+

औषधिले निको नभएको छारे रोग, अरू पनि छन् प्रभावकारी उपचार

२०८२ माघ  २५ गते १७:५० २०८२ माघ २५ गते १७:५०

छारे रोग भएमा आगोमा पर्ने, लड्ने, पानीमा डुब्ने जस्ता आकस्मिक दुर्घटना हुने जोखिम सधैं रहन्छ ।

Shares
औषधिले निको नभएको छारे रोग, अरू पनि छन् प्रभावकारी उपचार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा छारे रोगको प्रचलन दर करिब ७.३ प्रति एक हजार जनसंख्या रहेको विभिन्न अध्ययनले देखाएका छन्।
  • छारे रोगको मुख्य कारण न्युरोसिस्टिसरकोसिस, जन्मजात विकृति, मस्तिष्क ट्युमर, संक्रमण र चोटपटक हुन्।
  • औषधिले ७० प्रतिशतभन्दा बढी बिरामीमा दौरा नियन्त्रण गर्छ, तर ३० प्रतिशतमा औषधि प्रभावकारी हुँदैन।

मस्तिष्कमा करोडौं नसा हुन्छन् । ती नसाहरूमा विद्युतीय स्राव पैदा भइरहेको हुन्छ । यही नसाले सक्रिय भएर नै हाम्रो हिँड्ने, बस्ने, सोच्ने सबै कुरा नियन्त्रण गर्छन् ।

तर, मस्तिष्कका नसाहरू कुनै कारणवस चाहिनेभन्दा बढी सक्रिय भई एक किसिमको ‘करेन्ट’ प्रवाह हुन्छ, त्यसलाई छारे रोग भनिन्छ ।

मस्तिष्कबाट पैदा हुने यो स्नायुरोग हुँदा अचानक मुटु काँपेको जस्तो हुन्छ,  एक किसिमको झट्का लाग्छ, शरीरमा पूरै कम्पन आएर लडिएलाजस्तो हुन्छ, यी लक्षण कतिखेर कसरी आउँछ, पत्तो हुँदैन । यस्तो अवस्थामा दैनिकी नै तनावग्रस्त बनाउँछ ।

मस्तिष्कबाट पैदा हुने यो स्नायुरोग हुँदा अचानक मुटु काँपेको जस्तो हुन्छ,  एक किसिमको झट्का लाग्छ, शरीरमा पुरै कम्पन आएर लडिएला जस्तो हुन्छ, यी लक्षण कतिखेर कसरी आउँछ, पत्तो हुँदैन । यस्तो अवस्थामा दैनिकी नै तनावग्रस्त बनाउँछ ।

यस्ता लक्षण हुँदा आगोमा पर्ने, लड्ने, पानीमा डुब्ने जस्ता आक्समिक दुर्घटना हुने जोखिम सधैं रहन्छ ।

यो रोगले बिरामीको जीवनमा गम्भीर असर पार्छ, जसमा मृत्युको जोखिम, शारीरिक अशक्तता, मानसिक तनाव र सामाजिक बहिष्कार प्रमुख छन् ।

यस्तोमा यो रोग पुर्ण रुपमा नियन्त्रण गर्न सकिँदैन, औषधिले नियन्त्रण गर्न सकिन्छ ।

दुःखको कुरा, ३० प्रतिशतमा यो औषधि नियमित खाँदा पनि निको हुँदैन ।

पहिला बुझौं, किन हुन्छ, यो समस्या ?

नेपालमा छारे रोग देखिने मुख्य कारणहरूमा न्युरोसिस्टिसरकोसिस प्रमुख छ, जसलाई धेरै अध्ययनले ४०–५० प्रतिशत केससँग जोडेका छन् । अन्य कारणहरूमा जन्मजात मस्तिष्क विकृति, मस्तिष्क ट्युमर, स्नायु संक्रमण (जस्तै मेनिन्जाइटिस), टाउकोमा चोटपटक, स्ट्रोक तथा वंशाणुगत कारक हुन् ।

ग्रामीण क्षेत्रमा खुला दिसापिसाब, फोहोर खानेकुरा र स्वाइन फ्लूको कारण न्युरोसिस्टिसरकोसिस बढी देखिन्छ । बालबालिकामा जन्मजात विकृति र वयस्कमा चोटपटक तथा संक्रमण बढी जिम्मेवार छन् ।

यो रोग कुनै पनि उमेरमा देखिन सक्छ, तर नेपालमा २०–४० वर्ष उमेर समूहमा बढी प्रभाव पार्छ । यो उमेर उत्पादनशील समय हो, जसले रोजगारी, शिक्षा र पारिवारिक जीवनमा ठूलो असर पार्छ ।

कति सामान्य ?

नेपालमा पनि यो रोग महत्वपूर्ण सार्वजनिक स्वास्थ्य चुनौती बनेको छ । नेपालमा छारे रोगको प्रचलन दर करिब ७.३ प्रति एक हजार जनसंख्या रहेको विभिन्न अध्ययनले देखाएका छन्, जुन एशियाली देशहरूमा उच्च मानिन्छ ।

विश्वमा करिब ५० करोडभन्दा बढी व्यक्ति यसबाट प्रभावित छन्, जसमध्ये ठूलो हिस्सा निम्न तथा मध्यम आय भएका देशहरूमा छन् । नेपालमा उपचारको पहुँच कमजोर, सामाजिक लाञ्छना र चिकित्सकीय जागरणको कमीले समस्या झन् जटिल बनेको छ ।

विश्वमा करिब ५० करोडभन्दा बढी व्यक्ति यसबाट प्रभावित छन्, जसमध्ये ठूलो हिस्सा निम्न तथा मध्यम आय भएका देशहरूमा छन् ।

जोखिम र प्रभाव

छारे रोगमा सबैलाई एकै किसिमको लक्षण देखिंदैन, फरक–फरक हुनसक्छन्  । सामान्यतया यी प्रमुख लक्षणहरू देखिन्छन् ।

जस्तो की,

—  अचानक बेहोस हुने वा होस गुमाउने

— हातखुट्टा काँप्ने, जड्ने वा झट्का लाग्ने

— शरीर दह्रो हुने वा कडा बन्ने

— फिँज काढ्ने, जिब्रो टोक्ने वा मुखबाट फोम निस्कने

— आँखा पल्टाउने, शरीर लल्याकलुलुक हुने वा अचानक लड्ने

— मुखबाट दिसा/पिसाब अनियन्त्रित रूपमा निस्कने

— बारम्बार आँखा झिम्काउने, ओठ चपाउने, हातले दोहोर्‍याएर हल्लाउने जस्ता दोहोरिने स–साना चालहरू

— टोलाएर बस्ने, खाली आँखाले हेर्ने वा केही सेकेन्ड/मिनेटसम्म केही थाहा नपाउने

— अचानक सन्तुलन बिग्रने वा झट्टै लड्ने

— झट्टै शरीरमा झट्का लाग्ने वा छोटो काँप्ने

— अनौठो गन्ध, स्वाद, आवाज सुन्ने वा देख्ने

— छोटो समयको लागि भ्रम, स्मरणशक्ति गुमाउने वा बोली बिग्रने

—  मुटुको धड्कन बढ्ने, सास फेर्न गाह्रो हुने वा वान्ता लाग्ने

यी लक्षण केही सेकेन्डदेखि २–३ मिनेटसम्म रहन सक्छन् । केही लक्षण निकै हल्का हुन्छन् (जस्तै टोलाउने मात्र), जसलाई अरूले ध्यान नदिन पनि सक्छन्, तर बारम्बार यस्ता लक्षणले स्मरणशक्ति कमजोर बनाउँछ, डिप्रेसन, चिन्ता, सामाजिक लाञ्छना तथा आत्महत्या गर्ने जोखिम बढाउँछ ।

लक्षण देखिँदा डुब्ने, चोटपटक लाग्ने आगोमा पोलेर दुर्घट्ना पर्दा मृत्युको जोखिम पनि २–३ गुणा बढी हुन्छ ।

उपचार सम्भव छ ?

छारे रोग पूर्ण रूपमा निको हुने रोग होइन तर नियन्त्रण गर्न सकिन्छ । ७० प्रतिशतभन्दा बढी बिरामीमा औषधिले दौरा नियन्त्रण गर्छ । बाँकी २०–३० प्रतिशतमा औषधिले काम नगर्न सक्छ । सबैभन्दा चुनौतिको विषय नै यही हो ।

औषधिले पनि छुँदैन भने यो औषधि प्रतिरोधी भएको बुझिन्छ । अनुसन्धानले देखाएको छ, औषधिले नियन्त्रण हुन नसकेपछि तेस्रो वा चौथो औषधि थप्दा पूर्ण रूपमा दौरा नियन्त्रण हुने सम्भावना अत्यन्त कम हुन्छ ।

यस्ता बिरामीहरू निरन्तर दौरा, चोटपटक तथा जीवनस्तरमा गिरावटको जोखिममा रहन्छन् ।

औषधिले पनि काम गर्न नसक्दा के गर्ने त ?

उनीहरुको लागि एउटै विकल्प भनेको छारे रोगले असर गरेको भाग पत्ता लगाई उपचार गर्ने । एमआरआई, भिडियो इइजी, कार्यात्मक मस्तिष्क परीक्षण तथा न्युरोसाइकोलोजिकल मूल्याङ्कन जस्ता जाँचहरूले लक्षण सुरु हुने मस्तिष्कको भाग पहिचान गर्न मद्दत गर्छ । सही स्थान पहिचान गरी छनोट गरिएका बिरामीहरूमा शल्यक्रिया अत्यन्त प्रभावकारी उपचार विकल्प हो ।

१. लिजनक्टोमी

यस शल्यक्रियामा मस्तिष्कमा रहेको ट्युमर, न्युरोसिस्टिसरकोसिस, जन्मजात विकृति वा चोटपटकपछि बनेको घाउ हटाइन्छ । यदि दौरा त्यही भागबाट सुरु भएको हो भने धेरै बिरामीमा पूर्ण रूपमा नियन्त्रण हुन सक्छ ।

२. एमिग्डालोहिप्पोक्याम्पेक्टोमी

यो विशेष गरी टेम्पोरल लोबमा भएको छारे रोगमा गरिने शल्यक्रिया हो । टेम्पोरल लोब भनेको मस्तिष्कको कान नजिकको भाग हो जसले सुन्ने, सम्झने, भावना महसुस गर्ने र भाषा बुझ्ने मुख्य काम गर्छ । मस्तिष्कको हिप्पोक्याम्पस र एमिग्डाला भाग हटाएर लक्ष नियन्त्रण गरिन्छ । यो विधि अत्यन्त सफल उपचार विधि मानिन्छ ।

३. मल्टिपल सबपियल रेसक्सन

यदि ‘अट्याक’ सुरु हुने भाग बोली, हिँडडुल वा अन्य महत्वपूर्ण कार्यसँग सम्बन्धित छ भने मस्तिष्क हटाउने सट्टा लक्षण फैलिने मार्गलाई काट्ने गरिन्छ । यसले स्नायुले गर्ने कार्य जोगाउँदै दौरा कम गर्न मद्दत गर्छ ।

४. कर्पस क्यालोसोोटोमी

यो पालीएटिभ शल्यक्रिया हो, जसमा मस्तिष्कका दुई भागबीचको सम्बन्ध आंशिक वा पूर्ण रूपमा काटिन्छ । अचानक लड्ने दौरा भएका बिरामीमा यसले चोटपटक कम गर्न सहयोग गर्छ ।

न्युरोमोडुलेसन उपचारः नेपालमा नयाँ सम्भावना

शल्यक्रियाका लागि उपयुक्त नभएका बिरामीहरूमा न्युरोमोडुलेसन प्रविधिहरू प्रभावकारी विकल्प बनेर आएका छन् ।

१. भेगल नर्भ स्टिमुलेसन

यसमा छातीको छालामुनि सानो उपकरण राखेर घाँटीको भेगस नर्भमा विद्युतीय संकेत पठाइन्छ । यसले मस्तिष्कको असामान्य गतिविधि नियन्त्रण गरी दौरा घटाउन मद्दत गर्छ । यो सुरक्षित र न्यून जोखिम भएको प्रक्रिया हो ।

२. डीप ब्रेन स्टिमुलेसन

यस प्रविधिमा मस्तिष्कको गहिरो भागमा इलेक्ट्रोड राखेर विद्युतीय संकेत दिइन्छ, जसले दौरा नियन्त्रण गर्न सहयोग गर्छ । यो स्पष्ट रूपमा पहिचान गर्न नसकिने दौरा भएका बिरामीमा उपयोगी हुन्छ ।

नेपालमा अझै धेरै स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई औषधिले नियन्त्रण नभएको छारे रोगका अन्य उपचार विकल्पबारे पर्याप्त जानकारी छैन ।

लामो समयसम्म प्रभाव नपर्ने औषधि मात्र प्रयोग गर्दा बिरामीले महत्वपूर्ण उपचारको अवसर गुमाउन सक्छन् । त्यसैले, समयमै दक्ष विशेषज्ञ केन्द्रमा रेफरल गर्नु आवश्यक छ ।

नेपालमा छारे रोग उपचारमा आधुनिक जाँच, दक्ष न्युरोसर्जिकल टोली तथा नयाँ प्रविधिको प्रयोग बढ्दै गएको छ । शल्यक्रिया सेवा विस्तार, जनचेतना अभिवृद्धि तथा सहज उपचार पहुँचले छारे रोगको भार कम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

औषधिले नियन्त्रण हुन नसक्ने छारे रोग उपचारविहीन रोग होइन । आधुनिक जाँच, शल्यक्रिया तथा न्युरोमोडुलेसन प्रविधिले धेरै बिरामीमा दौरा नियन्त्रण गरी जीवनस्तर सुधार गर्न सकिन्छ ।

नेपालमा यस्ता सेवाको विस्तार र जनचेतना वृद्धि अत्यन्त आवश्यक छ ।

छारे रोग
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?