२८ फागुन, काठमाडौं । बद्रीनाथ-केदारनाथ मन्दिर समितिले उत्तराखण्डमा आफ्नो प्रशासन अन्तर्गत पर्ने ४७ वटा मन्दिरहरूमा सनातन धर्म पालना नगर्ने व्यक्तिहरूको प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यी मन्दिरहरूमा प्रसिद्ध बद्रीनाथ र केदारनाथ मन्दिर समेत समावेश छन् ।
समुद्र सतहदेखि करिब ३ हजार मिटरभन्दा बढीको उचाइमा अवस्थित यी दुवै मन्दिरहरू चारधाम तीर्थयात्राका अभिन्न हिस्सा हुन् । उत्तराखण्डमा सबैभन्दा बढी श्रद्धालुहरू पुग्ने तीर्थस्थलहरूमध्ये यी दुई मन्दिरहरू अग्रपङ्क्तिमा पर्ने बताइन्छ। यो राज्यको अर्थतन्त्रको ठूलो हिस्सा धार्मिक पर्यटनमा नै निर्भर रहँदै आएको छ।
टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार, समितिका अध्यक्ष हेमन्त द्विवेदीले देहरादुनस्थित समितिको कार्यालयमा आयोजित बजेट बैठकका क्रममा यस प्रस्तावलाई स्वीकृत गरेका हुन् । यो प्रतिबन्ध मन्दिरको गर्भगृह र त्यस वरपरको मुख्य परिसरमा लागू हुने उल्लेख छ ।
अध्यक्ष द्विवेदीले चारधामका मन्दिरहरूमा आउने श्रद्धालुहरूको सनातन धर्ममा आस्था होस् भन्ने सुनिश्चित गर्नु नै यस कदमको उद्देश्य रहेको बताए । यद्यपि, कुनै व्यक्ति सनातन धर्मको अनुयायी हो वा होइन भन्ने कुरा मन्दिर प्रशासनले कसरी यकिन गर्नेछ भन्ने विषयमा भने अझै स्पष्ट भइसकेको छैन ।
द हिन्दूसँग कुरा गर्दै अध्यक्ष द्विवेदीले बद्रीनाथ र केदारनाथ मन्दिरहरूमा गैर-सनातनीहरूको प्रवेशमा रोक लगाउने निर्णय समितिले गरेको जानकारी दिए । ‘सनातनी’ शब्दको व्याख्या गर्दै द्विवेदीले भने, ‘जसले सनातन धर्ममा विश्वास राख्दछ, ऊ नै सनातनी हो ।’
उनले अगाडि भने, ‘जुन व्यक्तिले निधारमा तिलक लगाउँछ, मन्त्रहरूको जप गर्छ, चालीसा पाठ गर्छ र श्री बद्री–केदारमा आस्था राख्छ, उही सनातनी हो ।’
टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार, अध्यक्ष द्विवेदीले गत जनवरीमै समितिले चारधाम मन्दिरहरूमा गैर–हिन्दूहरूको प्रवेशलाई सीमित गर्ने सम्भावनाबारे खोजी गर्न सक्ने सङ्केत दिएका थिए ।
सोही बैठकमा समितिले आगामी चारधाम यात्रासँग सम्बन्धित तयारीका लागि करिब १२१ करोड भारुको बजेट स्वीकृत गरेको छ। रिपोर्टका अनुसार, उक्त रकममध्ये बद्रीनाथ धामका लागि ५७.५ करोड भारु र केदारनाथ धामका लागि ६३.६ करोड भारु विनियोजन गरिएको छ ।
समितिले तीर्थ पुरोहित कल्याण कोष स्थापना गर्ने निर्णय समेत गरेको छ, जसको उद्देश्य तीर्थ यात्रासँग जोडिएका पुजारीहरूको सामाजिक र आर्थिक सुरक्षालाई सुदृढ बनाउनु हो। यस कोषमार्फत तीर्थ पुरोहितहरूलाई आर्थिक सहायता र अन्य आवश्यक सहयोग प्रदान गरिनेछ ।
सन् २०२६ को तीर्थयात्राका लागि केदारनाथ मन्दिरको ढोका (कपाट) अप्रिल २२ र बद्रीनाथ मन्दिरको ढोका अप्रिल २३ मा खुल्ने भएका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार, गङ्गोत्री र यमुनोत्री मन्दिरका ढोकाहरू भने अप्रिल १९ मा अक्षय तृतीयाको अवसर पारेर खोलिनेछन्।
प्रतिक्रिया 4