+

यी चार कारणले हुन्छ शीघ्र स्खलनको समस्या, कसरी पाउने छुटकारा ?

२०८२ चैत  १ गते १४:०५ २०८२ चैत १ गते १४:०५
Shares
यी चार कारणले हुन्छ शीघ्र स्खलनको समस्या, कसरी पाउने छुटकारा ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शीघ्र स्खलन पुरुषमा यौन सम्पर्कको १ देखि ३ मिनेटभित्र वा प्रवेश हुनु अघि वीर्य स्खलन हुनु हो र यसले दाम्पत्य जीवनमा असर पार्छ।

पुरुषहरूमा देखिने एउटा सामान्य तर धेरैलाई चिन्ता र तनाव दिने समस्या हो– शीघ्र स्खलन ।

यो समस्या जीवनको कुनै न कुनै समयमा धेरैजसो पुरुषले अनुभव गर्छन् । तर लाज, संकोच, गलत धारणा र यो पनि समस्या हुनसक्छ भन्ने सामान्य जानकारी नहुँदा अधिकांशले समयमै विशेषज्ञसँग सल्लाह लिँदैनन् । यसो हुँदा यसले समस्या झन् बढाउँछ र दाम्पत्य जीवनमा असर पार्छ ।

शीघ्र स्खलन के हो ?

शीघ्र स्खलन भनेको सम्भोग गर्ने समयमा उत्तेजना सुरु भएपछि छोटो समयमै वीर्य स्खलन हुनु हो । पुरुषमा वीर्यलाई नियन्त्रण गर्न सक्ने विशेषता हुन्छ । तर, यो समस्या भएमा चाहेर पनि स्खलन नियन्त्रण हुन सक्दैन । धेरैजसो अवस्थामा त योनीमा प्रवेश गरेको १ देखि ३ मिनेटभित्रै वा कहिलेकाहीँ प्रवेश हुनुअघि नै स्खलन हुन्छ । यसले पुरुष र उनकी यौन साथी दुवैको यौन सन्तुष्टिमा कमी ल्याउँछ ।

थकान, तनाव, चिन्ता, धेरै समयपछि यौन सम्पर्क हुनु वा अत्यधिक उत्साहका कारण कहिलेकाहीँ छिटो स्खलन हुन सक्छ । यसलाई सामान्य मानिन्छ ।

तर योनीमा प्रवेश गरेपछि स्खलन हुने समय १ देखि ३ मिनेटभन्दा कम हुनु र स्खलनलाई नियन्त्रण गर्न नसक्नु र व्यक्तिगत तनाव, चिन्ता वा सम्बन्धमा नकारात्मक असर पार्नु यसका मुख्य समस्या हुन् । यी तिनै कुरा बारम्बार भए मात्र यसलाई चिकित्सकीय रूपमा शीघ्र स्खलनको समस्या भएको मानिन्छ ।

दुई खालको स्खलन

आजीवन

आजीवन शीघ्र स्खलन जसमा किशोरावस्थादेखि नै हरेक पटक वा लगभग हरेक पटक समस्या देखिन्छ । यो प्राय : जैविक वा मस्तिष्कसँग सम्बन्धित कारणले हुन्छ ।

प्राप्त

पहिले सामान्य यौन जीवन भएको व्यक्तिमा पछि कुनै कारणले यो समस्या देखिन थाल्छ । यो प्रकार प्राय : मानसिक तनाव, रोग वा जीवनशैलीसँग जोडिएको हुन्छ ।
यो समस्या कति सामान्य छ ?

विश्वव्यापी अध्ययनहरूका अनुसार २० देखि ३० प्रतिशत पुरुषहरूले जीवनमा कुनै न कुनै समयमा शीघ्र स्खलनको अनुभव गर्छन् । नेपाल र दक्षिण एसियाली देशहरूमा पनि यो दर उस्तै छ ।

यो कुनै दुर्लभ वा असामान्य रोग होइन । धेरै पुरुषहरूले यसलाई आफ्नो व्यक्तिगत कमजोरी ठानेर लुकाउने प्रयास गर्छन् जसले समस्या झन् जटिल बनाउँछ । सही जानकारी र समयमै उपचार अपनाउँदा धेरैजसोमा राम्रो नियन्त्रण आउँछ ।

यो समस्या किन हुन्छ ?

यो समस्या एकल कारणले होइन बहुआयामिक कारणले हुन्छ । मुख्य कारणहरूलाई तीन मुख्य समूहमा वर्गीकरण गर्न सकिन्छ ।

१.मानसिक कारण

मानसिक वा मनोवैज्ञानिक कारणहरू हुन्, जुन सबैभन्दा बढी जिम्मेवार हुन्छन् ।

सम्भोगको क्रममा लामो समयसम्म राम्रो प्रदर्शन नहोला भन्ने चिन्ता अर्थात् राम्रो गर्नुपर्छ भन्ने दबाबले उत्तेजना छिटो बढ्छ । तनाव, चिन्ता, डिप्रेसन वा सम्बन्धमा असमझदारी पनि प्रमुख कारण बन्छन् ।

पहिलो पटकको यौन अनुभवको डर वा विगतका नकारात्मक अनुभवले पनि प्रभाव पार्छ । यौन शिक्षाको कमी वा गलत धारणाले समस्या बढाउँछ ।

२.हर्मोनको प्रभाव

जैविक वा शारीरिक कारणहरू हुन् । मस्तिष्कमा सेरोटोनिन नामक रसायनको स्तर कम हुनु प्रमुख कारण हो । सेरोटोनिनले स्खलनलाई ढिलो बनाउने काम गर्छ तर यसको कमीले छिटो स्खलन हुन्छ ।

हर्मोन असन्तुलन जस्तै थाइराइड समस्या वा टेस्टोस्टेरोनको कमी पनि प्रभाव पार्छ । लिंगको टाउकोमा अत्यधिक संवेदनशीलताले पनि स्खलन छिटो हुन्छ ।

३.संक्रमण र दीर्घ रोग

प्रोस्टेट ग्रन्थी वा मुत्रनलीमा संक्रमण वा सुन्निन, मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोग वा स्नायु सम्बन्धी समस्या पनि कारण बन्न सक्छन् ।

४.जीवनशैली र अन्य कारक

नियमित व्यायामको कमी, मोटोपन, निन्द्राको अभाव, अत्यधिक तनावपूर्ण जीवन, अत्यधिक मदिरा, धूम्रपान वा लागूपदार्थको प्रयोगले समस्या बढाउँछ । यौन सम्पर्कमा अनियमितता वा लामो समयसम्म यौन क्रियाकलाप नगर्नुले पनि प्रभाव पार्छ । धेरैजसो अवस्थामा मानसिक र जैविक दुवै कारण मिसिएर समस्या देखिन्छ ।

शीघ्र स्खलनले पार्ने असरहरू

यो समस्या शारीरिक रूपमा ज्यानलाई खतरनाक नभए पनि मानसिक र सम्बन्धीय रूपमा गम्भीर असर पार्छ । दाम्पत्य जीवनमा तनाव र झगडा बढ्छ । आत्मविश्वासमा कमी आउँछ र आफूलाई असफल ठानिन्छ । यौन जीवनप्रति रुचि कम हुन्छ वा यौनबाट टाढा रहन थालिन्छ । चिन्ता, डिप्रेसन वा सम्बन्धमा दूरी बढ्छ । कहिलेकाहीं साथीले पनि असन्तुष्टि व्यक्त गर्दा समस्या झन् बढ्छ । यी सबै असरले समग्र जीवन गुणस्तरमा कमी ल्याउँछ ।

शीघ्र स्खलन निको हुन्छ ?

हो, यो पूर्ण रूपमा उपचार हुने समस्या हो । अधिकांश पुरुषहरूमा उचित विधि अपनाउँदा ७० देखि ९० प्रतिशतसम्म सुधार हुन्छ । उपचारमा समय लाग्न सक्छ तर धैर्य र निरन्तरताले राम्रो नतिजा दिन्छ ।

उपचार कस्तो हुन्छ ?

१.स्टार्ट–स्टप विधि

पहिलो र सबैभन्दा प्रभावकारी सुरुवाती उपचार व्यवहारिक अभ्यासहरू हुन् । स्टार्ट–स्टप विधिमा यौन उत्तेजना बढ्दै जाँदा स्खलन हुन लागे जस्तो लागेपछि तुरुन्तै सबै गतिविधि रोक्नुपर्छ । यसले स्खलनलाई नियन्त्रण गर्न सिकाउँछ ।

उत्तेजना घटेपछि ३० देखि ६० सेकेन्ड पछि फेरि सुरु गर्नुपर्छ । यो अभ्यास हस्तमैथुन वा यौन सम्पर्क दुवैमा गर्न सकिन्छ । नियमित अभ्यासले स्खलन नियन्त्रण गर्ने क्षमता बढ्छ ।

२.स्क्विज विधि

स्खलन हुन लाग्दा लिंगको टाउको नजिक हल्का दबाब दिइन्छ, जसले उत्तेजना घटाउन मद्दत गर्छ । साथीले पनि यो गर्न सक्छिन् । १० देखि ३० सेकेन्ड दबाएपछि छोड्ने। यो विधिले उत्तेजना तुरुन्तै घटाउँछ । दुवै विधि चिकित्सकको निर्देशनमा सुरु गर्दा राम्रो हुन्छ ।

३.केगेल व्यायाम

यो व्यायामले पिसाब–दिसा नियन्त्रण गर्ने पेल्भिक फ्लोरको मांसपेशीलाई बलियो बनाउँछ । त्यसका लागि पिसाब रोक्ने मांसपेशी ३ देखि ५ सेकेन्ड कस्ने र छोड्ने । दिनमा ३ सेटमा १० देखि २० पटक गर्ने । यो व्यायामले स्खलन नियन्त्रणमा ठूलो मद्दत गर्छ ।

औषधि उपचारमासेरोटोनिन रिअपटेक इन्हिबिटर जस्ता औषधि जसले सेरोटोनिन बढाएर स्खलन ढिलो बनाउँछ प्रयोग हुन्छ । औषधि पनि आवश्यकता अनुसार प्रयोग हुन्छ तर सधैं डाक्टरको सल्लाहबिना प्रयोग गर्नुहुँदैन ।

जीवनशैली सुधार पनि महत्त्वपूर्ण छ । नियमित व्यायाम, सन्तुलित खाना, पर्याप्त निन्द्रा, तनाव व्यवस्थापन, मदिरा र धूम्रपान कम गर्ने जस्ता कुराले यौन स्वास्थ्य सुधार्छ ।

कहिले चिकित्सकलाई भेट्ने ?

हरेक पटक १ देखि २ मिनेटभन्दा कम समयमा स्खलन हुने, समस्या ६ महिनाभन्दा बढी समयदेखि जारी रहेको, यसले सम्बन्ध वा मानसिक स्वास्थ्यमा असर पारिरहेको अवस्थामा विशेषज्ञसँग परामर्श लिनु राम्रो हुन्छ ।

समाजमा शीघ्र स्खलनबारे केही भ्रम

भ्रम १ : यो पुरुषको कमजोरी हो ।
सत्य : यो एक सामान्य समस्या हो

भ्रम २ : यसको उपचार सम्भव छैन ।
सत्य : उचित उपचारले धेरैजसो मानिसमा राम्रो सुधार हुन्छ ।

भ्रम ३ : केवल औषधिले मात्र निको हुन्छ ।
सत्य : व्यवहारिक अभ्यास, परामर्श र जीवनशैली सुधार पनि उत्तिकै महत्त्वपूर्ण छन् ।

खुला संवादको महत्व

समस्या लुकाउनुको सट्टा यौन साथीसँग खुला कुराकानी गर्न सकिन्छ । साथीको समझदारी र सहयोगले तनाव कम हुन्छ र उपचार प्रभावकारी बन्छ । धेरै जोडीहरूलेसँगै अभ्यास गर्दा राम्रो नतिजा पाउँछन् ।

शीघ्र स्खलन
डा. अनिलपुकार साह
लेखक
डा. अनिलपुकार साह
कन्सल्टेन्ट युरोलोजिस्ट

मेडिकल काउन्सिल दर्ता नम्बर : १६१५१ एमबीबीएस (गोल्ड मेडलिस्ट), एफसीपीएस हाल वीरगञ्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

यी चार कारणले हुन्छ शीघ्र स्खलनको समस्या, कसरी पाउने छुटकारा ?

यी चार कारणले हुन्छ शीघ्र स्खलनको समस्या, कसरी पाउने छुटकारा ?

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस