+

क्यान्सर लाग्नुमा खानपानको भूमिका कति ?

२०८२ फागुन  १८ गते १२:५४ २०८२ फागुन १८ गते १२:५४
Shares
क्यान्सर लाग्नुमा खानपानको भूमिका कति ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यान्सरको जोखिम घटाउन खानपान, आराम र व्यायाम महत्वपूर्ण छन् र खानपानले शरीरका कोषहरूमा प्रत्यक्ष प्रभाव पार्छ।
  • फलफूल, तरकारी, सवुत अन्न र सिड्सहरूको नियमित सेवनले क्यान्सरको जोखिम ३०–५० प्रतिशतसम्म घटाउन सक्छ।
  • मोटोपन, धुम्रपान, प्रशोधित मासु र बारम्बार प्रयोग गरिएको तेलले क्यान्सरको जोखिम बढाउँछन् भने एचपिभी र हेपाटाइटिस खोपले केही क्यान्सरबाट बचाउँछन्।

क्यान्सर एक गम्भीर रोग हो जसले विश्वभरि लाखौं मानिसहरूलाई प्रभावित गर्छ । यस रोगको विकासमा आनुवंशिकता, वातावरणीय कारकहरू र जीवनशैलीको महत्वपूर्ण भूमिका हुन्छ । तर, खानपान र जीवनशैलीलाई परिवर्तन गरेर क्यान्सरको जोखिमलाई उल्लेखनीय रूपमा घटाउन सकिन्छ । स्वस्थ आहारले क्यान्सरको रोकथाममा महत्वपूर्ण योगदान दिन सक्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन्

क्यान्सर रोकथाममा खानपानको महत्व

क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचानमा लगानी गर्नु आवश्यक छ । यदि क्यान्सरलाई सुरुमै पत्ता लगाएर उपचार गरियो भने, यो सुगर, प्रेसर वा थाइराइड जस्ता रोगहरू भन्दा पनि सजिलै नियन्त्रण गर्न सकिन्छ । रोकथामका लागि तीन मुख्य कुराहरू महत्वपूर्ण छन् खानपान, आराम र व्यायाम । यीमध्ये खानपानलाई विशेष ध्यान दिनुपर्छ किनकि यसले शरीरका कोषहरूमा प्रत्यक्ष प्रभाव पार्छ ।

विश्व स्वास्थ्य संगठन र अन्य संस्थाहरूका अनुसार, क्यान्सरको करिब ३०–५० प्रतिशत मामिलाहरू जीवनशैली र खानपानसँग सम्बन्धित हुन्छन् ।

फलफूल, तरकारी, ताजा खानेकुरा तथा सिड्सहरूको नियमित सेवनले क्यान्सरको जोखिम घटाउँछ भनिएको छ । यसले एन्टिअक्सिडेन्ट्स, फाइबर, भिटामिन र मिनरल्स प्रदान गर्छ जसले सेलहरूलाई क्षति हुनबाट बचाउँछ । फलफूल र तरकारीहरूको बढी सेवनले कोलोन क्यान्सरको जोखिम घटाउने कुरा अध्ययनले देखाएको छ ।

राम्रो खानपान : नेपाली परम्परागत आहार

विश्वका अन्य ठाउँका खाना भन्दा नेपाल तथा भारतीय प्रायद्धीपको परम्परागत खाना सन्तुलित मानिन्छ । हामीले नियमित खाने खाना भातमा कार्बोहाइड्रेट, दालमा प्रोटिन, तरकारीमा फाइबर, भिटामिन र मिनरल्स पाइन्छ । यससँगै अचार वा कागतीले भिटामिन सी प्रदान गर्छ, जसले रोगप्रतिरोधि प्रणालीलाई बलियो बनाउँछ । यो आहारलाई निरन्तरता दिँदा शरीरलाई आवश्यक पोषक तत्वहरू मिल्छन् र क्यान्सरको जोखिम कम हुन्छ ।

थप तथ्यहरूले यसलाई समर्थन गर्छन् । मेयो क्लिनिकका अनुसार, फलफूल र तरकारीहरूको नियमित सेवनले दीर्घकालीन तथा नसर्ने रोगहरूको जोखिम घट्छ । अमेरिकन इन्स्टिच्युट फर क्यान्सर रिसर्चले पनि भन्छ कि- तरकारी, फलफूल, सवुत अन्न र सिड्डहरू भरिएको आहारले विभिन्न क्यान्सरहरू जस्तै ब्रेस्ट, कोलोरेक्टलको जोखिम घटाउँछ ।

उदाहरणका लागि, दूध र यसबा६ उत्पादिन खानाले क्याल्सियम प्रदान गर्छ जसले कोलोरेक्टल क्यान्सरको जोखिम १३ प्रतिशतसम्म घटाउँछ । गहुँ, जौ ले पनि कोलोरेक्टल क्यान्सरको जोखिम १६ प्रतिशत घटाउँछ भन्ने कुरा अध्ययनमा देखिएको छ ।

नराम्रो खानपान : जोखिम बढाउने कारकहरू

बासी सडेगलेको खानेकुरा, एउटै तेल बारम्बार प्रयोग गरेर पकाएको खानेकुरा वा धुँवामा पकाएको सेकुवा जस्ता खानाहरूले क्यान्सरको जोखिम बढाउँछन् किनकि यिनीहरूमा क्यान्सर उत्पन्न गर्ने तत्व कार्सिनोजेन पाइन्छन् । धेरै आगोमा पकाएको वा धुवाँधुलोमा तयार पारिएको खानाले कार्बन मोनोक्साइड जस्ता हानिकारक तत्वहरू उत्पादन गर्छ।

धुम्रपान र मध्यपानबाट बच्दा ९० प्रतिशतसम्म क्यान्सर र अन्य दीर्घरोगहरूको जोखिम घटाउन सकिन्छ । अल्कोहलले आन्द्रा, स्तन, भोजन नली, कलेजो आदि क्यान्सरको जोखिम बढाउँछ । विश्व क्यान्सर रिसर्च फन्डका अनुसार प्रशोधित मासुहरू जस्तै ससेज, सलामी र रेड मिटको बढी सेवनले ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउँछ ।

चिनीको बढी सेवनले सिधै क्यान्सर नगराए पनि मोटोपन बढाउँछ जसले क्यान्सरको जोखिम बढाउँछ ।

तेलको प्रयोगमा पनि सावधानी अपनाउनु पर्छ । एउटै तेलको प्रयोग बारम्बार गर्दा, धुवाँ आउने गरी तताएको तेल वा डिप फ्राई गरिएको तेलले कार्सिनोजेन उत्पादन गर्छ र क्यान्सरको जोखिम बढाउँछ । तर ओलिभ आयल जस्ता हेल्दी तेलहरूले जोखिम घटाउँछन् यदि सही तापक्रममा प्रयोग गरियो भने ।

मोटोपन र जीवनशैलीको प्रभाव

मोटोपन क्यान्सरको प्रमुख कारक हो जसले एसोफेजस, कलेजो, मलाशय, प्यान्क्रियास, प्रोस्टेट र ब्रेस्ट क्यान्सर बढाउँछ । मोटोपनले बोसोमा कार्सिनोजेन र अतिरिक्त हर्मोनहरू उत्पादन गर्छ जसले सेलहरूलाई प्रभावित गर्छ । उदाहरणका लागि, महिलाहरूमा मोटोपनले ब्रेस्ट क्यान्सरको जोखिम बढाउँछ ।

एमडी एन्डर्सन क्यान्सर सेन्टरका अनुसार, स्वस्थ आहारले मोटोपन नियन्त्रण गर्छ र क्यान्सरको जोखिम घटाउँछ । फिजिकल एक्टिभिटी र नियमित आरामले पनि यसमा सहयोग गर्छ । लामो समय बसिरहँदा हिँडडुल गर्नुपर्छ । परम्परागत जीवनशैली जस्तै राति छिट्टै सुत्ने र बिहान छिट्टै उठ्नेले प्राकृतिक सन्तुलन कायम राख्छ ।

थप वैज्ञानिक तथ्यहरू र सिफारिसहरू

एचपिभी भाइरसको कारण हुने क्यान्सरहरुबाट बच्न एचपिभी खोप लगाउन सकिन्छ । साथै हेपटाइटिस खोप लगाएपछि हेपाटाइटिस–बी भाइरसको कारण हुने कलेजोको क्यान्सरबाट बच्न सकिन्छ।

दैनिक फलफूल र तरकारीहरूको सेवनले क्यान्सरको जोखिम २० प्रतिशत घटाउँछ । सवुत अन्न र तरकारीहरूबाट पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्छ र कोलोरेक्टल क्यान्सरको जोखिम घटाउँछ।

हरियो तरकारीहरूमा पाइने एन्टिअक्सिडेन्ट्स तत्वहरूले सेल क्षति रोक्छन् । तर, कुनै एकल खाना होइन समग्र आहार महत्वपूर्ण छ । कुनै एक खानाले मात्र क्यान्सर रोक्ने वा लाग्ने भन्ने हुँदैन ।

आहारलाई व्यक्ति अनुसार मिलाएर खान सकिन्छ । जसमा व्यक्तिको जेनेटिक बनावट, उमेर, लिङ्ग, तौल, जीवनशैली, शारीरिक सक्रियता तथा विद्यमान रोगको अवस्थालाई आधार मानिन्छ । यसरी व्यक्तिगत आवश्यकता र स्वास्थ्य अवस्थाअनुसार मिलाइएको आहारले रोग नियन्त्रणमा सहयोग गर्नुका साथै समग्र स्वास्थ्य सुधार गर्न मद्दत पुर्‍याउँछ।

आहार क्यान्सर खानपान
डा. अरुण शाही
लेखक
डा. अरुण शाही
क्यान्सररोग विशेषज्ञ

डा. शाही हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस, एमडी मेडिकल अन्कोलोजी (बंगलादेश) र महामारी विज्ञानमा एमपीएच गरेका छन् । साथै भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबाट मेडिकल अन्कोलोकीको तालिम लिएका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर  १०९५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सर लाग्नुमा खानपानको भूमिका कति ?

क्यान्सर लाग्नुमा खानपानको भूमिका कति ?

नेपाल क्यान्सर अस्पतालमा मनाइयो अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस

नेपाल क्यान्सर अस्पतालमा मनाइयो अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस

यौनइच्छा कम हुने समस्या बढ्दै, कुनै तरिका छ बढाउने ?

यौनइच्छा कम हुने समस्या बढ्दै, कुनै तरिका छ बढाउने ?

बजारमा छ्यापछ्याप्ती ‘ट्रान्सफ्याट’ युक्त खाना, मुटु र मस्तिष्कले तिर्दैछ जुर्माना

बजारमा छ्यापछ्याप्ती ‘ट्रान्सफ्याट’ युक्त खाना, मुटु र मस्तिष्कले तिर्दैछ जुर्माना

मेडिकल काउन्सिलले तोक्यो फेलोसिप गर्ने चिकित्सकलाई न्यूनतम पारिश्रमिक

मेडिकल काउन्सिलले तोक्यो फेलोसिप गर्ने चिकित्सकलाई न्यूनतम पारिश्रमिक

होलीमा प्रयोग हुने रङ, छालामा पर्ने असर र सुरक्षित रहने उपाय

होलीमा प्रयोग हुने रङ, छालामा पर्ने असर र सुरक्षित रहने उपाय