News Summary
Generated by OK AI. Editorially reviewed.- सामान्य व्यक्तिमा अक्सिजन स्याचुरेसन ९५–९७ प्रतिशत हुनुपर्छ र ९० प्रतिशतभन्दा कम भएमा अक्सिजन सपोर्ट आवश्यक पर्छ।
- दम, फोक्सो समस्या भएका बिरामीमा ९०–९२ प्रतिशत अक्सिजन स्तर राख्नुपर्छ र ९० प्रतिशतभन्दा कम हुँदा तुरुन्त चिकित्सकीय ध्यान चाहिन्छ।
- अक्सिजन सपोर्टका लागि सिलिन्डर, कन्सन्ट्रेटर, मास्क वा नेजल क्यानुला प्रयोग गरिन्छ र चिकित्सकको सल्लाहबिना आफैं प्रयोग गर्नु हुँदैन।
हामी दिनमा दुई–तीन किलो खाना खान्छौं र पाँच लिटर जति पानी पिउँछौं । तर दिनभर सास फेर्दा आवश्यक पर्ने दशौं हजार लिटर अक्सिजनलाई भने हामीले कहिल्यै गनेका छैनौं ।
अक्सिजन बिना जीवन असम्भव छ, तर यसको महत्व हामी प्रायः बिरामी भएपछि मात्र बुझ्छौं । बढ्दो वायु प्रदूषणका कारण वायुमण्डलमा अक्सिजनको मात्रा घट्दै जाँदा धेरै मानिस अक्सिजन सपोर्टमा निर्भर हुन थालेका छन् ।
यस्तो अवस्थामा सामान्य मानिसको अक्सिजन लेभल कति हुनुपर्छ ? कहिले अक्सिजन मास्क वा सिलिन्डर आवश्यक पर्छ ? धेरै अक्सिजन पनि हानिकारक हुन्छ ?
यी प्रश्नहरूको जवाफ फोक्सो तथा दमरोग विशेषज्ञ डा. नवीनकुमार मिश्र यसरी दिन्छन् ।
मानिसको सामान्य अक्सिजन लेभल कति हुनुपर्छ ? सामान्य व्यक्तिमा अक्सिजन स्याचुरेसन (SpO₂) ९५–९७ प्रतिशतसम्म हुनुपर्छ । पल्स अक्सिमिटरबाट नाप्दा ९५ देखि ९७ प्रतिशत भए पर्याप्त मानिन्छ ।
९७ प्रतिशतभन्दा माथि हुनु अझ राम्रो हो। यो स्तरले शरीरमा पर्याप्त अक्सिजन पुगिरहेको संकेत गर्छ । तर यो उचाइमा पनि निर्भर गर्छ; उचाइमा जाँदा अक्सिजनको दबाब कम हुँदै जान्छ ।
कुन अवस्थामा अक्सिजन सपोर्ट (मास्क वा सिलिन्डर) आवश्यक पर्छ ? दीर्घरोगीहरू (दम, फोक्सोको समस्या, मुटु सुन्निएको, रगत बाक्लो भएको आदि) मा SpO₂ ९० प्रतिशतभन्दा कम भएमा अक्सिजन सपोर्ट आवश्यक पर्छ ।
सुत्दा सास फेर्ने मांसपेशीहरू कम सक्रिय हुने भएकाले राति झन् बढी आवश्यकता पर्छ । यदि ९० प्रतिशतभन्दा कम छ र सास फेर्न गाह्रो भइरहेको छ भने चिकित्सकको सल्लाहमा अक्सिजन दिनुपर्छ ।
सामान्यतया कम्तीमा १५ घण्टा, सकेसम्म २४ घण्टा दिनुपर्छ। तर यो आफैंले होइन, कारण हेरेर मात्र दिनुपर्छ (जस्तै: निमोनिया, दम आदि)। दमका बिरामीमा लक्ष्य ९०–९२ प्रतिशत हुन्छ ।
अक्सिजन लेभल कम भएपछि कुन स्तरलाई गम्भीर मानिन्छ ? ९० प्रतिशतभन्दा कमलाई संवेदनशील वा गम्भीर मानिन्छ ।
यस्तो अवस्थामा तुरुन्त चिकित्सकीय ध्यान चाहिन्छ, किनकि यो दम मात्र नभई निमोनिया, कोरोना जस्ता कारणले पनि हुन सक्छ । ९० प्रतिशत मुनि गएमा मुटु, मस्तिष्कलगायत अंगहरू प्रभावित हुन थाल्छन् ।
दमका बिरामीमा ९०–९२ प्रतिशत नै पर्याप्त हुन्छ, तर निमोनिया वा रुघाखोकी लागेको बेला ९५ प्रतिशत चाहिन्छ । सामान्य अवस्थामा भने ९५ प्रतिशतभन्दा माथि नै लक्ष्य राखिन्छ।
अक्सिजन कम हुँदा शरीरमा कस्ता लक्षण देखिन्छन्?
– सास फेर्न गाह्रो हुनु
– टाउको दुख्नु
– रिंगटा लाग्नु
– धमिलो देख्नु
– पक्षाघात वा हृदयघातको जोखिम बढ्नु
– रगत बाक्लो भएमा यी लक्षणहरू अझ बढी देखिन्छन् । सुत्दा झन् बढी प्रभाव पर्छ । यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई भेट्नुपर्छ ।
अक्सिजन सपोर्टका मुख्य उपायहरू के–के छन् ?
– अक्सिजन सिलिन्डर
– अक्सिजन कन्सन्ट्रेटर (इलेक्ट्रिक वा पोर्टेबल)
– मास्क वा नेजल क्यानुला
– प्रायः कन्सन्ट्रेटर शिफारिस गरिन्छ किनकि यो घरमा बिजुली भएसम्म आफैं अक्सिजन उत्पादन गर्छ । सिलिन्डर ब्याकअपका लागि राम्रो हुन्छ, विशेष गरी बत्ती गएमा वा बाहिर जाँदा ।
– पोर्टेबल (ब्याट्री सञ्चालित) कन्सन्ट्रेटर काँधमा बोकेर हिँड्न सकिन्छ, जुन हवाई यात्रामा पनि प्रयोग हुन्छ। सामान्यतया १–२ लिटर प्रति मिनेट दिने गरिन्छ ।
अक्सिजन कन्सन्ट्रेटरको मूल्य कति पर्छ ? नेपालमा:
५ लिटर मोडल: रु. ४८,०००–७५,०००
१० लिटर मोडल: रु. ६५,९९९–१,०६,०००
पोर्टेबल कन्सन्ट्रेटर: रु. १,५५,०००–३–४ लाख
अक्सिजन कन्सन्ट्रेटर बजेटअनुसार छनोट गर्न सकिन्छ । र, कम्तीमा २ वर्षको वारेन्टी भएका मोडल लिनु राम्रो हुन्छ।
अक्सिजन सिलिन्डरको मूल्य र भाडा कति पर्छ ?
पोर्टेबल सिलिन्डर: रु. १९,०००–४७,०००
ठूलो सिलिन्डर: १–१.५ दिन चल्छ, रिफिल रु. ५०० हाराहारी भाडामा पनि लिन सकिन्छ (साप्ताहिक/मासिक), तर दैनिक रिफिल गर्नुपर्ने भएकाले खर्च र झन्झट बढ्छ ।
दुई महिनाको रिफिल खर्चमा एउटा कन्सन्ट्रेटर किन्न सकिन्छ।
घरमा अक्सिजन सिलिन्डर/कन्सन्ट्रेटर राख्दा ध्यान दिनुपर्ने कुरा
– पल्स अक्सिमिटर अनिवार्य राख्ने (स्तर नियमित जाँच गर्न)
– कन्सन्ट्रेटरको फिल्टर नियमित सफा गर्ने
– बत्ती गएको अवस्थामा ब्याकअप सिलिन्डर राख्ने
– सानो पोर्टेबल सिलिन्डर ट्रान्सफरका लागि राख्ने
– मास्क वा नेजल क्यानुला प्रयोग गर्ने
– मर्मतमा विशेष ध्यान दिने
– सबैभन्दा महत्वपूर्ण : चिकित्सकको सल्लाहबिना कहिल्यै आफैं प्रयोग नगर्ने
सावधानी
धेरै अक्सिजन पनि हानिकारक हुन्छ । अक्सिजन सपोर्ट घरमै आफैं व्यवस्थापन गर्न सकिन्छ । (विशेष गरी दमका बिरामीले), तर मनलाग्दी गर्नु हुँदैन । धेरै अक्सिजनले पनि नकारात्मक असर गर्छ। प्रयोग गर्दा नियमित व्यायाम र दैनिक
क्रियाकलाप जारी राख्नुपर्छ, जसले अक्सिजन आवश्यकता घटाउँछ। यदि अस्पताल भर्ना आवश्यक परे चिकित्सकले नै निर्णय गर्छन् ।
अक्सिजन कम भएपछि निको हुन कति समय लाग्छ ?
रिकभरी कारणमा निर्भर गर्छ ।
जस्तो कि,
– निमोनियाबाट भए ५–१० दिनमा रिकभर हुन सक्छ (उपचारपछि) ।
– दम वा गम्भीर फोक्सो रोगबाट भए स्थायी सपोर्ट चाहिन सक्छ ।
– रगत बाक्लो भए बाँचुन्जेल अक्सिजन चाहिन सक्छ ।
– नियमित पल्स अक्सिमिटरबाट जाँच गर्दै रिकभरी ट्र्याक गर्नुपर्छ । अस्पताल भर्ना गर्ने कि घरमै उपचार गर्ने भन्ने निर्णय चिकित्सकले अवस्था हेरेर गर्न सक्छन् ।
प्रतिक्रिया 4