News Summary
Generated by OK AI. Editorially reviewed.- जाडोको कपडा स्टोर गर्नुअघि राम्रोसँग धोएर पूर्णसुकाउनु आवश्यक छ किनकी फोहोरले कीरा आकर्षित गर्छन्।
अहिले जाडो लगभग हटेको छ । बिहान र बेलुका हल्का चिसो महसुस भए पनि दिउँसो गर्मी हुनथालिसकेको छ । त्यसैले, धेरैले आफ्ना बाक्लो ज्याकेट, स्वीटर, हुडी, कोट र अन्य जाडोको कपडाहरूलाई अर्को वर्षसम्मका लागि सुरक्षित ठाउँमा राख्ने तयारी गरिरहेका हुन्छन् ।
यस्तोमा कतिपयलाई दुविधा हुनसक्छ, बाक्लो लुगा कसरी सुरक्षित रूपमा थन्काउने ?
कसरी थन्क्याउने ?
सबै कपडा स्टोर गर्नुअघि सबै प्रकारका जाडोको कपडा स्टोर गर्नुअघि राम्रोसँग धोएर पूर्णसुकाउनु सबैभन्दा महत्वपूर्ण छ । किनकी, पसिना, तेल, धुलो र फोहोरले वरपरका कीरा आकर्षित गर्छन् ।
उलन, कश्मिरी वा डाउन ज्याकेटमा पनि यो लागू हुन्छ । उलन र कश्मिरी कपडालाई चिसो पानीमा धुनुपर्छ ।
डाउन ज्याकेटलाई मेसिनमा ‘डेलिकेट’ मोडमा धुन सकिन्छ तर तातोपानी भने प्रयोग गर्नुहुँदैन ।
लेदरको कपडालाई ड्राइ क्लिनिङ वा मध्यम खालको सरफमा भिजाएर सफा गर्नु राम्रो हुन्छ । धोइसकेपछि छायाँमा, हावा चल्ने ठाउँमा सुकाउनुपर्छ ।
डाउन ज्याकेट सुकाउँदा बीच–बीचमा फैलाउने गर्नुपर्छ ताकि खुम्चिएर एक ठाँउमा डल्लो नपरोस् । सबै कपडा पूर्ण सुकेपछि मात्र प्याक गर्नुपर्छ । नत्र ओसिलो भएर ढुसी आउने वा गन्हाउने हुनसक्छ ।
त्यस्तै, ओभरकोटलाई पनि थन्कानुअघि पूरै सफा गर्नु अनिवार्य छ । यदि सम्भव छ भने ड्राई क्लिन गर्न लगाउनुहोस् । घरमै धुनुपरे हल्का चिसो पानी र ऊनका लागि बनेको माइल्ड सरफ प्रयोग गर्न सकिन्छ ।
धोएपछि छायाँमा राम्रोसँग सुकाउनु उचित हुन्छ । प्रत्यक्ष घाममा सुकाउँदा रङ फिक्का पार्छ र कपडा कमजोर बनाउँछ । सुकेपछि १–२ दिन हावा खुवाएर ब्रसले हल्का सफा गर्नु उचित हुन्छ । यसले धुलो र स–साना कीराको अण्डा भए हटाउँछ ।
कसरी सुरक्षित रूपमा राख्ने ?
जाडोका उलनका लुगा बाक्ला तर नरम हुन्छन् । त्यसैले, ह्याङ्गरमा झुण्ड्याउँदा काँध खुम्चिन्छ वा आकार बिग्रिन्छ । हल्का मोडेर मात्र राख्नुपर्छ । सुतीको झोला, ब्रिदेबल फ्याब्रिक बक्स वा कटन स्टोरेज बिनमा राख्नु राम्रो हुन्छ । प्लास्टिकमा कसिलो गरी हावा पास नहुने गरी भने राख्न हुँदैन ।
त्यस्तै, कीराबाट बचाउन कपूर, नीम पात राख्नु उपयुक्त हुन्छ ।
डाउन ज्याकेट र पफर ज्याकेट
डाउन ज्याकेट र पफर ज्याकेटमा डाउन वा सिन्थेटिक इन्सुलेसन हुन्छ । यिनलाई लामो समयसम्म राम्रोसँग राख्न सकिएन भने फुल्ने र न्यानो राख्ने क्षमता घट्छ । अर्को कुरा यसमा ढुसी लाग्ने सम्भावना पनि बढी हुन्छ । सही तरिका अपनाउँदा अर्को मौसमा पनि यिनीहरू नयाँ जस्तै रहन्छन् ।
स्टोर गर्ने ठाउँ चिसो, सुख्खा र हावा पास हुने हुनुपर्छ । दराजभित्र, बेडमुनि वा कोठाको सुख्खा कुनामा राख्न सकिन्छ ।
सबैभन्दा राम्रो तरिका भनेको ह्याङ्गरमा झुण्ड्याउने हो । काँधमा धेरै दबाब नपर्ने गरी चौडा र प्याडेड ह्याङ्गर प्रयोग गर्नुपर्छ । हावा पास हुने गार्मेन्ट ब्याग वा कपासको झोलामा राखेर झुण्ड्याउनु उत्तम हुन्छ । यसले धुलोबाट बचाउँछ, अनि लुगा खुम्चिने पनि हुँदैन । यदि स्पेस कम छ भने हल्का मोडेर राख्न सकिन्छ । तर कुनै हालतमा दबाएर भने राख्न हुँदैन ।
किनकि, टाइट प्लास्टिक ब्यागमा लामो समय राख्दा डाउन फाइबर भाँचिन्छ र न्यानो कम हुन्छ ।
ओभरकोट
ओभरकोटलाई ह्याङ्गरमा झुन्ड्याउनु सबैभन्दा राम्रो हुन्छ । किनकि फोल्ड गर्दा काँधमा चाप पर्छ र आकार बिग्रिन सक्छ । राम्रो गुणस्तरको बलियो काठको वाइड शोल्डर ह्याङ्गर प्रयोग गर्नुपर्छ । यसले काँधको आकार कायम राख्छ र तारको ह्याङ्गरले काँधमा चिन्ह पार्छ ।
ह्याङ्गरमा झुन्ड्याएपछि हावा पास हुने कपडाको गार्मेन्ट ब्याग (कटन वा मसलिनको झोलामा राख्न सकिन्छ । प्लास्टिकको ब्याग वा ड्राई क्लिनिङको प्लास्टिक झोला प्रयोग नगर्नु उचित हुन्छ । त्यसमा ढुसी अड्किएको हुनसक्छ ।
यदि ह्याङ्गरमा ठाउँ छैन भने हल्का फोल्ड गरेर राख्न सकिन्छ । काँधबाट तलतिर फोल्ड गरेर पटयाएर प्लास्टिक बिन वा काठको बक्स मा राख्न सकिन्छ ।
सिन्थेटिक कपडा
यी कम संवेदनशील हुन्छन् । स्टर्डी ह्याङ्गरमा झुण्ड्याएर हावा पास हुने गार्मेन्ट ब्यागमा राख्न सकिन्छ । फोल्ड गरेर पनि ठिकै हुन्छ । प्लास्टिक बिन वा भ्याकुम ब्यागमा राख्दा पनि ठिक हुन्छ तर ढुसी भने पर्न दिनु हुँदैन ।
ग्लोभ्स, स्कार्फ, टोपी र साना समाग्री
यी साना हुन्छन् । दोबारेर अलग–अलग कपडाको ड्रयरमा राख्न सकिन्छ । ऊनी स्कार्फलाई मोडेर कटन ब्यागमा राख्नु उचित हुन्छ । पन्जालाई जोडीमा राखेर हल्का फोल्ड गरेर दराजको ड्रयरमा सानो खण्डमा राख्न सकिन्छ । यदि ड्रयर छैन भने सानो कपडाको ब्याग वा प्लास्टिक बक्स प्रयोग गर्न सकिन्छ ।
टोपीलाई आकार नबिगार्न हल्का बेरेर राख्न सकिन्छ । ऊनको स्कार्फलाई नकुच्याई लामो गरी मोडेर राख्नुपर्छ ।
स्टोरेज ठाउँ र सामग्रीको छनोट
यी सामाग्री राख्दा प्लास्टिकको झोला प्रयोग नगर्नु उचित हुन्छ । किनकि, त्यसले ढुसी अड्काएर फङ्गस लाग्ने डर हुन्छ । यदि धेरै स्कार्फ छन् भने प्रत्येकलाई अलग–अलग ब्यागमा राखेर रङ वा प्रकार अनुसार चाङ लगाएर राख्न सकिन्छ ।
स्टोर गर्ने ठाउँ छनोट गर्दा चिसो, सुख्खा, हावा पास हुने र ढुसी कम भएको ठाउँ रोज्नुहोस् । दराजमा पनि चिसो नहुने गरी मध्य वा माथिल्लो भाग, बेडमुनिको काठ वा प्लास्टिकको बक्स, वा कोठाको सुख्खा कुनामा राख्नु उत्तम हुन्छ ।
बाथरुम नजिक, भुइँतला, झ्याल÷ढोकाबाट चिसो हावा आउने ठाउँ वा घाम पर्ने स्थानबाट टाढा राख्नु उचित हुन्छ ।
कीराबाट बचाउन के गर्ने ?
प्राकृतिक उपाय भनेको प्रत्येक ब्याग वा बक्समा तेजपत्ता, सुकेको नीमको पातको स–साना टुक्रा राख्न सकिन्छ । यी चीजहरूले कीरालाई टाढा राख्छन् र सामानलाई ताजा राख्छन् ।
सम्भव भएमा हरेक २–३ महिनामा एकपटक निकालेर हावा खुवाएर लुगाको अवस्था जाच्न सकिन्छ । यी स–साना कुरामा ध्यान दिँदा तपाईंका जाडोका सामानहरू वर्षौंसम्म राम्रो अवस्थामा रहन्छन् । ठाउँ पनि कम लाग्छ र कोठा व्यवस्थित देखिन्छ ।
यदि समस्या देखिए भने के गर्ने ?
ढुसी आएमा वा दुर्गन्ध फैलिएमा तुरुन्त निकालेर खुला हावामा सुकाउने, आवश्यक परे फेरि धुन सकिन्छ । लेदरमा क्र्याक भएमा ड्राइ क्लिनिङबाट पनि मद्दत लिन सकिन्छ ।
प्रतिक्रिया 4