीसँग विवाह गर्न कुन युवक तयार हुन्छ र ! धेरै युवकहरू नैनालाई हेर्न आउँथे र अस्वीकार गर्थे ।
त्यस्तैमा गजाधरको प्रस्ताव आयो । नैनाका दाजुहरूले मानेनन् । उनीहरूले भने, ‘त्यस्ता केटाले बहिनीलाई कसरी पाल्छ ?’, तर भन्न जस्तो सजिलो थिएन । मुखियाले छोराहरूलाई सम्झाउँदै भने, ‘गतिलो केटाले त नैनासँग विवाह गर्न मान्नु पनि त पर्यो ।’ अन्त्यमा गजाधरसँग नैनाको विवाह भयो ।
नैनाको वास्तविकता थाहा पाएर केही समय उनकी सासूले यातना पनि दिइन् तर छिटै नैना गर्भवती भई । सन्तान जन्मिएपछि उसको मानसिक अवस्था पनि सुध्रियो ।
पछि मसँग धेरै गुनासो गरेकी थिई । ‘मलाई भाग्यले ठग्यो, उषा’ भनेर खुब रोएकी थिई । ऊ भन्थी, ‘सासूको बुहार्तन सहनै नसक्ने भएँ । कुन दिन सरयूमा हाम फालेर मर्छु ।’
‘महाराज, उनीहरूलाई शरण दिएर तपाईंले राम्रो काम गर्नुभएछ ।’, उषाले भनिन् ।
उषाको कुरा सुनेपछि पहिलोपटक मनमा नैनाप्रति स्नेह पलायो ।
‘उषा, तिमी आफ्नो कुरा बताऊ । के छ तिम्रो खबर ? तिमीहरूको यो हालत ?’, मैले उनीहरूको भेषभूषाप्रति सङ्केत गर्दै सोधें ।
उषाले मुस्कुराउँदै भनिन्, ‘यस्तै छ महाराज । विवाह भयो, पुत्र जन्मियो । घरबारे भएकी छु । तपाईंले मालालाई लिएर आउँछु भन्नुभएको थियो तर बिर्सिनुभएछ क्यार । त्यसैले म स्वयम् आएँ भेट्न ।’
‘मलाई तिमीले महाराज नभन उषा, कर्ण भन ।’, मैले भनें, ‘मैले तिमीलाई बिर्सिएको छैन । अङ्गदेशको जिम्मेवारीले यति व्यस्त बनायो कि सम्झेर पनि भेट्न पाइनँ । मलाई क्षमा गर ।’
‘त्यसो नभन्नुस्, कर्ण !’, उषाले भनिन् ।
‘तिम्रा पिताको खबर के छ ?’, मैले सोधें ।
‘पिता हुनुहुन्न, कर्ण !’, उषाले ज्यादै उदास भावमा भनिन् ।
‘के भयो काकालाई ?’, मैले आश्चर्य मान्दै सोधें ।
‘एक दिन वृक्षबाट खसेर उहाँको निधन भयो ।’, आँखाभरि आँसु बनाउँदै भनिन् उषाले । त्यस समाचारले मलाई पनि भावुक बनायो ।
त्यसपछि उषाले आफ्नो कथा भनिन् ।
पिताको निधनपछि एक्लो भएकी उषालाई गाउँलेहरू मिलेर विवाह गरिदिएछन् ।
‘गरिब नै भए पनि मनकारी छन् । मलाई माया गर्छन् । मैले तिमीलाई सुख दिन सकिनँ भनेर गुनासो गरिरहन्छन् ।’, उषाले लोग्नेको अनुहारमा हेरेर भनिन् ।
‘तपाईंको नाम ?’, मैले उषाको लोग्नेको मुखमा हेरेर सोधें ।
‘सतीश ।’, युवकले भने ।
‘के गर्नुहुन्छ ?’
‘कृषक हुन् । पसिना बगाउँछन् । हामीलाई पाल्छन् ।’, हाँस्दै उषाले भनिन् ।
‘घरमा को को हुनुहुन्छ ?’, मालाले सोधेकी थिइन् ।
‘मेरा उनी छन् र उनकी म । हामी दुवैको यो छ ।’, उषाले काखको बालकलाई देखाउँदै भनिन् ।
धेरै कुराकानी भए । मालाले उनीहरूलाई भोजन गराइन् । म उषाको गाउँबाट हि’डेपछि एक प्रकार भागेपछि भनौ’ के भयो भन्ने बारेमा उषाले भनिन्, ‘त्यस दिन जब तपाईंहरू मुखियाको घरबाट हि’ड्नुभयो,
त्यसपछि पिता छट्पटाउँदै घरमा आउनुभयो । उहाँले भन्नुभयो, ‘यस गाउँलाई कुनै देवीदेवताको श्राप लागेको छ । कुनै राम्रो काम गर्न लाग्यो एउटा न एउटा विघ्न आउँछ नै ।’
‘पिता, साँझ यसको सारा आरोप हामीमाथि आउँछ ।’, मैले भनेँ ।
करिब दुई घडीपछि पिता घरबाट निस्कनुभयो । जाँदै गर्दा भन्नुभएको थियो, ‘उषा, म सबै कुरा बताएर आउँछु । अर्काको गल्तीको दोष हामीले किन लिने ?’
पिता कसलाई के भन्न जाँदै हुनुहुन्थ्यो, मैले बुझिनँ । सोध्न पनि सकिनँ । पछि थाहा पाएँ, पिता घरबाट निस्किएर सरासर वनमा जानुभएछ र युवकहरूलाई खोज्नुभएछ ।
तपाईंलाई पर्खेर बसेका युवकहरूलाई भेटेर भन्नुभएछ, ‘हिँड फर्कौ’ ।’
‘काका कर्ण ?’, उनीहरूले भनेछन् ।
‘
कर्ण, अब आउँदैन ।’, पिताले भन्नुभएछ ।
‘किन ?’, उनीहरूले अचम्म मान्दै सोधेछन् ।
‘ऊ यहाँबाट भाग्यो ।’
पिताको कुरा सुनेर आश्चर्यमा परेका युवाहरू पितासँग रिसाएछन् । उनीहरूले भने, ‘यदि तपाईंलाई यो सब थाहा थियो भने …?’
‘हो मैले भन्नुपथ्र्यो; भनिनँ । अरू कुरा गाउँ गएर सुनाउनेछु । अहिले तिमीहरू मसँग गाउँ हि’ड ।’, पिताले भन्नुभयो ।
‘मेरो कारण काकाले दोष पाउनुपर्यो है ।’, मैले उषालाई हेरेर भनें ।
‘यसमा तपाईंको रत्तिभर दोष छैन ।’, उषाले भनिन्, ‘फर्किंदै गर्दा बाटोमा युवकहरूले पितालाई अनेक लान्छना लगाइरहेका थिए । पिताले उनीहरूसँग कुनै पनि कुराको प्रतिवाद गर्नुभएन । पिताहरू तलबाट निस्कँदै गरेको देखेर म पनि नैनाको घरतिर लागें । पिता अघिअघि र युवकहरू पछिपछि हि’डिरहेका थिए । आँगनमा आइपुग्दा कर्णलाई नदेखेपछि मुखिया आश्चर्यमा पर्नुभयो । उहाँले सोध्नुभयो, ‘शिवराम !
कर्ण खोइ ?’, पिताले केही बोल्नुभएन । मुखियाले आफ्नो छोरालाई हेरेर सोध्नुभयो, ‘कान्छा के भयो ?
कर्ण खोइ ?’, मुखियाको अभिव्यक्तिमा भय थियो । उहाँ वनमा कुनै दुर्घटनामा परेर कर्णलाई केही भयो कि भन्ने आशङ्काले भयभीत देखिनुहुन्थ्यो ।
‘हामीलाई के थाहा ? सोध्नुहोस् काकालाई ।’, नैनाका दाजुले रिसाउँदै पितातर्फ हेरेर भने ।
‘शिवराम भएको के हो ? स्पष्ट भन ।’, मुखियाले पितालाई सोध्नुभयो ।
आफ्ना दाजुहरूका साथ तपाईंलाई आँगनमा नदेख्दा नैनाको अनुहार पनि भयभीत थियो । ‘के भयो र काका कर्णलाई ?’, उसले पनि सोधी पितालाई ।
सबैजना पितासँग नै सोधिरहेका थिए । वन गएका युवाहरू त केही आक्रोशित पनि थिए । परिस्थिति यस्तो बनेको थियो कि सबैजना पितालाई नै दोषी ठानिरहेका थिए, पिताप्रति शङ्का गरिरहेका थिए । त्यस अवस्थामा पिताप्रतिको त्यो आशङ्का स्वाभाविक पनि थियो ।
पिताले सबैका सामु सत्य कुरा भन्न मिल्दैनथ्यो । त्यसमा मुखियाको प्रतिष्ठा जोडिएको थियो । त्यसकारण पिताले मुखियालाई एकान्तमा लानुभयो ।
केही क्षणको एकान्त वार्तापछि फर्केर मुखियाले भन्नुभयो, ‘कर्णलाई केही भएको छैन । यसमा उसको दोष पनि छैन । शिवरामको पनि दोष छैन ।’, पितालाई हेर्दै भन्नुभयो, ‘शिवरामको ठाउँमा भएको भए म पनि त्यही गर्ने थिएँ, जो उनले गरे । अहिले सबै आआफ्नो घर जाओ । पछि सबै थाहा हुनेछ ।’
घर आएपछि पिताले मलाई सुनाउनुभयो । एकान्तमा लगेर उहाँले मुखियालाई भन्नुभएछ, ‘मुखिया, म तपाईंको प्रतिष्ठाको कारण केही बोल्न सकिरहेको छैन । नैनालाई
सोध्नुहोस्, उसले कर्णसँग के गरेकी हो ?’
पछि मुखियाले एक्लो पारेर नैनालाई सोध्नुभएछ, ‘नैना, कर्ण र तिमीबीच के भएको थियो ?’
पिताको प्रश्न सुनेर नैना अवाक् भई । ऊ केही बोल्न सकिन । ऊ रुन थाली । मुखियाले धेरै सम्झाउनुभयो, फकाउनुभयो तर पनि ऊ केही बोलिन । नैनाले केही नबोलेको र प्रश्न गर्दा रोएकाले पक्कै उसले केही गल्ती गरेकी हो भन्नेमा मुखिया निश्चिन्त हुनुभयो । मुखियाले मलाई बोलाएर सोध्नुभयो । मैले नैनाकै सामु सबै वृत्तान्त सुनाइदिएँ । नैनाले त्यसको कुनै प्रतिवाद नगरी रूँदै कुरा सुन्दै गरिरही ।
अन्त्यमा, मुखियाले भन्नुभयो, ‘पुत्री, मलाई तिमीबाट यस्तो अपेक्षा थिएन ।’
उषाले लामो सास फेर्दै भनिन्, ‘त्यसपछिका दिनमा नैना कहिले टोलाउने, कहिले एक्लै हाँस्ने, रुने र बोल्ने गर्न थाली ।’
*** ***
साँझपख उषाले माला र मसँग बिदा मागिन् ।
‘यो साँझको बेलामा तिमीहरू कहाँ जान्छौ ? आज यतै बस ।’, मालाले भनिन् ।
मैले भनें, ‘सतीश, यदि तिमीहरू बसाइँ सरेर यतै आउँछौ भने म तिमीहरूका लागि कुनै व्यवस्था मिलाउने थिएँ ।’
मेरो कुरा सुनेर सतीश र उषाले भन्न त केही भनेनन् तर उनीहरूका आँखा आफ्नो कष्ठपूर्ण जीवनको व्यथा भनिरहेका थिए । मैले केही दिनमा सतीशलाई सूचना विभागको सूचना सङ्कलन समितिमा कर्मचारीका रूपमा नियुक्ति दिएँ ।
त्यसपछि उषाको परिवार बडो आनन्दमा छ । कहिलेकाही’ उषा हामीलाई भेट्न दरबारमा आउँछिन् । उनी भन्छिन्, ‘कर्ण यदि पिता जीवित रहनुभएको भए तपाईंको यो वैभव देखेर कति खुशी हुनुहुन्थ्यो होला!’
उनको कुरा सुनेर म भावुक हुन्छु । मन्दमन्द मुस्कुराउँछु तर केही बोल्दिनँ ।
(बुकहिलद्वारा प्रकाशित डा. शंकरप्रसाद गैरेको उपन्यास ‘सूतपुत्र’को अंश)
प्रतिक्रिया 4