News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका डा. डोङ ह्वान चोको टोलीले उडुस पानी र चिस्यानबाट अत्यन्तै डराउने पत्ता लगाएको छ।
- उडुसको शरीर चेप्टो र सास फेर्ने साना प्वाल भएकाले पानीले सास फेर्न नदिँदा उनीहरू पानीबाट टाढा भाग्ने डा. चोले खुलाएका छन्।
- यो खोजले विषालु रसायनको सट्टा पानी वा चिस्यानमा आधारित सुरक्षित उडुस नियन्त्रण प्रविधि विकास गर्न सम्भावना देखाएको छ।
१ चैत, काठमाडौं । ओछ्यानमा पल्टिएपछि निद्रा नै हराम गरिदिने उडुसबाट सायदै कोही अपरिचित होला। रगत चुस्ने यो सानो कीरा एकपटक घरमा पसेपछि यसलाई जरैदेखि निर्मूल पार्न निकै गाह्रो हुन्छ। तर, हालै प्रयोगशालामा गरिएको एउटा नयाँ अध्ययनले उडुसको सबैभन्दा ठूलो कमजोरी पत्ता लगाएको छ।
अध्ययनअनुसार उडुसहरू पानी र चिस्यान (ओस) देखि अत्यन्तै डराउँछन्। उनीहरूको यो अचम्मको व्यवहार यसअघि विज्ञानलाई पनि थाहा थिएन। यो नयाँ खोजले उडुसको बढ्दो प्रकोप नियन्त्रण गर्न नयाँ रणनीतिहरू बनाउन ठूलो मद्दत पुग्ने वैज्ञानिकहरूले विश्वास लिएका छन्।
पछिल्लो २० वर्षमा विश्वभर नै उडुसको प्रकोप तीव्र रूपमा बढेको छ। यसको मुख्य कारण भनेको बजारमा पाइने रासायनिक कीटनाशक औषधिहरूले उडुसलाई असर गर्न छाड्नु हो किनकि उडुसले प्रतिरोधात्मक क्षमता विकास गर्दै गइरहेको छ ।
विषादीले काम गर्न छाडेपछि वैज्ञानिकहरू उडुसलाई कसरी नियन्त्रण गर्ने भनेर यसको आनीबानीको गहिरो अध्ययन गरिरहेका थिए।
यसै क्रममा अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, रिभरसाइडका किटविज्ञ अर्थात् एन्टोमोलोजिस्ट डा. डोङ ह्वान चोको टोलीले प्रयोगशालामा एउटा रोचक कुरा पत्ता लगायो। ‘जर्नल अफ इथोलोजी’मा प्रकाशित यस अध्ययनअनुसार, उडुसहरू पानी वा भिजेको सतह देख्नेबित्तिकै भाग्छन्।
कसरी भयो यो अचानक खोज ?
यो कुनै पूर्वनिर्धारित परीक्षण थिएन, बरु प्रयोगशालाको नियमित कामको क्रममा अचानक घटेको घटना थियो। अनुसन्धानकर्ताहरूले साना सिसीहरूमा उडुस पालेका थिए र सिसीको माथि रगतले भरिएको एउटा कृत्रिम भाँडो राखेका थिए। उडुसहरू माथि चढेर एउटा पातलो झिल्ली छेड्दै रगत चुस्ने गर्थे।
तर एकदिन रगत भएको झिल्ली अलिकति च्यातियो। त्यहाँबाट रगत चुहिएर सिसीभित्र राखिएको कागजको टुक्रा भिज्न थाल्यो। डा. चोलाई लाग्यो, ‘कागजमै रगत पोखिएपछि त उडुसहरूलाई रगत पिउन झनै सजिलो भयो, उनीहरू खुसी होलान्।’
तर नतिजा उल्टो निस्कियो। डा. चोले भने, ‘मैले जे देखेँ त्यो धेरै फरक थियो। उनीहरू रगतले भिजेको कागजको भागबाट पूरै तर्किरहेका थिए। उनीहरू भिजेको ठाउँको नजिक पनि गएनन्।’
यो देखेर छक्क परेका वैज्ञानिकहरूले चिस्यान नै मुख्य कारण हो कि भनेर कागजलाई पानीले भिजाएर परीक्षण गरे। त्यतिबेला पनि उडुसहरू भिजेको ठाउँबाट सकेसम्म टाढै बसे।
परीक्षणमा भाले, पोथी, साना र ठूला सबै उडुसले पानी र चिस्यान देखेर तीव्र गतिमा यू-टर्न लिएको अर्थात् पछाडि फर्केर भागेको पाइयो।
उडुस पानीसँग किन यति धेरै डराउँछन् ?
अनुसन्धानकर्ताहरूका अनुसार, यो उडुसको शारीरिक संरचनासँग जोडिएको कुरा हो। उडुसको शरीर निकै चेप्टो हुन्छ र यसको पेटको दुवै छेउमा सास फेर्ने अत्यन्तै साना प्वालहरू हुन्छन्।
यदि उडुस पानी वा कुनै भिजेको सतहको सम्पर्कमा गयो भने, पानीको टाँसिने गुणका कारण उनीहरू त्यहीँ टाँसिन्छन् र पानीले उनीहरूको सास फेर्ने प्वाल टालिदिन्छ। सास फेर्न नसकेर मर्ने डरले नै उडुसहरू पानी र ओसबाट अत्यन्तै तर्किने गरेको डा. चोले प्रष्ट पारे।
हाम्रा लागि यसको अर्थ के हो ?
यस निष्कर्षले भविष्यमा उडुस नियन्त्रणका लागि विषालु रसायनको सट्टा पानी वा चिस्यानमा आधारित सुरक्षित प्रविधिहरू विकास गर्न बाटो खुला गरेको छ।
अहिले नै सम्पूर्ण घरको उडुस पानीले भगाउन नसकिए पनि, अनुसन्धानकर्ताहरूले एउटा सरल र व्यावहारिक उपाय भने सुझाएका छन्। यदि तपाईंलाई आफ्नो शरीर वा लुगामा उडुस हिँडिरहेको जस्तो शंका लाग्यो भने धेरै आत्तिनु पर्दैन।
‘सिधै गएर नुहाउनुहोस्, यसले तपाईंको शरीरमा भएको उडुसको समस्या तत्कालै समाधान गर्नेछ,’ डा. चोले भने, ‘निस्सन्देह, कोठा, फर्निचर वा ओछ्यानमा लुकेर बसेका उडुसहरूका लागि भने अन्य उपायहरू नै अपनाउनुपर्ने हुन्छ।’
प्रतिक्रिया 4