१ चैत, काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) ले आयोजना गरेको ‘नेपाल फर्मा एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । ‘फर्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ गत बिहीबारदेखि सुरु भएको उक्त एक्स्पो शनिबार सम्पन्न भएको हो ।
यसअघि चितवनमा हुँदै आएको प्रदर्शनी यस पटक काठमाडौँमा आयोजना गरिएको हो । एक्स्पोमा स्वदेशी औषधि उद्योगका प्रगति र उत्पादनका साथै विश्वबजारमा आएका नवीनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरीहरू प्रदर्शन गरिएको थियो ।
नेपालमा विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास दिलाउन एक्स्पो आयोजना गरिएको नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले जानकारी दिए । ‘विश्व परिवेशमा औषधि उत्पादनका लागि विकास भएका नयाँ प्रविधि र आविष्कारलाई आत्मसात् गरेर नै नेपाली औषधि बनाइरहेका छौँ भन्ने सन्देश दिनु हाम्रो मुख्य उद्देश्य हो’ अधिकारीले भने । नेपालमा उत्पादित औषधिको गुणस्तरमा कुनै शंका नगर्न उनले आग्रह गरे ।
नेपाली औषधि उद्योगहरूले अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तर कायम गरिरहेको कुरा सर्वसाधारणलाई प्रत्यक्ष देखाउन फर्मा एक्स्पो प्रभावकारी भएको एपोनका महासचिव सन्तोष बरालले बताए ।
तीन दिनसम्म चलेको एक्स्पोमा करिब १२ हजारभन्दा बढीले अवलोकन गरेका छन् । प्रदर्शनीस्थला २०० भन्दा बढी स्टलहरू रहेका थिए, जसमा ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहेको बरालले जानकारी दिए ।
महासचिव बरालका अनुसार एक्सपोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयर औषधि व्यवस्था विभागको समेत सहकार्य थियो ।
एक्स्पकोको गोल्ड स्पोन्सर एचभ्याक्स हो भने प्लाटिनियम स्पोन्सर एलम्याक र डाइमन्ड स्पोन्सर प्यासिफिक ग्रुप हो ।
प्रतिक्रिया 4