
२९ असोज, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच तुलना गर्न मिल्ने धेरै कुराहरु थिए । उस्तै लामो जेलजीवन, उस्तै लामो राजनीतिक संघर्ष, उस्तै सत्ताको अन्तहीन छक्कापन्जा, संसदीय विसंगति र विकृति, पार्टी एकता र विभाजन, सिद्धान्तविहीन गठबन्धनहरूका शृंखला आदिले उनीहरूलाई कहिले नजिक, कहिले टाढा राखिरहन्थ्यो ।
आलोपालो सत्तासहमति गर्दै १४ महिनायता सहकार्यमा रहेका ओली–देउवा जेनजी विद्रोहको बलमा सत्ताच्युत भएका थिए । धेरै मानिसहरूका लागि उनीहरू उस्तै–उस्तै विरासत भएका उस्तै–उस्तै नेता हुन् । तर हिजो र आजका कांग्रेस र एमाले बैठक हेर्दा भने यी दुई शीर्ष नेताबीच समानता पहिल्याउन अबचाहिँ कठिन पर्ने देखिँदै छ ।
एमाले बैठकमा आज बुधबार अध्यक्ष ओलीले भने, ‘म बिग्रिएको भए पो सप्रिनु । फेसबुकमा लेखेको भरमा राजीनामा दिन्नँ ।’ कांग्रेस बैठकमा हिजो मंगलबार सभापति देउवाले भने, ‘इतिहासमा आर्जित विश्वसनीयता पुनःपुष्टि गर्ने बेला आएको छ ।’
ओली अध्यक्षतामा बसेको एमाले बैठकले आज जेनजी प्रदर्शनको नाम नलिई ‘२३ र २४ भदौको घटनामा, अनि बाढीपहिरो आदिमा ज्यान गुमाउनेहरू’ प्रति एक मिनेट मौनधारणसहित श्रद्धान्जली व्यक्त गरेको छ । कांग्रेस बैठक थाल्दै देउवाले दिएको वक्तव्यमा ‘जेनजीको शान्तिपूर्ण प्रदर्शनका क्रममा घुसपैठ हुँदा निर्दोष नवयुवकहरूको ज्यान गएकामा मर्माहत भएको’ भाग सार्वजनिक भएको छ ।
जेनजी प्रदर्शन सकिएको १० दिनपछि प्रत्यक्ष परोक्ष बोल्न थालेका ओलीले हालसम्म नदेखाएको करुणा देउवाले पहिलो सार्वजनिक वक्तव्यमै देखाएका छन् । एमाले बैठकमा ओलीले आसन ग्रहण गरेको कुर्सी विशिष्ट खालको देखिन्थ्यो, कांग्रेस बैठकमा देउवाको कुर्सी सामान्य ।
एमाले बैठकमा अध्यक्ष ओलीको उद्घाटन मन्तव्यले २४ भदौको विध्वंशमा जतिमात्रामा जोड दिएको छ, २३ भदौमा राज्यले मच्चाएको संहारबारे उल्लेख पनि गरेको छैन । कांग्रेस बैठकमा देउवाको अभिव्यक्तिले २३ र २४ दुवै दिन भएका हिंसा र आतंकको भण्डाफोर गरेको छ । देउवा आफैं २४ भदौमा अराजक आक्रमणबाट मुस्किलले बाँचेका पात्र हुन् ।
ओलीले बैठकमा किटानका साथ भनेका छन्– चुनाव हुनेवाला छैन । गैरसंवैधानिक तवरबाट दुईपल्ट प्रतिनिधिसभा विघटन गरेका उनी यसपल्टको आन्दोलनबाट प्राप्त राजनीतिक वैधतालाई वैधानिक मान्न तयार छैनन् । कांग्रेसले पनि संसद् विघटनलाई सहजतापूर्वक लिएको त देखिँदैन, तर हिजोको बैठकले २१ फागुनको चुनावी मिसनतर्फ अघि बढ्न पार्टीपंक्तिलाई निर्देशित गरेको छ ।
ओलीले एमालेको विधानमा गरिएको दुई कार्यकालमात्रै कार्यकारी बन्ने, नेतृत्वमा ७० वर्षे उमेरहदको बाध्यकारी व्यवस्था आफूलाई पायक पर्नेगरी संशोधन गराएका थिए । देउवा चाहिँ आफूले कांग्रेसको विधानतः पाउने दुईपल्टको कार्यकारी जिम्मेवारीको अवधि केही समय बाँकी रहँदै हिजोबाट अघोषित रुपमा निवृत्त भएका छन् ।
विगतमा ओलीले एमाले केन्द्रीय कार्यालयको जग्गादान विषयमा बोलेकामा पार्टीकै स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथि कारबाही चलाएका थिए । देउवाले आफ्नो कार्यशैलीसँग निरन्तर असहमति राख्ने गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई जिम्मेवारी हस्तान्तरणमा उँचनिच गरे पनि कारबाहीको बाटो लिएनन् ।
धेरैपछि बैठकमा केन्द्रीय सदस्यहरूलाई ‘कमरेड’ सम्बोधन गरेका ओलीले कम्युनिस्ट शब्दावली ‘वर्गशत्रु, दुस्मन’ जस्ता शब्दावली प्रयोग गर्दै आफूहरू आन्दोलनबाटै आएकाले अझै ‘आन्दोलनकारी बाटोमै रहेको’ जिकिर गरेका छन् । उनले चुनाव होइन, आन्दोलन भन्दै २४ भदौको विध्वंश र अराजकताविरुद्ध बलियो प्रतिवाद गर्ने संकेत गरेका छन् ।
देउवाले हिजोको वक्तव्यमा दुई ठाउँमा जोड दिँदै अब विचार नमिल्ने पार्टीहरूसँग समेत कांग्रेसले नै सार्थक संवाद गर्ने बताएका छन् । सरकारले लोकतान्त्रिक व्यवस्थाका बाहक पार्टीहरूसँग सार्थक वार्ताको वातावरण नबनाएकाले त्यो भूमिकासमेत कांग्रेसले नै लिने जिकिरसमेत उनको मन्तव्यमा छ । वक्तव्यको बुँदा नम्बर ६ मा उनले यसबारे व्याख्या गरेका छन् ।
एमाले नेताहरू योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतले ओलीलाई नेतृत्व छाड्न सुझाव दिए पनि ओलीले त्यसलाई फेसबुकमा व्यक्त विचार भनेर ललकारेका छन् । कांग्रेसमा शक्तिशाली बहुमतमा रहेकै बेला देउवाले आफ्नो स्वास्थ्य कारण देखाउँदै पूर्णबहादुर खड्कालाई ‘पार्टीको बृहत्तर हितमा काम गर्न’ निर्देश गर्दै जिम्मेवारी छाडेका छन् ।
प्रतिक्रिया 4