+
+
Shares

के इन्डक्सनमा पकाएको खाना स्वास्थ्यका लागि हानिकारक हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्डक्सन चुल्होले विद्युतीय चुम्बकीय क्षेत्र उत्पन्न गरी भाँडो तताउँछ र खाना छिटो पकाउँछ।
  • विश्व स्वास्थ्य संगठनले इन्डक्सनबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक फिल्ड मानव स्वास्थ्यका लागि सुरक्षित भएको बताएको छ।

नेपालमा अहिले एलपीजी ग्याँसको अभाव छ । डिलरहरूले आधा ग्याँस सहितको सिलिण्डर बाँडिरहेका छन् । यस्तोमा धेरैले इन्डक्सन चुल्हो प्रयोग गर्न थालेका छन् । यो विद्युतीय उपकरणले खाना छिटो पकाउँछ, तर यसलाई लिएर समाजमा विभिन्न अफवाहहरू फैलिएका छन् ।

कतिपयले भन्छन्, ‘इन्डक्सनबाट निस्कने विकिरण(रेडिएसन)ले खानालाई हानिकारक बनाउँछ, पोषक तत्व नष्ट गर्छ वा क्यान्सर जस्ता रोग निम्त्याउँछ ।’

यी कुराहरू सुन्दा डर लाग्न सक्छ, तर विज्ञानले यी अधिकांश अफवाहहरूलाई गलत साबित गरेको छ ।

वास्तवमा इन्डक्सन चुल्हो ग्याँसभन्दा बढी सुरक्षित, छिटो र स्वास्थ्यका लागि राम्रो विकल्प साबित भएको छ । विभिन्न वैज्ञानिक अध्ययनहरूले यसलाई पुष्टि गरेका छन् ।

इन्डक्सन चुल्होले कसरी काम गर्छ ?

इन्डक्सन चुल्हो सामान्य ग्यास वा परम्परागत इलेक्ट्रिक चुल्होले भन्दा फरक तरिकाले काम गर्छ । यसले विद्युतीय चुम्बकीय क्षेत्र उत्पन्न गर्छ, जसले भाँडोको तल्लो भागमा रहेको फलाम वा चुम्बकीय धातुलाई सिधै तताउँछ ।

चुल्होको सतह तात्दैन, केवल भाँडो तात्छ र त्यसबाट खाना पाक्छ । यो प्रक्रियामा ऊर्जाको ८५ देखि ९० प्रतिशतसम्म खाना पाक्नमै प्रयोग हुन्छ । ग्याँस चुल्होमा भने मात्र ३० देखि ४० प्रतिशत ऊर्जा खानामा पुग्छ, बाँकी ताप वरपरको हावामा फैलिन्छ ।

यसकारण इन्डक्सनमा खाना छिटो पाक्छ, पानी उमाल्न २० देखि ४० प्रतिशत कम समय लाग्छ र बिजुली पनि कम खर्च हुन्छ । यो ऊर्जा दक्षता ग्यासभन्दा तीन गुणा बढी हुन्छ भन्ने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

इन्डक्सनबाट निस्कने रेडिएसन वा इलेक्ट्रोम्याग्नेटिक फिल्ड सुरक्षित छ ?

सबैभन्दा ठूलो चिन्ता इन्डक्सनको ‘इलेक्ट्रोम्याग्नेटिक फिल्ड’ले स्वास्थ्यमा असर गर्छ कि गर्दैन भन्ने हो । इन्डक्सनबाट निस्कने तरंगहरू नन–आयनाइजिंग प्रकारका हुन्छन्, अर्थात्, यो मोबाइल फोन, वाइफाइ राउटर वा माइक्रोवेभ ओभनबाट निस्कने तरंग जस्तै हो ।

विश्व स्वास्थ्य संगठनले स्पष्ट रूपमा भनेको छ, ‘कम स्तरका यस्ता ‘इलेक्ट्रोम्याग्नेटिक फिल्ड’हरूले मानव स्वास्थ्यमा कुनै हानि पुर्‍याउँदैनन् । विभिन्न वैज्ञानिक अध्ययनहरूले पनि यो कुरा पुष्टि गरेका छन् । यस्ता फिल्डहरूले डीएनए तोड्दैनन् वा क्यान्सर निम्त्याउँदैनन् ।

इन्डक्सनको ‘इलेक्ट्रोम्याग्नेटिक फिल्ड’ भाँडोको नजिक मात्र सक्रिय हुन्छ र भाँडो हटाएपछि तुरुन्तै बन्द हुन्छ । यदि तपाईं चुल्होबाट ३० सेन्टिमिटर वा बढी टाढा रहनुहुन्छ भने जोखिम लगभग शून्य हुन्छ ।

पेसमेकर वा अन्य हृदय उपकरण भएकाहरूले भने चिकित्सकसँग सल्लाह लिएर प्रयोग गर्नु राम्रो हुन्छ, तर सामान्य मानिसहरूका लागि यो पूर्ण रूपमा सुरक्षित छ । अन्तर्राष्ट्रिय कमिसन अन नन–आयनाइजिङ रेडिएसन प्रोटेक्सन जस्ता संस्थाहरूले पनि यसलाई सुरक्षित मानेका छन् ।

खानाको पोषक तत्वमा इन्डक्सनको प्रभाव कस्तो हुन्छ ?

खानाको पोषक तत्व नष्ट हुनु र नहुनुमा चुलोको प्रकारको कुनै भूमिका हुँदैन । यो कुरा मात्र तापको समय, तापको तीव्रता र पानीको प्रयोगमा निर्भर गर्छ । इन्डक्सनमा खाना ग्याँसभन्दा छिटो पाक्छ र तापमानमा राम्रो नियन्त्रण हुन्छ । यसले गर्दा संवेदनशील पोषक तत्वहरू जस्तै भिटामिन सी, फोलेट, बीटा–क्यारोटिन र अन्य एन्टिअक्सिडेन्टहरू बढी सुरक्षित रहन्छन् ।

जनरल अफ द अमेरिकन डायटिक एसोसियशनमा प्रकाशित अध्ययनले इन्डक्सन, माइक्रोवेभ र अन्य विधिहरूमा विटामिन ए र सी जस्ता पोषक तत्वहरू समानसँग राख्ने दाबी गरेको छ ।

ग्याँसमा खुला आगोले अनियमित ताप दिन्छ र धेरै ताप वरपर फैलिन्छ, जसले लामो समयसम्म खाना तापमा रहन सक्छ । यसले पोषक तत्व बढी नोक्सान हुन सक्छ । तर, इन्डक्सनले छिटो र सटिक ताप दिने भएकाले खानाको स्वाद, रङ र गुणस्तर राम्रो रहन्छ ।

तरकारीहरू उमाल्दा पानीमा घुल्ने पोषक तत्वहरू नोक्सान हुन्छन्, तर यो सबै विधिमा लागू हुन्छ । फरक के छ भने तुलनात्मक रुपमा इन्डक्सनमा छिटो पकाउने भएकाले यो समस्या कम हुन्छ ।

अन्य फाइदाहरू

इन्डक्सनले सुरक्षाको हिसाबले पनि ग्याँसभन्दा धेरै राम्रो छ । यसमा खुला आगो हुँदैन, ग्याँस लिकेजको जोखिम हुँदैन र बच्चाहरूका लागि सुरक्षित हुन्छ ।

घरभित्रको वायु प्रदूषण जस्तै नाइट्रोजन डाइअक्साइड र कार्बन मोनोअक्साइड जस्ता हानिकारक ग्यासहरू निस्कँदैनन्, जसले बच्चाहरूमा दम वा श्वासप्रश्वास समस्या बढाउन सक्छ ।

ग्याँस चुल्होले यस्ता प्रदूषकहरू उत्पादन गर्छ, तर इन्डक्सनले गर्दैन । यसले सफाइ पनि सजिलो बनाउँछ, किनकि सतह चिसो रहन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?