+
+
Shares

स्पेनको कागज पाउने आशा, तर हातमा छैन आफ्नै देशको प्रमाण

वसन्त रानाभाट वसन्त रानाभाट
२०८२ माघ १७ गते ८:०४
स्पेनको कास्पेमा बसोबास गर्दै आएका नेपालीहरु एक कार्यक्रममा ।

१७ माघ, बार्सिलोना । बार्सिलोना बसोबास गर्दै आएका काठमाडौं मूल घर भएका विपिन राईका लागि आशा र तनाव सँगसँगै आएका छन् ।

स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने निर्णय सार्वजनिक गरेपछि मनमनै खुशी भए पनि राहदानीविहीन अवस्थाले उनलाई निरन्तर बेचैन बनाइरहेको छ ।

म्याड्रिडस्थित नेपाली दूतावासले शुक्रबार राहदानीका लागि एपोइन्टमेन्ट स्लट खुलाउने भनिएपछि राई दिनभर ल्यापटप अगाडि तयारी अवस्थामा बसे । दूतावासले दिउँसो ‘राहदानी फारामको लिङ्क’ भन्दै फेसबुकमार्फत सूचना जारी गरेपछि उनी पटक-पटक लिंक खोल्न प्रयासरत रहे ।

‘धेरै बेरसम्म लिंक नै खुलेन। फेरि प्रयास गर्दा ‘वेटिङ’ मा राखियो’, उनले अनलाइनखबरसँग भने, ‘भित्र छिरेपछि केही मिनेटमै सबै स्लट सकिएको देखियो।मनमा ठूलो तनाव छ ।’

दूतावासले हरेक शुक्रबार मात्रै एपोइन्टमेन्ट खोल्ने गरे पनि, बार्सिलोनाबाट म्याड्रिड पुगेर राहदानी बनाउन चाहँदा समेत एपोइन्टमेन्ट नपाएको उनको गुनासो छ। ‘यात्रा खर्च र समय सबै जोहो गरेर जान तयार छु, तर अपोइन्टमेन्ट नै पाइँदैन’, उनले भने ।

स्पेन सरकारले आगामी अप्रिलदेखि कागजातविहीन आप्रवासीका लागि कानुनीकरण प्रक्रिया सुरु गर्ने संकेत दिएको अवस्थामा, दुई महिनाभित्र राहदानी तयार भइसक्नुपर्ने दबाब नेपालीहरु माथि बढ्दै गएको छ । ‘अब अप्रिल नजिकिँदैछ, राहदानी नबने कागज कसरी अप्लाइ गर्ने ?’ राई प्रश्न गर्छन्, ‘हाम्रो माग कसले सुन्छ ?’

चितवन रत्ननगर मूल घर भएका सुवर्ण घिमिरे हाल बार्सिलोना नजिकैको सानो नगर कास्पेमा बस्दै आएका छन् । उनको पीडा पनि उस्तै छ-बरु सामूहिक छ।‘हामी बस्ने यो सानो नगरमै ८ सयदेखि हजारसम्म नेपाली छन्,’ घिमिरे भन्छन्, ‘अधिकांशको समस्या एउटै हो-राहदानी।यहीँ घुम्ती शिविर ल्याउन एनआरएन स्पेन र नेपाली दूतावाससँग हाम्रो माग छ।’

स्पेन सरकारले कागजातविहीन आप्रवासीका लागि कानुनीकरण प्रक्रिया खोल्ने समाचार सार्वजनिक भएपछि अन्य देशका कन्सुलर सेवामा देखिएको सक्रियतासँग उनले नेपाली दूतावासको अवस्थाको तुलना गर्छन् । ‘बार्सिलोनाको पाकिस्तानी कन्सुलर अफिसमा देखिएको भिड हेर्नुहोस् । दैनिक एक हजारभन्दा बढी मानिसले सेवा लिइरहेका छन् । बिहान ७ बजेदेखि राति ११ बजेसम्म काम भइरहेको सुनिन्छ।शनिबार-आइतबार पनि सेवा दिएको समाचार आएको छ,’ उनी भन्छन् ।

उनका अनुसार यति संवेदनशील घडीमा हाम्रो अभिभावक भनेको दूतावास नै हो। ‘तर अहिलेसम्म त्यति गम्भीर चासो दिएको मैले अनुभूति गरेको छैन,’ घिमिरेको गुनासो छ । ‘यस्तो बेला त सरकारसँग, परराष्ट्र मन्त्रालयसँग हारगुहार गरेर भए पनि हाम्रो माग सम्बोधन हुनुपर्छ ।’

घिमिरेको चिन्ता केवल राहदानीमा सीमित छैन । ‘पासपोर्ट मात्रै होइन,नेपालबाट प्रहरी रिपोर्ट झिकाउनुपर्ने हुन्छ । त्यसलाई अनुवाद गरेर लिगलाइजेसन गर्नुपर्ने झन्झट पनि छ’, उनी भन्छन्, ‘यी सबै समयमै भएनन् भने, वर्षौँपछि पाएको यो अवसर गुम्ने खतरा छ।’ उनको प्रश्न सीधा छ, ‘नेपाली राहदानी नबनेर हामीले यो अवसर गुमायौं भने, त्यसको जिम्मेवारी कसले लिन्छ ?’

यसैबीच, राहदानी नबनेको पीडा व्यक्तिगत गुनासोमा मात्रै सीमित छैन, लिखित रूपमा संस्थागत ढोकासम्म पनि पुगेको छ ।एनआरएनए स्पेनलाई हालै पठाइएको एक औपचारिक निवेदनपत्रमा कपिल पौडेलले आफ्नो अत्यन्त संवेदनशील अवस्थाबारे ध्यानाकर्षण गराएका छन् ।

प्युठान स्थायी घर भई हाल स्पेनको आल्बासेटेमा बस्दै आएका पौडेलले आफ्नो नेपाली नागरिकता हराएको, त्यसको प्रतिलिपि वा वैकल्पिक प्रमाण उपलब्ध नभएको र पटक-पटक प्रयास गर्दा पनि दूतावासबाट कुनै ठोस जवाफ नपाएको उल्लेख गरेका छन् ।

निवेदनमा उनले आफू ६ महिनाकी गर्भवती श्रीमतीसँग बसोबास गरिरहेको र उनको नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि आफ्नो उपस्थिति अनिवार्य रहेको बताएका छन् ।

यस्तो अवस्थामा नागरिकता अभावकै कारण राहदानी बनाउने प्रक्रिया अत्यन्त जटिल बनेको उनको भनाइ छ । ‘मानवीय आधारमा पासपोर्ट प्रक्रियामा विशेष सहजीकरण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु’, पत्रमा उल्लेख छ ।

स्पेनको पाइसभास्को क्षेत्रको भिक्टोरियामा बस्दै आएका भक्तबहादुर कुमालको पीडा अझ टिठलाग्दो छ।गोरखा पालुङ्टार मूल घर भएका कुमालको उमेर ५५ नाघिसकेको छ।कतार हुँदै सन् २००८ मा जर्मनी पुगेका उनी त्यहाँ १७ वर्ष बिताए ।

जर्मनीलाई बिट मार्दै कागजातविहीन अवस्थामा १० महिना अघि स्पेन आएका हुन् । युरोपमै १८ वर्ष बिताउँदा पनि उनले न त पुरानो एमआरपी पासपोर्ट बनाउन सके न अहिलेको ई-पासपोर्ट । ‘१८ वर्ष भयो म नेपाल नगएको’, उनी भन्छन्, ‘त्यतिबेला मेरो ठूलो छोरा ७ वर्षको थियो, कान्छो ५ वर्षको। छोरी त आमाको गर्भमै थिइन् ।’

जर्मनीमा रहँदा कामकै चाप, छुट्टी नमिल्ने अवस्था र सहयोगको अभावका कारण उनले कहिल्यै राहदानी बनाउन सकेनन् ।

राहदानी बनाउनका लागि कुमालले नगरपालिकाबाट तीन पुस्ते पारिवारिक विवरण,जिल्ला प्रशासन कार्यालयबाट नागरिकता जारी हुँदा भएको अभिलेख विवरण र नागरिकताको प्रथम प्रतिलिपि विवरण झिकेर ‘राहदानी प्रयोजनका लागि’ बनाएको कागज म्याड्रिड दूतावासमा पेश गरेका छन् । तर, समस्या के छ भने-उनीसँग नागरिकता वा राहदानीको कुनै फोटोकपीसमेत छैन ।

नागरिकता नम्बर छ, पुरानो पासपोर्ट नम्बर पनि छ । र, जिल्ला प्रशासन कार्यालयले तयार पारेको सम्पूर्ण अभिलेख कागजात पनि छ ।

‘म अहिले विदेशमा कागजातविहीन अवस्थामा छु,’ कुमाल भन्छन्, ‘नेपालमा मेरो अनुपस्थितिमा प्रतिलिपि झिक्न पनि झन्झट छ । मुख्य कुरा, मैले पेश गरेका विवरण सत्य हुन् कि होइनन् भन्ने आधारमा निर्णय दिनुपर्ने हो।’ तर, यहाँ उनी प्रणालीकै घनचक्करमा फसेका छन् । जिल्ला प्रशासन कार्यालय भन्छ-यी कागजातले काम चल्छ ।

दूतावास भन्छ -यतिले पुग्दैन । उनी निराश स्वरमा भन्छन् । स्पेन आएदेखि नै दूतावाससँग निरन्तर सम्पर्कमा रहेका कुमाल दुई महिना अघि आफैं दूतावास पुगेर कुराकानी गरिसकेका छन् । ‘नेपालबाट के जवाफ आउँछ हेर्नुपर्छ’ भन्नुभयो,’ उनले सुनाए, ‘अहिले मेरो राहदानी बनाउने प्रक्रिया यत्तिकै रोक्किएको छ ।’

म्याड्रिडबाहिर तत्काल घुम्ती शिविर जाने सम्भावना छैन –  अधिकारी

स्पेनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत तथा सूचना अधिकारी पूरक अधिकारीका अनुसार हालको अवस्थामा म्याड्रिड बाहिर तत्काल घुम्ती शिविर सञ्चालन गर्ने सम्भावना छैन । उनका अनुसार दूतावासको जनशक्ति र प्राविधिक क्षमताले अहिलेका लागि म्याड्रिडमै सेवा केन्द्रित गर्नु बाहेक अर्को विकल्प देखिँदैन।

‘हाम्रो दूतावासमा हाल दुई जना मात्र कूटनीतिक कर्मचारी छन् । यस्तो अवस्थामा दूतावास बन्द गरेर बाहिर घुम्ती शिविरमा जानु जोखिमपूर्ण हुन्छ’, उनले भने, ‘बार्सिलोना, भ्यालेन्सिया, आलिकान्ते, कास्पे जस्ता ठाउँमा तत्काल पुगेर शिविर चलाउन अहिले सम्भव छैन ।’

‘प्राविधिक, स्थानीय कर्मचारी र टेक्निकल सपोर्ट सबै हिसावले म्याड्रिडमै सहज हुन्छ । बाहिर जाँदा सिस्टम नचल्ने, प्रविधिगत समस्या आउने जोखिम रहन्छ’, अधिकारीले थपे ।

उनका अनुसार पछिल्लो अवस्था र नेपाली समुदायको चापबारे नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकिएको छ । ‘परराष्ट्र मन्त्रालयबाट विशेष टोली खटाएर घुम्ती शिविर गर्ने निर्णय भए दूतावास पूर्ण सहयोग गर्न तयार छ’, उनले थपे, ‘तर त्यो निर्णय काठमाडौंबाटै हुनुपर्छ ।’

कार्यवाहक राजदूत अधिकारी भन्छन्, ‘स्पेन सरकारले पनि तपाईंलाई चिन्ने माध्यम राहदानी नै हो, त्यसैले यसलाई सुरक्षित राख्नुपर्छ’, उनले भने, ‘घुम्ती शिविर होस् वा दूतावासमा आउने धेरै राहदानी ड्यामेज वा हराएको भनेर आउँछ । जसले प्रक्रिया झन् जटिल बनाउँछ ।’

उनका अनुसार राहदानी वा आवश्यक कागजात नै नभए कानुनीकरण प्रक्रियामा सहभागी हुन सकिँदैन । ‘अरू देशको भिसा हेर्छ कि भन्ने डर आवश्यक छैन’, उनले स्पष्ट पारे, ‘अनियमित अवस्थामै रहेका व्यक्तिलाई नै नियमित गर्न खोजिएको हो । प्रक्रिया अझै बाहिर आइसकेको छैन, त्यसैले नआत्तिनुहोस्, जे वास्तविकता हो त्यही जानकारी दिनुहोस् र यहाँको कानुनसँग समाहित हुनुहोस् ।’

केही राहदानी नबनेको विषयमा, कार्यवाहक राजदूत अधिकारीले भने, ‘दूतावासमा आवश्यक नेपाली कागजात बुझाएर आउने कसैलाई पनि खालि हात फर्काइएको छैन ।’

‘डकुमेन्ट पुर्याएर आउनेले सेवा पाउँछन्। जसको कागजात छैन, नियमअनुसार कागजात पूरा गरेर आउन अनुरोध गर्छौं,’ उनले थपे ।

आवश्यक कागजात नपुगेको अवस्थामा नेपाल गएर कागजात बनाउन मिल्ने गरी ट्राभल डकुमेन्टसमेत जारी गरिएको उनले स्पष्ट पारे। ‘तर कुनै प्रमाण वा डकुमेन्टबिना राहदानी दिन कानुनले अनुमति दिँदैन। हामी कानुन अनुसारै काम गर्छौं’, उनले जोड दिए ।

राहदानीकै कारण कागजबाट बन्चित हुने अवस्था नआओस्

एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले भने राहदानी नबनेकै कारण स्पेनमा वैधानिक बन्ने प्रक्रियाबाट कुनै पनि नेपाली बञ्चित हुन नहुने बताएका छन् । ‘स्पेन सरकारले ओपन इमिग्रेसन योजनाले हजारौं मान्छेलाई कानुनी हैसियत दिने काम गर्दैछ। करिब १० हजार नेपाली यसबाट लाभान्वित हुने मेरो अनुमान छ । तर, समयमा राहदानी नबनेका कारण उनीहरू कागज बन्ने प्रक्रियाबाट बन्चित हुनु हुँदैन’, उनले भने ।

श्रेष्ठका अनुसार, ‘हाल म्याड्रिड दूतावासबाट दैनिक २०-३० जनाको राहदानी मात्र बनिरहेको छ । यस्तो अवस्थामा नेपाली समुदायको माग पर्याप्त रूपमा सम्बोधन भएको देखिँदैन । सबैले फारम भर्न पाउनुपर्छ र फारम भरेका सबैले पासपोर्ट पाउनुपर्छ । यो राज्यको दायित्व हो ।’

उनले थपे, ‘एपोइन्टमेन्ट खुलेको छैन, मानिसले फारम भर्न पाएका छैनन् । गाउँगाउँबाट फोन आउँछ, सबैको आवेदन लिनुपर्छ ।यदि क्षमता अनुसार सबै बनाउन सकिएन भने त्यो स्पष्ट भन्नुपर्छ । त्यसपछि मात्र परराष्ट्र मन्त्रालयमा दबाब सिर्जना हुन सक्छ ।’

श्रेष्ठले दूतावासको सीमित क्षमता स्वीकार्दै भने, ‘स्टाफ कम छ, सकेको काम गर्नुभएको छ । तर, समाधान स्पष्ट छ-सबैले फारम भर्न पाउने व्यवस्था मिलाउनुपर्छ । यदि समयमै राहदानी जारी भएन भने हजारौं नेपाली कागजात पाउने अवसरबाट बञ्चित  हुन्छन्।’

उनले स्मरण गराए, ‘परराष्ट्र मन्त्रालयबाट पोर्चुगलमा टोलि खटिएर एक हप्तामा २५ सय बढी राहदानी बनाएको उदाहरण छ ।यस्तै सहभागिता अहिले स्पेनमा पनि आवश्यक छ । कागजातबिहीन आफ्ना नागरिकलाई कागज बन्ने अवसरबाट बन्चित रहन दिनुभन्दा ठूलो विडम्बना अरू के होला ?’

श्रेष्ठले जोड दिए, ‘राहदानी समयमै जारी हुँदा नेपाली समुदाय कानुनी र आर्थिक दुवै दृष्टिले लाभान्वित हुन्छ ।’

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?