१७ फागुन, काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणपछि उत्पन्न परिस्थितिबीच यतिबेला मध्यपूर्वका देशहरूमा शान्ति छैन ।
लाखौं नेपाली रहेका दुबई, कतार, कुवेत लगायतका देश त्रसित छ ।
अब के हुने हो ? भन्दै त्यहाँका नेपालीहरू आत्तिएका छन् । निरन्तर आक्रमणहरू चलिरहँदा सञ्जालमा नेपालीहरू त्रसित भेटिएका थिए ।
तीमध्ये, निर्मला नेपालीले एउटा भिडियो पोस्ट गरेकी थिइन् ।
‘एकदमै डर लागिरहेको छ । कतिबेला के हुन्छ पनि थाहा छैन,’ ब्रुज खलिफा नजिकैबाट उनले भनेकी छिन्, ‘कतिबेला के हुने हो थाहा छैन । एकदमै परिवारलाई मिस गरिरहेको छु ।’
उनीजस्ता हजारौं नेपाली त्यही शहरमा छन् । उनीहरू अब के हुन्छ ? नेपाली दूतावाससँग कसरी सम्पर्क गर्न सकिएला ? जस्ता प्रश्नको चिन्तामा छन् ।
उनीहरू निरन्तर मोबाइलमा आउने नयाँ अपडेट कुरिरहेका छन् । स्थानीय प्रशासनले निरन्तर पछिल्ला जानकारीहरू गराइएको छ ।
त्यस्तै, दुबईको आबुधाबीबाट केही टाढा छन्, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ का प्रमोद चौलागाईं ।
शनिबार बिहान प्रमोद मस्त निद्रामा थिए । राति ड्यूटी सकेर फर्किएका उनी ब्युँझिदा अवस्था फरक बनिसकेको रहेछ ।
तुरुन्तै मोबाइल हेरे । स्थानीय प्रशासनबाट सतर्क रहन ‘अलर्ट’ भइसकेको रहेछ ।
बाहिरतिर त्यतिबेलासम्म सुनसान नै थियो ।
दिउँसो २ बजेपछि निरन्तर मोबाइलमा नोटिफिकेशन आइरह्यो । स्थानीय सरकारी प्रशासनका निरन्तर मेसेज आइरहेका हुन्थे । ‘तपाईंको सुरक्षा हाम्रो पहिलो प्राथमिकतामा छ, कृपया भित्रै सुरक्षित ठाउँमा रहनुहोला,’ मोबाइलमा निरन्तर मेसेज आउन थाल्यो ।
केहीबेरमा नेपालबाट पनि परिवार, आफन्त र साथीभाइको निरन्तर फोन बज्यो । उनले सबैलाई अवस्था ठिकै रहेको जानकारी गराए ।
आबुधाबीबाट ४५ किलोमिटर टाढा रहेका उनी बस्ने ठाउँलाई ‘हमिम सिटी’ भनिँदो रहेछ । ‘हमिम सिटी’ गाउँ क्षेत्र हो । उनी त्यही क्षेत्रमा २ वर्षदेखि उनी रोजगारीको शिलशिलामा छन् । हमिम सिटीमा भने उनी १० महिनादेखि बस्दै आएका छन् ।
उनले शनिबारदेखि नजिकै भइरहेको द्वन्द्वबारे देखेका कुरा यसरी प्रस्तुत गरे –
राति ड्यूटी सकेर आएर सुतेको थिएँ । ब्युँझिदा मोबाइलमा धेरै मेसेज आइसकेका रहेछन् ।
केही स्थानीय प्रशासनको थियो । केही परिवार, आफन्त र साथीभाइको । के भएछ ? भनेर मैले पनि बुझेँ । सुरुमा रुटिन अफ नेपाल बन्द खोलेँ । त्यहाँ इरानसँग इजरायल र अमेरिकाको आक्रमणको अपडेट हेरेँ । अनि केही अन्तर्राष्ट्रिय र राष्ट्रिय सञ्चारमाध्यम हेरे । दुबई, कतार, कुवेत लगायतका देशमा लाखौं नेपाली छन् । उनीहरू मजस्तै त्रसित थिए ।
मलाई पनि अब के हुन्छ भन्ने त्रास भइरह्यो । हुन त मैले चैतको पहिलो साता नेपाल आउने बिदा मिलाएको छु । तर, अहिले केही भइहाल्ने हो वा युद्धविराम हुने थाहा नै भएन ।
बाहिर विस्फोटका आवाजहरू सुनिइरहेका थिए । कम्पनीले सुरक्षित काममा पुर्यो । रातभर भित्रै बसेर काम पनि गरियो । तर, बाहिर आवाज सुनिइरहेका थिए । मोबाइलमा नोटिफिकेशन पनि बजिरहेको थियो । जे भए पनि यस्तो हुँदा निकै त्रास भइरहँदो रहेछ ।
ड्यूटी सकेर अहिले रुममै छु । बाहिर अवस्था सुनसानजस्तै छ । केही मान्छे बाहिरतिर निस्किएका भए पनि धेरैजसो भित्रै छन् । प्रशासनको मेसेजले बेला बेला झसंग चाहीँ बनाइरहन्छ ।
घर परिवारले पनि सोधिरहेका हुन्छन् । तर, यहाँ यही भइहाल्छ भनेर भन्ने अवस्था चाहीँ छैन ।
प्रतिक्रिया 4