+
+
WC Series
काठमान्डु गोर्खाज 2025
134/6 (20)
VS
१०९ बलमा १२५ रन आवश्यक
विराटनगर किंग्स 2025
10/0 (1.5)
Shares
कुइनेटो– २ :

एक्लिए भल्द, च्याङ्फामय गाउँघर

‘यसको साथी खै त ? किलो मात्र छ ।’ केही महिनाअघि भल्द मरेको दु:खद् समाचार दुर्गी चौधरीले सुनाइन् । जुन भल्द बाँधेको किला उखेलिएको थिएन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पा र दाङमा च्याङ्फाले गोरु खेदेर भकारा र खेतबारीबाट गोरु गायब हुने अवस्था आएको छ।
  • दाङका थारू समुदायले चराउने ठाउँ नहुँदा बर्ढा पाल्न गाह्रो भएको र टेक्टरले जोत्ने क्रम बढेको बताएका छन्।
  • गोरु पाल्ने परम्परा भत्किएर मानिस र गोरुबीचको भावनात्मक सम्बन्ध कमजोर भएको छ र गोरु बेच्ने साइनो पनि समाप्त भएको छ।

खेतबारीमा च्याङ्फा पस्यो । च्याङ्फाले रोल्पा रुकुमबाट भल्द खेद्‌यो, दाङबाट बर्ढा। नेपालबाट गोरु खेद्‌यो । च्याङ्फाले गोरु खेद्‌यो । सायद केही वर्षभित्रै भकारा र खेतबारीबाट गोरु गायब हुनेछन् । च्याङ्फाले किन गोरु खेद्‌यो ? गोरु खेदेपछि के भयो ? दाङ रुकुममा ग्रामिण बस्तीमा जे देखियो, यहाँ उतार्ने प्रयास छ । प्रस्तुत छ-  दोस्रो भाग । 

 

असोज अन्तिम दिन अर्थात् ३१ गते जैपाको टाढाको छिमेकी गाउँ रुकुम चुनबाङ लाखरखोला पुगें ।

रोल्पाका रपा, ढाङढुङगार, केवरी त नजिकैका छिमेकी गाउँ नै भए । ती गाउँ पुग्दा ढाङढुङगारमा मात्र एक हल भल्द जोतिरहेका थिए । ढाङढुङगार परिवर्तन गाउँपालिकाको केन्द्र थियो ।

कात्तिक १ गते जैपामुन्तिरको बजार वागमाराबाट शहीदमार्ग हुँदै जीप घोराही गुड्यो । सार्वजनिक सवारी उक्त जीपबाट घोराही गुड्दा जिबाङमा मात्र भल्दले जोतिरहेको देखें । रोल्पा नगरपालिका जिबाङ लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) को गाउँ हो । परिवर्तन गाउँपालिका (तत्कालीन राङ्कोट, इरिबाङ, राङ्सी गाविस) माडी गाउँपालिका (तत्कालीन तालाबाङ, बुढागाउँ, घर्तीगाउँ, कोर्चाबाङ गाविस), रोल्पा नगरपालिका (तत्कालीन कोटगाउँ र कोर्चाबाङ गाविस) त्रिवेणी गाउँपालिका (तत्कालीन गैरीगाउँ र नुवागाउँ गाविस) र रुन्टीगढी गाउँपालिका (तत्कालीन झेनाम, सखी, डुबिडाँडा) भएर शहीदमार्ग दाङ घोराही पुग्थ्यो ।

झुले तल हेर, छेउ भाइ छेउ, प्वाले आइज, छेउ हेर रौटे, तल काले, उभो फुर्के भनेर हलारीले भल्द हक्काएको सुनिंदैनथ्यो । भल्दको हक्क्वाँ सुनिंदैनथ्यो । च्याङ्फाको भटभट भटटट मात्र सुनिन्थ्यो । च्याङ्फाले उडाएको धुवाँ मात्र देखिन्थ्यो ।

सम्म मैदान दाङबाट शहीदमार्ग हुँदै च्याङ्फा पहाड रोल्पा उक्लेको थियो ।

चौघेरा, बर्गद्दी र गुलरियामा च्याङ्फा

दाङ चौघेरा मन्दिर दक्षिणपूर्व सिमेन्ट सिरौली लगाइदिएपछि अप्ठेरो गरी उभिएको पीपल बोटछेवैबाट कुलो कुलकुलाउँदै (पारिजातको शब्दमा) हिंड्दै थियो । काँचो इँटाले उभिएको टिनछाने घरछेउबाट हिंडेको कुलो डाबर पुग्थ्यो, पीपलबोटनेरबाट हिंडेको कुलो घनीबग्गे । दुईतले थारू घर र पीपललाई कालोपत्रे सडकले वारिपारि पारेको थियो । घरको दक्षिणभित्ता समाएर टिनको पाली अडिएको थियो । पालीमुनि एउटा बूढो भल्द बाँधिएको थियो । भल्दसँगै बूढी बाख्री पनि । बूढी बाख्रीसँगै विभिन्न कदका चारवटा बाख्रा थिए ।

क्वाँरी थारू(५५)ले आफ्नो एक्लो बूढो भल्द समाचार सुनाइन्, ‘बर्ढाको जोडी बर्खामा बित्यो । यो बड्डा बर्ढा मरेपछि सिस्नेखोलामा फाल्ने ता होला ।’ च्याङ्फाले जोत्थिन् । बर्ढा नभए पनि हर्जा थिएन । रोल्पा रुकुमका स्थानीय गोरुलाई भल्द भन्थे, दाङका थारूले बर्ढा ।

क्वाँरी घरको उत्तरपट्टि रेग्मी र दक्षिणपट्टि आचार्यका आरसीसी घर उभिएका थिए । दुई भव्य घरको बीचमा ऐलानी जग्गामा उभिएको कच्ची इँटाको घरबाट क्वाँरीपति बिहानै ‘बासी’ खाएर रामपुर हिंडिसकेका थिए । धेरीमजदुरी गर्न ‘कलवा’ बोकेर गएका उल्टे बेलुकी ‘बेरी’ खानमात्र घर फिर्थे ।

थारू खान्कीमा बासी ब्रेकफाष्ट जस्तो, कलवा लन्च जस्तो र बेरी डिनर जस्तो थिए ।

‘चराउने ठाउँ छैन’ दुर्गीले सुनाइन्, ‘चराउने सोता ड्याम बने, बाँकी जग्गा प्लटिङ भए । बर्ढा पालेर कहाँ चराउने ?’

असोज दोस्रो साता ‘छकाले हिंडाइ’को क्रममा क्वाँरीको घर पुगेको थिएँ । भोलिपल्टको ‘छकाले हिंडाइ’मा क्वाँरीको घरदेखि करिब दुई किलोमिटर दक्षिण बर्गद्दी ।

बर्गद्दीचोकका बाहुन जिम्दार घरमा धान दाइरहेका ११ थारू किसान मारिएका थिए । २०५८ मङ्सिरमा लागेको संकटकालको थालनीमै शाही सेनाले थारू किसान मारेको थियो । मारिने सामान्य थारू किसान थिए, माओवादी थिएनन् । संकटकालमा रगताम्य भएको बर्गद्दीको दिलदिमाग अझै रगताम्यै थियो ।

बर्गद्दीचोकनजिकै काँचो इँटाले उभिएको टिनछाने घरअगाडि एउटा लौरु गाई बाँधिएको थियो । एक हप्ताजतिको बाच्छो बुरुक्कबुरुक्क उफ्रँदै थियो । गाईसँगै च्याङ्फा उभिएको थियो ।

बर्ढा बाँध्ने ठाउँमा च्याङ्फा उभिएको थियो । किरिमचाली थारू (७१) उही गाई र च्याङ्फासँग थिइन् ।

‘अब त गाईगोरु होइन, गाईच्याङ्फा भन्नुपर्ने भयो है ?’ किरिमचाली हाँसिन् । त्यसपछि बर्ढा धपाएर भकारामा उभिएको च्याङ्फा चर्चा गरिन् ।

भोलिपल्ट ‘छकाले हिंडाइ’मा बर्गद्दीबाट करिब चार किलोमिटर पश्चिम गुलरिया पुगें ।

कच्ची इँटा गोडाले उभिएको टिनछाने घरअगाडि छविलाल चौधरी (६३) थिए । उनको नजिकै एउटा बूढो बर्ढा पनि उभिएको थियो ।

केही थान बाख्रा र केही थान भेडा बर्ढाका छिमेकी पनि थिए ।

‘यो बर्ढाको नाउँ के हो ?’

छविलालकी बुहारीले भनिन्, ‘लाले ।’

‘यसको साथीको नाउँ के थियो ?’

उनले भनिन्, ‘सेतोसेतो थियो के र ? नाउँ बिर्सिगें । मरेको नै चार वर्ष भइसक्यो ।’

बूढो बर्ढालाई पखाला लागेको थियो । उनले भनिन्, ‘बड्डो बर्ढा छेरेको छेर्‍यै छ ।’

‘कति भयो त च्याङ्फाले जोत्न थालेको ?’

‘१०/१२ वर्ष भयो’, छविलालकी बुहारीले सुनाइन् ।

अर्काे छकाल ‘छकाले हिंडाइ’मा फेरि बर्गद्दी पुगें । बर्गद्दीचोकको टिनछाने घरमा एउटा बूढो भल्द उभिएको थियो । भल्दको छेउमा ठोकिएको किला थियो ।

‘यसको साथी खै त ? किलो मात्र छ ।’

केही महिनाअघि भल्द मरेको दु:खद् समाचार दुर्गी चौधरीले सुनाइन् । जुन भल्द बाँधेको किला उखेलिएको थिएन ।

‘अब हल नबनाउने ?’

‘टेक्टरले जोतिजान्छ के र ! के हल बनाउने र !’

‘यो बर्ढाको नाउँ के हो ?’

‘लाले ।’

हिजो गुलरियामा भेटेको एक्लो बूढो गोरु पनि लाले थियो ।

दुर्गी सासूससुरा बस्ने देवरको घरमा थिइन् । लालेको साथी अहेलालाई सम्झिइन् ।

कुनै बेला उनको घरमा पाँच–सात हल गोरु थिए । परिवार पनि ठूलो थियो ।

गुलरिया र बर्गद्दीका दुबै लाले एक्ला थिए । बूढा थिए ।

दुर्गीले भनिन्, ‘पाल्न सके त बर्ढा सस्तो छ । तर जमाना नै टेक्टरको आयो ।’

‘बर्ढा पाल्न गाह्रो भएको हो ?’ मैले सोधें ।

‘चराउने ठाउँ छैन’ दुर्गीले सुनाइन्, ‘चराउने सोता ड्याम (कृत्रिम ताल) बने, बाँकी जग्गा प्लटिङ भए । बर्ढा पालेर कहाँ चराउने ?’

जहाँ सोता त्यहाँ थारू थिए । सोतालाई सरकारले कृत्रिम ताल बनायो । घोराही उपमहानगरले ‘एक वडा एक कृत्रिम ताल’ अभियान नै चलायो । किरिमचाली, दुर्गी, क्वाँरी र हिरालालको १७ नम्बर वडा (घोराही उपमहानगर) थारू बहुल वडा थियो । त्यसैले त्यो वडामा एक होइन, आठ वटा (कर्जाही, गुलरिया, कमलपोखरी, आरोग्य, कटही, ढिकपुर, ओखरा र डबरी) कृत्रिम ताल थिए ।

दाङ उपत्यकाको घोराही उपमहानगरको मूल शहर नै घोराही थियो । घोराही शहरभित्रै थारू बस्ती थिए । चौघेरा, बर्गद्दी र गुलरिया घोराही शहरबाहिर तर घोराही नजिकका थारू बस्ती थिए ।

समय अर्थ्याउन मात्र होइन, सर्वहारा जनाउन पनि गाईगोरु सम्झन्थे । भन्थे, ‘गाई न बाच्छा कुटी माछा ।’

‘टेक्टरले जोत्नेक्रम बढ्दो छ । गोरु त पाल्न छाडिसके । अहिले त प्रत्येक घरमा मोटरसाइकल राखे जस्तै टेक्टर राख्न थालेका छन्’, घोराही उपमहानगर वडा नं. १७ का पूर्ववडाध्यक्ष खुसीराम चौधरीले सुनाए । दाङ उपत्यकाभन्दा अघिदेखि नै देउखुरी उपत्यकाबाट च्याङ्फाले गोरु खेदिसकेको थियो । चार वर्षअघि देउखुरी उत्तरमजगाउँबाट च्याङ्फाले गोरु खेदेको नयाँ पत्रिकामा छापिएको थियो ।

हर घरधुरीमा कम्तीमा एक हल गोरु पाल्ने उत्तरमजगाउँका चार सय घरधुरीमा १० हल बर्ढा बचेका थिए । सोचनीय त के भने, कति किसानले पाँच सय कति किसानले एक हजार रुपैयाँ दिएर बर्ढा धपाउन लगाएका थिए । गोरु धपाएर लैजाने मानिसले बर्ढालाई टाढाको जंगलमा लगेर छाडेका थिए ।

गोरु बेचे साइनो होइन 

बुहारी प्रेमले ठुन्केपाटामा च्याङ्फा जोतिरहेको बेला ससुरा मनप्रसाद आफ्नो भावनात्मक सम्बन्ध गाँसिएका आफ्ना भल्द सम्झिरहेका थिए । असी पुगेका मनप्रसाद मेरो काकु थिए । उनले तिनै भल्द सम्झेर भकारा र कम्दमा आँखा डुलाइरहेका थिए । कम्दमा भने च्याङ्फा भटभटाउँदै थियो । काकुले बर्खामासे त्यो एकदिन सम्झिए ।

स्यान्गोरीबाट भर्खरै सूर्य एक जुवाली हिंडेको थियो । काकुले बासी रोटी, बासी ढिरो र अलिकति पिठो बुट्कामा बोकेर चोत्राढारा हिंडे । चोत्राढारामा काकु र हाम्रो बर्खे गोठ थिए । हाम्रो गोठ ढल्न लागेको थियो, बारी बाझा । नासपातीको रूख जति सुकेका थिए । काकुले भने बर्खा लागे गोठमा वस्तुभाउ लान छाडेका थिएनन् ।

काकु बिस्तारै हिंडे । बाटोमै बुहारी अर्थात् च्याङ्फा जोत्ने बुहारी प्रेमसँग भेट भयो ।

‘भल्द छैन । लग्गिले ।’

‘कोले ?’

‘ठ्वाक्क पार्न लग्गिले ।’

बड्डो भल्दको ‘माया गोडा’ले हिंडेका काकु भल्द छैन भन्ने थाहा पाएपछि थचक्क बसे । हातगोडा लल्याकलुलुक भए । बट्कामा बोकेको बासी रोटी, बासी ढिरो र पिठो भुइँमा पोखियो ।

काकुको भल्दसँगको भावनात्मक सम्बन्ध र प्रेमले पाँच वर्ष पुरानो प्युठान सम्झना सम्झायो ।

गुल्मीसँग जोडिएको प्युठान मूलपानीमा दशैंको मौकामा परिवारका सबैजसो सदस्य भेला भएका थिए । परिवारका सदस्य कति वैदेशिक रोजगारमा थिए कति काठमाडौंमा थिए त कति दाङमा । घरमा बस्ने पनि जागिरमा थिए ।

‘बा, गोरु त गाह्रो भयो’ छोराहरूमध्ये जेठा छोराको हैसियतले मेरो ससुराले हजुरबालाई प्रस्ताव राखे, ‘यहाँ बस्ने बुहारी पनि स्कूल जाने । घाँसपात गर्न गाह्रो भयो भन्छन् । जोत्ने बेला अरूका गोरुले जोते भइहाल्छ ।’

मूलपानीमा च्याङ्फा पुगेको थिएन । त्यसैले अरूका गोरुले जोत्ने विकल्प सुझाएका थिए ।

जैपासिरान र जैपामुनि भल्दजुरेमै पर्थे । शहीदमार्गमा गाईबिसौना भन्ने ठाउँ नै थियो । पूर्वपश्चिम राजमार्गमा गोरुसिंगे भन्ने बजार त छँदैथियो ।

हजुरबाले भने, ‘आफ्नो बारी अरूका गोरुले जोत्ने ? अरूका गोरुले मेरो बारी जोतेको म कसरी हेर्न सक्छु ?’

गोरु पाल्ने पक्षमा परिवारका एक जना सदस्य पनि थिएनन् । यति हुँदाहुँदै पनि हजुरबाको कुरा कसैले काटेनन् । पंचायतमा पनि र मोहनविक्रम सिंहको मसालबाट पनि बादीकोट गाविस उपाध्यक्ष भएका हजुरबा । गोरु विस्थापन प्रस्ताव फेल भयो ।

हजुरबाले यसो भन्नुको कारण थियो, गोरुसँग मानिसको प्रतिष्ठा जोडिनु । भलै गोरुसँग मानिसको प्रतिष्ठा जोडिने जुगको जिउ भने जिउको तिउ रहेको थिएन । गोरु विना घर नचल्ने जुग भएकाले मानिसको प्रतिष्ठा गोरुसँग जोडिएको थियो । त्यसबेला त फलानोको कम्दमा फलानोले बल्ढ हाल्यो भन्ने थाहा पाएपछि काटमार नै हुन्थ्यो । बल्ढ हाल्नु भनेको कब्जा गर्नु बुझिन्थ्यो । यही कुरा सम्झेर हजुरबाले ‘अरूको गोरुले मेरो बारी जोतेको कसरी हर्न सक्छु’ भनेका थिए ।

काकु र हजुरबाले दर्शाएको भल्द पक्षधरता मानिस र गोरु बीच सम्बन्ध थियो । मानिसको जीवनपद्धतिमा भल्द यसरी नारिएको थियो कि, मानिसले समय मापन नै भल्दले गर्थे ।

जस्तो:

कति बेला थियो कुन्नि ? अहिले सम्झँदा भल्द भान्ने बेला वा भल्द फुकाने बेला (दिउँसो एक बजेतिर) थियो भन्छु ।

भल्द नार्ने बेला (एकाबिहानै) ।

एकजुवाली घाम ।

बच्चा पाएको समय गाउँघरमा आमाहरूले भन्थे, ‘ठूल्छोरी त भल्द भान्ने बेला जर्म्या हो ।’

समय मात्र होइन, सर्वहारा जनाउन पनि गाईगोरु सम्झन्थे । भन्थे, ‘गाई न बाच्छा कुटी माछा ।’

बिस्तारै हिंड्ने मानिसलाई भन्थे, ‘काँध लरेको भल्द हिंडेजस्तो हिंड्ने को हो त्यो ?’

जोरी खोजेको कुरा भन्न पनि भल्द आउँथ्यो । जस्तो, ‘सिंगौरी खेल्नु’, ‘नारिनु’ ।

कोहीविरुद्ध लड्न तयार हुनुलाई भन्थे, ‘जुरो पलाएको छ’, ‘सिङ तिखारेर बस्या छ ।’

बलबुता विनाको मानिसलाई भन्थे, ‘बलै नगर, सिङ भाँच्चेको भल्दले के गर्छ र ?’

सोझो र मिहिनेतीलाई भन्थे, ‘गोरुको जुनी जिइयो ।’

धाक मात्र लाउनेलाई भन्थे, ‘जुन गोरुको सिङ छैन उसको नाउँ तिखे ।’

रोल्पातिर पैसरी नाच्दाखेरि कल हाल्दा भन्थे, ‘गले भल्द लोटी मर्‍यो, पुच्छर जिउँदै छ ।’

नाकाम हुनुलाई भन्थे, ‘भल्द बन्निगें ।’ ‘भल्द बनायो मलाई त ।’

सम्म मैदान दाङबाट शहीदमार्ग हुँदै च्याङ्फा पहाड रोल्पा उक्लेको थियो ।

साइनो मूल्य जान्न पनि गोरु प्रयोग । जस्तो: गोरु बेचेको साइनो ।

जैपासिरान र जैपामुनि भल्दजुरे ठाउँका नै थिए । शहीदमार्गमा गाईबिसौना भन्ने ठाउँ नै थियो । पूर्वपश्चिम राजमार्गमा गोरुसिंगे भन्ने बजार त छँदैथियो ।

मिल्ने दुई जना साथीलाई गाउँघरमा भन्थे, ‘खुबै हल मिलेको छ ।’ ‘हल छ ।’ ‘कहाँ हिंडेको हो, हल भानेर ?’

रक्सी धेरै पिउनेलाई गाउँघरमा भन्थे, ‘फलानोको त कुरा नगर, जोतेर आएको भल्दले पानी खाए जस्तो रक्सी खान्छ ।’

माथि उल्लेख गरिएका सन्दर्भले भन्थे, मानिस र भल्दबीच जुगौंदेखि सम्बन्ध थियो । पुर्खौंदेखिको त्यो भावनात्मक सम्बन्धले काकु र हजुरबालाई तानेको थियो । मानिस र गोरु बीचको साइनो गोरु बेचे साइनो थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?