+

७२ घण्टे औषधि : महिलाको शरीरमा के हुन्छ, जब यो खाइन्छ ?

२०८२ फागुन  १९ गते १४:४६ २०८२ फागुन १९ गते १४:४६

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. उपमा यसलाई ‘फायर एक्सटिङ्गुइशर’ जस्तै हो भनेर व्याख्या गर्छिन ।

७२ घण्टे औषधि : महिलाको शरीरमा के हुन्छ, जब यो खाइन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. दीजा खनालले बारम्बार ७२ घण्टे आकस्मिक गर्भनिरोधक औषधि सेवन गर्दा हर्मोनल असन्तुलन र स्वास्थ्य समस्या आउन सक्ने बताउनुभयो।
  • ७२ घण्टे औषधि उच्च मात्रा प्रोजेस्टिनले ओभुलेसन रोक्छ, निषेचनमा अवरोध गर्छ र गर्भाशयको वातावरण परिवर्तन गरी गर्भ बस्नबाट रोक्छ।
  • डाक्टरहरूले ७२ घण्टे औषधि नियमित गर्भनिरोधकको विकल्प नभएको र बारम्बार सेवनले डिम्बाशयमा स–साना सिस्टहरू बन्न सक्ने चेतावनी दिनुभएको छ।

काठमाडौं । ‘मैले ७२ घण्टे औषधि खाएँ । यसले के हानि गर्छ ?’

प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. दीजा खनालको म्यासेज बक्समा साथीको प्रश्न थियो । उनले यसरी अरुबेला पनि औषधि खाएकी रहिछन् । साथीले एक वर्षमा पटक पटक अनियमित महिनावारी भइरहने बताएकी थिइन् ।

यस्तै, अर्की ३२ वर्षीया महिलाले पनि उनलाई आपतकालिन चक्की खाएपछि स्वास्थ्य समस्या भएको बताएकी थिइन् ।

महिलाले भनेकी थिइन्, ‘७२ घण्टे औषधि खाएको ५ दिन पछि ४–५ थोपा चक्लेटको रङ जस्तो रगत दखियो । यसरी रगतको थोपा देखिएको १० दिन भइसक्यो ।’

उनले शारीरिक रुपमा कमजोर महसुस गरेकी थिइन् । ‘गर्भ परीक्षण गर्ने किट ल्याएँ’ उनले सुनाइन्, ‘त्यो पनि नेगेटिभ देखाउँछ, किन होला ?’

उनको अल्ट्रासाउन्ड गरियो । डिम्बाशयमा स–साना सिस्टहरू देखिए, एन्डोमेट्रियम पातलो थियो र हर्मोनल असन्तुलन प्रष्ट थियो ।

धेरै विवाहित महिलाको साझा समस्या हो, जुन दिनहुँजसो डा. दीजाले सुन्ने गरेकी छिन् ।

डा. दीजा भन्छिन्, ‘उनीहरुले विभिन्न परिस्थिति र बाध्यतामा यस्तो औषधि खानुपरेको बताउँछन् । तर, बारम्बार खाँदा निकै जटिलता आउँछ भन्ने हेक्का राख्दैनन् ।’

डा. दीजा भन्छिन्, ‘उनीहरुले विभिन्न परिस्थिति र बाध्यतामा यस्तो औषधि खानुपरेको बताउँछन् । तर, बारम्बार खाँदा निकै जटिलता आउँछ भन्ने हेक्का राख्दैनन् ।’

७२ घण्टे औषधि के हो ? यसको भूमिका के हो ?

७२ घण्टे गर्भनिरोधक औषधि एक आपत्कालीन गर्भनिरोक चक्की हो । यसलाई सामान्यत धेरैले ‘आई–पिल’ भनेर चिनिन्छ ।

सन्तानको इच्छा नहुँदा नहुँदै पनि कहिलेकाहीँ यौन सम्पर्कको क्रममा गर्भ रहने जोखिम रहन्छ । यस्तो जोखिम खासगरी कुनै पनि गर्भनिरोधक विधि नअपनाएको अवस्थामा हुन्छ ।

यसैगरी नियमित चक्की छुट्दा, कन्डम फुट्दा पनि अनिच्छित गर्भ रहनसक्छ ।

यस्तो अवस्थामा के गर्ने त ?

यसका लागि यस्तो औषधि बजारमा पाइन्छन्, जसले गर्भ रहने जोखिमलाई रोक्छ । यसलाई ‘आकस्मिक गर्भनिरोधक चक्की’ भनिन्छ । असुरक्षित सम्बन्धपछि ७२ घण्टाभित्र यो औषधि खाइसक्नुपर्ने हुन्छ ।

‘जति छिटो औषधि खाइन्छ’ डा. दीजा भन्छिन्, ‘त्यति नै यो प्रभावकारी हुन्छ ।’

किन यसलाई आकस्मिक भनिन्छ ?

डा. दीजा भन्छिन्, ‘आकस्मिक गर्भनिरोधक चक्कीमा लेभोनोर्जेस्ट्रेल नामक सिन्थेटिक प्रोजेस्टिन हर्मोनको उच्च मात्रा हुन्छ ।

सामान्य अवस्थामा र नियमित खाइने गर्भनिरोधक चक्कीको भन्दा यसको डोज उच्च हुन्छ, जसले तुरुन्त प्रभाव पार्छ । यही कारण यसलाई आकस्मिक अवस्थामा मात्र प्रयोग गर्न सिफारिस गरिन्छ ।’

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. उपमा यसलाई ‘फायर एक्सटिङ्गुइशर’ जस्तै हो भनेर व्याख्या गर्छिन ।

उनी भन्छिन्,  ‘धेरै महिलाले ७२ घन्टे औषधिलाई सजिलो विकल्प मान्छन् ।  तर यसको भूमिका नियमित सुरक्षा दिनु होइन । यो ‘फायर एक्सटिङ्गुइशर’ जस्तै हो । आगो  लगाउन होइन, लागेपछि निभाउन प्रयोग गरिन्छ । त्यसैले, पटक पटक प्रयोग गर्नुहुँदैन ।’

‘धेरै महिलाले ७२ घन्टे औषधिलाई सजिलो विकल्प मान्छन् । तर यसको भूमिका नियमित सुरक्षा दिनु होइन । यो ‘फायर एक्सटिङ्गुइशर’ जस्तै हो । आगो लागेपछि निभाउन प्रयोग गरिन्छ, घर तताउन होइन । त्यसैले, पटक पटक प्रयोग गर्नुहुँदैन ।’

उनका अनुसार यो बाध्यकारी अवस्थामा खाने आकस्मिक सुरक्षा जाल हो, दीर्घकालीन परिवार नियोजनको विकल्प होइन ।

गर्भ बस्नबाट कसरी रोक्छ ?

गर्भ रहने जैविक प्रक्रिया तीन चरणमा निर्भर हुन्छ । डिम्ब निष्कासन, निषेचन र गर्भाशयको वातावरणमा विभिन्न तरिकाले असर गर्छ ।

पहिलो चरण, डिम्ब निष्कासन रोक्नु वा ढिलाइ गर्नु

महिनावारी चक्रको मध्यभागमा मस्तिष्कको पिट्युटरी ग्रन्थीबाट एलएच ल्यूटेनाइजिङ हर्मोन अचानक बढ्छ । यो हर्मोनले डिम्बाशयबाट अण्डा बाहिर निस्कन्छ । यसैलाई ओभुलेसन भनिन्छ । यही समयमा असुरक्षित सम्बन्ध भएमा गर्भ बस्ने सम्भावना उच्च हुन्छ ।

डा. दीजाका अनुसार ७२ घण्टे औषधिमा भएको उच्च मात्रा प्रोजेस्टनले मस्तिष्कलाई ‘शरीरमा पहिले नै पर्याप्त प्रोजेस्टेरोन छ’ भन्ने संकेत दिन्छ । यसले एलएच ल्यूटेनाइजिंग हर्मोन प्रवाहलाई रोक्न वा हुनै दिंदैन।

डा. दीजा खनाल भन्छिन्, ‘जब यो हर्मोन प्रवाह नै हुँदैन, अण्डा बाहिर निस्कँदैन । जब अण्डा नै बाहिर निस्कँदैन, जसले शुक्रकीटसँग मिलन हुन नदिई गर्भ बस्ने सम्भावना घटाउँछ ।’ यदि औषधि ओभुलेसन हुनुअघि खाइयो भने यसको प्रभाव अत्यधिक हुन्छ ।

दोस्रो चरण : निषेचनमा अवरोध गर्नु

अण्डा निस्किसकेको अवस्थामा औषधि खाइयो भने पनि केही सुरक्षा बाँकी रहन्छ ।

डा. दीजा स्पष्ट पार्छिन्, ‘उच्च मात्रा प्रोजेस्टिनले गर्भाशयको मुखमा हुने (म्युकस)चिप्लो तरल पदार्थलाई बाक्लो बनाउँछ । सामान्य अवस्थामा इस्ट्रोजेन बढी हुँदा म्युकस पातलो र चिप्लो हुन्छ, जसले शुक्रकीटलाई सजिलै अण्डासम्म पुग्न मद्दत गर्छ । बाक्लो म्युकसले शुक्रकीटको गतिलाई सुस्त बनाउँछ, जसले अण्डासम्म पुग्न गाह्रो बनाउँछ । यसले निषेचनको सम्भावना घटाउँछ ।’

यसले शुक्रकीटको जीवन अवधि र गतिशीलता पनि घटाउन सक्छ, जसले निषेचनको सम्भावना कम गरी गर्भ रोक्न मद्दत गर्ने उनी बताउँछिन् ।

तेस्रो चरण : गर्भाशयको वातावरण परिवर्तन गर्नु

दुर्लभ अवस्थामा निषेचन भइसकेको छ भने पनि औषधिले गर्भाशयको भित्री तह अर्थात् एन्डोमेट्रियममा असर गर्छ ।

सामान्य अवस्थामा इस्ट्रोजेन र प्रोजेस्टेरोनको सन्तुलनले एन्डोमेट्रियमलाई बाक्लो र नरम बनाउँछ, ताकि भ्रूण सजिलै बस्न सकोस् । तर ७२ घण्टे औषधिमा भएको उच्च प्रोजेस्टिनले यो सन्तुलन बिगारेर एन्डोमेट्रियम पातलो बनाउन सक्छ ।

डा. दीजा भन्छिन्, ‘एन्डोमेट्रियम पातलो हुँदा भ्रूणलाई बस्न उपयुक्त ठाउँ तयार हुँदैन । तर यदि भ्रूण पहिल्यै बसिसकेको छ भने यस औषधिले त्यसलाई हटाउन सक्दैन ।’

औषधिले हुनसक्छ, साइड इफेक्ट

७२ घण्टे औषधि सेवन गरेपछि सुरुमा देखिने असर प्रायः हल्का र अस्थायी हुन्छन् ।

डा. दीजा भन्छिन्, ‘यो औषधिमा उच्च मात्रा प्रोजेस्टिन हर्मोन हुने भएकाले शरीरको प्राकृतिक हर्मोन चक्रमा अचानक परिवर्तन हुन्छ । त्यसैले सुरुवाती केही दिन सामान्यभन्दा फरक लक्षण देखिन सक्छ ।’

उनका अनुसार सबैभन्दा सामान्य साइड इफेक्टहरूमा अनियमित महिनावारी, वाकवाकी, हल्का बान्ता, टाउको दुखाइ, स्तन दुख्ने वा भारी महसुस हुनु पर्छन् । कतिपय महिलामा तल्लो पेट दुखाइ वा पेट फुल्ने जस्तो अनुभूति पनि हुन सक्छ ।

‘कसैको महिनावारी १० दिन नकट्दै चाँडो आउँछ, कसैको ढिलो हुन्छ, र कसैमा लामो समयसम्म चक्लेट रंगको थोपा–थोपा रगत देखिन सक्छ, ’डा. दीजा भन्छिन् । यसरी चक्लेट रंगको थोपा–थोपा आउनु भनेको महिनावारी नभई औषधिकै प्रतिक्रिया हुनसक्ने उनी बताउँछिन् ।

उनी थप्छिन्, ‘यी असरहरू प्रायः केही दिनमै आफैं कम हुन्छन् । तर अत्यधिक रक्तस्राव, असह्य पेट दुखाइ वा दुई–तीन महिना महिनावारी नआएमा भने तुरुन्त जाँच गराउनुपर्छ ।’

पटक–पटक ७२ घण्टे औषधि सेवन गर्दा के हुन्छ ?

पटक–पटक सेवन गर्दा शरीरमा हर्मोनल असन्तुलन बढ्न सक्छ । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. दीजा खनालका अनुसार यसमा उच्च मात्रा प्रोजेस्टिन हुन्छ । बारम्बार प्रयोग गर्दा शरीरको प्राकृतिक इस्ट्रोजेन–प्रोजेस्टेरोन सन्तुलन बिग्रिन सक्छ, जसले महिनावारी चक्र अनियमित बनाउँछ ।

सम्भावित असरहरू महिनावारी अनियमित हुनु , लामो समय स्पटिङ (थोपा–थोपा रगत), २–३ महिना महिनावारी रोकिनु, तल्लो पेट दुखाइ वा भारीपन र हर्मोनल असन्तुलनका कारण मुड स्विङ, थकान बढ्न सक्छ ।

कतिपय अवस्थामा अल्ट्रासाउन्डमा स–साना डिम्बाशय सिस्ट देखिन सक्छन्, जुन प्रायः अस्थायी हुन्छन् तर शरीरमा हर्मोनल झट्काको संकेत हुन सक्ने उनी बताउछिन् ।

अर्को जटिल समस्या भनेको गर्भ बसिसकेको खण्डमा बच्चाको मृत्यु हुने जोखिम बढ्ने डा. खनाल बताउछिन् । ‘७२ घण्टाभन्दा पछी खाइयो भने गर्भ बसेर बच्चा नलीमा बस्न सक्छ । यो अवस्थामा बच्चा बढ्न गई नली फुटेर बच्चाको ज्यानै जान सक्छ, ’उनी भन्छिन् ।

‘७२ घण्टाभन्दा पछी खाइयो भने गर्भ बसेर बच्चा नलीमा बस्न सक्छ । यो अवस्थामा बच्चा बढ्न गई नली फुटेर बच्चाको ज्यानै जान सक्छ, ’उनी भन्छिन् ।

के यौ औषधिले पछि सन्तान नै नहुने पनि हुनसक्छ ?

निःसन्तान तथा स्त्रीरोग विशेषज्ञ डा. उपमा बस्नेत भन्छिन्, ‘धेरै महिलाको मनमा उठ्ने प्रश्न यही हो, के ७२ घण्टे औषधि बारम्बार वा मनलाग्दी खाँदा भविष्यमा बच्चा नबस्ने हुन सक्छ ?’

उनका अनुसार हालसम्मको वैज्ञानिक प्रमाणले यो औषधिले स्थायी रूपमा बाँझोपन गराउँछ भन्ने देखाएको छैन । अर्थात्, एक–दुई पटक आपत्कालीन अवस्थामा सेवन गर्दा भविष्यमा गर्भधारण क्षमतामा स्थायी असर पर्ने सम्भावना अत्यन्त न्यून हुन्छ ।

‘समस्या तब सुरु हुन्छ जब यो औषधि नियमित गर्भनिरोधकको सट्टा बारम्बार प्रयोग गरिन्छ । उच्च मात्रा प्रोजेस्टेरोनले शरीरको प्राकृतिक हर्मोन चक्रमा पटक–पटक झट्का दिन्छ । यसले ओभुलेसन अस्थायी रूपमा रोकिन सक्छ, महिनावारी अनियमित हुन सक्छ वा केही महिनासम्म बन्द पनि हुन सक्छ, ’डा. बस्नेत भन्छिन् ।

यद्यपि, यदि लामो समयसम्म महिनावारी नआउनु, लगातार हर्मोनल असन्तुलन वा अन्य समस्या देखिएमा जाँच गराउनु आवश्यक हुन्छ । कतिपय अवस्थामा पहिलेदेखि रहेको पीसीओएस, थाइराइड वा अन्य समस्या पनि कारण हुन सक्ने उनी बताउछिन् ।

डा. दीजा थपछिन्, ‘यो स्थायी बाँझोपनको कारण बन्छ भन्ने प्रमाण छैन, तर शरीरलाई बारम्बार कृत्रिम हर्मोनको उच्च मात्रा दिनु राम्रो अभ्यास होइन ।’

त्यसोभए, ७२ घण्टे औषधिको विकल्पमा सुरक्षित अस्थायी साधन के हुन्छ ?

गर्भनिरोधको ‘सबैभन्दा राम्रो’ उपाय एउटै हुँदैन । यो महिलाको उमेर, स्वास्थ्य अवस्था, सन्तानको योजना, स्तनपानको अवस्था र जीवनशैली अनुसार फरक पर्छ ।

डा. दीजा खनालका अनुसार यदि नियमित रूपमा गर्भ रोक्न चाहने र दैनिक औषधि खान सक्ने महिला हुन् भने ओरल कन्ट्रासेप्टिभ पिल्स (पिल) अत्यन्त प्रभावकारी र सुरक्षित विकल्प हो ।

सही तरिकाले दैनिक सेवन गर्दा यसको प्रभावकारिता ९९ प्रतिशतसम्म हुन्छ । यसले महिनावारी नियमित बनाउने र दुखाइ कम गर्ने फाइदा पनि दिन सक्छ ।

डा. उपमा सन्तानबीच लामो जन्मान्तर चाहिएको छ भने दीर्घकालीन गर्भनिरोधक का केही विधि उपयुक्त हुने सुझाव दिन्छिन् ।

जस्तो की,

कपर्टी – पाठेघरभित्र राखिने सानो उपकरण, ५–१० वर्षसम्म प्रभावकारी ।

नरप्लान्ट – हातको छालामुनि राखिने सानो रड, ३–५ वर्षसम्म सुरक्षा दिने, मनलाग्दा झिकेर सन्तान योजना गर्न सकिने ।

डिपो इन्जेक्सन – प्रत्येक ३ महिनामा लगाइने हर्मोनल इन्जेक्सन ।

डा. उपमा भन्छिन्, ‘यी विधिहरूले दैनिक चिन्ता हटाउँछन् र ७२ घण्टे औषधि जस्तो हर्मोनल झट्का दिनु पर्दैन ।’

त्यसैले, आकस्मिक औषधिलाई बानी नबनाई, आफ्नो अवस्था अनुसार चिकित्सकसँग सल्लाह गरेर नियमित र सुरक्षित गर्भनिरोधक विधि छनोट गर्नु नै सबैभन्दा राम्रो उपाय हो ।

७२ घण्टे औषधिले बनाउन सक्छ, सिस्ट

डा. बस्नेतका अनुुुसार उच्च डोज लेभोनोर्जेस्ट्रेलले एलएच हर्मोन बढ्न दिदैन, जसले अण्डा निस्किनबाट रोक्छ । यसरी निस्किन नपाएका अण्डालाई एफएसएचले स–साना तरलले भरिएको थैलीमा विकास गर्छ।

यी थैली परिपक्व भएर फुट्दैनन्, फुल्लिएर सिस्ट बन्छन् । बारम्बार प्रयोगले हर्मोनल असन्तुलन बढाउँछ, पीसीओएसको जोखिम हुनसक्छ ।  यही कारण डिम्बाशयमा स–साना सिस्टहरू जम्मा हुन्छन् ।

यी प्रायः अस्थायी हुन्छन्, तर दुरुपयोगले दीर्घकालीन समस्या निम्त्याउने उनी बताउछिन् । आकस्मिक अवस्थामा एकपटक बाहेक यस्तो औषधि पटक पटक नलिन विशेषज्ञहरु सुझाउछन् ।

७२ घण्टे आकस्मिक औषधि
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय