+
+
Shares

स्पेनमा ५ लाख कागजातविहीन आप्रवासी वैधानिक बन्ने, नेपालीलाई पनि राहत

वसन्त रानाभाट वसन्त रानाभाट
२०८२ माघ १४ गते २०:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनको समाजवादी गठबन्धन सरकारले करिब पाँच लाख कागजातविहीन आप्रवासीलाई अप्रिलदेखि कानुनी हैसियत दिने निर्णय गरेको छ।
  • कम्तीमा पाँच महिनादेखि स्पेनमा बसोबास गरेको र आपराधिक अभिलेख नभएका विदेशीलाई एक वर्षको बसोबास अनुमति दिइनेछ।
  • विपक्षी कन्जरभेटिभ र अतिदक्षिणपन्थी दलले यस निर्णयलाई आलोचना गरेका छन् भने आप्रवासी अधिकार संस्थाले स्वागत गरेका छन्।

१४ माघ, बार्सिलोना । स्पेनको समाजवादी नेतृत्वको गठबन्धन सरकारले करिब पाँच लाख कागजातविहीन आप्रवासी र शरणार्थीलाई कानुनी हैसियत दिने आदेश स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्बाट पारित यो निर्णय आगामी अप्रिलदेखि लागू हुने अपेक्षा गरिएको छ । सरकारका अनुसार यो कानुनीकरण प्रक्रिया सरकारी आदेश मार्फत लागू गरिने भएकाले संसद्को अनुमोदन आवश्यक पर्ने छैन ।

योजनाअनुसार कम्तीमा पाँच महिनादेखि स्पेनमा बसोबास गरेको प्रमाण दिन सक्ने, सन् २०२५ डिसेम्बर ३१ पछि प्रवेश नगरेका र आपराधिक अभिलेख नभएका विदेशी नागरिकलाई सुरुमा एक वर्षको बसोबास अनुमति दिइनेछ ।

यो अनुमति नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । आवेदन प्रक्रिया आगामी अप्रिलदेखि सुरु भई जुन महिनाको अन्त्यसम्म खुला रहने जनाइएको छ । योजनाअनुसार अन्तर्राष्ट्रिय संरक्षण (शरण) माग गरिसकेको प्रमाण दिन सक्ने व्यक्तिहरू यसमा समेटिने छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै समावेशीकरण, सामाजिक सुरक्षा तथा आप्रवासन मन्त्री एल्मा साइजले यसलाई ‘ऐतिहासिक दिन’को संज्ञा दिँदै विगतका प्रशासनिक अवरोध तोड्ने उद्देश्यसहित यो कदम चालिएको बताइन् ।

‘हामी मानवअधिकार, एकीकरण र सहअस्तित्वमा आधारित आप्रवासन मोडेललाई मजबुत बनाइरहेका छौं, जुन आर्थिक वृद्धि र सामाजिक एकतासँग मेल खान्छ,’ उनले भनिन्।

यो निर्णय सरकारका पूर्वसाझेदार वामपन्थी दल पोदेमोसको दबाबपछि आएको हो । पोदेमोसकी नेतृ आयोने बेलार्राले कागजातविहीन मानिसहरूलाई अधिकारसहित काम गर्न सक्ने वातावरण बनाउने दिशामा यो सहमति भएको बताएकी छन् ।

स्पेन पछिल्ला वर्षहरूमा आप्रवासन नीतिमा युरोपमै फरक धारमा देखिँदै आएको छ । प्रधानमन्त्री पेद्रो सान्चेजले यसअघि नै जनसांख्यिकीय चुनौती सामना गरिरहेको देशलाई आर्थिक वृद्धि र कल्याणकारी राज्य जोगाउन आप्रवासन आवश्यक रहेको बताएका थिए ।

यस निर्णयलाई आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले स्वागत गरेका छन् । उनीहरूले यसले कागजातविहीन मानिसलाई आधारभूत अधिकारमा पहुँच दिलाउने बताएका छन् ।

तर स्पेनमा नै विपक्षी कन्जरभेटिभ पिपुल्स पार्टी र अतिदक्षिणपन्थी भोक्स पार्टीले भने कडा आलोचना गरेका छन् । पिपुल्स पार्टीका नेता अल्बेर्तो नुनेज फेइहोले यसले ‘आकर्षण प्रभाव’ बढाउने र सार्वजनिक सेवामा दबाब सिर्जना गर्ने दाबी गरेका छन् भने भोक्सले यो निर्णयविरुद्ध आक्रामक प्रतिक्रिया जनाएको छ ।

यसअघि पनि स्पेनमा सन् १९८६ देखि २००५ सम्म नौ पटक यस्ता असाधारण आप्रवासी कानुनीकरण कार्यक्रम सञ्चालन भएका थिए, जसबाट १० लाख बढी आप्रवासीले कानुनी मान्यता पाएका थिए । यो निर्णयसँगै स्पेनमा रहेका हजारौं कागजातविहीन नेपाली आप्रवासी पनि लाभान्वित हुने भएका छन् ।

स्पेनको विश्लेषण केन्द्र फुनकासले यसै साता सार्वजनिक गरेको सन् २०२५ को तथ्यांकमा आधारित प्रतिवेदनअनुसार स्पेनमा गैर–युरोपेली अनियमित आप्रवासी संख्या करिब ८ लाख ४० हजार पुगेको छ ।

प्रतिवेदनअनुसार स्पेनमा रहेका अनियमित आप्रवासीमध्ये करिब ७ लाख ६० हजार अमेरिका महादेशबाट आएका छन् । तिनमा कोलम्बियाली करिब २ लाख ९० हजार, पेरुभियन करिब १ लाख १० हजार र होन्डुरसका ९० हजार  नागरिकको संख्या सबैभन्दा बढी छ ।

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?