१८ फागुन, काठमाडौं । इरानको ड्रोन हमलामा परी युनाइटेड अरब इमिरेट्स (यूएई) मा मारिएका नेपालीको परिचय खुलेको छ ।
अबुधाबीस्थित नेपाली दूतावासले सोमबार मृतक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको यूएईको विदेश मन्त्रालयबाट जानकारी प्राप्त भएको खुलाएको छ ।
‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक श्री दिवस श्रेष्ठ (वर्ष २९, घर गोरखा जिल्ला) को दु:खद निधन भएको सम्बन्धमा यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,’ दूतावासले भनेको छ ।
दूतावासले श्रेष्ठको निधनप्रति गहिरो दु:ख व्यक्त श्रद्धाञ्जली अर्पण गरेर शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
साथै, मृतकको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता पठाउने प्रक्रियामा आवश्यक सहजीकरण गरिने दूतावासले जनाएको छ ।
यस्तै संवेदनशील परिस्थितिमा अबुधाबी तथा यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन, सुरक्षित स्थानमा बस्न तथा स्थानीय प्रशासनले जारी गरेका सुरक्षा निर्देशिकाहरूको पूर्णपालना गर्न दूतावासले आग्रह गरेको छ ।
इरानमा अमेरिका र इजरायलले हमला गरेपछि इरानले आसपासका अन्य देशमा पनि ड्रोन तथा मिसाइल मार्फत हमला गरेको थियो ।
सोही हमलाका क्रममा शनिबार अबुधाबी विमानस्थलमा तीन जनाको मृत्यु भएको थियो । त्यो घटनामा एक नेपाली घाइते भएका थिए । उनको उपचारका क्रममा आइतबार मृत्यु भएको सूचना दूतावासले दिए पनि परिचय खुलाइएको थिएन ।
सोमबार ती मृतक श्रेष्ठ रहेकाे पहिचान खुलाइएको हो ।
प्रतिक्रिया 4