News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिणपूर्वी एशियाली राष्ट्र भियतनाममा आइतबार नेसनल एसेम्ब्लीका ५०० सदस्य र स्थानीय परिषद्का प्रतिनिधिहरूको निर्वाचन भइरहेको छ।
- यस चुनावमा ८६४ उम्मेदवारमध्ये करिब ९३ प्रतिशत सत्तारूढ कम्युनिस्ट पार्टीका सदस्य छन् र बाँकी ७.५ प्रतिशत स्वतन्त्र उम्मेदवार हुन्।
- चुनावको नतिजा मार्च २३ मा आउने र नयाँ संसद्ले अप्रिलमा पार्टीले छनोट गरेका राष्ट्रपति र प्रधानमन्त्रीलाई अनुमोदन गर्नेछ।
१ चैत, काठमाडौं । दक्षिणपूर्वी एशियाली राष्ट्र भियतनाममा आइतबार आम निर्वाचन भइरहेको छ।
देशको सर्वोच्च व्यवस्थापिका नेसनल एसेम्ब्ली का ५०० सदस्य र स्थानीय परिषद्का प्रतिनिधिहरू छनोट गर्न आज भियतनामका ७ करोड ३० लाखभन्दा बढी मतदाताले मतदान गरिरहेका छन्।
राष्ट्रिय निर्वाचन परिषद्का अनुसार, यस चुनावमा उठेका कुल ८६४ उम्मेदवारमध्ये करिब ९३ प्रतिशत त सत्तारूढ कम्युनिस्ट पार्टीकै सदस्यहरू छन्। बाँकी ७.५ प्रतिशत मात्रै स्वतन्त्र उम्मेदवार हुन्। सन् २०२१ को अघिल्लो चुनावमा स्वतन्त्र उम्मेदवारको संख्या ८.५ प्रतिशत थियो, जुन यसपटक झनै घटेको छ।
करिब १० करोड जनसंख्या भएको भियतनाममा कम्युनिस्ट पार्टीले दशकौंदेखि एकछत्र राज गरिरहेको छ। हालको संसद्मा पनि ९७ प्रतिशत सिटमा कम्युनिस्ट पार्टीकै पकड छ।
त्यसैले, त्यहाँको संसद्को मुख्य काम भनेकै सत्तारूढ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले गरेका निर्णयहरूलाई अनुमोदन गर्नु मात्र हो। आउँदो अप्रिल महिनामा बस्ने नयाँ संसद्को पहिलो बैठकले पार्टीले पहिल्यै छनोट गरिसकेका राष्ट्रपति र प्रधानमन्त्रीलाई औपचारिक रूपमा अनुमोदन गर्नेछ।
गत जनवरीमा मात्रै कम्युनिस्ट पार्टीको महाधिवेशनले तो लामलाई देशको सबैभन्दा शक्तिशाली पद महासचिवमा थप ५ वर्षका लागि निरन्तरता दिने निर्णय गरिसकेको छ। सोही महाधिवेशनले देश चलाउने सर्वोच्च निकाय पोलिटब्युरोका १९ जना सदस्य पनि छानिसकेको छ।
मतदाता कति उत्साहित छन् ?
राजधानी हनोईका सडकहरू चुनावको ब्यानरले रंगिएका छन्। आइतबार बिहानैदेखि ज्येष्ठ नागरिकहरू मतदान केन्द्रमा पुगेर भोट हालिरहेका छन्।
शीर्ष नेता तो लामको नेतृत्वमा भियतनामले आर्थिक सुधारका कामहरू गरिरहेको छ। त्यसैले केही मतदाताहरू यस चुनावपछि देशले विकासमा अझै गति लिने आशामा छन्।
हनोईमा भोट हाल्न पुगेकी ७३ वर्षीया गुयेन थी किमले भनिन्, ‘मलाई आशा छ शीर्ष नेताहरूले हाम्रो देशलाई अझ राम्रो बनाउन ठूला परिवर्तनहरू गर्नेछन्।’
तर, सबै निर्णयहरू पार्टीका उच्च नेताहरूले नै गर्ने भएकाले धेरैजसो युवा र आम नागरिक चुनावप्रति खासै उत्साहित देखिँदैनन्। ‘मलाई लाग्दैन कि कसले जित्छ भन्ने कुराले मेरो जीवनमा कुनै प्रभाव पार्छ,’ हनोईकै अर्की एक महिलाले भनिन्।
पहिलोपटक भोट हालिरहेकी १८ वर्षीया गुयेन किम चीले भने युवा उम्मेदवारहरूलाई भोट दिएको बताइन्। उनले भनिन्, ‘मलाई थाहा छ शीर्ष पदहरू कसले पाउने भनेर पहिल्यै तय भइसकेको छ, तर पनि मलाई लाग्छ मेरो भोटको केही त अर्थ होला नि!’
चुनावको सम्पूर्ण नतिजा मार्च २३ मा आउने त्यहाँको संसद्का अध्यक्षले जानकारी दिएका छन्।
(एएफपी र रोयटर्सको सहयोगमा)
प्रतिक्रिया 4