News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा छारे रोगको प्रचलन दर करिब ७.३ प्रति एक हजार जनसंख्या रहेको विभिन्न अध्ययनले देखाएका छन्।
- छारे रोगको मुख्य कारण न्युरोसिस्टिसरकोसिस, जन्मजात विकृति, मस्तिष्क ट्युमर, संक्रमण र चोटपटक हुन्।
- औषधिले ७० प्रतिशतभन्दा बढी बिरामीमा दौरा नियन्त्रण गर्छ, तर ३० प्रतिशतमा औषधि प्रभावकारी हुँदैन।
मस्तिष्कमा करोडौं नसा हुन्छन् । ती नसाहरूमा विद्युतीय स्राव पैदा भइरहेको हुन्छ । यही नसाले सक्रिय भएर नै हाम्रो हिँड्ने, बस्ने, सोच्ने सबै कुरा नियन्त्रण गर्छन् ।
तर, मस्तिष्कका नसाहरू कुनै कारणवस चाहिनेभन्दा बढी सक्रिय भई एक किसिमको ‘करेन्ट’ प्रवाह हुन्छ, त्यसलाई छारे रोग भनिन्छ ।
मस्तिष्कबाट पैदा हुने यो स्नायुरोग हुँदा अचानक मुटु काँपेको जस्तो हुन्छ, एक किसिमको झट्का लाग्छ, शरीरमा पूरै कम्पन आएर लडिएलाजस्तो हुन्छ, यी लक्षण कतिखेर कसरी आउँछ, पत्तो हुँदैन । यस्तो अवस्थामा दैनिकी नै तनावग्रस्त बनाउँछ ।
यस्ता लक्षण हुँदा आगोमा पर्ने, लड्ने, पानीमा डुब्ने जस्ता आक्समिक दुर्घटना हुने जोखिम सधैं रहन्छ ।
यो रोगले बिरामीको जीवनमा गम्भीर असर पार्छ, जसमा मृत्युको जोखिम, शारीरिक अशक्तता, मानसिक तनाव र सामाजिक बहिष्कार प्रमुख छन् ।
यस्तोमा यो रोग पुर्ण रुपमा नियन्त्रण गर्न सकिँदैन, औषधिले नियन्त्रण गर्न सकिन्छ ।
दुःखको कुरा, ३० प्रतिशतमा यो औषधि नियमित खाँदा पनि निको हुँदैन ।
पहिला बुझौं, किन हुन्छ, यो समस्या ?
नेपालमा छारे रोग देखिने मुख्य कारणहरूमा न्युरोसिस्टिसरकोसिस प्रमुख छ, जसलाई धेरै अध्ययनले ४०–५० प्रतिशत केससँग जोडेका छन् । अन्य कारणहरूमा जन्मजात मस्तिष्क विकृति, मस्तिष्क ट्युमर, स्नायु संक्रमण (जस्तै मेनिन्जाइटिस), टाउकोमा चोटपटक, स्ट्रोक तथा वंशाणुगत कारक हुन् ।
ग्रामीण क्षेत्रमा खुला दिसापिसाब, फोहोर खानेकुरा र स्वाइन फ्लूको कारण न्युरोसिस्टिसरकोसिस बढी देखिन्छ । बालबालिकामा जन्मजात विकृति र वयस्कमा चोटपटक तथा संक्रमण बढी जिम्मेवार छन् ।
यो रोग कुनै पनि उमेरमा देखिन सक्छ, तर नेपालमा २०–४० वर्ष उमेर समूहमा बढी प्रभाव पार्छ । यो उमेर उत्पादनशील समय हो, जसले रोजगारी, शिक्षा र पारिवारिक जीवनमा ठूलो असर पार्छ ।
कति सामान्य ?
नेपालमा पनि यो रोग महत्वपूर्ण सार्वजनिक स्वास्थ्य चुनौती बनेको छ । नेपालमा छारे रोगको प्रचलन दर करिब ७.३ प्रति एक हजार जनसंख्या रहेको विभिन्न अध्ययनले देखाएका छन्, जुन एशियाली देशहरूमा उच्च मानिन्छ ।
विश्वमा करिब ५० करोडभन्दा बढी व्यक्ति यसबाट प्रभावित छन्, जसमध्ये ठूलो हिस्सा निम्न तथा मध्यम आय भएका देशहरूमा छन् । नेपालमा उपचारको पहुँच कमजोर, सामाजिक लाञ्छना र चिकित्सकीय जागरणको कमीले समस्या झन् जटिल बनेको छ ।
जोखिम र प्रभाव
छारे रोगमा सबैलाई एकै किसिमको लक्षण देखिंदैन, फरक–फरक हुनसक्छन् । सामान्यतया यी प्रमुख लक्षणहरू देखिन्छन् ।
जस्तो की,
— अचानक बेहोस हुने वा होस गुमाउने
— हातखुट्टा काँप्ने, जड्ने वा झट्का लाग्ने
— शरीर दह्रो हुने वा कडा बन्ने
— फिँज काढ्ने, जिब्रो टोक्ने वा मुखबाट फोम निस्कने
— आँखा पल्टाउने, शरीर लल्याकलुलुक हुने वा अचानक लड्ने
— मुखबाट दिसा/पिसाब अनियन्त्रित रूपमा निस्कने
— बारम्बार आँखा झिम्काउने, ओठ चपाउने, हातले दोहोर्याएर हल्लाउने जस्ता दोहोरिने स–साना चालहरू
— टोलाएर बस्ने, खाली आँखाले हेर्ने वा केही सेकेन्ड/मिनेटसम्म केही थाहा नपाउने
— अचानक सन्तुलन बिग्रने वा झट्टै लड्ने
— झट्टै शरीरमा झट्का लाग्ने वा छोटो काँप्ने
— अनौठो गन्ध, स्वाद, आवाज सुन्ने वा देख्ने
— छोटो समयको लागि भ्रम, स्मरणशक्ति गुमाउने वा बोली बिग्रने
— मुटुको धड्कन बढ्ने, सास फेर्न गाह्रो हुने वा वान्ता लाग्ने

यी लक्षण केही सेकेन्डदेखि २–३ मिनेटसम्म रहन सक्छन् । केही लक्षण निकै हल्का हुन्छन् (जस्तै टोलाउने मात्र), जसलाई अरूले ध्यान नदिन पनि सक्छन्, तर बारम्बार यस्ता लक्षणले स्मरणशक्ति कमजोर बनाउँछ, डिप्रेसन, चिन्ता, सामाजिक लाञ्छना तथा आत्महत्या गर्ने जोखिम बढाउँछ ।
लक्षण देखिँदा डुब्ने, चोटपटक लाग्ने आगोमा पोलेर दुर्घट्ना पर्दा मृत्युको जोखिम पनि २–३ गुणा बढी हुन्छ ।
उपचार सम्भव छ ?
छारे रोग पूर्ण रूपमा निको हुने रोग होइन तर नियन्त्रण गर्न सकिन्छ । ७० प्रतिशतभन्दा बढी बिरामीमा औषधिले दौरा नियन्त्रण गर्छ । बाँकी २०–३० प्रतिशतमा औषधिले काम नगर्न सक्छ । सबैभन्दा चुनौतिको विषय नै यही हो ।
औषधिले पनि छुँदैन भने यो औषधि प्रतिरोधी भएको बुझिन्छ । अनुसन्धानले देखाएको छ, औषधिले नियन्त्रण हुन नसकेपछि तेस्रो वा चौथो औषधि थप्दा पूर्ण रूपमा दौरा नियन्त्रण हुने सम्भावना अत्यन्त कम हुन्छ ।
यस्ता बिरामीहरू निरन्तर दौरा, चोटपटक तथा जीवनस्तरमा गिरावटको जोखिममा रहन्छन् ।

औषधिले पनि काम गर्न नसक्दा के गर्ने त ?
उनीहरुको लागि एउटै विकल्प भनेको छारे रोगले असर गरेको भाग पत्ता लगाई उपचार गर्ने । एमआरआई, भिडियो इइजी, कार्यात्मक मस्तिष्क परीक्षण तथा न्युरोसाइकोलोजिकल मूल्याङ्कन जस्ता जाँचहरूले लक्षण सुरु हुने मस्तिष्कको भाग पहिचान गर्न मद्दत गर्छ । सही स्थान पहिचान गरी छनोट गरिएका बिरामीहरूमा शल्यक्रिया अत्यन्त प्रभावकारी उपचार विकल्प हो ।
१. लिजनक्टोमी
यस शल्यक्रियामा मस्तिष्कमा रहेको ट्युमर, न्युरोसिस्टिसरकोसिस, जन्मजात विकृति वा चोटपटकपछि बनेको घाउ हटाइन्छ । यदि दौरा त्यही भागबाट सुरु भएको हो भने धेरै बिरामीमा पूर्ण रूपमा नियन्त्रण हुन सक्छ ।
२. एमिग्डालोहिप्पोक्याम्पेक्टोमी
यो विशेष गरी टेम्पोरल लोबमा भएको छारे रोगमा गरिने शल्यक्रिया हो । टेम्पोरल लोब भनेको मस्तिष्कको कान नजिकको भाग हो जसले सुन्ने, सम्झने, भावना महसुस गर्ने र भाषा बुझ्ने मुख्य काम गर्छ । मस्तिष्कको हिप्पोक्याम्पस र एमिग्डाला भाग हटाएर लक्ष नियन्त्रण गरिन्छ । यो विधि अत्यन्त सफल उपचार विधि मानिन्छ ।
३. मल्टिपल सबपियल रेसक्सन
यदि ‘अट्याक’ सुरु हुने भाग बोली, हिँडडुल वा अन्य महत्वपूर्ण कार्यसँग सम्बन्धित छ भने मस्तिष्क हटाउने सट्टा लक्षण फैलिने मार्गलाई काट्ने गरिन्छ । यसले स्नायुले गर्ने कार्य जोगाउँदै दौरा कम गर्न मद्दत गर्छ ।
४. कर्पस क्यालोसोोटोमी
यो पालीएटिभ शल्यक्रिया हो, जसमा मस्तिष्कका दुई भागबीचको सम्बन्ध आंशिक वा पूर्ण रूपमा काटिन्छ । अचानक लड्ने दौरा भएका बिरामीमा यसले चोटपटक कम गर्न सहयोग गर्छ ।
न्युरोमोडुलेसन उपचारः नेपालमा नयाँ सम्भावना
शल्यक्रियाका लागि उपयुक्त नभएका बिरामीहरूमा न्युरोमोडुलेसन प्रविधिहरू प्रभावकारी विकल्प बनेर आएका छन् ।
१. भेगल नर्भ स्टिमुलेसन
यसमा छातीको छालामुनि सानो उपकरण राखेर घाँटीको भेगस नर्भमा विद्युतीय संकेत पठाइन्छ । यसले मस्तिष्कको असामान्य गतिविधि नियन्त्रण गरी दौरा घटाउन मद्दत गर्छ । यो सुरक्षित र न्यून जोखिम भएको प्रक्रिया हो ।
२. डीप ब्रेन स्टिमुलेसन
यस प्रविधिमा मस्तिष्कको गहिरो भागमा इलेक्ट्रोड राखेर विद्युतीय संकेत दिइन्छ, जसले दौरा नियन्त्रण गर्न सहयोग गर्छ । यो स्पष्ट रूपमा पहिचान गर्न नसकिने दौरा भएका बिरामीमा उपयोगी हुन्छ ।
नेपालमा अझै धेरै स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई औषधिले नियन्त्रण नभएको छारे रोगका अन्य उपचार विकल्पबारे पर्याप्त जानकारी छैन ।
लामो समयसम्म प्रभाव नपर्ने औषधि मात्र प्रयोग गर्दा बिरामीले महत्वपूर्ण उपचारको अवसर गुमाउन सक्छन् । त्यसैले, समयमै दक्ष विशेषज्ञ केन्द्रमा रेफरल गर्नु आवश्यक छ ।
नेपालमा छारे रोग उपचारमा आधुनिक जाँच, दक्ष न्युरोसर्जिकल टोली तथा नयाँ प्रविधिको प्रयोग बढ्दै गएको छ । शल्यक्रिया सेवा विस्तार, जनचेतना अभिवृद्धि तथा सहज उपचार पहुँचले छारे रोगको भार कम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
औषधिले नियन्त्रण हुन नसक्ने छारे रोग उपचारविहीन रोग होइन । आधुनिक जाँच, शल्यक्रिया तथा न्युरोमोडुलेसन प्रविधिले धेरै बिरामीमा दौरा नियन्त्रण गरी जीवनस्तर सुधार गर्न सकिन्छ ।
नेपालमा यस्ता सेवाको विस्तार र जनचेतना वृद्धि अत्यन्त आवश्यक छ ।
प्रतिक्रिया 4