+
+
Shares
मध्यपूर्वको द्वन्द्व :

चामबहादुरका एक्ला छोरा दिवस : फर्केर बिहे गर्छु भन्थे, यूएईमै अस्ताए

कहिलै नफर्किने गरी यूएईमै अस्ताए गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ ।

विकास मरहट्टा विकास मरहट्टा
२०८२ फागुन १८ गते १७:५०

१८ फागुन, गोरखा । मध्यपूर्व द्वन्द्वको प्रसंग जोड्दै दुई दिनअघि उनले आफ्नो फेसबुकमा स्ट्याटस लेखेका थिए । भनेका थिए, ‘समाचार हेरेपछि मेरो ध्यानाकर्षण भयो । अबुधाबीको बासिन्दाका हिसाबले यहाँको अवस्था के छ मलाई थाहा छ । केही रिपोर्टहरू बढाइचढाइ भएर आएका छन् ।’

तर, बिडम्वना यो नै उनको जीवनको अन्तिम स्ट्याटस बन्न पुग्यो । इरानको ड्रोन हमलामा उनी मारिए । कहिलै नफर्किने गरी यूएईमै अस्ताए गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ ।

अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार यसबारे जानकारी गराएको छ । ‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक दिवस श्रेष्ठ (वर्ष २९, घर गोर्खा जिल्ला) को दुःखद निधन भएको सम्बन्धमा यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,’ राजदूतावासले भनेको छ ।

भीमसेन थापा गाउँपालिका–७ ठाटीबजार स्थायी घर भएका उनी काठमाडौंमा ओभरसियर पढ्दै थिए । सामान्य घरपरिवारमा जन्मेका दिवसमा एकाएक विदेश जाने सोच आयो । प्रक्रिया अघि बढाए । अनि तीन वर्षअघि वैदेशिक रोजगारीका लागि यूएई उडे ।

गत असोजमा उनी नेपाल फर्किएका थिए । घरपरिवारसँगै चाडबाड मनाए । खुसी साटासाट गरे । अर्को छुट्टीमा आउँदा बिहे गर्ने भनेर गएका उनी अब कहिलै नफर्किने गरी संसारबाट बिदा भए ।

मध्यपूर्वको द्वन्द्व चर्किएसँगै घरमा उनका परिवार आत्तिएका थिए । शनिबार साँझ दिवससँग उनका बुवा चामबहादुरको कुराकानी भएको थियो । तर त्यो नै अन्तिम कुराकानी हुन पुग्यो ।

‘त्यो दिनपछि सम्पर्क भएन,’ बुवा चामबहादुरले भावुक हुँदै भने, ‘भागदौडको क्रममा घुँडामा चोट लागेको छ भनेर उनका साथीहरूले भनेका थिए, तर आज यस्तो खबर आयो ।’

भाइ (काकाको छोरा) सचिन श्रेष्ठका अनुसार दिवस अत्यन्तै मिलनसार र सहयोगी थिए । निकै सोझो पनि । ‘एकदम सोझो हुनुहुन्थ्यो, दायाँबायाँ केही थिएन,’ भावुक स्वरमा उनले भने, ‘आज यस्तो भयो, के भन्ने खै !’

चामबहादुरका एक्ला छोरा थिए दिवस । दुई सन्तानमध्ये छोरीको विवाह भइसकेको थियो । सुत्केरी छोरीको स्याहार सुसारका लागि चामबहादुरकी श्रीमती काठमाडौं थिइन् । घरमा चामबहादुर र उनकी आमा मात्र बस्छन् । सोमबार यो खबर पाएपछि गाउँ नै शोकमा डुबेको छ ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?