+

कस्तो अन्डा खाँदै हुनुहुन्छ ? म्याद गुज्रिएको हुन सक्छ

२०८२ माघ  २६ गते १७:४२ २०८२ माघ २६ गते १७:४२

म्याद गुज्रेको अन्डामा साल्मोनेला भन्ने ब्याक्टेरिया रहन सक्छ । जसले पाचन प्रणालीमा असर पर्छ र पखाला जस्ता समस्या निम्त्याउछ ।

कस्तो अन्डा खाँदै हुनुहुन्छ ? म्याद गुज्रिएको हुन सक्छ

तपाईं बजारमा अन्डा किन्दा के कुरामा ध्यान दिनुहुन्छ ? पक्कै पनि त्यसको आकारमा । अर्थात् ठूलो छ वा छैन ? ठूलो भए ठिकै छ । त्यसपछि तपाईंको ध्यान जान्छ, चर्किएको छ वा छैन ? अन्डा फुटेको छैन । यति भए तपाईं ढुक्क हुनुहुन्छ ।  तर, यो ढुक्क हुने स्थिति होइन । किनभने अण्डा कहिले उत्पादन भएको हो ? खासमा सोधीखोजी गर्नुपर्ने प्रश्न यही हो । किनभने अन्य खाद्यवस्तुको जस्तै अन्डाको पनि उपभोग्य मिति अर्थात् एक्स्पायरी डेट हुन्छ ।

अन्डा एक निश्चित अवधिसम्म ताजा हुन्छ, त्यसपछि त्यो कुहिन वा बिग्रिन थाल्छ । अन्डा क्रमशः पुरानो हुँदै जाँदा त्यो खानै नहुने वस्तुमा रूपान्तरण हुन्छ । त्यस्तो अन्डा खानुभएमा पोषक तत्व प्राप्त हुँदैन, बरू शरीरलाई हानि गर्ने विकार प्राप्त हुन्छ । विकसित देशहरूमा अन्डाको प्रत्येक दानामा छाप लगाइन्छ, जसले उत्पादन विवरण, प्रकार र आयु स्पष्ट गर्छ । तर नेपालमा यसको अभावले ठगी, स्वास्थ्य जोखिम र गुणस्तरहीन उत्पादनको समस्या निम्त्याइरहेको छ ।

नेपालमा अन्डा दैनिक उपभोगको एक अत्यावश्यक वस्तु हो । प्रतिदाना २०-२५ रुपैयाँ पर्ने यो पोषणयुक्त खाद्य पदार्थले प्रोटिन, भिटामिन र अन्य आवश्यक तत्वहरू प्रदान गर्छ, तर यसको गुणस्तर र सुरक्षा सुनिश्चित गर्न लेबलिङको अभावले उपभोक्तालाई जोखिममा पारिरहेको छ ।

अन्डाको लेबलिङको आवश्यकता किन छ ? यसले उपभोक्तालाई दिने फाइदा, स्वास्थ्य जोखिमको मुद्दालाई गहन रूपमा विश्लेषण गर्न जरुरी छ ।

सबैभन्दा रोचक कुरा के छ भने, अण्डाको ताजा आयु सामान्य तापक्रममा मात्र ७ देखि १५ दिन हुन्छ, तर नेपालमा यसको कुनै मापदण्ड छैन । विभिन्न अध्ययनहरूले देखाएअनुसार राम्रो भण्डारण हुँदा अन्डा डेढ महिनासम्म टिक्न सक्छ, तर म्याद गुज्रेका अन्डाले साल्मोनेला संक्रमण र फुड प्वाइजनिङको समस्या निम्त्याउन सक्छ ।

विकसित देशका सुपरमार्केटहरूमा २८ दिनको एक्सपायर्ड डेट राखिन्छ, तर नेपालका अधिकांश पसलहरूमा अन्डा खुला टोकरीमा बेचिन्छ, जसले गुणस्तर सुनिश्चित गर्दैन । अन्तर्राष्ट्रिय स्तरमा प्रत्येक अन्डामा उत्पादन विवरणको छाप लगाइन्छ, जसले उपभोक्तालाई ‘केज–फ्री’ वा ‘केज्ड’ प्रकारको जानकारी दिन्छ । केज–फ्री कुखुराको अन्डामा पोषण तत्व बढी हुन्छ, जसले स्वास्थ्यलाई बढी फाइदा पुर्‍याउँछ । तर नेपालमा अन्डाको उत्पादन मिति पनि उल्लेख हुँदैन ।

उपभोक्ता संरक्षण मञ्चका महासचिव तथा अधिवक्ता विष्णु तिमल्सिनाका अनुसार, लेबलिङलाई उत्पादनको ‘भिसा’ भनेर बुझ्न सकिन्छ । बजारमा जाने कुनै पनि खाद्य वस्तुमा लेबल नलागेको भए उत्पादनको विश्वसनीयता हुँदैन ।

प्रत्येक वस्तुमा उत्पादन मिति र उपभोगयोग्य मिति उल्लेख हुनुपर्छ, जसले गर्दा उपभोक्ताले गुणस्तरयुक्त उत्पादन प्राप्त गर्न सकुन् । ‘कुनै पनि खाद्य वस्तु अनन्तकालसम्म खान योग्य हुँदैन’ तिमल्सेना भन्छन्, ‘अन्डा जस्तो पोषणयुक्त र महँगो वस्तु प्रतिदाना २०–२५ रुपैयाँ तिरेर किन्दा र भण्डारण गर्दा पनि उपभोग योग्य हुनुपर्छ ।’

नेपालमा ठूला सुपरमार्केटहरूमा कहिलेकाहीँ लेबल लागेका अन्डा देखिन्छन्, तर तिनमा पनि कम्पनीको विशेष स्ट्यान्डर्ड नहुँदा यसलाई भरपर्दो मान्न सकिँदैन । ठूला कार्टुनमा फार्मको नाम उल्लेख हुन्छ, तर उत्पादन मिति हुँदैन । खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी ऐनमा लेबल अनिवार्य भनिए पनि कार्यान्वयन भएको नभएको अधिवक्ता तिमल्सिना बताउँछन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन र कारबाही नगरेको उनको गुनासो छ ।

गुणस्तर सम्बन्धी नीति तथा कानुनी व्यवस्था

नेपालमा उपभोक्ता संरक्षण र खाद्य गुणस्तर सुनिश्चित गर्न विभिन्न कानुनी व्यवस्था छन् । नेपालको संविधानको धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने मौलिक हक प्रदान गरेको छ, जसमा गुणस्तरहीन वस्तुबाट क्षति भएमा क्षतिपूर्ति पाउने अधिकार समावेश छ । उपभोक्ता संरक्षण ऐन, २०७५ ले उपभोक्ताको अधिकारलाई थप मजबुत बनाएको छ, जसमा गुणस्तर, लेबलिङ, मिति र जानकारीको अधिकार उल्लेख छ ।

यो ऐनले उत्पादकले लेबल अनिवार्य गर्ने, मूल्य, गुणस्तर, मापन र विज्ञापन नियमन गर्ने व्यवस्था गरेको छ । यसबाहेक, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले खाद्य पदार्थको लेबलिङ, उत्पादन मिति, एक्सपायरी डेट, सामग्री र सुरक्षा सुनिश्चित गर्नुपर्ने प्रावधान राखेको छ ।

उपभोक्ता संरक्षण मञ्चको सर्वेक्षणअनुसार, अधिकांश पसलहरूमा अन्डा खुला रूपमा बिक्री हुन्छ, विशेष गरी तराई क्षेत्रमा टोकरीमा राखेर बिक्री गरिन्छ । यसले गुणस्तर सुनिश्चित हुन दिँदैन । लेबलिङले उपभोक्तालाई ठगिनबाट बचाउँछ, गुणस्तर सुनिश्चित गर्छ, अनुगमन प्रभावकारी बनाउँछ र व्यवसायीलाई जिम्मेवार बनाउँछ ।

‘नेपालमा पनि लेबलिङ अनिवार्य गर्न सरकार जिम्मेवार हुनुपर्छ’ तिमल्सिना भन्छन्, ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्ड तोकेर अनुगमन गर्नुपर्छ ।’ लेबलिङ लगाउँदा लागत बढ्ने भन्ने उत्पादकहरूको बहाना अनावश्यक भएको उनको भनाइ छ । ‘नियम पालना गर्नु उनीहरूको कर्तव्य हो, उपभोक्ताले उचित मूल्य तिर्छन्’ तिमल्सिना भन्छन्, ‘कानुनको कडाइसाथ पालना गराउनु राज्यको दायित्व हो । यसले उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षण गर्छ ।’

पुरानो अण्डा किन हानिकारक हुन्छ ?

म्याद गुज्रेको वा अनुपयुक्त वातावरणमा राखिएको अन्डामा साल्मोनेला भन्ने ब्याक्टेरिया रहन सक्छ । यसको प्रयोगले साल्मोनेला संक्रमण हुन्छ, जसले पाचन प्रणालीमा असर पर्छ र पखाला जस्ता समस्या निम्त्याउछ । पेट तथा कलेजो रोग विशेषज्ञ डा. खलिल मियाका अनुसार यो संक्रमणले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

कतिपय उपभोक्ताहरू सचेत नहुँदा सस्तो मूल्यमा धेरै अन्डा किनेर स्टक गर्छन्, जसले गर्दा अन्डाको पोषण मूल्य क्रमशः घट्दै जान्छ। उत्पादक र व्यवसायीहरूको दायित्व हुन्छ कि उनीहरूले असल उत्पादन तथा बिक्री अभ्यास अपनाऊन्। उत्पादन मिति स्पष्ट रूपमा उल्लेख गरी ‘पहिले उत्पादित, पहिले बिक्री’ सिद्धान्त लागु गर्नुपर्छ भन्ने तिमल्सिनाको भनाइ छ।

वरिष्ठ पशु चिकित्सक विनय कर्णका अनुसार, कुखुराको अन्डा मुख्यतः दुई प्रकारका हुन्छन्: फर्टिलाइज्ड (सेचित) र अनफर्टिलाइज्ड (असेचित)। फर्टिलाइज्ड अन्डाबाट चल्ला निस्कन सक्छ र त्यसमा भ्रूण विकास हुन्छ । जसलाई क्यान्डलिङ विधिबाट जाँच गर्न सकिन्छ। तर बजारमा उपलब्ध अधिकांश अन्डा असेचित (अनफर्टिलाइज्ड) नै हुन्छन्, जसमा भ्रूण विकास सम्भव हुँदैन।

फार्मबाट उत्पादित अन्डा बजार हुँदै उपभोक्तासम्म पुग्दा यसको आयु प्रभावित हुन्छ’ कर्ण भन्छन्, ‘सामान्यतया घरमा ल्याएपछि ३ देखि ५ हप्तासम्म खान योग्य रहन्छ । तर यो अवधि वातावरणीय तापक्रम, आर्द्रता र भण्डारण विधिमा निर्भर गर्छ । गर्मी ठाउँमा यो चाँडै बिग्रन सक्छ ।’

अन्डा किन्ने बेला उपभोक्ताले गुणस्तर जाँच्नुपर्छ भन्ने कर्णको सुझाव छ। उनका अनुसार अन्डाको बाहिरी बोक्रा सफा, चिल्लो, सुली नलागेको र कडा हुनुपर्छ । यदि बोक्रा कमजोर छ वा रगतका थोपाहरू छन् भने भित्र मासुको डल्लो हुन सक्छ, जसले ब्याक्टेरिया वृद्धि गराउँछ र स्वास्थ्य जोखिम बढाउँछ । यदि अन्डामा यस्ता संकेत छन् भने बुझ्नुपर्छ कि– कुखुरामा कुनै रोग छ ।

कुखुराको अन्डामा एन्टिबायोटिक सर्छ कि सर्दैन ?

विभिन्न संक्रमणहरूबाट बच्न कुखुरालाई एन्टिबायोटिकहरू दिइन्छ । कुखुरालाई दिइने एन्टिबायोटिक वा ग्रोथ हर्मोनहरू सामान्यतया अन्डामा अवशेषका रूपमा नरहने वरिष्ठ पशु चिकित्सक विनय कर्ण बताउँछन् । ओभेरियन बेरियरले यसलाई रोक्ने भएकाले अन्डामा एन्टिबायोटिकका अवशेष नहुने उनको भनाइ छ । तर मासुमा भने अवशेष बस्न सक्ने उनले जानकारी दिए । ‘तर पनि, केही प्याथोजनहरू (रोगाणु) अन्डामा आउन सक्छन्’ कर्ण भन्छन्, ‘साल्मोनेला जस्ता ब्याक्टेरिया अन्डामा सामान्य हुन सक्छन्, जसका करिब २६०० प्रजाति छन् र यसले इन्टेराइटिस वा फूड प्वाइजनिङ गराउन सक्छ।’

स्वस्थ कुखुराको अन्डा म्यादभित्र प्रयोग गर्दा जोखिम कम हुन्छ—३–५ हप्तापछि एजिङ र वातावरणीय प्रभावले बिग्रन सक्छ, तर साल्मोनेला बढ्ने ठोस वैज्ञानिक प्रमाण छैन। यद्यपि, लामो समय राख्दा जैविक सामग्री बिग्रने सम्भावना रहन्छ। उमालेर खाँदा साल्मोनेला लोड घट्छ र सुरक्षित हुन्छ, तर आम्लेट वा काँचो खाँदा जोखिम बढ्छ, कर्णले बताए।

कर्ण भन्छन्, ‘अण्डा ग्रेडिङ साइज अनुसार हुन्छ: ठूलो (६२–६५ ग्राम), मझौला (५४–५५ ग्राम) र सानो (४०–४५ ग्राम)। नेपालमा ग्रेडिङ प्रणाली छ कि छैन भन्नेमा जानकारी कम छ, तर व्यवसायीहरूले क्रेट वा बक्समा ग्रेड र उत्पादन मिति अंकित गर्नुपर्छ, जसले उपभोक्तालाई जानकारी दिन्छ।’

विकासे (लेयर्स) कुखुराले ५ महिनादेखि अन्डा दिन्छन्, जबकि रैथानेले १–१.५ वर्षपछि। यो जेनेटिक सुधार र चयनबाट भएको हो। ग्रोथ प्रमोटरले चाँडो विकास गराउँछ तर अण्डामा नजाने कर्णले बताए। ‘समग्रमा, उपभोक्ताले गुणस्तर जाँच, म्याद र भण्डारणमा ध्यान दिई अण्डा प्रयोग गर्दा स्वास्थ्य जोखिम कम हुन्छ।’

अन्डाको गुणस्तरमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या निम्तिन सक्छ। वरिष्ठ पोषणविद् भुपाल बानियाँका अनुसार, अन्डा बिक्री गर्दा उत्पादन मिति, एक्सपायरी डेट र उत्पादन स्थल उल्लेखित लेबलिङ अनिवार्य रूपमा हुनुपर्छ, जसले उपभोक्तालाई गुणस्तरीय र सुरक्षित उत्पादन छनोट गर्न सहयोग गर्छ। उनी भन्छन्, ‘ठूला सुपरमार्केटहरू (भाटभटिनी वा बिग मार्ट) मा मात्र नभई खुद्रा पसलहरूमा पनि यो लेबलिङ आवश्यक छ, किनकि सबै उपभोक्ता ठूला पसलहरूमा मात्र पुग्दैनन्।’

पोषणको दृष्टिकोणबाट अन्डा अत्यन्त उपयोगी छ, जसमा उच्च जैविक मूल्यको प्रोटिन, भिटामिन डी र अन्य पोषक तत्वहरू हुन्छन्, तर यसमा कन्टामिनेसनको जोखिम पनि उच्च रहन्छ। अन्डाको बाहिरी भागमा सुली वा हातले समात्दा कन्टामिनेसन हुन सक्छ, जसले साल्मोनेला जस्ता ब्याक्टेरियाको संक्रमण निम्त्याउन सक्छ।

नेपालमा अन्डा आधा उमालेर वा सेमी-बोइल गरेर खाने प्रचलन बढी छ, जसमा १० मिनेटभन्दा कम उमाल्दा भित्री भाग राम्रोसँग पकाउन नसक्दा ब्याक्टेरियाले फूड प्वाइजनिङ, टाइफस वा साल्मोनेला संक्रमण जस्ता समस्या उत्पन्न गर्न सक्छ, पोषणविद् बानियाँले बताए। एक्सपायरी डेट नभएको पुरानो अन्डाले पोषण मूल्य घटाउँछ र स्वास्थ्यलाई हानि पुर्‍याउँछ। त्यसैले उत्पादकहरूले उत्पादन मिति, उपभोग्य मिति नियम पालना गर्दै हाइजिन, सेनिटाइजेसन र सफाइमा विशेष ध्यान दिनुपर्छ।

विदेशहरूमा अन्डाको प्याकेजिङ र गुणस्तरलाई लिएर बारम्बार मुद्दा उठ्ने गरेका छन्, तर नेपालमा स्थानीय उत्पादन बढ्दै गएको सन्दर्भमा सरकार र पोल्ट्री फार्महरूले लेबलिङ तथा माइक्रोबियल जाँचलाई अनिवार्य बनाउनुपर्छ, बानियाँले बताए। ‘उपभोक्ताहरूले पनि सुली नभएको, एक्सपायरीभित्रको र सफा अन्डा छनोट गर्दै खानेकुरामा गुणस्तरलाई प्राथमिकता दिनुपर्छ, किनकि पोषणयुक्त खानेकुरा खाँदा मात्र पोषण प्राप्त हुन्छ, अन्यथा जोखिम बढ्छ,’ बानियाँले भने। ‘नेपालमा अन्डा उत्पादन आत्मनिर्भर हुँदै गए पनि साना किसानहरूलाई लेबलिङको लागि सहयोग आवश्यक छ, जसले समग्र खाद्य सुरक्षा बढाउँछ।’

पोषणविद् प्रविण भट्टराईका अनुसार पनि अन्डालाई पोषणको दृष्टिकोणबाट अत्यन्त उत्कृष्ट खाद्य पदार्थ मानिन्छ, जसमा उच्च गुणस्तरको प्रोटिन र अन्य पोषक तत्वहरू पाइन्छन् । तर यसको गुणस्तरमा ध्यान दिन जरुरी छ । भट्टराईका अनुसार आयुर्वेदमा अन्डाको आयु २४ देखि ४८ घण्टासम्म मात्र हुने उल्लेख छ, तर व्यावहारिक रूपमा यो सम्भव छैन किनकि उत्पादित अन्डाहरू त्यति समयमा बजारमा पुर्‍याउन सकिँदैन । उत्पादन भएको केही दिनपछि मात्रै बजारमा पुग्छ । ढुवानीकर्ता, होलसेल बिक्रेता हुँदै खुद्रा पसलसम्म पुग्दा बीचमा केही दिन गुज्रिइसकेको हुन्छ । किनेर घरमा पनि केही दिन राखिन्छ । बिग्रिन नदिन फ्रिजमा राख्ने चलन भए पनि त्यो उपाय त्यति उपयुक्त नभएको पोषणविद् भट्टराई बताउँछन् ।

‘अन्डाको सेल्फ लाइफ बढाउन फ्रिजमा राख्ने प्रचलन छ, जसले एक हप्ता वा दुई हप्तासम्म पनि प्रयोग गर्न सकिने बनाउँछ’ भट्टराई भन्छन्, ‘तर, आयुर्वेद र केही रिसर्चहरूले फ्रिजमा नराख्न सुझाव दिन्छन् किनकि यसले प्राकृतिक गुणमा असर पार्न सक्छ ।’

सेल्फ लाइफपछि पनि अन्डाको पोषक तत्वहरूमा ठूलो कमी नआउने र प्रोटिनको मात्रा तथा एमिनो एसिडहरूमा खासै फरक नपर्ने उनको भनाइ छ, तर काँचोभन्दा पकाएर खाँदा प्रोटिन राम्रोसँग पाच्छ । बजारमा पाइने अन्डा बिग्रिएको छ कि छैन भन्ने कुरा उपभोक्ताले नै जाँच्न सक्छन् । पोषणविद् भट्टराईका अनुसार अन्डा बिग्रिएको चिन्ने तरिका भनेको हल्लाउँदा धेरै हल्लिनु वा फुटाउँदा त्यसमा त्यसमा धब्बाहरू देखिनु हो । अन्डा बिग्रिनमा मौसम र भण्डारण गरिएको कोठाको तापक्रमको पनि मुख्य भूमिका हुने उनी बताउँछन् ।

अन्डाको गुणस्तर कसले जाँच गर्ने भन्ने टुंगो छैन । काठमाडौँ महानगरपालिकाका खाद्य अनुसन्धान अधिकृत अशोक पराजुलीका अनुसार, बजार अनुगमनका क्रममा अन्डाको गुणस्तर जाँच सामान्य रूपमा गरिँदैन, किनकि यस सम्बन्धी स्पष्ट ऐन, कानुन वा मापदण्डहरू उपलब्ध छैनन् । उनी भन्छन्, ‘उद्योग स्तरमा अन्डाको गुणस्तर नियमन भने खाद्य विभागबाट हुने गर्दछ, र अनुज्ञापत्र प्राप्त गर्नुपर्ने प्रावधान छ । यदि अन्डा प्याकेजिङ गरेर बजारमा आउँछ भने मात्र महानगरपालिकाले यसको जाँच गर्न सक्छ, अन्यथा गर्दैन ।’

यसैगरी, काँचो मासुको गुणस्तर पनि खाद्य विभागको क्षेत्राधिकारमा पर्दैन । यसलाई पशुपालन विभागले हेर्ने गर्दछ । तथापि, प्याकेजिङ भएर आएको मासुको हकमा भने महानगरपालिकाले अनुगमन र जाँच गर्न सक्छ । मुख्य समस्या भनेको गुणस्तर निर्धारणका लागि लिखित कानुन, राजपत्र वा स्पष्ट मापदण्डको अभाव हो, जसले जाँच गर्न सम्भव नहुने पराजुलीले बताए । यदि कानुन स्पष्ट भएमा सामान्य रूपमा अण्डा वा मासुको बाहिरी अवस्था (जस्तै फुटेको/नफुटेको) अनुगमन गर्न सकिन्छ । यस अभावले उपभोक्ताहरूलाई राम्रो वा नराम्रो गुणस्तरको अन्डा तथा मासु उपभोग गर्न बाध्य पार्दै आएको छ, जसलाई सम्बोधन गर्न कानुनी स्पष्टता आवश्यक छ ।

नेपालको खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ मा खुला अन्डाका लागि एक्सपायरी डेट अनिवार्य रूपमा लेख्नुपर्ने व्यवस्था नभएको खाद्य अनुसन्धान अधिकृत उज्जवल रायमाझीले बताए । खुल्ला अन्डाको मामिलामा एक्सपायरी डेट वा प्याक बिफोर डेट नलेखिए पनि कुहिएको गन्ध आउने, खोल फुटेको, चुहिएको वा अस्वाभाविक दाग भएको अण्डा बेच्न निषेध गरिएको छ, र यस्तो पाइएमा ऐनअनुसार कारबाही हुन्छ । अन्डा एक प्राकृतिक खाद्य पदार्थ हो जसको गुणस्तर भण्डारण अवस्थामा निर्भर रहन्छ, र कानुनले यसलाई मानव उपभोग योग्य अवस्थामा राख्न प्राथमिकता दिएको छ।

वैज्ञानिक अनुसन्धान र अन्तर्राष्ट्रिय कोडेक्स (खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संगठनको संयुक्त संस्था) का दिशानिर्देशहरूका आधारमा, अन्डालाई कोठाको तापक्रम २५ देखि ३० डिग्री तापक्रममा ७ देखि १० दिनसम्म सुरक्षित राख्न सकिन्छ । यदि ४ डिग्री सेल्सियस वा कममा फ्रिजिङ गरिराखेका ३–४ हप्तासम्म सफा र नफुटेको अवस्थामा भण्डारण गर्न सकिन्छ । उपभोक्ताहरूलाई अण्डा खरिद गर्दा यसको भौतिक गुणस्तर जाँच्न सल्लाह दिइन्छ, जसमा अन्डा सफा, नफुटेको, अस्वाभाविक दागरहित, आकारमा विकृति नभएको, ताजा गन्ध आउने र हल्लाउँदा असामान्य आवाज नआउने हुनुपर्छ ।

अन्डाको लेबलिङ नेपालमा उपभोक्ता संरक्षणको एक महत्वपूर्ण आवश्यकता हो । विज्ञहरूका मतबाट स्पष्ट हुन्छ कि यसले स्वास्थ्य जोखिम घटाउँछ, गुणस्तर सुनिश्चित गर्छ र कानुनी ढाँचा मजबुत बनाउँछ । सरकारले तत्काल मापदण्ड तोकेर अनुगमन बढाउनुपर्छ, जसले उपभोक्ताको अधिकार सुरक्षित गर्छ ।

अण्डा लेबलिङ
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय