२६ फागुन, हेटौंडा । बागमती प्रदेशको ३३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लैले ३१ सिट जितेको छ ।
पहिलो पटक एउटै दलले ३३ क्षेत्रमा ३१ सिट जितेर रास्वपाले नयाँ इतिहास बनाएको छ । बाँकी दुई क्षेत्रमा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १–१ सिट जिते । २०७९ को निर्वाचनमा कूल सिट संख्याको आधारमा देशकै दोस्रो ठूलो र समानुपातिकमा पहिलो ठूलो दल नेकपा एमाले भने बागमतीमा शून्य बन्न पुग्यो ।
बागमतीमा काठमाडौं उपत्यकाको तीनसहित १३ वटा जिल्ला छन् । काठमाडौं जिल्लामा निर्वाचन क्षेत्र १० वटा, ललितपुरमा ३, भक्तपुरमा २, चितवनमा ३, धादिङमा २, नुवाकोटमा २, काभ्रेमा २, मकवानपुरमा २, सिन्धुलीमा २, सिन्धुपाल्चोकमा २, दोलखामा १, रामेछापमा १ र रसुवामा १ निर्वाचन क्षेत्र रहेको छ ।
रसुवामा नेपाली कांग्रेसबाट मोहन आचार्यले निर्वाचन जिते । आचार्यले १० हजार ६ ५६ मत ल्याउँदा रास्वपाका बसन्त भट्ट ५ हजार ५७१ मतसहित दोस्रो भए । आचार्यले अघिल्लो निर्वाचन पनि जितेका थिए । यस्तै, सिन्धुपाल्चोक–२ बाट नेकपाका युवराज दुलाल २१ हजार ६९९ मतसहित निर्वाचित भए । यहाँ भने रास्वपाका झलककुमार श्रेष्ठ १४ हजार १९ मतसहित चौथो स्थानमा खुम्चिए ।
रास्वपाले यी दुई क्षेत्रबाहेक बाँकी सबैमा जित्यो । रास्वपाबाट निर्वाचित हुने अधिकांश ५० वर्ष उमेर मुनिका छन् । सबैभन्दा कान्छा सांसद मकवानपुरका २५ वर्ष ९ महिनाका प्रशान्त उप्रेती छन् ।
बागमतीबाट ३३ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा ४ जना मात्रै महिला चितवनबाट सोविता गौतम, काठमाडौंबाट रञ्जु दर्शना (न्यौपाने), ललितपुरबाट तोसिमा कार्की धादिङबाट आशिका तामाङ छन् ।
२०७९ र ०७४ को निर्वाचनमा कूल दलको शक्ति कति ?
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बागमतीको ३३ क्षेत्रमा नेपाली कांग्रेसले सबैभन्दा धेरै १३ सिट जितेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७, तत्कालीन नेकपा माओवादी केन्द्रले ५, नेकपा एमालेले ४, राप्रपाले २, नेकपा (एकीकृत समाजवादी) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले समान १–१ सिट जितेका थिए ।
काठमाडौंको १० निर्वाचन क्षेत्रमा कांग्रेसले ५, रास्वपाले ४ र एमालेले १ सिट मात्रै जितेको थियो । ललितपुरको ३ क्षेत्रमा कांग्रेस, एमाले र रास्वपाले १–१ सिट जिते । चितवनको ३ क्षेत्रमा २ सिट रास्वपा र १ सिट राप्रपाले जितेको थियो । सिन्धुलीमा कांग्रेस र माओवादी, रामेछापमा कांग्रेस, दोलखामा माओवादी, सिन्धुपाल्चोकमा कांग्रेस र माओवादी, काभ्रेमा एमाले र माओवादी, भक्तपुरमा कांग्रेस र नेमकिपा, नुवाकोटमा कांग्रेस र माओवादी, रसुवामा कांग्रेस, धादिङमा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) र मकवानपुरमा एमाले र राप्रपाले जितेका थिए ।
यसैगरी, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले मात्रै २० स्थानमा जित निकालेको थियो । तत्कालीन नेकपा माओवादी केन्द्रले ७ वटा सिट जितेको थियो । यो निर्वाचनमा एमाले र माओवादीको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेर चुनावमा सहभागी भएका थिए ।
२०७८ मा नेकपा विभाजन हुन पुग्यो र सर्वोच्च अदालतको आदेशसँगै एमाले र माओवादी पुरानै हैसियतमा फर्किए । तत्कालीन नेकपासँग भिडेको नेपाली कांग्रेसले जम्मा ५ वटा क्षेत्रमा मात्र जित निकाल्न सकेको थियो । भक्तपुर–१ म भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले जित निकालेको थियो ।
२०८२ मा कसले कहाँबाट जिते ?
यो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन माओवादी र नेपाल मजदुर किसान पार्टीले वर्षौदेखि जित्दै आएका क्षेत्र रास्वपाले खोसेको छ । काठमाडौं उपत्यका (ललितपुर र भक्तपुरसहित)को १५ वटै सिट रास्वपाले कब्जामा लियो ।
दोलखा–१ बाट रास्वपाका जगदीश खरेल (३६)ले चुनाव जिते । उनी अघिल्लो निर्वाचनमा पराजित भएका थिए । रामेछाप–१ मा रास्वपाका कृष्णहरि बुढाथोकी (४४) निर्वाचित भए ।
सिन्धुली–१ मा रास्वपाकै धनेन्द्र कार्की (३८), सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल (४४) विजयी भए । रसुवा–१ मा कांग्रेसका मोहन आचार्य (४८), धादिङ–१ मा रास्वापाकी आसिका तामाङ (३७), धादिङ–२ मा रास्वपाकै वोध नारायण श्रेष्ठ (५६), नुवाकोट–१ मा रास्वपाका विक्रम तिमिल्सिना (४३), नुवाकोट–२ मा रास्वपाका अचुत्तम लामिछाने (४८) निर्वाचित भएका छन् ।
१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा सबै रास्वपाका उम्मेदवार विजयी भए । काठमाडौं–१ मा रञ्जु दर्शना (न्यौपाने), २ मा सुनील केसी, ३ मा राजुनाथ पाण्डे, ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ, ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदीप विष्ट निर्वाचित भएका छन् । जसमध्ये अर्याल, खनाल, पराजुली र श्रेष्ठ दोस्रो पटक संसद यात्रा गर्दैछन् । बाँकी सबैले पहिलो पटक संसद यात्रा तय गरे ।
ललितपुरको १ नम्बर क्षेत्रमा बुद्धरत्न महर्जन, २ बाट जगदीश खरेल र ३ बाट तोसिमा कार्की विजयी भए । अघिल्लो निर्वाचनमा ३ नम्बर क्षेत्रमा रास्वा र १ र २ मा क्रमश: कांग्रेस र एमालेका उम्मेदवार विजयी भएका थिए । भक्तपुर–१ मा पनि रुकेश रञ्जित र २ नम्बर क्षेत्रमा रास्वपाका राजीव खत्री विजयी भए ।
काभ्रे–१ मा रास्वपाका मधुकुमार चौलागाईं (५६), काभ्रे–२ मा रास्वपाकै बदनकुमार भण्डारी (३३), सिन्धुपाल्चोक–१ मा रास्वपाका भरतप्रसाद पराजुली (५७), सिन्धुपाल्चोक–२ मा युवराज दुलाल (४३) विजयी बने । मकवानपुर–१ बाट रास्वपाका ३७ वर्षीय प्रकाश गौतम र मकवानपुर–२ मा रास्वपाका २५ वर्ष ९ महिनाका प्रशान्त उप्रेती निर्वाचित भए ।
चितवनको तीन वटै क्षेत्र रास्वपाले जितेको छ । चितवन–१ मा हरि ढकाल (४२), चितवन–२ मा रवि लामिछाने (५०), चितवन–३ मा सोविता गौतम (३०) निर्वाचित भएका हुन् ।
प्रतिक्रिया 4