News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०८२ को निर्वाचनमा १८२ सिट जितेर पहिलो दल बनेको छ र बहुमतको सरकार बनाउन १३८ सिट पुग्ने स्थिति छ।
- रास्वपाबाट विभिन्न क्षेत्रका विज्ञ, चिकित्सक, इञ्जिनियर, पूर्व सञ्चारकर्मी, कलाकार र सामाजिक अभियन्ता सांसद बनेका छन् जसले संसदमा विविध प्रतिनिधित्व गरेका छन्।
- रास्वपामा ९ जना विद्यावारिधी (पीएचडी) भएका सांसद छन् र पार्टीले चिकित्सक, नर्स र जेनजीलाई समेत प्रतिनिधित्व गराएको छ।
४ चैत, काठमाडौं । संविधान निर्माणपछि एकल बहुमतको सरकार बनाउने अवसर प्राप्त गर्ने दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । बहुमतको सरकार बनाउन १३८ जनाले पुग्ने अवस्थामा रास्वपालाई जनताले प्रत्यक्ष र समानुपातिक गरेर १८२ सिट पुग्ने गरी मत दिएका छन् ।
रास्वपाबाट निर्वाचित हुनेमा विगतमा लामो राजनीतिक जीवन हुनेको संख्या न्यून छ । समाजका फरक फरक क्षेत्रका विज्ञहरु रास्वपाबाट निर्वाचित भएका छन् । कानुन व्यवसायी, जेनजी, चिकित्सक, इञ्जिनियर, पूर्व सञ्चारकर्मी, पूर्व सुरक्षाकर्मी, लेखक/साहित्यकार, अभियन्ता, कलाकार, अर्थविद्, पूर्वाधारविद् लगायत संसद्मा पुगेका छन् ।
तीनपटक प्रतिस्पर्धा गर्ने एक्ला रवि
सभापति लामिछानेले चितवन–२ बाट यसपटकसहित तीनपटक जिते । २०७९ असारमा पार्टी गठन गरेर त्यही वर्षको मंसिर पहिलोपटक संसदीय प्रतिस्पर्धामा उनी उत्रेका थिए ।
नागरिकता र पासपोर्ट मुद्दामा संसद पद गुमेपछि २०८० बैशाखमा भएको उपनिर्वाचनमा पनि उनले फराकिलो मतान्तरले जिते । रास्वपामा तीनपटक एउटै क्षेत्रबाट उम्मेदवार हुने पहिलो व्यक्ति सभापति लामिछाने बने ।
अघिल्लोपटक समानुपातिक सांसद बनेर दुईपटक श्रममन्त्री समेत रहेका उपसभापति डीपी अर्यालले यसपटक प्रत्यक्षमा जिते । काठमाडौं–९ बाट फराकिलो अन्तरले निर्वाचित अर्यालले सभापति लामिछाने जेलमा हुँदा कार्यवाहक सभापतिको भूमिका निर्वाह गरेका थिए ।
रास्वपाका संस्थापक उपसभापति अर्याल राजनीतिमा आउनु अघि ट्राभल क्षेत्रमा संलग्न उनी जापानमा व्यवसाय समेत गरेका थिए । रास्वपा गठन हुनुअघि रवि–डीपी नजिकिएका थिए ।

२०७९ चैतमा रास्वपामा प्रवेश गरेर दोस्रोपटक प्रत्यक्षमा निर्वाचित हुने व्यक्ति हुन्–स्वर्णिम वाग्ले । कांग्रेसका पूर्व नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको तनहुँ–१ बाट स्वर्णिमले उपचुनावमा जितेका थिए । दोस्रोपटक निर्वाचित हुँदा मतान्तर झनै बढाएका छन् । रास्वपाको जलेश्वर बैठकबाट उपसभापतिमा बेनका उनी रास्वपाको अर्थनीति विभागको प्रमुख समेत हुन् ।
लन्डन स्कुल अफ इकोनमिक्स, हावर्ड विश्वविद्यालय र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट उच्च शिक्षा प्राप्त गरेका थिए । २०७१ सालमा नेपाल फर्केका उनी राष्ट्रिय योजना आयोगका सदस्य बने ।
२०१४ देखि २०१८ सालसम्म दुई कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष भई काम गरेका थिए । एसिया प्रशान्तका विभिन्न देशहरूको आर्थिक नीति निर्माणमा समेत योगदान पुर्याएका वाग्ले यूनडीपी एसिया–प्रशान्तका प्रमुख आर्थिक सल्लाहकारका रूपमा समेत काम गरेका व्यक्ति हुन् ।
गत निर्वाचनमा गोरखा–२ बाट पराजित भएका महामन्त्री कविन्द्र बुर्लाकोटीले यसै क्षेत्रमा दोस्रो प्रयासमा जिते । संस्थापक महामन्त्री मुकुल ढकाललाई पार्टीले पदमुक्त गरेपछि उनी उक्त पदको जिम्मेवारीमा छन् । रास्वपाको संस्थापक सहमहामन्त्री रहेका बुर्लाकोटी रास्वपाको संगठन विभाग प्रमुख समेत हुन् ।
सहमहामन्त्री विपिनकुमार आचार्यले पहिलोपटककै प्रतिस्पर्धामा एमाले महासचिव शंकर पोखरेललाई दाङ–२ मा फराकिलो मतान्तरले पराजित गरे । सभापति रविसँग ग्यालेक्सी टीभीमा सहकार्य गरेका आचार्य क्रियटिभ डिरेक्टरको भूमिकामा थिए । उम्मेदवार चयनका लागि रास्वपाले तयार प्राइमरी इलेक्सनको विधि उनले तयार गरेका हुन् ।
विवेकशील साझा पार्टीबाट प्रदेश सांसद भई २०७९ को निर्वाचनबाट रास्वपामा जोडिएका सचिवालय सदस्य विराजभक्त श्रेष्ठले काठमाडौं–८ मा दोस्रोपटक जिते । रास्वपा सरकारमा गएको बेला उनी युवा तथा खेलकुदमन्त्रीको भूमिकामा थिए ।
रास्वपा कोषाध्यक्ष लिमा अधिकारी पहिलोपटक संसद छिर्दैछिन् । विगतमा बागमतीको इञ्चार्ज समेत रहेकी अधिकारी एमालेका दिवंगत नेता भरतमोहन अधिकारीकी छोरी हुन् ।
सहकोषाध्यक्ष बसुमाया तामाङ समानुपातिकबाट सांसद बनिन् । उद्यमी समेत रहेकी बसुमायाले अचार उत्पादन गरेर देशभित्र र वाहिर विक्रि वितरण गर्दै आएकी छन् । अचार उत्पादनमा लागि उनले ७० बढी महिलालाई रोजगारी समेत दिलाएकी छन् ।
सभापति रविका विश्वासपात्र दीपक बोहराले पहिलोपटक चुनावी प्रतिस्पर्धा गर्दा जित निकाले । कञ्चनपुर–२ बाट प्रतिस्पर्धीलाई अत्यधिक मतान्तरले पराजित गरेका बोहरा सभापति रविसँग न्युज–२४ टीभीदेखि सँगसँगै छन् । विगतमा रास्वपाको सहकोषाध्यक्ष समेत रहेका उनी हाल सचिवालय सदस्य छन् ।

सभापति रवि विरुद्ध तत्कालीन सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै देश र विदेशमा हस्ताक्षर अभियानको संयोजन बोहराले गरेका थिए ।
तत्कालीन महामन्त्री एवं प्रवक्तालाई रास्वपाले कारबाही गरेपछि प्रवक्ताको जिम्मेवारी पाएका मनिष झा अघिल्लो संसदमा समानुपातिक सांसद थिए । यसपटक धनुषा–३ मा निर्वाचित उनी अघिल्लो संसदीय समितिमा लेखा समिति सदस्य थिए । सचिवालय सदस्य शिशिर खनाल काठमाडौं–६ बाट दोस्रोपटक जिते ।
रास्वपाको विदेश विभाग प्रमुख समेत रहेका खनालले विगतमा छोटो समय शिक्षा मन्त्रीको भूमिका निर्वाह गरे । विदेशबाट अध्ययन गरेर फर्केका उनी विगतमा ‘टिच फर नेपाल’ मा आवद्द थिए ।
मेडिकल डाक्टर तोसिमा कार्की दोस्रोपटक ललितपुर–२ बाट जितिन् । उनीसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्री बनेको अनुभव छ ।
सचिवालय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावल खस आर्यबाट समानुपातिक सांसद बनेकी छन् । सभापति रविसँग एउटै टिभीमा सहकार्य गरेकी उनी रास्वपाको संस्थापक सदस्य हुन् । सभापति रविको सचिवालयमा रहेर कार्य गरेकी उनी रास्वपामा पर्दा पछाडी रहेर काम गर्ने व्यक्तिको रुपमा परिचित छन् ।
सभापति रविको अदालती प्रक्रियाहरुमा उनले साथ दिँदै आएकी छन् । अर्का सहप्रवक्ता रमेश प्रसाईं खस आर्र्य कोटाबाट समानुपातिक सांसद बनेका छन् । प्रसाई पनि पूर्व टेलिभिजनकर्मी हुन् ।
चितवन–३ मा रास्वपाबाट निर्वाचित सचिवालय सदस्य सोविता गौतम अधिवक्ता समेत हुन् । कानुनमा स्नातक गरेकी उनीसँग टेलिभिजन कार्यक्रम निर्माता, प्रस्तोता भएर काम गरेको अनुभव छ ।
२०७९ मा प्रत्यक्षमा उनले काठमाडौ–२ बाट जितेकी थिइन् । लेखक समेत रहेका केन्द्रीय सदस्य गणेश कार्कीले मोरङ–३ बाट जिते । मनोपरामर्शदाता समेत रहेकी केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल समानुपातिक सांसद बनिन् । अघिल्लो संसदमा समानुपातिक सांसद बनेर संसदमा सबैभन्दा कम उमेरको सांसद बनेकी निशा डाँगीले यसपटक झापा–१ बाट जितिन् ।
पूर्व विवकेशील साझा हुँदै रास्वपामा सांसद हुनेहरुको संख्या उल्लेख्य छ । समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, रञ्जु दर्जना, पुकार बम लगायतको पृष्ठभूमि विवेकशील हो । समीक्षा र प्रकाशचन्द्र समानुपातिकबाट उम्मेदवार हुँदा रञ्जु र पुकारले प्रत्यक्षमा जिते ।
बालेन : महानगर प्रमुख, अब केन्द्रीय सत्ताको बागडोर सम्हाल्दै
रास्वपासँग एकताका लागि प्रारम्भिक संवादकै क्रममा काठमाडौंका पूर्व प्रमुख बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने बताएका थिए ।
चरण चरणको वार्तापछि एकताको टुंगो लाग्यो । पार्टीमा दोस्रो वरियता गरेर वरिष्ठ नेताको पद प्राप्त गरेका बालेन्द्र अन्ततः झापा–५ बाट उठे ।

उनलाई प्रधानमन्त्रीमा अघि सारेर झण्डै दुई तिहाई मत रास्वपाले बटुल्यो । झापा–५ बाट प्रत्यक्षतर्फ चुनाव लड्दै नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई करिब ५० हजार मतान्तरले पराजित गरे ।
नेपाली हिप–हप क्षेत्रमा परिचित बालेन शाह अन्डरग्राउन्ड र्यापबाट उदाउँदै देशका चर्चित राजनीतिक पात्रमध्ये एक बनेका छन् ।
बालेनसँगै रास्वपा जोडिएका संसद पुगे
रास्वपा र बालेन पक्षसँग एकता भएसँगै कार्यकारी पद महामन्त्री पदको जिम्मेवारी प्राप्त गरेका सुनिल लम्सालले रुपन्देही–१ बाट निर्वाचित भए ।
इन्जिनियरिङका पृष्ठभूमिका लम्सालले काठमाडौंको पूर्व मेयर बालेनलाई सहरी पूर्वाधारको क्षेत्रमा सघाएका थिए । पूर्वाधारको क्षेत्रमा शहरी सेवा-सुधारमा उनको अनुभव छ । काठमाडौँ महानगरमा बालेन्द्र शाह प्रमुख रहँदा सह-विशेषज्ञ भएर काम गरेका सस्मित पोखरेलले काठमाडौं–५ बाट जिते ।
महानगरको सल्लाहकार भएर काम गरेका पोखरेले रणनीतिककारका रुपमा परिचित छन् । राजनीतिक जीवन सुरु गरेका पोखरेल ‘स्टुडेन्ट्स फर लिबर्टी’ को संयोजकको भूमिका समेत थिए ।
प्युठानबाट जित्ने सुशान्त वैदिकले अन्तराष्ट्रिय अध्ययन गरेर फर्केका व्यक्ति हुन् । लुम्बिनी प्रदेश सरकारको विज्ञ सल्लाहकार भई विगतमा काम गरेका वैदिकले मलेसिया, नर्वे र बेलायतमा अध्ययन गरेका छन् ।

वैदिकले लण्डनस्थित ‘लण्डन अफ इकोनोमिक्स’ बाट स्नातकोत्तर सकेर नेपाल फर्केका हुन् । तथ्यमा आधारित बहस र नतिजामुखी योजना बनाउन सक्ने व्यक्तिको पहिचान बनाएका वैदिक हाल रास्वपाको केन्द्रीय सदस्य छन् ।
बालेनसँगै रास्वपामा जोडिएर केन्द्रीय सदस्य बनेका सागर ढकालले गुल्मी–१ बाट चुनाव जिते । ऊर्जा तथा जलस्रोत क्षेत्रमा १० वर्षभन्दा बढी काम गरेका ढकालले अक्सफोर्ड युनिभसिसिटीबाट एमएस्सी सकेका छन् ।
सरसफाई अभियन्ता केपी खनालले कैलाली–२ बाट जिते । ‘क्लिन काष्ठमण्डप’, ‘काठमाडौं ट्र्यास कलेक्सन’ जस्ता सरसफाइ अभियान चलाएका खनाल हाल रास्वपाको केन्द्रीय सदस्य समेत हुन् ।
दलित अभियन्ता खगेन्द्र सुनार बाँके–३ बाट निर्वाचित भएका छन् । ‘दलितका लागि दलित अभियान’ हुँदै हाम्रो पार्टी नेपाल गठन गरेका थिए । उक्त पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराएपनि उनी रास्वपा प्रवेश गरेका थिए । रास्वपाले केन्द्रीय समिति विस्तार गर्दा सुनारलाई पनि थपिएको थियो । रास्वपा केन्द्रीय सदस्य बनेका सुनारले बाँके–३ बाट फराकिलो मतान्तरले जिते ।
विद्यावारिधी गरेका सांसद
रास्वपामा प्रत्यक्ष समानुपातिक प्रणालीमा ९ विद्यावारिधी (पीएचडी) गरेका उम्मेदवार निर्वाचित भएका छन् । ती मध्ये एक जना समानुपातिकबाट निर्वाचित भएका हुन् ।
डा. स्वर्णिम वाग्ले, डा. अमरेश कुमार सिंह, डा. विक्रम तिमिल्सिना, डा. अच्युतम लमिछाने, डा. कृष्ण हरि बुढाथोकी, डा. धनञ्जय रेग्मी, डा. आनन्द बहादुर चन्द र डा. तारा प्रसाद जोशीले प्रत्यक्षबाट जिते । डा. राम लामा समानुपातिकबाट निर्वाचित भए ।
लामालाई रास्वपाले जनजाति क्लष्टरमा पुरुषतर्फ पहिलो स्थानमा राखेको थियो । उनले काठमाडौं विश्वविद्यालयबाट हाइड्रोपावर इन्जिनियरिङमा विद्यावारिधि (पीएचडी) गरेका छन् । काठमाडौंका पूर्व मेयर बालेन्द्र शाह पक्षबाट उनी समानुपातिक तर्फ उम्मेदपवार बनेका थिए ।

रास्वपाका उपसभापति डा. स्वर्णिमले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । डा. अमरेश कुमार सिंहले जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका छन् । चुनावको मुखमा रास्वपा प्रवेश गरेर सिंहले पुरानै क्षेत्रबाट निर्वाचित भए ।
डा. विक्रम तिमिल्सिनाले सन् २०२२ मा ग्रिफिथ विश्वविद्यालयबाट राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि पूरा गरेका हुन् । तिमिल्सिना पूर्व सञ्चारकर्मी समेत हुन् ।
डा. अच्युतम लमिछानेले दक्षिण कोरियाको योंग–इन विश्वविद्यालयबाट खेल तथा व्यायाम मनोविज्ञानमा पीएचडी गरेका छन् । डा. कृष्णहरि बुढाथोकीले त्रिभुवन विश्वविद्यालयबाट विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
डा. धनञ्जय रेग्मीले जापानको होक्काइडो विश्वविद्यालयबाट वातावरणीय पृथ्वी विज्ञानमा पीएचडी गरेका हुन् । डा. आनन्द बहादुर चन्दले त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संस्थानमार्फत अमेरिकाको नर्थ क्यारोलाइना एएण्डटी स्टेट विश्वविद्यालयसँग सहकार्यमा पीएचडी पूरा गरेका छन् भने डा. तारा प्रसाद जोशीले जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीति तथा कूटनीतिक सम्बन्धमा पूर्ण छात्रवृत्तिमा विद्यावारिधि गरेका हुन् ।
नीति बनाउने थलोमा चिकित्सक
रास्वपाले डाक्टर र स्वास्थ्यकर्मीलाई समेत प्रतिनिधि सभामा पुर्याएको छ । प्रत्यक्ष र समानुपातिक दुबैतर्फबाट रास्वपा सदनमा चिकित्सक पुगेका छन् ।
डा. लेखजंग थापा, डा. तोसिमा कार्की, जनस्वास्थ्यविज्ञ आनन्दबहादुर चन्द, दृष्टिरोग विशेषज्ञ दीपककुमार साह, डा. शम्भुकुमार यादव र स्वास्थ्य स्वयंसेविका आशा झा सांसदका रूपमा प्रवेश गरेका छन् ।
डा. लेखजंग थापा वरिष्ठ न्युरोलोजिष्ट हुन् । थापाले एमडी (आन्तरिक चिकित्सा) र डीएम (न्युरोलोजी) अध्ययन पूरा गरेका छन् ।
राष्ट्रिय न्युरो केन्द्र काठमाडौंमा न्युरोलोजी विभागका निर्देशक तथा प्रमुखको रूपमा कार्यरत थापा मनमोहन मेमोरियल मेडिकल कलेजका वरिष्ठ न्युरोलोजिस्ट, नेपाल स्ट्रोक संघका संस्थापक तथा अध्यक्ष र विश्वस्तरीय न्युरोलोजी तथा स्ट्रोक नेटवर्कहरूसँग आबद्ध छन् ।
स्वास्थ्य राज्यमन्त्री बनिसकेकी डा. तोसिमा कार्कीले पुनः ललितपुर–३ बाट पुनः संसदीय यात्रा तय गरिन् ।

ललितपुरकै नक्खुमा हुर्के–बढेकी कार्कीले किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट एमएस (शल्य–चिकित्सामा स्नातकोत्तर) गरेकी छिन् ।
उनले नेपाल मेडिकल काउन्सिलमा कार्यकारी सदस्यको जिम्मेवारी पूरा गरिसकेकी छन् । राजनीतिमा आउनु अघि उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन पेशामा थिइन् । सार्वजनिक जीवनमा उनी सत्याग्रही डा. गोविन्द केसीको प्रतिबद्ध समर्थक र सहयोगी पनि थिइन् ।
यस्तै जनस्वास्थ्यविज्ञ आनन्दबहादुर चन्दले कैलाली–५ बाट पहिलोपटक संसदीय राजनीतिको बाटो तय गरे । चन्दले त्रिभुवन विश्वविद्यालय पाटन बहुमुखी क्याम्पसमा १७ वर्ष उपप्राध्यापकका रूपमा काम गरे ।
जैविक रसायनशास्त्रमा स्नातकोत्तर र अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीसँग सहकार्यमा पीएचडी पूरा गरेका उनी शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा प्रख्यात छन् ।
चन्द नेपालको सुर्तीजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगविरुद्धको अभियानका अग्रणी अभियन्ता हुन् । जनस्वास्थ्यमा असर गर्ने सुर्ती तथा चुरोट खपत कम गराउने दिशामा उनले लामो समयदेखि अभियान सञ्चालन गर्दै आएका छन् ।
भारतबाट एमबीबीएस अध्ययन पूरा गरेका डा. शम्भु यादव सिरहा– ३ बाट निर्वाचित भएका छन् । केही समय काठमाडौंका निजी अस्पतालमा काम गरेका यादव आफ्नै गृहजिल्ला फर्केका थिए । यादवले सिरहाको मिर्चैया नगरपालिका–७ मा रहेको मिर्चैया हेल्थ पोलिक्लिनिकमा मार्फत सेवा दिँदै आएका थिए ।
दृष्टिरोग विशेषज्ञ डा. दीपककुमार साह रास्वपाबाट सांसद बनेका छन् । महोत्तरीका साहले जनस्वास्थ्य विषयमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका छन् । उनले विश्वकै प्रतिष्ठित शिक्षण संस्था लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र इन्स्टिच्युट अफ मेडिसिनबाट शिक्षा हासिल गरेका छन् ।

१६ वर्षसम्म स्वास्थ्य स्वयंसेविकाका रूपमा गाउँ–टोलका बिरामी, गर्भवती आमा र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चितलाई समुदायमा रहेर काम गरेकी आशा झा पनि सांसद बनेकी छन् ।
विराटनगर–१३ की स्थायी बासिन्दा झा मध्यमवर्गीय कृषक तथा कर्मचारी परिवारमा हुर्किएकी हुन् । जनस्वास्थ्यमा स्नातक गरेकी उनले विराटनगर महानगरपालिकामा १६ वर्षभन्दा बढी समय स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिन् ।
रास्वपाको समानुपातिक सूचीबाट डाक्टरद्वय अंकिता ठाकुर र ओजस्वी शेरचनले प्रतिनिधिसभाको यात्रा तय गरेका छन् । डा. अंकिता दन्त चिकित्सक हुन् । उनले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (यूसीएमएस) भैरहवाबाट दन्त चिकित्सा (बीडीएस) गरेकी छिन् । भैरहवामा पढ्दाको समय उनले स्थानीय टेलिभिजन र एफएममा उद्घोषकका रूपमा समेत काम गरिन् । रक्तदान कार्यक्रम, सरसफाइ अभियान, वातावरण संरक्षण र विभिन्न सामाजिक गतिविधिमा पनि अंकिता निरन्तर सक्रिय रहिन् ।
अध्ययन पूरा गरेपछि दन्त चिकित्सकका रूपमा काम सुरु गरेकी अंकिता ललितपुरको नोभा डेन्टल एन्ड एस्थेटिक क्लिनिककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
सन् २०२३ मा आयोजित ‘मिसेस नेपाल कल्चर’ प्रतियोगितामा फर्स्ट रनर अप बन्न सफल भएकी थिइन् ।
नेपाल मेडिकल कलेज अत्तरखेलबाट एमबीबीएस सकेकी डा. ओजस्वीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सन् २०१४ मा बायोकेमेस्ट्रीमा विशेषज्ञता हासिल गरेकी थिइन् ।
ओजस्वी मेडिकल कलेजको बायोकेमेस्ट्री विषयकी एसोसिएट प्रोफेसर हुन् । समाजसेवामा पनि सक्रिय उनी ‘मिसेस नेपाल कल्चर २०२३’ विजेतासमेत हुन् ।
रास्वपाबाट नर्सहरु पनि संसदमा पुगेका छन् । समानुपातिक तर्फ पाँच नर्स सांसद बनेका छन् । समानुपातिक सांसद प्रभा ढकाल कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा अप्रेसन थिएटर नर्सका रूपमा काम गर्छिन् ।
यसैगरी, नर्स खिमा विक, निशा मेहता, कामिनी चौधरी र समिना मियाँ पनि समानुपातिकतर्फबाट सांसद बनेका छन् ।
सेलिब्रेटीको संसद यात्रा
रास्वपाबाट केही सेलिब्रेटीहरू पनि संघीय संसदमा पुगेका छन् । रिमा विश्वकर्मा र अनुष्का श्रेष्ठ तीन प्रमुख चर्चित अनुहार हुन्, जसको राजनीतिक यात्राले उनीहरूलाई संघीय संसदसम्म पुर्याएको छ ।
रिमा विश्वकर्माले पत्रकारिता तथा मिडिया क्षेत्रबाट आफ्नो करियर सुरु गरेकी हुन्। रास्वपाले उनलाई दलित महिला क्लस्टरबाट समानुपातिक प्रणालीअन्तर्गत मनोनयन गरेको हो। उनी मिडिया पेशेवर मात्र नभई अभिनेत्री, मोडल र टेलिभिजन प्रस्तोता समेत हुन्। राजनीतिमा आउनुअघि उनले ‘नेपाल आइडल’ गायन रियालिटी शो सञ्चालन गरेकी थिइन् ।
अनुष्का श्रेष्ठ सन् २०१९ की मिस नेपाल विजेता हुन् । उनलाई रास्वपाले आदिवासी जनजाति महिला क्लस्टरबाट समानुपातिक प्रणालीमार्फत मनोनयन गरेको हो। मिस वल्र्ड प्रतियोगितामा उनले ‘ब्यूटी विथ अ पर्पोज’ र ‘मल्टिमिडिया’ अवार्ड जितेकी थिइन्। पछि उनी सफल उद्यमीका रूपमा स्थापित भइन् र स्थानीय उत्पादन प्रवद्र्धनका लागि दक्षिण एशियाका शीर्ष १० महिला उद्यमीको सूचीमा समेत परेकी थिइन्। उनले सन् २०२० मा स्थापना गरेको ‘माकुसी’ चकलेट ब्रान्डसँग उनको सफलता जोडिएको छ ।

त्यसैगरी, रास्वपाबाट खेल क्षेत्रको प्रतिनिधित्व गर्ने सांसद पनि छन् । मोरङकी रजनी श्रेष्ठ समानुपातिक प्रणालीमार्फत चयन भएकी हुन् । उनी राष्ट्रिय, दक्षिण एशियाली तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा सफलता हासिल गरेकी एक बडीबिल्डर हुन् ।
समानुपातिक प्रणालीअन्तर्गत रास्वपाबाट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व पनि सुनिश्चित भएको छ। भूमिका श्रेष्ठ नेपाल संसदमा उक्त समुदायको प्रतिनिधित्व गर्ने पहिलो ट्रान्सजेन्डर महिला बन्ने तयारीमा छन् । यस विषयले अन्तर्राष्ट्रिय स्तरमै ध्यान आकर्षित गरिरहेको छ ।
जेनजी सहिदकी आमा संसद्मा
जेनजी आन्दोलनमा शहिद भएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री सांसद् बनेकी छन् ।
खसआर्य महिलातर्फ दोस्रो स्थानमा रहेकी खतिवडा समानुपातिक सांसद बनिन् । काभ्रेका २३ वर्षीय रसिकले २३ भदौको जेनजी आन्दोलनमा सुरक्षाकर्मी कर्मीको गोलीबाट ज्यान गुमाएका थिए ।

रास्वपाले समानुपातिक सूचीमा उनको नाम समावेश गरेसँगै रचना चुनावी प्रचारमा खटिएकी थिइन् । काभ्रेको दुबै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् भने समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ ।
रास्वपाले नवसांसदहरुलाई राखेको अभिमुखीकरण कार्यक्रमको पहिलो दिनमा जेनजी अगुवा सुधन गुरुङलाई भेट्दा रचना रोएकी थिइन् ।
पूर्वपत्रकारदेखि लेखक, कानुन व्यवसायीसम्म
सभापति रवि ग्यालेक्सीमा कार्यरत रहँदा सँगै कार्य गरेका र अन्य सञ्चार माध्यममा काम गरेका आधा दर्जन बढी पूर्वसञ्चारकर्मी रास्वपाबाट सांसद बनेका छन् । सभापति रवि, सहमहामन्त्री विपीन, सहप्रवक्ताद्धय प्रतिभा रावल र रमेश प्रसाई, केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल ग्यालेक्सीका पूर्वसहकर्मी हुन् ।
चुनावी सरकारका पूर्वसञ्चारमन्त्री एवं ललितपुर–२ बाट निर्वाचत जगदिश खरेल पूर्व पत्रकार हुन् । भक्तपुर–२ बाट निर्वाचित राजीव खत्री, कास्की–२ बाट निर्वाचित उत्तम पौडेल, झापा–३ बाट निर्वाचित प्रकाश पाठक लगायत पूर्व पत्रकार हुन् ।
जनजाति क्लष्टरमा महिलाबाट सांसद बनेकी सुम्मिना उदास पूर्वपत्रकार हुन् । कञ्चनपुर–३ बाट निर्वाचित ज्ञानेन्द्रसिंह महता सञ्चार क्षेत्रमा आवद्द छन् । मोरङ–४ बाट निर्वाचित सन्तोष राजवंशी पत्रकारिता हुँदै रास्वपा प्रवेश गरेर संघीय संसदमा पुगेका छन् ।

रास्वपाबाट निर्वाचित हुनेहरुमा लेखक एवं साहित्यकार समेत छन् । लेखक एवं साहित्यकार गनेश पौडेलले कास्की–१ र गणेश कार्कीले मोरङ–३ बाट जितेका छन् । पौडेल र कार्की दुबै केन्द्रीय सदस्य हुन् । वरिष्ठ नेता बालेन्द्र शाहले रास्वपासँग एकता गरेसँगै पौडेल केन्द्रीय सदस्य बनेका थिए ।
रास्वपाबाट कानुन व्यवसायीहरु समेत नीति निर्माण गर्ने थलोमा पुगेका छन् । सचिवालय सदस्य सोविता गौतम, यज्ञमणि न्यौपाने, सुलभ खरेल मनिष खनाल लगायत कानुन व्यवसायी हुन् । उद्योगी विदुषी राणा समानुपातिक सांसद बनेकी छन् ।
सामाजिक अभियन्ताहरु पनि रास्वपाबाट सांसद बन्न सफल भएका छन् । सिता वादी, आशिका तामाङ, खगेन्द्र सुनार, केपी खनाल लगायतका सामाजिक अभियन्ता प्रतिनिधि सभामा पुगेका छन् ।
जेनजी पाँचले प्रत्यक्ष जित्दा सात जना समानुपातिकबाट
रास्वपाबाट १२ जना जेनजी संसद्मा देखिनेछन्, जसमा ५ जना प्रत्यक्ष निर्वाचित रहँदा ७ जना समानुपातिकबाट परेका छन् ।
प्रत्यक्ष निर्वाचित हुनेमा सबैभन्दा कान्छा सांसद हुन्–प्रशान्त उप्रेती । उप्रेतीले मकवानपुर–२ बाट जितेका हुन् । प्रतिनिधि सभाकै कान्छा उप्रेती मनहरी गाउँपालिका–७ का बासिन्दा हुन् । औपचारिक शिक्षाको हकमा उनले स्नातक तह पुरा गरेका छन् । पर्यटन उद्यमी समेत रहेका उनले पहिलो प्रयासमै निर्वाचित भएर संसदीय राजनीतिको यात्रा तय गरेका हुन् ।
नवलपुर–२ बाट निर्वाचित सांसद मनीष खनाल पनि जम्मा २६ वर्षका भए । ३२ वर्षदेखि एमालेको विरासत भत्काउँदै जेनजी खनालले फराकिलो अन्तरले जिते ।
जेनजी उमेरमै सांसद प्रवेश गर्ने खनालले राजनीति पनि सानै उमेरबाट थालेका हुन् । तत्कालीन विवेकशील साझा पार्टीको महाधिवेशन (०७६ साल) मा जनकपुरमा केन्द्रीय सदस्य बनेपछि उनको औपचारिक राजनीतिक यात्रा सुरु भएको थियो । खनालले कानुनमा स्नातक गरेका छन् ।
त्यस्तै, रास्वपाबाट सांसद छिर्ने अर्का जेनजी प्रतिनिधि हुन्, २६ वर्षीय केपी खनाल । कैलाली–२ बाट निर्वाचिन उनी लुम्कीचुहा नगरपालिकाका स्नातक हुन् ।
रुपन्देही–२ बाट पनि फराकिलो मतान्तरले जित्ने जेनजी उम्मेदवार हुन्, सुलभ खरेल । २८ वर्षीय खरेलले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पराजित गरे ।
खरेलको रास्वपामा औपचारिक प्रवेश भने एकवर्षअघि मात्र भएको थियो । बुटवल उपमहानगरपालिका–१६ का बासिन्दा खरेलले विद्यालय तहको शिक्षा रूपन्देहीबाटै गरेका हुन् भने काठमाडौंको नेपाल ल क्याम्पसबाट बीए एलएलबी पास गरेका छन् ।

खरेल राजनीतिमा प्रवेश गर्नुअघि वकालती पेशाबाट पनि चर्चामा थिए । कारण– उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गरेका थिए । त्यसबेला उनी सबैभन्दा कान्छो रिट निवेदकका रूपमा चिनिएका थिए ।
विद्यार्थी राजनीतिमा भने उनी अनेरास्ववियुमा आबद्ध थिए । नेपाल ल क्याम्पसमा पढ्दा दुई वर्षजति एमालेनिकट अनेरास्ववियुबाट विद्यार्थी राजनीति गरे । त्यसपछि उनले अमेरिकाको मिचिगन विश्वविद्यालयबाट संवैधानिक तथा फौजदारी कानुनमा स्नातकोत्तर गरे । जेठ २०८१ मा नेपाल फर्किए ।
नेपाल फर्केपछि कानुनी बहस, संवैधानिक मुद्दा र सार्वजनिक सरोकारका विषयमा अभियन्ताको छवि बनाएका उनी अब भने प्रतिनिधिसभामा देखिने भएका हुन् ।
त्यस्तै, पूर्वमन्त्री बब्लु गुप्ता पनि सिराहा–१ बाट निर्वाचित भएका छन् । २८ वर्षीय गुप्ता जेनजी आन्दोलनमा पनि प्रत्यक्ष सहभागी थिए । गुप्ता उम्मेदवार बन्नुअघि अन्तरिम सरकारको युवा तथा खेलकुदमन्त्री थिए ।
सानैदेखि अभियान्ताका छवि बनाएका उनले स्नातकसम्म अध्ययन गरेका छन् । कोभिड महामारीका बेला काठमाडौंमा विपन्न वर्गका लागि निःशुल्क खाना बाँडेपछि पनि उनले चर्चा कमाएका थिए ।
श्रद्धा कुँवर क्षेत्री खस आर्य कोटाबाट सांसद बनेकी छन् । उनी जम्मा २७ वर्ष पुगेकी छन् । सूचीको २६ नम्बरमा २७ वर्षीया जेनजी आकृति अवस्थी खस आर्य महिलाबाट समानुपातिक सांसद भइन् । २७ नम्बरमा रहेकी सृष्टी भट्टराई पनि रास्वपाकी समानुपातिक सांसद हुन् । उनी जम्मा २७ वर्षकी भइन् ।
२६ वर्षकी स्मृति सेन्चुरी पनि दलित महिलाबाट समानुपातिक सांसद बनिन् ।
२८ वर्षकी करिस्मा कठरिया थारु महिला कोटाबाट समानुपातिक सांसदमा अटाएकी हुन् । जेनजी अगुवा पुरुषोत्तम शुप्रभात यादव मधेशी पुरुषको कोटाबाट समानुपातिक सांसद बनेका छन् । उनी भदौ २३ मा जेनजी प्रदर्शनका लागि प्रशासनसँग अनुमति माग्ने अगुवामध्यका एक हुन् । जेनजी अगुवा सुधन गुरुङ रास्वपा प्रवेश गरेर निर्वाचित सांसद हुन सफल भएका छन् ।
इञ्जिनियरको लर्को
वरिष्ठ नेता बालेन्द्र शाह इञ्जिनियर पृष्ठभूमिको हुँदा उनीसँग जोडिएका इञ्जिनियरले रास्वपामा उम्मेदवार हुने अवसर पाएका छन् । साथै, रास्वपा पृष्ठभूमि एवं दल परिवर्तन गरेर आउनेहरु इञ्जिनियर पेशा हुनेलाई प्राथमिकताका साथ रास्वपाले उम्मेदवार बनाएको छ ।
सिरहा–४ बाट जित्ने तपेश्वर यादव, गुल्मी–१ बाट निर्वाचित सागर ढकाल, बारा–३ बाट निर्वाचित अरविन्द साह, बागलुङ–१ बाट निर्वाचित सुशील खड्का, रुपन्देही–१ बाट जितेका सुनिल लम्साल, दोलखाबाट निर्वाचित जगदिश खरेल, तनहुँ–२ बाट निर्वाचित श्रीराम न्यौपाने, सप्तरी–२ का सांसद रामजी यादव, सुनसरी–४ बाट निर्वाचित दीपककुमार साह, महोत्तरी–३ बाट सांसद बनेका उज्ज्वलकुमार झा लगायत इञ्जिनियर हुन् ।
समानुपातिकबाट निर्वाचित खगेन्द कर्णको पेशा पनि इञ्जिनियर हो ।

पाँच पूर्व सुरक्षाकर्मी पुगे संसदमा
ओखलढुंगाबाट पूर्व एआइजी विश्वराज पोखरेलले पाँच मतको अन्तरले रास्वपाका लागि जीत निकाले । यो निर्वाचनमा सबैभन्दा कठिन जित रास्वपाबाट उनैले निकाले । पोखरेल आईजीपीको मुख्य दाबेदार हुँदा तत्कालीन सरकारले डेढ वर्ष जुनियरलाई आईजीपी बनाएपछि उनले राजीनामा दिएका थिए । प्रहरीबाट राजीनामा दिएको साढे तीन वर्षपछि उनी सांसद बने ।
पूर्व एसएसपी विक्रमसिंह थापा कपिलवस्तु–२ निर्वाचित भए । उनी कांग्रेस परित्याग गरेर रास्वपामा आवद्द भएका थिए । पूर्र्व डीएसपी गोविन्द पन्थीले गुल्मी–२ मा एमाले उपाध्यक्ष गोर्कण विष्टलाई पराजित गरे ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गरेर काठमाडौं महानगर प्रहरीका पूर्व प्रमुख राजुनाथ पाण्डेले चर्चा बटुले । संसद छिर्ने अर्का पूर्वसुरक्षाकर्मी हुन् शम्भु सुस्केरा (शम्भुप्रसाद ढकाल) । उनले झापा क्षेत्र नम्बर ४ बाट जिते ।

प्रतिक्रिया 4