News Summary
Generated by OK AI. Editorially reviewed.- पिनियल ग्रन्थी मस्तिष्कको बीच भागमा रहेको सानो ग्रन्थी हो जसले मेलाटोनिन हार्मोन उत्पादन गर्छ र जैविक घडी नियन्त्रण गर्छ।
- मेलाटोनिन उत्पादन रातको अँध्यारोमा बढ्छ र उज्यालोमा घट्छ, जसले निद्रा, शरीरको तापक्रम र प्रतिरक्षा प्रणालीलाई प्रभाव पार्छ।
- आधुनिक जीवनशैलीको निलो प्रकाशले मेलाटोनिन उत्पादन घटाउँछ र निद्राको गुणस्तर कम गर्छ, त्यसैले राति १० बजेपछि स्क्रिन बन्द गर्न सिफारिश गरिएको छ।
मस्तिष्कको ठीक बीच भागमा एउटा सानो मटरकोसाको दानाजस्तो ग्रन्थी छ । यसको आकार ज्यादै सानो छ, तर यसले रातको अँध्यारोसँगै तपाईंको निद्रा मात्र होइन ।
समग्र जीवनशैली, मानसिक शान्ति र चेतनाको गहिराइसम्म प्रभाव पार्छ । सो ग्रन्थीलाई ‘पिनियल ग्रन्थी’ भनिन्छ ।
विज्ञानले ‘जैविक घडीको कुञ्जी’ मान्छ भने आध्यात्ममा मानवको ‘तेस्रो आँखा’ भनिएको छ ।
‘पिनियल ग्रन्थी’को संरचना र स्थान
पिनियल ग्रन्थी मस्तिष्कको एपिफिसिस सेरेब्राली क्षेत्रमा अवस्थित छ । यो दुई गोलार्धबीचको बीच भागमा रहेको सानो आकारको ग्रन्थी हो ।
यसको नाम नै यसको आकारबाट आएको हो, पाइनकोन जस्तो । वयस्क मानिसमा यसको आकार करिब ५ देखि ८ मिलिमिटर लामो र ३ देखि ५ मिलिमिटर चौडा हुन्छ ।
यति सानो भए पनि यसमा रक्तवाहिनी नली र स्नायुका अन्तिम भागहरू प्रशस्त छन्, जसले यसलाई मस्तिष्कको अन्य भागसँग प्रत्यक्ष जोड्छ । यो ग्रन्थी रक्त–मस्तिष्क अवरोध बाहिर रहन्छ, जसले यसलाई विशेष बनाउँछ ।
‘मेलाटोनिन’को उत्पादन र जैविक घडी
वैज्ञानिक दृष्टिले पिनियल ग्रन्थी एन्डोक्राइन प्रणालीको महत्वपूर्ण अंग हो । यसले मुख्य रूपमा मेलाटोनिन हार्मोन उत्पादन गर्छ । मेलाटोनिनको उत्पादन प्रक्रिया अत्यन्त रोचक छ ।
मस्तिष्कको सुप्राकायस्मेटिक न्यूक्लियसले प्रकाश र अँध्यारोको संकेत प्राप्त गर्छ । उज्यालोमा यो ग्रन्थिले मेलाटोनिन उत्पादन रोक्छ भने पूर्ण अँध्यारोमा बढाउँछ । मेलाटोनिन सेरोटोनिनबाट बन्ने हार्मोन हो ।
राति ९ बजेपछि यसको मात्रा बढ्न थाल्छ, मध्यरातमा चरममा पुग्छ र बिहान घट्छ । यो हार्मोनले निद्रा मात्र ल्याउँदैन, शरीरको तापक्रम नियन्त्रण गर्छ, रक्तचाप घटाउँछ र प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ ।
सन् १९५८ मा अमेरिकी वैज्ञानिक एरोन लर्नरले मेलाटोनिनको गुण पहिलो पटक पहिल्याएका थिए । त्यसपछि यसको अध्ययनले छिटो गति लिएको छ ।
आज वैज्ञानिकहरूले पिनियल ग्रन्थिलाई ‘सर्केडियन रिदम’ को मास्टर कन्ट्रोलर मान्छन् । यदि यो ग्रन्थिले ठीकसँग काम गरेन भने जेट ल्याग, शिफ्ट वर्क डिसअर्डर, सिजनलजस्ता समस्या देखिन्छन् ।
अनुसन्धान अनुसार मेलाटोनिनको कमीले डिप्रेसन, चिन्ता र स्मरण शक्तिमा कमी ल्याउँछ। यसबाहेक पिनियल ग्रन्थिले सेरोटोनिन, डोपामिन जस्ता न्यूरोट्रान्समिटरसँग पनि अन्तरक्रिया गर्छ, जसले मनोवैज्ञानिक सन्तुलनमा भूमिका खेल्छ ।
आधुनिक जीवनशैलीको चुनौती
आधुनिक जीवनशैलीले भने यो ग्रन्थीलाई ठूलो चुनौती दिइरहेको छ । राति ११ बजेपछि मोबाइल, ल्यापटप वा टिभीको नीलो प्रकाश (४६०–४८० न्यानोमिटर वेभलेङ्थ)ले पिनियल ग्रन्थीलाई ‘दिनको समय’ ठान्छ ।
फलस्वरूप, मेलाटोनिन उत्पादन ५० प्रतिशतसम्म घट्छ । अध्ययनहरूले देखाए अनुसार दैनिक २ घण्टा स्क्रिन टाइम बढ्दा निद्राको गुणस्तर २५ प्रतिशतसम्म खस्किन्छ । यसैगरी, कृत्रिम प्रकाश, क्याफिन र अनियमित खाना खानाले पनि जैविक घडी बिगार्छ ।
आध्यात्मिक दृष्टिकोणमा तेस्रो आँखा
पिनियल ग्रन्थीको वैज्ञानिक अध्ययन मात्र होइन, आध्यात्ममा पनि महत्व दिएको पाइन्छ । हिन्दू दर्शनमा यसलाई आज्ञा चक्र अर्थात् तेस्रो आँखासँग जोडिन्छ ।
यो चक्र भौंको ठीक माथि अवस्थित मानिन्छ । योगशास्त्र अनुसार ध्यान र प्राणायामबाट यो चक्र सक्रिय हुँदा अन्तर्ज्ञान, स्पष्ट दृष्टि र आन्तरिक शान्ति प्राप्त हुन्छ ।
पतञ्जलि योगसूत्र र तन्त्र ग्रन्थहरूमा यसको उल्लेख छ । बौद्ध परम्परामा पनि ‘तेस्रो आँखा’ ले चेतनाको उच्च अवस्था खोल्ने विश्वास गरिन्छ ।
प्राचीन मिश्रको सभ्यतामा पनि पिनियल ग्रन्थीसँग सम्बन्धित प्रतीकहरू भेटिन्छन् । ‘आँखा अफ होरस’ लाई केही विद्वानहरूले यसैसँग जोड्ने गर्छन् ।
१७औँ शताब्दीका युरोपेली दार्शनिक रेने डेसकार्टले पिनियल ग्रन्थीलाई ‘आत्मा र शरीरको मिलन बिन्दु’ भनेका थिए । उनका अनुसार यो ग्रन्थी नै हाम्रो चेतना र निर्णय क्षमताको केन्द्र हो ।
यद्यपि, यी धारणाहरू वैज्ञानिक रूपमा प्रमाणित छैनन्, तर मानव चेतनाको खोज र आत्मबोधसँग सम्बन्धित प्रतीकात्मक व्याख्या हुन् । ध्यान, योग र पिनियल ग्रन्थिको सम्बन्ध विज्ञानले पिनियल ग्रन्थीलाई अलौकिक शक्तिसँग जोड्दैन, तर आध्यात्मिक अभ्यास र जैविक स्वास्थ्यबीच केही रोचक सम्बन्ध देखिन्छ ।
योग र ध्यान अभ्यासले पिनियल ग्रन्थीसँग प्रत्यक्ष सम्बन्ध राख्छ । ट्राटक (मैनबत्तीमा एकाग्रता), ध्यान र कुण्डलिनी योगले यस क्षेत्रमा रक्तप्रवाह बढाउँछ ।
अध्ययन अनुसार नियमित ध्यान गर्ने व्यक्तिमा मेलाटोनिन स्तर ३० प्रतिशतसम्म बढेको पाइएको छ । यसले तनाव हर्मोन कोर्टिसोल घटाउँछ र स्नायु प्रणालीलाई शान्त पार्छ । प्राचीन ऋषिहरूले सूर्योदयअघि उठेर ध्यान गर्नुको कारण पनि यही मानिन्छ ।
प्राकृतिक प्रकाशले जैविक घडी ‘रिसेट’ गर्छ ।
पिनियल ग्रन्थिलाई स्वस्थ कसरी राख्ने ?
पिनियल ग्रन्थिको स्वास्थ्य कायम राख्नु आजको आवश्यकता हो ।
— राति १० बजेपछि सबै स्क्रिन बन्द गर्ने, त्यो सम्भव छैन भने स्क्रिनबाट आउने निलो किरणलाई क्षेक्ने सेटअप प्रयोग गर्ने ।
— पूर्ण अँध्यारोमा सुत्ने वातावरण बनाउने ।
— बिहान सूर्यको प्राकृतिक प्रकाशमा १०–१५ मिनेट बिताउने ।
— नियमित ध्यान, योग र प्राणायाम गर्ने
— क्याफिन र भारी खाना रातमा नखाने ।
मेलाटोनिन सप्लिमेन्ट आवश्यक परे चिकित्सकको सल्लाहमा मात्र लिन सकिन्छ ।
प्रतिक्रिया 4