News Summary
Generated by OK AI. Editorially reviewed.- आजका कृत्रिम रङहरूमा क्रोमियम, मर्करी, लेडजस्ता भारी धातु मिसिएका हुन्छन् जसले छाला र स्वास्थ्यमा जोखिम पुर्याउँछन्।
- होली खेल्नुअघि मोइस्चराइजर लगाउनु, सनस्क्रिन प्रयोग गर्नु र प्राकृतिक रङ रोज्नु स्वास्थ्य संरक्षणका मुख्य उपाय हुन्।
होली केवल रङ खेल्ने पर्व मात्र होइन, यो वसन्तको आगमन, सामाजिक मेलमिलाप र खुसीहरूको उत्सव हो । यो पर्व धार्मिक–सांस्कृतिक महत्वसँग पनि जोडिएको छ । पछिल्ला वर्षहरूमा होलीसँगै जोडिने रङहरूको स्वरूप बदलिँदै गएको छ । प्राकृतिक फूल, बोटबिरुवा र माटोबाट बन्ने रङहरू क्रमशः हराउँदै गएका छन् र बजारमा पाइने रासयनिक रङहरूको प्रयोग बढेको छ । होलीपछिका दिनमा हरेक वर्ष छाला, आँखा र कपालसम्बन्धी समस्याहरू उल्लेख्य रूपमा वृद्धि भएका अनुभवले समेत देखाउँछ ।
यही अनुभव र वैज्ञानिक आधारमा यो लेख रङहरूको प्रकार, तिनको रासायनिक उत्पत्ति, स्वास्थ्य जोखिम र रोकथामका उपायहरूमा केन्द्रित गरेको छु ।
परम्परागत होलीमा प्रयोग हुने रङहरू प्रायः प्राकृतिक हुन्थे । पहेँलोका लागि बेसार, केसर वा पहेला फूलहरूको प्रयोग हुन्थ्यो । रातोका लागि पलाश जस्ता राता फूल, हरियोका लागि पालुंगो वा मेथीका पात । नीलोका लागि इन्डिगो निल पाउडर जस्ता स्रोत प्रयोग गरिन्थे । यस्ता रङहरू छालामैत्री, पानीमा सजिलै घुलिने र वातावरणमैत्री थिए ।
औद्योगिक उत्पादनसँगै रङहरूको मूल चरित्र नै बदलियो । आज बजारमा उपलब्ध धेरै रङहरू कपडा र प्लास्टिक रङग्याउन प्रयोग हुने औद्योगिक डाइहरूबाट बनेका हुन्छन् । यिनलाई छालामा प्रयोग गर्दा हुने जोखिमबारेको चेतावनी न त प्याकेटमा लेखिएको पाइन्छ न उपभोक्तालाई जानकारी हुन्छ ।
रासायनिक दृष्टिले हेर्दा, होलीका कृत्रिम रङहरूमा विभिन्न भारी धातु र कृत्रिम पिग्मेन्ट मिसाइएका हुन्छन् । उदाहरणका लागि, हरियो रङमा प्रायः क्रोमियम अक्साइड, रातो रङमा मर्करी सल्फाइड वा रोडामाइन–बी, कालो रङमा लेड अक्साइड, नीलो रङमा प्रुशियन ब्लू, र पहेँलो रङमा लेड क्रोमेट भेटिन्छ । यी पदार्थहरू छालाको सतहमा मात्र सीमित नरही छालाभित्र प्रवेश गर्न सक्छन् । विशेष गरी छालामा स-साना घाउ हुने, डन्डिफोर आउने, एलर्जी तगा वा सुख्खापन समस्या निम्त्याउन सक्छन् । रङहरूलाई चिल्लो बनाउन प्रयोग गरिने इन्जिन आयल, डिजेल, वा सस्तो मिनरल आयलले समस्या झन् बढाउँन सक्छ ।
छालामा पर्ने असर तत्काल हुने र ढिलो गरी हुने दुवै प्रकारका हुन सक्छन् । तत्काल असरका रूपमा जलन हुने, पोल्ने, रातोपन आउने, चिलाउने सुन्निने, फोका तथा बिमिराहरू देखिने हुनसक्छ । यसलाई इरिटेन्ट वा एलर्जिक कन्ट्याक्ट डर्माटाइटिस भनिन्छ । कतिपय व्यक्तिमा रङ लगाएको केही मिनेटमै चिलाउने र डाबर देखिने समस्या हुन्छ ।
पहिले नै छालासम्बन्धी समस्याहरू जस्तै: एटोपिक डर्माटाइटिस, सोरायसिस, डनडिफोर , चायापोतो वा सेतोदुभी, लुपस आदि भएका व्यक्तिहरूलाई यस्ता रङ झन हानिकारक हुन्छ ।
ढिलो देखिने असरहरूमामा पोस्ट–इन्फ्लेमेटरी हाइपरपिग्मेन्टेसन (छालामा कालोपन), छाला पातलो हुनु, वा दीर्घकालीन एलर्जी हुनु आदि पर्छन् ।
कुनै भारी धातुहरू लामो समयसम्म शरीरमा जम्मा भई भित्री शरीरमा असरसमेत पार्न सक्छन् ।
छालामात्र होइन, आँखा र कपाल पनि रङको प्रत्यक्ष शिकार बन्छन् । आँखामा परेका रासायनिक रङले कन्जक्टिभाइटिस, कोर्नियल इरोजन, प्रकाशप्रति संवेदनशीलता वा दृष्टि धमिलो हुने समस्या निम्त्याउन सक्छ । कपालमा रङ र चिल्लो रसायन जम्दा कपाल सुख्खा हुने, कपाल टुक्रिने वा भाँचिने, चाया बढ्ने र कपाल झर्ने समस्या देखिन्छ ।
दम वा एलर्जी भएका व्यक्तिमा रङको धुलो साससँगै फोक्सोमा पुग्दा खोकी, सास फेर्न गाह्रो हुने जस्ता समस्या उत्पन्न हुन सक्छन् ।
रङको प्रयोगमा कस्तो सावधानी अपनाउने ?
यी सबै जोखिम हुँदाहुँदै पनि होली मनाउनु हुँदैन भन्ने चाहिँ होइन । समस्या रङको छनोट र प्रयोगको तरिकामा हुन्छ । रोकथामका उपायहरू सरल तर प्रभावकारी छन् । होली खेल्नुअघि छालामा पर्याप्त मोइस्चराइजर वा नारिवलको तेल लगाउँदा रङ छालाभित्र पस्न गाह्रो हुन्छ ।
घाममा खेल्दा सनस्क्रिन प्रयोग गर्नु महत्त्वपूर्ण छ, किनकि रासायनिक रङ र घामको संयुक्त असरले छालामा बढी असर हुन्छ । नङ छोटा राख्नु र ओठमा लिप बाम लगाउनु अझ उपयोगी उपाय हुन् । आँखाको सुरक्षाका लागि कन्ट्याक्ट लेन्सभन्दा चस्मा बढी सुरक्षित हुन्छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको रङको छनोट हो । सकेसम्म प्रमाणित हर्बल वा घरमै बनाइने प्राकृतिक रङ प्रयोग गर्नुपर्छ । ‘कडा’, ‘स्थायी’ वा ‘चिल्लो’ भनेर बेचिने सस्ता रङहरूबाट टाढा रहनु बुद्धिमानी हुन्छ । बालबालिकाको छाला अझ संवेदनशील हुने भएकाले उनीहरूलाई विशेष सावधानी आवश्यक हुन्छ । गर्भवती महिला, छालाका दीर्घरोग भएका र औषधि प्रयोग गरिरहेका व्यक्ति सकेसम्म रङको सम्पर्कमा नआउँनु नै राम्रो हुन्छ ।
कसरी सफा गर्ने ?
होलीपछि छाला सफा गर्ने तरिका पनि उत्तिकै महत्त्वपूर्ण छ । बलपूर्वक रगडेर साबुनले धुँदा छालाको सुरक्षात्मक तह झन् बिग्रिन्छ । पहिला साधारण पानी वा माइल्ड क्लिन्जरले बिस्तारै रङ हटाउने, त्यसपछि मोइस्चराइजर लगाउनु राम्रो हुन्छ । कपालका लागि माइल्ड स्याम्पु र कन्डिसनर पर्याप्त हुन्छ । यदि रङ हटाउन गाह्रो भयो भने केही दिन पर्खेर प्राकृतिक रूपमा फिका हुन दिनु राम्रो, रासायनिक रिमुभर प्रयोग गर्नु हुँदैन । जलन भएमा, छालामा फोका देखिएका वा सहननै नसक्ने गरी चिलाएमा तुरुन्त डर्माटोलोजिस्टको सल्लाह लिनु आवश्यक हुन्छ ।
होलीको मूल मर्म रङको कडापनामा होइन, सम्बन्धको मिठासमा छ । प्राकृतिक रङतर्फ फर्किनु, सुरक्षित अभ्यास अपनाउनु र अरूको स्वास्थ्यको सम्मान गर्नु नै आजको आवश्यकता हो ।
प्रतिक्रिया 4