+
+
Shares

आधा दर्जन बाँदरलाई तड्पाउँदै क्रुरतापूर्वक ह’त्या

किसानले आफ्नो खेतबारीमा बाली नष्ट गर्ने बाँदरलाई धपाउन, लखेट्न वा पक्रन पाउँछन्, तर मार्न मिल्दैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ताप्लेजुङमा बाँदरलाई क्रूर तरिकाले मारिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पशु अधिकारकर्मीले कानुनी कारबाही सुरु गरेको बताएका छन्।

‘कारबाही होस्, मान्छे कतिसम्म निर्दयी हुन्छ’ भन्दै महेश आचार्यको फेसबुक एकाउन्टबाट एउटा भिडियो पोस्ट हुन्छ । भिडियो सहजै हेर्न सकिँदैन । त्यहाँ चित्राले बारेको सानो कटेरामा केही बाँदर छन्, जसलाई कुकुरले झम्टिएर लुछाचुडी गरिरहेका देखिन्छन् ।

केही बाँदर मरिसकेका छन् । एक कुनामा माउ बाँदर छन्, डराएर भित्तातर्फ फर्किएका छन् । उनले छातीमा आफ्नो सानो बच्चा च्यापेका छन् । निरीह त्यो बाँदर एकदमै डराएको देखिन्छ ।

बाँदरलाई यसरी तड्पाईतड्पाई मारेको भिडियो धेरैले पुरा हेर्न नसकेको बताएका छन् । ‘कति मायालाग्दो, कति गाह्रो भयो होला त्यसलाई’ एक प्रयोगकर्ताले लेखेका छन्, ‘हेरेर मेरो त मुटु नै फुट्ला जस्तो भयो।’

धेरैले बाँदरलाई त्यतिबिध्न तड्पाएर मारेकोप्रति दु:ख व्यक्त गरेका छन् ।

उक्त भिडियो संगम ह्याम्बा नामक फेसबुक पेजबाट बाहिर आएको महेश आचार्यले बताए । ‘त्यही मार्ने मान्छेले भिडियो खिचेर फेसबुकमा राखेका रहेछन्’ उनी भन्छन्, ‘हामीले सोधीखोजी गरेपछि उनले फेसबुकबाट हटाएका छन् ।’ सोही व्यक्तिले नै बाँदरलाई मारेर भिडियो राखेको उनको भनाइ छ ।

पशु अधिकारकर्मी इरफान खानले बाँदरको सामूहिक हत्या अत्यन्तै अमानवीय र आपराधिक भएकाले कानुनी कारबाहीका लागि प्रक्रिया सुरु गरेको बताए । ‘त्यो सद्दे मान्छेले गर्नै नसक्ने अपराध हो’ उनी भन्छन्, ‘यस्तो डरलाग्दो अपराध गर्ने, भिडियो बनाउने, सामाजिक सञ्जालमा हाल्ने भनेको सरासर सभ्य समाजमाथि चुनौती दिनु हो ।’ कमजोर कानुनको फाइदा उठाएर अवोध पशुप्राणीमाथि जघन्य अत्यचार भइरहेको उनको बुझाइ छ ।

घटना ताप्लेजुङमा भएको अनुमान भए पनि अहिलेसम्म पुष्टि हुन सकेको छैन ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले बाँदर मारेको विषयमा कुनै जानकारी नभएको बताए । ‘अब थाहा भयो, तत्काल यसबारे अनुसन्धान गर्नेछौं’ उनले भने, ‘बाँदर वन्यजन्तुभित्र पर्ने भएकाले वन डिभिजनसँग समन्वय गरेर अगाडि बढ्नेछौं ।’

वन डिभिजन कार्यलय ताप्लेजुङका निमित्त कार्यलय प्रमुख ललितकुमार यादवसँग यसबारे सोधखोज गरेर थप कारबाहीको प्रक्रिया सुरु गर्ने बताए । नेपालमा जंगली रातो बाँदरले खेतीबालीमा क्षति पुर्‍याउने समस्या बढ्दै गएपछि सरकारले एक वर्षका लागि ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेको छ ।

यसले खेतबारीमा आएका बाँदरलाई धपाउन, लखेट्न वा पक्रन कानुनी रूपमा सहज बनाए पनि, मार्नका लागि भने सम्बन्धित डिभिजन वन कार्यालय वा निकुञ्जबाट विधि र प्रक्रिया पूरा गरेर लिखित अनुमति लिनुपर्ने उनले बताए ।

यदि भिडियोमा देखिएको जस्तो क्रूर वा अवैध तरिकाले हतियार प्रयोग गरेर वा सामूहिक हत्या गरेर लगभग आधा दर्जन बाँदर मारिएको प्रमाणित भएमा यो वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार अपराध हो, जसमा जरिवाना वा कैद सजाय हुन सक्छ ।

के हुन्छ सजाय ?

वरिष्ठ अधिवक्ता पदम बहादुर श्रेष्ठका अनुसार, नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र यसका संशोधनहरूले संरक्षित वन्यजन्तु जस्तै ‘आसामी रातो बाँदर’ मार्नेलाई ५ देखि १५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ ९दफा २६० । आसामी रातो बाँदर संरक्षित सूचीमा पर्छ, तर सामान्य जंगली रातो बाँदर (अन्य प्रजाति) संरक्षित नभए पनि ‘अन्य वन्यजन्तु’ को रूपमा दफा २६९५० ख अनुसार अपराध गरेमा संरक्षितको सजायको आधा सजाय हुन्छ ।

सरकारले अघिल्लो महिना मात्रै जंगली रातो बाँदरलाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ, जसले गर्दा किसानले आफ्नो खेतबारीमा बाली नष्ट गर्ने बाँदरलाई धपाउन, लखेट्न वा पक्रन पाउँछन्, तर मार्न मिल्दैन । घोषणा भए पनि मारिसकेपछि वन विभागलाई तुरुन्त सूचना दिनुपर्छ, मृत शरीरलाई कुकुरलाई खुवाउन, खान वा व्यक्तिगत प्रयोग गर्न पाइँदैन ।

वन विभागले नै व्यवस्थापन गर्छ । यो घरपालुवा पशु (जस्तै: कुकुर) सम्बन्धी कानुनभन्दा फरक हो, किनकि वन्यजन्तुको परिभाषाले घरपालुवाबाहेकका स्तनधारी जनावरलाई समेट्छ ।

त्यसैले, बाली जोगाउन मार्ने अनुमति भए पनि आफूखुसी मारेर शव प्रयोग गर्नु वा सूचना नदिनु अपराध नै रहन्छ, जसमा सरकारी मुद्दा चल्न सक्छ । यो विषय नयाँ र कानुनी व्याख्या आवश्यक भएकोले वन विभाग तथा सरकारी वकिलहरूमा समेत केही अन्योल छ, तर कानुनले वन्यजन्तुको अनधिकृत मार, नियन्त्रण वा व्यापारलाई प्रतिबन्ध गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?