News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय परिवर्तन पार्टीले समानुपातिकतर्फ १ लाख ७२ हजार २४३ मत प्राप्त गरे पनि न्यूनतम ३ लाख २४ हजार १४१ मत कटाउन सकेन।
- उज्यालो नेपाल पार्टीले बागमती प्रदेशमा सबैभन्दा बढी १ लाख १६ हजार ५५२ मत प्राप्त गरेको छ भने कर्णाली प्रदेशबाट मात्र २३२ मत आएको छ।
- प्रत्यक्षतर्फ १०५ क्षेत्रमा उम्मेदवारी दिए पनि उज्यालो नेपालका कुनै पनि उम्मेदवार विजयी हुन सकेनन् र पार्टी मुख्यतया बागमतीमा बलियो देखियो।
२७ फागुन, काठमाडौं । २१ फागुनमा सम्पन्न मतदानमा कुलमान घिसिङले समानुपातिक तर्फ मत मागेको राष्ट्रिय परिवर्तन पार्टी (रापपा)ले देशभरबाट कुल १ लाख ७२ हजार २४३ मत प्राप्त गरेको छ ।
प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ऐनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मत परिणामअनुसार यसपटक समानुपातिक सिट पाउन दलले कटाउनुपर्ने न्यूनतम सवा ३ लाख मत प्राप्त गर्न सकेन ।
घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) चुनाव नजिकै एकता र विभाजनबाट गुज्रियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग गरेको एकता एक साता पनि टिक्न नसकेपछि अन्तिम समयमा निकै दबाबमा देखिएको उनेपाले समानुपातिकतर्फ आफ्नै पार्टीको चुनाव चिह्न लिनसक्ने अवस्था पनि थिएन । समस्याको प्राविधिक समाधान खोज्दै उनेपाले समानुपातिकतर्फ रापपाको चुनाव चिह्न बाँसुरीमा मत मागेको थियो ।
रापपाले प्राप्त मतलाई प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रगत रूपमा हेर्दा यसको जनाधार निकै असन्तुलित र निश्चित भूगोलमा मात्रै केन्द्रित रहेको देखिन्छ ।
एकातिर पार्टीले केही पहाडी जिल्लाहरूमा पुराना दलहरूलाई नै झस्काउने गरी मत ल्याएको छ भने अर्कोतिर देशको पश्चिमी भूभागमा पार्टीको उपस्थिति शून्यप्रायः देखिएको छ ।
कुलमानलाई २ निर्वाचन क्षेत्रको सरप्राइज
कुनै–कुनै निर्वाचन क्षेत्रमा पार्टीले एक्लै हजारौं मतको आँकडा पार गरेको छ। देशभरको एकल निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट १५ हजार ७० आएको छ ।
काभ्रेपलाञ्चोकको निर्वाचन क्षेत्र नम्बर १ बाट १३ हजार ६९९ मत खसेको छ । त्यस्तै, मकवानपुरकै निर्वाचन क्षेत्र नम्बर २ बाट ९ हजार ६७९ मत प्राप्त भएको छ ।
काभ्रेपलाञ्चोकको निर्वाचन क्षेत्र नम्बर २ बाट ७ हजार २७६ मत आएको छ भने घिसिङ नेतृत्वको पार्टीका लागि मधेशमा सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट ५ हजार २३१ मत खसेको छ ।
काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ३ बाट सबैभन्दा बढी ४ हजार ७८८ मत प्राप्त भएको छ जहाँबाट घिसिङ आफैं प्रत्यक्षतर्फ उम्मेदवार थिए ।
समानुपातिक र प्रत्यक्ष तर्फ प्राप्त मत विश्लेषण गर्दा उज्यालो नेपाल पार्टी हाललाई बागमती प्रदेश र त्यसमा पनि काठमाडौँ उपत्यकाको वरिपरिका पहाडी जिल्लाहरूको पार्टी मात्रै बन्न सकेको छ।
मकवानपुर र काभ्रे ‘गढ’ मुगुमा शून्य
जिल्लागत तथ्यांक हेर्दा उनेपा केही निश्चित जिल्लाहरूमा मात्रै बलियो देखिएको छ। देशभरमै सबैभन्दा बढी मत मकवानपुर जिल्लाबाट २४ हजार ७४९ आएको छ । दोस्रो धेरै मत काभ्रेपलाञ्चोकबाट २० हजार ९७५ प्राप्त हुँदा सिन्धुपाल्चोकबाट ११ हजार ७८३ मत आएको छ ।
संघीय राजधानी काठमाडौं जिल्ला १४ हजार ९३६ मतसहित तेस्रो स्थानमा छ । मधेश प्रदेशमा सर्लाही जिल्लाले ९ हजार ०३७ मतसहित पार्टीलाई ठूलो राहत दिएको छ ।
मुगुले एक मत पनि उनेपाको पक्षमा पठाएको छैन । कमजोर देखिएकोमध्ये रुकुम पूर्वले केवल ८ मत पठाएको छ । प्युठान र दैलेख दुवै जिल्लाबाट समान ९–९ मत मात्र प्राप्त भएको छ ।

बागमतीको भर, कर्णालीमा कमजोर
उनेपाको समग्र राष्ट्रिय मतको ठूलो हिस्सा एउटै प्रदेशले बोकेको छ। पार्टीले सबैभन्दा बढी मत बागमती प्रदेशबाट १ लाख १६ हजार ५५२ प्राप्त गरेको छ ।
त्यस्तै, दोस्रो धेरै मत मधेश प्रदेशबाट २४ हजार ५२४ आएको छ । कोशी प्रदेशबाट २२ हजार ७८६ मत प्राप्त हुँदा गण्डकी प्रदेशबाट ३ हजार २२६ मत मात्र आएको छ ।
उनेपाले लुम्बिनी प्रदेशबाट २ हजार ६३७ मत र सुदूरपश्चिम प्रदेशबाट २ हजार ३१३ मत प्राप्त गरेको छ ।
कर्णाली प्रदेशमा उनेपाको अवस्था सबैभन्दा कमजोर देखिएको, जहाँबाट जम्मा २३२ मत मात्र खसेको छ ।
प्रत्यक्षमा पनि बागमतीमै बलियो
प्रत्यक्षतर्फ १०५ क्षेत्रमा उम्मेदवारी दिएको पनि उनेपाका कुनै पनि उम्मेदवार विजयी हुन सकेनन् । यो पार्टी प्रत्यक्ष तर्फ पनि बागमतीमै सबैभन्दा बलियो देखियो ।
काठमाडौं–३ बाट उम्मेदवारी दिएका कुलमानले ११ हजार १७१ मत प्राप्त गरे । यो नै प्रत्यक्ष उनेपाले पाएको सर्वाधिक मत हो ।
कुलमानको गृह जिल्ला रामेछापबाट उठेका दिपबहादुर योञ्जनले ७ हजार २०१ मत पाए । मकवानपुर–१ बाट उठेका सुरेन्द्र लामाले १० हजार २०५ मत प्राप्त गरे ।
काभ्रे–१ मा योगेन्द्र लामाले ७ हजार ४०३, मकवानपुर–२ मा प्रविनकुमार स्याङतानले ६ हजार २३७, ललितपुर–२ का राजाराम तण्डुकारले ५ हजार ५४७ र काभ्रे–२ मा ज्योत्सना सैंजुले ३ हजार ७४९ मत ल्याए ।
बागमती बाहिर बर्दिया–२ मा धर्मबहादुर चौधरीले ४ हजार ४७२ मत प्राप्त गरे ।
मधेशको सर्लाही र बारामा देखिएको उभार बाहेक देशको पश्चिम भेग गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नागरिकले यो पार्टीलाई पत्याइसकेका देखिंदैनन्।
प्रतिक्रिया 4