+
+
Shares

नेमकिपाको किल्ला भत्काउने रुकेश

२०४८ सालदेखि ‘नेमकिपा किल्ला’को रूपमा चिनिँदै आएको भक्तपुर–१ रास्वपाका रुकेश रञ्जितले भत्काइदिए । र, ‘हक्की प्रतिपक्षी’को स्थिर लोकप्रियतामा ब्रेक लगाइदिए ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ फागुन २६ गते २१:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका रुकेश रञ्जितले भक्तपुर–१ क्षेत्रको नेमकिपा किल्ला भत्काउँदै प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका छन्।
  • रुकेशले भक्तपुरमा विश्वविद्यालय स्थापना, ७०० शय्याको वीर अस्पताल निर्माण र क्राफ्ट भिलेज विकास गर्ने योजना सुनाएका छन्।
  • उनी भक्तपुरमा पर्यटकलाई होमस्टे सञ्चालन गरी स्थानीयलाई आम्दानी दिने र प्रदूषण फैलाउने उद्योग हटाउने लक्ष्य राखेका छन्।

२६ फागुन, काठमाडौं । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा सबैलाई आश्चर्यचकित पार्ने नजिता दिएको क्षेत्र हो, भक्तपुर–१ । २०४८ सालदेखि ‘नेमकिपा किल्ला’को रूपमा चिनिँदै आएको यो क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रञ्जितले भत्काइदिए । र, ‘हक्की प्रतिपक्षी’को स्थिर लोकप्रियतामा ब्रेक लगाइदिए ।

यो त्यही क्षेत्र जो तीन दशकभन्दा लामो समयदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को गढ रहँदै आएको आयो । २०४८ सालदेखि २०७० सम्म नारायणमान बिजुक्छे (रोहित) ले लगातार पाँच पटक र २०७४ को संविधानसभा चुनावबाट प्रतिस्पर्धी बनेका प्रेम सुवालले ठूलो मतान्तरले चुनाव जितिरहे । त्यसैले पनि यो नेमकिपा किल्लाको रूपमा परिचित थियो ।

तर, यस पटकबाट अब यो चुनावी क्षेत्र न किल्ला रह्यो, न कुनै अमुक नेताको लोकप्रियता हावी भयो । यसरी आफ्नो भूगोलको स्थापित मानक नै भत्काएका रुकेशलाई भने माननीय सम्बोधन नै असहज लाग्न थलिसकेको छ । जनता माझ रहेर हुर्केको राजनीतिक छविमा ‘माननीय’ थपिनु अब स्वाभाविक रहे पनि आफूलाई सामान्य नेताको रूपमा हेर्न उनको अनुरोध छ ।

‘म जनताको माझमा हुर्केको र समाजसेवी भएर हिँडिरहेको मान्छे हुँ । यो पदले कतै ‘ठूलो मान्छे’ भनिदिएर जनताबाट टाढाको त बनाउँदैन भन्ने डर लाग्दो रहेछ,’ रुकेशले भने, ‘म आफूलाई पदभन्दा पनि जनताको सेवककै रूपमा चिनाउन चाहन्छु ।’

रुकेशका अनुसार, भक्तपुर–१ मा नेमकिपाको पकड यति बलियो थियो कि त्यहाँ अरू दलले जित्ने कल्पनासम्म गर्दैनथे । रास्वपाबाट टिकट लिन पनि त्यस्तो प्रतिस्पर्धा थिएन, उनले सहजै पाए । टिकट लिए पनि चुनाव जित्न ‘महाभारत’ हुने अधिकांशको आकलन थियो । तर रुकेश भक्तपुर भित्रका गहिरो असन्तुष्टि र उत्पीडनबारे जानकार थिए ।

भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका समेटिएको यो क्षेत्रमा चाँगुनारायणका बासिन्दाले आफूलाई केवल ‘भोट बैंक’ मात्र बनाइएको महसुस गरेका थिए । विगतका सांसदहरूले चाँगुनारायणका एजेन्डा कहिल्यै संसद्मा उठाएनन् । तिनै असन्तुष्टिलाई आफूले मतमा बदलेको रुकेशको बुझाइ छ ।

यद्यपि, प्रेम सुवालले सम्पदा संरक्षणमा गरेको कामको उनी सम्मान गर्छन् । तर यत्रो वर्षसम्म सम्पदा मात्र जोगाएर पुगेन भन्ने उनको तर्क छ । नगरपालिकाले पर्यटकीय शुल्क त उठायो, तर त्यसको फल स्थानीयको गोजीसम्म पुगेन । भक्तपुरलाई एउटा मृत शहरजस्तो बनाउन खोजियो, जहाँ आर्थिक गतिविधि ठप्प थिए । यही व्यावसायिक संकुचन र परिवर्तनको हुटहुटीले यो क्षेत्रले रुकेशलाई विजयी बनायो ।

रुकेशका लागि यो राजनीति नयाँ होइन । विगत दुई वर्षभन्दा अघिबाट रास्वपामा सक्रिय उनले विद्यार्थीकालमा अनेरास्ववियुको राजनीति गरे । एमालेबाट विद्यार्थी राजनीति गरेका उनले पछि दल त्यागेर व्यवसायमा हात हाले । तर पछि व्यवसाय (इलेक्ट्रोनिक्स) तर्फ ध्यान दिए । व्यवसायसँगै समाजसेवामा ध्यान लगाए ।

यसरी विगत २० वर्षदेखि आफू समाजसेवामा रहेको रुकेशको दाबी छ । लायन्स क्लबमार्फत सामाजिक काम गरे पनि उनको मुख्य पहिचान ‘रक्तदान अभियन्ता’ हो । भक्तपुरमा कसैलाई रगत चाहियो भने रुकेशलाई गुहार्ने धेरै छन् । उनी भन्छन्, ‘यही रगतको माध्यमबाट जोडिएको साइनोले मलाई चुनावमा धेरै सहयोग गर्यो ।’

यो चुनावमा विजयी भए पनि अबका हरेक चुनावमा यसलाई निरन्तरता दिनु रुकेशको चुनौती हो । सँगसँगै यसपछि आउने स्थानीय तह र प्रदेशसभाको चुनावमा पार्टीलाई अहिले जस्तै मत ल्याउनुपर्ने छ । यस पटक युवावर्गमा बालेनको छवि र स्थानीय पाकाहरूमा आफ्नो छविले काम गरे पनि अबका चुनावमा कामले नै पुष्टि गर्नुपर्ने उनले बुझेका छन् ।

त्यसैले आफूले भक्तपुरमा विश्वविद्यालय बनाउने संकल्प गरेका छन् । ५ वर्ष भित्र भक्तपुरमा एउटा विश्वविद्यालय स्थापना गर्ने लक्ष्य उनको प्राथमिकतामा छ । त्यस्तै, ७७ वटै जिल्लाका बिरामीले उपचार पाउने गरी ७०० शय्याको अत्याधुनिक वीर अस्पताल निर्माण गर्ने र त्यसबाट स्थानीयलाई रोजगारी दिने उनको संकल्प छ ।

हाल औद्योगिक क्षेत्रको रूपमा चिनिएको ठाउँलाई ‘क्राफ्ट भिलेज’मा रूपान्तरण गर्ने योजना पनि उनको छ । सँगसँगै प्रदूषण फैलाउने उद्योगलाई हटाएर भक्तपुरका मौलिक उत्पादनहरू (माटोका भाँडा, मुकुण्डो र चर्खाका सामान) उत्पादन गर्ने कुटिर उद्योगलाई पुनर्जीवित गर्ने सपना छ ।

सल्लाघारीको ९९ रोपनी जग्गामा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र वा सम्मेलन केन्द्र बनाउने सपना देखेका रुकेश यसले भक्तपुरको आर्थिक गतिविधिलाई चलायमान बनाउने दाबी गर्छन् ।

यस बाहेक पर्यटकलाई २ घण्टा मात्र घुमाउने होइन, कम्तीमा एक रात भक्तपुरमै बसाउने वातावरण बनाउने र त्यसको लागि घरघरमा ‘होमस्टे’ सञ्चालन गरेर स्थानीयले सिधै आम्दानी गर्नसक्ने व्यवस्था मिलाउने सपना पनि उनले सुनाए ।

तर, यी महत्वाकांक्षी योजना कतै यसअघि नेकपाको जम्बो सरकारले देखाए जस्तै ‘रेल सपना’ बन्ने त होइन ? रुकेश भन्छन्, ‘पर्यटन र होमस्टेका लागि ठूलो लगानी चाहिँदैन, भएकै संरचना प्रयोग गर्ने हो । यसलाई त्यति धेरै नयाँ केही चाहिँदैन, व्यवस्थापन मुख्य कुरा हो । ठूला योजनाका लागि केन्द्र सरकारको बजेट आवश्यक पर्छ, जसका लागि उनले प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहसँग पहिल्यै परामर्श पनि भएको छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?