News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १२५ सिट जितेर अभूतपूर्व सफलता हासिल गरेको छ।
- रास्वपाले बागमती र मधेश प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै विपक्षी दललाई चकित पारेको छ।
- हिमाली जिल्लामा रास्वपाको कमजोर उपस्थिति इन्टरनेट पहुँच र सामाजिक सञ्जालको कम प्रयोगसँग जोडिएको छ भन्ने विशेषज्ञहरूले बताएका छन्।
२६ फागुन, काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व जित हासिल गरेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रास्वपाले १२५ सिट जितेको छ ।
प्रत्यक्षतर्फ रहेका १६५ मध्ये बाँकी रहेका ४० सिटहरू नयाँ र पुराना दलहरूको खातामा गएका छन् । निर्वाचन आयोगका अनुसार १८ सिटमा नेपाली कांग्रेस विजयी हुँदा नेकपा एमालेले नौ र नेपाली कम्युनिस्ट पार्टीले सात सिटमा जित हात पारेको छ ।
२१ फागुनको निर्वाचनभन्दा चार महिना अघिमात्रै निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको नयाँ दल श्रम संस्कृति पार्टीले तीन निर्वाचन क्षेत्रमा जित निकाल्दा एक स्थानमा स्वतन्त्र उम्मेदवार (महावीर पुन) विजयी भएका छन् ।
राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्दै आएका राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा) एक स्थानमा विजयी हुँदा तराई–मधेशकेन्द्रित दलहरू जित निकाल्न असफल भएका छन् । मधेश प्रदेशको धनुषा–१ को नतिजा भने अनिर्णित छ ।
७ असार, २०७९ मा विधिवत स्थापना भएको रास्वपाले चार वर्ष नपुग्दै निर्वाचनमार्फत् अभूतपूर्व इतिहास बनाएको छ । उसले संघीय राजधानी रहेको प्रदेश बागमतीका ३३ निर्वाचन क्षेत्रमध्ये ३१ सिटमा जिते निकालेको छ ।
यस्तै मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये ३० क्षेत्रमा रास्वपाले पार्टीको घण्टी अंकित निलो झण्डा फहराएको छ । यहाँ नेपालको पुरानो दल नेपाली कांग्रेस मात्र एक सिटमा चित्त बुझाउन बाध्य भएको छ ।
निर्वाचन परिणामअनुसार रास्वपाले मधेश प्रदेशमा मात्रै नभएर छिमेकी मुलुक भारतसँग सीमा जोडिएका अधिकांश जिल्ला र ठूला सहर भएका जिल्लामा अकल्पनिय जित निकालेर विपक्षी दलहरूलाई चकित पारेको छ ।
तर, उत्तरी छिमेकी मुलुक चीनसँग सीमा जोडिएका हिमाली जिल्लाहरूमा भने रास्वपाको उपस्थिति देशका अन्य भागको तुलनामा कमजोर देखिएको छ । उत्तरी छिमेकी मुलुक चीनसँग नेपालका पाँच प्रदेशका सीमा जोडिएका १५ वटा जिल्लाहरू छन् ।

ती १५ जिल्लाका १८ निर्वाचन क्षेत्रहरूमध्ये रास्वपा छ निर्वाचन क्षेत्रमा मात्रै विजयी भएको छ । अन्य क्षेत्रको तुलनामा ती जिल्लाहरूमा कमजोर नतिजा आउनुको कारण के हो ?
समाजशास्त्री डा. दीपेश घिमिरे भन्छन्, ‘यसको महत्वपूर्ण कुरा मलाई के लाग्छ भने इन्टरनेटको पहुँच हो । पहाड र तराईंमा जुन किसिमको इन्टरनेटको पहुँच छ, हिमाली जिल्लामा त्यो तहमा थिएन । सुदूरपश्चिम र कर्णालीमा यसले काम गरेको हो ।’
उनी पूर्वी हिमाली जिल्लामा रास्वपाको प्रभाव कम पर्नुमा इन्टरनेटको पहुँचसँगै हर्क साम्पाङ फ्याक्टर पनि कारण रहेको बताउँछन् ।
‘पूर्वी हिमाली जिल्लामा प्रभाव प्रभाव कम पार्ने एउटा फ्याक्टर हर्क साम्पाङ हुन्,’ घिमिरेले भने, ‘हर्कको आफ्नो समुदायमा जुन किसिमका प्रभाव रह्यो र बालेनसँगको जुन तहको टकराव देखिएको थियो, त्यसले पनि फरक पार्यो । तर, त्यहाँ पनि एउटा फ्याक्टर इन्टरनेट पहुँच नै हो ।’
क्वालिटी इन्टरनेट, ब्रोडब्यान्ड सर्भिस, फोरजी पुगेको ठाउँमा राम्रो प्रभाव देखिएका उनको भनाइ छ । समाजशास्त्री घिमिरेले जुम्लाको उदाहरण दिँदै भने, इनटरनेटको सहज पहुँच नपुगेको क्षेत्र, जस्तो जुम्लामा हेर्दा रास्वपाले चार सय–पाँच सय पनि कटाएको छैन । अरूमा ठाउँम पनि यस्तै–यस्तै छ । त्यसको कारण इन्टरनेट सुविधा नै हो भन्ने लाग्छ मलाई ।’
जनसंख्याविद् प्रा.डा. योगेन्द्र गुरूङ पनि उच्च हिमाली जिल्लामा रास्वपाको उपस्थिति कमजोर देखिनुमा सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई नै कारण मान्छन् ।
‘रास्वपाको चुनाव प्रचार–प्रसारदेखि लिएर सबै कुराहरू सिधै मास कम्युनिकेसनसँग सम्बन्धित छन्,’ उनले भने, ‘त्यो भनेको सोसल मिडियाहरू, मास मिडिया जहाँ बढी प्रयोग हुन्छ, त्यहाँ राम्रो प्रभाव पर्यो ।’

हिमाली क्षेत्रमा सामाजिक सञ्जालको प्रयोग कम हुने भएकाले रास्वपाको प्रभाव कम देखिएको जनसंख्याविद् गुरूङको भनाइ छ । ‘हिमाली क्षेत्रमा सोसल मिडियाहरू, मास मिडियाको प्रयोग कम छ । प्रभाव कम पर्यो,’ उनले भने, ‘हिमाली भेगमा जनता कि त हाइली मोबाइल छन् । उनीहरू संसारभरी कता घुमिरहेका छन्, बिजनेसमा छन् । कि त यसरी लोकलाइज छन् कि अरू बाहिरी संसारसँग टच नै हुँदैनन् । त्यो ठाउँमा ठूला सहर पनि छैनन् ।’
उच्च हिमाली जिल्लाहरूको नतिजाबारे रास्वपाका प्रवक्ता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य मनिष झाले अनलाइनखबरसँगको प्रतिक्रियामा पार्टीको सन्देश मतदाता सामु पुर्याउन नसक्नुको परिणाम भएको बताएका छन् ।
‘हामीले हाम्रो म्यासेज पुर्याउन सकेनौं । हामीले घरदैलो, ¥याली, रोड शोहरू पुर्याउन सकेनौं,’ उनले भने, ‘पुर्याउन गाह्रो भयो । हाम्रो आफ्नै क्याम्पेनिङको कमजोरी हो त्यो ।’
प्रवक्ता झाले उच्च हिमाली जिल्लाका मतदातालाई दोष दिन नमिल्ने बताए । मतपरिणामबारे कमजोरी स्वीकार गरेर स्वमूल्याङ्कन गर्नुपर्ने पनि उनको भनाइ छ ।
‘मतदाताललाई दोष दिन मिल्दैन । मतदाताहरू सबैतिर सचेत हुनुहुन्छ,’ उनले भने, ‘हामीले सेल्फ रिअलाइजेसन गर्नुपर्छ । सेल्फ भ्यालेएसन गर्नुपर्छ कि हामी त्यहाँसम्म अझै प्रभावकारीरूपमा पुग्न सकेनौं भनेर ।’
उच्च हिमाली जिल्लाको मतपरिणाम
कोशी प्रदेशका १४ जिल्लामध्ये तीन जिल्ला ताप्लेजुङ, सुंखवासभा र सोलुखुम्बु उत्तरी सीमासँग जोडिएका जिल्ला हुन् । मतपरिणामअनुसार संखुवासभामा पुराना दललाई कडा टक्कर दिए पनि ताप्लेजुङ र सोलुखुम्बुमा रास्वपाको उपस्थिति कमजोर देखिएको छ ।
ताप्लेजुङमा नेकपा एमालेका ३८ वर्षीय क्षितिज थेबे प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङलाई दुई हजार बढी मतले पछि पार्दै विजयी भएका हुन् ।
थेबे १३ हजार ९६२ मत ल्याएर निर्वाचित हुँदा तुम्याङले ११ हजार ७११ मत पाएका छन् । यहाँ रास्वपाका उम्मेदवार विरेन्द्र श्रेष्ठ पाँचौं भएका छन् ।
श्रेष्ठले चार हजार १५५ मत प्राप्त गरेका छन् । तेस्रो भएको नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्री छ हजार ७७५ र चौथो भएका श्रम संस्कृति पार्टीका सन्तोष राईले पाँच हजार २०९ मत ल्याएका छन् ।
संखुवासभामा पनि एमालेका अर्जुनकुमार कार्की विजयी भएका छन् । उनी रास्वपाका उम्मेदवार मिङमा शेर्पालाई ६३६ मतको झिनो अन्तरले हराउँदै प्रतिनिधि सभा सदस्य बनेका हुन् ।
कार्कीले १५ हजार ६३६ र शेर्पाले १५ हजार मत पाएका छन् । यहाँ कांग्रेस उम्मेदवार दिपनकुमार श्रेष्ठले १३ हजार २७१ र श्रम संस्कृति पार्टीकी उम्मेदवार उमाकुमारी राईले नौ हजार ८७५ मत ल्याएका छन् ।
कोशीको अर्को हिमाली जिल्ला सोलुखुम्बुमा कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की विजयी भएका छन् । उनी १३ हजार १६६ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका अशिम राईले नौ हजार ४१४ मत पाएका छन् ।

सोलुखुम्बुकमा तेस्रो स्थानमा आएको एमालेकी कल्पना राईले आठ हजार २२८, रास्वपाका ऋधिधन थुलुङ राईले तीन हजार ६४२ र श्रम संस्कृति पार्टीका वियस राई तीन हजार ३६३ मत ल्याएका छन् ।
बागमती प्रदेशका १३ जिल्लामध्ये चार जिल्लाहरू उत्तरी सीमासँग जोडिएका छन् । अन्य प्रदेशका हिमाली जिल्लाहरूको चुलनामा बागमतीका दोलखा, सिन्धुपाल्चोक, रसुवा र धादिङमा रास्वपाको उपस्थिति बलियो देखिन्छ ।
जसमध्ये दोलखा, सिन्धुपाल्चोक–१ र धादिङका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू निर्वाचित भएका छन् । दोलखामा रास्वपाका जगदीश खरेल ३२ हजार ३७६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पार्वत गुरूङले १७ हजार ४४९ मत पाएका छन् ।
यस्तै सिन्धुपाल्चोक–१ मा रास्वपा उम्मेदवार भरतप्रसाद पराजुली नेकपाका माधव सापकोटालाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका छन् । उनी २४ हजार ४१२ मतसहित विजयी हुँदा सापकोटाको पक्षमा १७ हजार ३२७ मत खसेको छ ।
सिन्धुपाल्चोक–२ मा भने रास्वपाका उम्मेदवार बसन्त भट्ट चोथो भएका छन् । यहाँ नेकपाका युवराज दुलाल २१ हजार ६९९ मत ल्याएर निर्वाचित हुँदा दोस्रो भएको कांग्रेसका वंशलाल तामाङले १९ हजार १४६ मत पाएका छन् ।
सिन्धुपाल्चोक–२ मा एमालेका उम्मेदवार शेरबहादुर तामाङको १५ हजार ९२६ र रास्वपाका उम्मेदवार झलककुमार श्रेष्ठको १४ हजार १९ मत आएको निर्वाचन आयोगले जनाएको छ ।
रसुवामा भने कांग्रेसका मोहन आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी रास्वपाका उम्मेदवार बसन्त भट्टलाई पाँच हजार बढी मतले हराउँदै विजयी भएका हुन् ।
आचार्य १० हजार ६५६ मतसहित निर्वाचित हुँदा रास्वपाका उम्मेदवार भट्टले पाँच हजार ५७१ मत पाएका छन् । तेस्रो भएको एमाले उम्मेदवार प्रेमबहादुर तामाङको पक्षमा चार हजार ६८८ मत छ ।
धादिङ–१ मा रास्वपाका आशिका तामाङ ३९ हजार १२८ र धादिङ–२ मा वोधनारायण श्रेष्ठ २६ हजार १४५ मत ल्याएर शानदार जित निकाल्न सफल भएका छन् ।
तामाङका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार भूमिप्रसाद त्रिपाठीले १५ हजार ३२ र श्रेष्ठका निकटम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार रमेश धमलाले २० हजार २७९ मत ल्याएका छन् ।
गण्डकी प्रदेशका गोरखा, मनाङ र मुस्ताङ गरी तीन जिल्लाको सीमा पनि उत्तरी छिमेकी मुलुक चीनसँग जोडिएको छ । जसमध्ये गोरखाका दुवै निर्वाचन क्षेत्रमा रास्वपा र बाँकी दुई जिल्लामा कांग्रेस विजयी भएको छ ।

गोरखा–१ मा रास्वपाका सुधन गुरूङले २९ हजार ८६९ मत ल्याएर संसदीय यात्रा सुरूवात गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३९८ मत ल्याउँदा तेस्रो भएका नेकपाका हरिराज अधिकारीको पक्षमा ११ हजार १२४ मत देखिएको छ ।
गोरखा–२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी २६ हजार ६६० मत ल्याएर नर्वाचित भएका छन् । यससँगै उनले आफ्नो संसदीय यात्रालाई दोहोर्याएका छन् । बुर्लाकोटीका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार प्रकाशचन्द्र दवाडीले ११ हजार ७०० मत पाएका छन् ।
मनाङमा कांग्रेसका टेकबहादुर गुरूङ दुई हजार ४१५ मतसहित विजयी भएका छन् । यहाँ नेकपाकी यशोदा गुरूङ सुवेदीले ४५४ र मंगोल अर्गनाइजेसनका रामबहादुर घलेले नौ मत पाएका छन् ।
यस्तै मुस्ताङमा पनि कांग्रेसबाटै योगेश गौचन थकाली निर्वाचित भएका छन् । उनले तीन हजार ३०७ मत ल्याएका छन् । गौचनका निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्रधरा डादु विष्टले एक हजार ८०६ मत प्राप्त गरेका छन् ।
मुस्ताङमा रास्वपाका अधितीय चन्द्र थकालीले ७५९ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कमला लालचनले १६१ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
कर्णाली प्रदेशका १० जिल्ला मध्ये तीन र सुदूरपशिचमका नौमध्ये दुई जिल्लाको सीमा पनि चीनसँग जोडिएको छ । देशभर अप्रत्याशित नतिजा ल्याएको रास्वपा यी जिल्लाहरूमा कमजोर देखिएको छ ।
कर्णाली प्रदेशको डोल्पामा नेकपाका धनबहादुर बुढा छ हजार ८०२ मतसहित निर्वाचित हुँदा रास्वपाका देवसिंह ऐडीले मात्र १८१ मत ल्याएका छन् । यहाँ दोस्रो भएका एमाले उम्मेदवार लंकबहादुर रोकायाले पाँच हजार ३९६ मत पाएका छन् ।
यस्तै मुगुमा कांग्रेसका खड्ग शाही सात हजार ९१४ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा रास्वपाका भुवन टमटाले मात्र ५३० मत पाएका छन् ।
दोस्रो भएका एमाले उम्मेदवार पूर्णबहादुर रोकायाले छ हजार ७१८ र नेकपाका चन्द्रबहादुर शाहीले पाँच हजार ५५८ मत प्राप्त गरेका छन् ।
हुम्लामा पनि रास्वपाको उपस्थिति कमजोर देखिएको छ । यहाँ कांग्रेसका जयपति रोकाया आठ हजार ७९७ मतसहित विजयी हुँदा रास्वपा उम्मेदवार टासी ल्हान्जोमको पक्षमा मात्र एक हजार ६४ मत खसेको छ ।
हुम्लामा नेकपाका दीपेन्द्र रोकायाले सात हजार २४३ र एमालेका दल फडेराले चार हजार ३३१ मत पाएका छन् ।
सुदूरपश्चिमको बझाङमा एमालेका ऐनबहादुर महर १८ हजार ५४३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३०४ मत पाएका छन् ।
नेकपाका मिनबहादुर कुँवर नौ हजार ७५७ मत ल्याएर तेस्रो हुँदा बझाङमा रास्वपाका शैलेशकुमार सिंहले नौ हजार २६३ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
यस्तै दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना १८ हजार ८९१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत पाएका छन् ।
दार्चुलामा तेस्रो भएका रास्वपाका राजेशसिंह सामन्त (साउद) ले आठ हजार ९३६ र नेकपाका लक्ष्मणदत्त जोशीले तीन हजार ६५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया 4