+
+
Shares

स्पेनमा एक महिनामै ५ हजार राहदानी आवेदन, अवसर नछुट्ने दूतावासको दाबी

सेवाग्राहीलाई समयमै सेवा दिन अधिकतम प्रयास भइरहेको छ । त्यसैले राहदानी अभावकै कारण अवसरबाट वञ्चित हुने अवस्था नआओस् भन्ने हाम्रो स्पष्ट उद्देश्य हो । त्यसअनुसार विशेष प्राथमिकतामा काम अघि बढाइएको छ-कार्यवाहक राजदूत पूरक अधिकारी ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते ६:५९

७ फागुन, बार्सिलोना । स्पेनस्थित नेपाली राजदूतावास, म्याड्रिडमा एक महिनामै झन्डै ५ हजार नेपालीले राहदानी बनाउन आवेदन दिएका छन् । स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने निर्णय गरेसँगै दूतावासमा राहदानी बनाउनेको चाप अस्वाभाविक रूपमा बढेको हो ।

दूतावासका कार्यवाहक राजदूत तथा सूचना अधिकारी पूरक अधिकारीका अनुसार फेब्रुअरी महिनाभर मात्रै करिब ५ हजारको हाराहारीमा आवेदन परेको छ । फेब्रुअरी २० सम्म करिब १५ सय जनाको इलेक्ट्रोनिक बायोमेट्रिक पासपोर्ट (ई-पासपोर्ट) प्रक्रिया पूरा हुने अपेक्षा छ भने २१ देखि २८ फेब्रुअरीसम्मका लागि थप ३५ सयले आवेदन दिएका छन् ।

उक्त तथ्यांकका आधारमा एक महिनामै १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन हुने अनुमान गरिएको छ । स्पेन सरकारले आगामी अप्रिलदेखि कानुनीकरण (ओपन इमिग्रेसन) प्रक्रिया सुरु गर्ने तयारी गरिरहेकाले हजारौँ नेपालीले समयमै राहदानी बनाउन दौडधुप गरिरहेका छन् ।

राहदानी संकट समाधानका लागि परराष्ट्र मन्त्रालय र राहदानी विभागसँगको समन्वय, टोली परिचालन, सेवा व्यवस्थापनका विषयमा अनलाइनखबरका युरोप संयोजक बसन्त रानाभाटले कार्यवाहक राजदूत अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंश :

स्पेनमा राहदानी बनाउने चाप अहिले कुन अनुपातमा बढेको छ ?

स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने निर्णय गरेसँगै दूतावासमा राहदानी बनाउने चाप अस्वाभाविक रूपमा बढेको छ । पहिले हप्तामा करिब ९० देखि १०० वटासम्म मात्रै पासपोर्ट आवेदन आउने गर्दथ्यो । तर, अहिले त्यो संख्या उल्लेखनीय रूपमा बढेको छ।कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने निर्णय सार्वजनिक भएपछि माग उच्च दरमा बढ्न थालेको हो। विशेषगरी फेब्रुअरीको पहिलो हप्तादेखि नै आवेदन संख्यामा तीव्र वृद्धि देखिएको छ ।

यो महिनामा सेवाग्राहीको बढ्दो चापलाई कसरी सम्बोधन गर्नुभयो ?

मागको वास्तविक अवस्था बुझ्न र सम्बोधन गर्न हामीले फेब्रुअरीको पहिलो हप्तामा ३०० वटा आवेदन फाराम खुलाएका थियौं । त्यसअनुसार सेवा प्रवाह गरियो । त्यो संख्या अपर्याप्त देखिएपछि दोस्रो हप्तामा ४५० भन्दा बढी फाराम खुलायौं । दोस्रो हप्ताको शनिबार बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म निरन्तर काम गरेर मात्र सो दिन करिब २०० जनालाई सेवा दिन सकेका थियौं ।

फाराम भर्ने स्लट नपाउँदा धेरै सेवाग्राही आत्तिएका थिए नि !

हो, सेवाग्राही आत्तिएको अवस्था थियो । त्यसलाई मध्यनजर गर्दै तेस्रो हप्ताका लागि ५५० भन्दा बढी फाराम खुलायौं । यो हप्ताको शुक्रबारसम्म सोही सेवा दिइरहेका छौं । तुलनात्मक रूपमा हेर्दा, पहिले एक महिनामा जति काम हुन्थ्यो,अहिले एक हप्तामै त्योभन्दा बढी काम भइरहेको छ । हाल हाम्रो सम्पूर्ण जनशक्ति राहदानी सेवा व्यवस्थापनमै केन्द्रित गरेका छौं ।

तपाईंहरूको क्षमताले नभ्याउने अवस्था आएपछि राहदानी विभागबाट टोली आउने निर्णय भएको हो ?

हामीले सार्वजनिक सूचनामार्फत जानकारी गराइसकेका छौं कि राहदानी आवेदन प्रक्रियामा सहजीकरण गर्न काठमाडौंस्थित राहदानी विभागबाट राजदूतावासमा खटिने गरी एक टोली आउँदैछ । यसै सन्दर्भमा २१ फेब्रुअरीदेखि एक मार्च २०२६ सम्म दैनिक ४०० जनाका लागि आवेदन फाराम खुलाइएको छ । १८ फेब्रुअरी बिहानसम्म ३५ सय बढीले आवेदन दिइसक्नुभएको छ भने अझै केही स्लट खाली छन् ।

त्यसो भए यो महिनाभरिको संख्या हेर्दा ५ हजारभन्दा बढीले राहदानीका लागि आवेदन दिएको देखियो नि, हैन ?

हो । फेब्रुअरी २० सम्म करिब १५ सय सेवाग्राहीले सेवा लिइसक्ने अपेक्षा छ । त्यसैगरी फेब्रुअरी २१ देखि २८ सम्मका लागि थप ३ हजार ५ सय जनाले आवेदन दिएका छन् । यी दुवै तथ्यांकलाई जोडेर हेर्दा फेब्रुअरी महिनाभर झन्डै ५ हजारको हाराहारीमा राहदानी आवेदन परेको देखिन्छ । तर, फाराम भरेर पठाइएको सम्पूर्ण विवरणको अन्तिम प्रमाणीकरणपछि मात्रै कति पासपोर्ट जारी हुन्छन् भन्ने यकिन तथ्यांक आउँछ । पासपोर्ट तयार भएर प्राप्त भएपछि मात्रै अन्तिम संख्या स्पष्ट हुन्छ ।

राहदानी विभागबाट आउने टोलीको संख्या कति छ ? उनीहरू कहिलेदेखि कहिलेसम्म दूतावासमा बसेर काम गर्छन् ?

राहदानी आवेदन प्रक्रियामा सहजीकरण गर्न काठमाडौंस्थित राहदानी विभागबाट दुई सदस्यीय टोली राजदूतावासमा आउँदै हुनुहुन्छ । उहाँहरू फेब्रुअरी २० शुक्रबार दिउँसोदेखि काम गर्ने गरी स्पेन आइपुग्नुहुनेछ । शुक्रबार दूतावासमा आवश्यक प्राविधिक प्रणाली (सिस्टम) सेटअप गरिनेछ र शनिबारदेखि दैनिक करिब ४००  सेवाग्राहीलाई सेवा दिने लक्ष्यसहित तीव्र गतिमा काम गरिनेछ।टोली फेब्रुअरी २० देखि मार्च १ सम्म दूतावासमा रहेर सेवा प्रवाह गर्नेछ र त्यसपछि नेपाल फर्किनेछ। त्यसपछि पनि दूतावासले नियमित सेवा निरन्तर जारी राख्नेछ ।

टोली आएपछि म्याड्रिड बाहिर पनि घुम्ती सेवा सञ्चालन हुन्छ भन्ने धेरैको अपेक्षा थियो । म्याड्रिडमै केन्द्रित गर्ने निर्णय किन गरियो ? आवतजावतमा नेपालीको ठूलो खर्च हुने देखिन्छ नि ?

यो विषयमा हामीले सन्तुलन मिलाउनुपर्‍यो-एकातिर सेवाग्राहीको सहजता, अर्कोतिर हामीले दिन सक्ने सेवाको संख्या ।

यदि हामीले विभिन्न सहरमा गएर घुम्ती सेवा सञ्चालन गर्ने निर्णय लिएको भए, सेवा दिने संख्यामा सम्झौता गर्नुपर्ने अवस्था आउँथ्यो । हाम्रो प्रमुख उद्देश्य सकेसम्म धेरै सेवाग्राहीलाई छोटो समयमा सेवा उपलब्ध गराउनु हो । स्पेनमा नेपालीहरू विभिन्न सहरमा छरिएर बस्नुभएको छ । एउटा सहरमा गएर अर्कोमा नगए अन्याय भएको महसुस हुन सक्छ। केही शहरमा सीमित संख्यामा सेवा दिनुभन्दा म्याड्रिडमै केन्द्रित रहेर ठूलो संख्यालाई सेवा दिन सकियो भने सबैका लागि तुलनात्मक रूपमा लाभदायक हुन्छ भन्ने हाम्रो निष्कर्ष रह्यो । मन्त्रालयबाट पनि सोही किसिमको समर्थन प्राप्त भएकाले म्याड्रिडमै सेवा केन्द्रित गरिएको हो ।

अब परराष्ट्र मन्त्रालयबाट आउने टोली आएपछि पनि म्याड्रिड बाहिर सेवा नहुने हो ?

हालको योजना अनुसार सेवा दूतावास परिसरबाटै सञ्चालन हुनेछ। हामी उपलब्ध जनशक्ति र प्राविधिक संरचनाको अधिकतम उपयोग गर्दै म्याड्रिडबाटै सकेजति धेरैलाई सेवा दिने प्रयासमा छौं ।

फारामको स्लट खुल्दा नेपालबाटै भरिएको भन्ने गुनासो आएको थियो। एपोइन्टमेन्ट मिलाइदिने नाममा ठूलो रकम असुलिएको भन्ने आरोप पनि सुनियो। दूतावास यस विषयमा कत्तिको जानकार छ ?

हामीले यस विषयमा दूतावासको आधिकारिक सूचनामार्फत स्पष्ट जानकारी गराइसकेका छौँ।राहदानी फाराम भरिदिने, एपोइन्टमेन्ट मिलाइदिने लगायतका प्रलोभन देखाई सेवाग्राहीबाट रकम असुल्ने व्यक्तिहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ।यस्ता गतिविधिबाट सजग रहन र कसैले प्रलोभन देखाएमा प्रमाणसहित info@embajadadenepal.es मा जानकारी दिन अनुरोध गरिएको छ।यसअघि प्राप्त गुनासाहरू राहदानी विभाग, काठमाडौंमा लिखित रूपमा पठाइसकिएको छ।विभागमार्फत प्रहरीसमेतलाई जानकारी गराइएको छ ।

फाराम भरेपछि कति दिनमा राहदानी हातमा पर्छ भन्ने चासो धेरै छ । कति दिन लाग्छ ?

राहदानी बन्ने प्रक्रियाको आफ्नै चरणहरू हुन्छन्, त्यसैले ठ्याक्कै मिति तोकेर भन्न सकिँदैन।धेरै सेवाग्राहीको बुझाइ के छ भने फोटो खिचाएर बायोमेट्रिक दिई फाराम बुझाएपछि प्रक्रिया सकियो भन्ने हुन्छ।तर वास्तविक प्रक्रिया त्यति मात्रै हुँदैन।

हरेक आवेदन अलग-अलग रूपमा परीक्षण गर्नुपर्छ।विवरण नागरिकतासँग मिलेको छ कि छैन, पुरानो पासपोर्टसँग मिल्छ कि मिल्दैन, फोटो राहदानीका लागि उपयुक्त छ कि छैन, बायोमेट्रिक विवरण सही छ कि छैन-यी सबै जाँच गरिन्छ।त्यसैगरी, नेपालमा सोही विवरण भएका अन्य व्यक्ति छन् कि छैनन्,गलत विवरण प्रयोग गरिएको त होइन भन्ने जस्ता सुरक्षा तथा प्रमाणीकरणका चरणहरू पनि पूरा गर्नुपर्छ । यी प्रक्रिया स्वाभाविक रूपमा समय लाग्ने खालका हुन्छन् । बायोमेट्रिक दिएको भरमै राहदानी तुरुन्त बन्दैन।तर अहिलेको उच्च मागलाई ध्यानमा राख्दै हामीले ती प्रक्रिया समानान्तर रूपमा अघि बढाएका छौँ।अतिरिक्त समय बसेर पनि काम गरिरहेका छौँ, ताकि ढिलाइ न्यून होस् ।

तर सेवाग्राहीलाई त कम्तीमा कति दिन लाग्छ भन्ने अनुमान चाहिन्छ नि ! विशेष गरी अहिलेको अवस्थामा ?

अघिल्लो अवस्थाको कुरा गर्ने हो भने, साधारणतया डेढदेखि दुई महिनाभित्र राहदानी दूतावासमा आइपुग्ने गर्थ्यो।कहिलेकाहीँ एक महिनाभित्र पनि आइरहेको उदाहरण छ।अहिलेको विशेष परिस्थितिलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालय, राहदानी विभाग र दूतावास-तीनै पक्ष सजग छन् । उच्च प्राथमिकताका साथ काम भइरहेको छ । हाम्रो प्रयास भनेको सकेसम्म छिटो राहदानी बनाएर समयमै सेवाग्राहीसम्म पुर्‍याउने हो । अहिलेको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै प्रक्रिया छिटो गराउन विशेष समन्वय भइरहेको छ।

राहदानी आवेदन दिने धेरैजसो सेवाग्राही स्पेनमा कागजबिहीन अवस्थामा छन्। धेरैसँग बैंक खाता पनि छैन। उनीहरूले शुल्क कसरी तिर्ने ?

सेवाग्राहीले सीधै नगद ल्याएर दूतावासमा बुझाउन मिल्दैन । राहदानी शुल्क या त दूतावासको बैंक खातामा जम्मा गर्नुपर्छ । बैंक ट्रान्सफर अथवा कार्डमार्फत पनि भुक्तानी गर्न सकिन्छ । बैंक खाता भएकाले सिधै ट्रान्सफर गर्न सक्नुहुन्छ । कार्डबाट पनि भुक्तानी सम्भव छ । यदि नगद लिएर आउनुभएको छ भने नजिकैको एटीएम वा बैंक मेसिनमार्फत दूतावासको खातामा सीधै जम्मा गर्न सकिन्छ । दूतावास आसपासमै सम्बन्धित बैंकका एटिएम उपलब्ध छन्, त्यहीँबाट डिपोजिट गर्न सकिन्छ ।

ट्रान्सफर गर्दा ‘तुरुन्त प्राप्त हुने’ विकल्प रोज्न अनुरोध गर्छौं, जसले गर्दा रकम तत्काल दूतावासको खातामा आइपुग्छ र भेरिफिकेसनमा ढिलाइ हुँदैन । यदि आवेदककै बैंक खाता छैन भने अर्को व्यक्तिको खाताबाट पनि ट्रान्सफर गर्न सकिन्छ । तर, कैफियतमा अनिवार्य रूपमा सेवाग्राहीको नाम उल्लेख गर्नुपर्छ ।

दूतावासको गेट बाहिर भीडभाड हुन थालेको हो ? तपाईंहरूले सूचना नै जारी गर्नुभएको छ; यसबारे स्पष्ट पारिदिनुहोस् न ।

सबैभन्दा पहिले, आफ्नो निर्धारित समयमा सम्बन्धित सेवाग्राही मात्र उपस्थित हुन र काम सम्पन्न भएपछि तुरुन्त फर्किनुहुन हाम्रो अनुरोध छ । दूतावास रहेको भवनको बाहिरी गेट देखिए पनि त्यो सम्पूर्ण क्षेत्र दूतावासको निजी कम्पाउन्ड होइन । बाहिरी गेटभित्रको भाग ‘कमोन कम्पाउन्ड’ हो, जहाँ अन्य बासिन्दाको समेत आवतजावत हुन्छ । घरधनी तथा छिमेकीहरूले त्यहाँ भीडभाड नगर्न अनुरोध गरेका छन् । हाल सेवाग्राहीको चाप अत्यधिक रहेकाले सबैले संयमता अपनाउनु आवश्यक छ । भित्र व्यवस्थापन गर्न सकिने संख्यालाई हामी व्यवस्थित रूपमा राखिरहेका छौँ। तर कतिपय सेवाग्राही निर्धारित समयभन्दा धेरै अगाडि नै आउने गर्नुभएको छ, जसले अनावश्यक भीड बढाउँछ । त्यसैले तोकिएको समयमा मात्र उपस्थित हुन र काम सकिएपछि तुरुन्त फर्किन अनुरोध गर्दछौं । बाहिर बसेर कसैलाई पर्खिनु वा होहल्ला गर्नु आवश्यक छैन । सबैले सहयोग गर्नुभयो भने सेवा व्यवस्थापन अझ प्रभावकारी हुनेछ ।

त्यसो भए राहदानी नपाएर स्पेन सरकारले खुलाएको कानुनीकरण (ओपन इमिग्रेसन) अवसरबाट कुनै नेपाली वञ्चित हुने अवस्था अब आउँदैन ?

हामीले हाल देखिएको उच्च चापलाई प्राथमिकताका साथ सम्बोधन गरिरहेका छौं । परराष्ट्र मन्त्रालय, राहदानी विभाग, दूतावासबीच समन्वय भइरहेको छ । सेवाग्राहीलाई समयमै सेवा दिन अधिकतम प्रयास भइरहेको छ । त्यसैले राहदानी अभावकै कारण अवसरबाट वञ्चित हुने अवस्था नआओस् भन्ने हाम्रो स्पष्ट उद्देश्य हो । त्यसअनुसार विशेष प्राथमिकतामा काम अघि बढाइएको छ ।

अन्त्यमा, दूतावासको फेसबुक पेजमा कमेन्ट सेक्सन बन्द गरिएको प्रति गुनासो आएको छ। किन बन्द गर्नुपर्‍यो?

पछिल्लो समय दूतावासको पेजमा सूचना-सम्बन्धी जिज्ञासाभन्दा पनि उत्तेजना बढाउने, भ्रामक वा असम्बन्धित टिप्पणीहरू बढ्न थालेका थिए । त्यसले सेवाग्राहीमा अनावश्यक भ्रम सिर्जना गर्ने अवस्था देखिएपछि कमेन्ट सेक्सन अस्थायी रूपमा बन्द गरिएको हो । तर, सेवाग्राहीले दूतावासको आधिकारिक म्यासेन्जरमार्फत वा इमेलमार्फत आफ्ना जिज्ञासा राख्न सक्नुहुन्छ । हामी सो माध्यमबाट प्राप्त प्रश्नहरूको उत्तर दिइरहेका छौं ।

यो पनि पढ्नुहोस् :

 स्पेनको राहदानी समस्यामा परराष्ट्र मन्त्रालय जानकार, समाधानका लागि गृहकार्य सुरु

 स्पेनमा राहदानी संकट : दूतावासको सीमित सेवाले अवसर गुम्ने चिन्ता

स्पेनको कागज पाउने आशा, तर हातमा छैन आफ्नै देशको प्रमाण

स्पेनमा ५ लाख कागजातविहीन आप्रवासी वैधानिक बन्ने, नेपालीलाई पनि राहत 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?