आजभोलि धेरै घरमा ग्यास चुलोको विकल्पका रूपमा इन्डक्सन चुलोको प्रयोग तीव्र रूपमा बढिरहेको छ । छिटो खाना पाक्ने, बिजुलीको कम खपत हुने र तुलनात्मक रूपमा सुरक्षित हुने भएकाले यसको प्रयोग लोकप्रिय बन्दै गएको हो ।
तर इन्डक्सन चुलो प्रयोग गर्ने धेरैजसो मानिसले त्यसको माथि देखिने गोलो घेरालाई केवल सजावट वा डिजाइनको चिन्ह मात्र ठान्छन् ।
वास्तवमा यो साधारण घेरा होइन, बरु चुलोको सबैभन्दा महत्वपूर्ण ताप क्षेत्र संकेत हो । यही घेराले भाँडा कहाँ राख्दा सबैभन्दा राम्रो ताप सर्छ भन्ने देखाउँछ ।
यदि भाँडा सही स्थानमा राखिएन भने खाना पाक्न ढिलो हुन्छ, बिजुली बढी खर्च हुन्छ र चुलोको कार्यक्षमतामा समेत असर पर्न सक्छ । त्यसैले, इन्डक्सन चुलोको यो सानो गोलो घेराले खाना पकाउने गति, बिजुली बचत, सुरक्षा र चुलोको आयुसम्ममा महत्त्वपूर्ण भूमिका खेल्छ ।
घेरामुनि के हुन्छ ?
यस गोलो घेराको ठीक तल तामा वा एल्युमिनियमबाट बनेको झुप्पो गोलो आकारमा धेरै पटक बेरेर बनाइएको हुन्छ । जुन चुलोको माथि देखिने गोलो घेरामुनि जडान गरिएको हुन्छ ।
जब चुलोमा बिजुली बग्छ, यही भागले चुम्बकीय क्षेत्र बनाउँछ । त्यसपछि त्यो चुम्बकीय प्रभावले भाँडाको तल्लो भागलाई सिधै तताउँछ । त्यसैले इन्डक्सन चुलोमा आगो नदेखिए पनि खाना छिटो पाक्छ । त्यसैले, चुलोको सतहभन्दा पहिले भाँडा नै तात्न थाल्छ ।
खाना पकाउने गतिसँग सम्बन्ध
भाँडालाई सही घेराभित्र राख्दा ताप सर्ने प्रक्रिया अधिकतम हुन्छ, जसले खाना छिटो पकाउँछ । यदि भाँडा थोरै बाहिर सर्यो भने ताप सही रूपमा भाँडासम्म पुग्दैन र पकाउन बढी समय लाग्छ । त्यसैले, खाना छिटो पकाउन भाँडालाई बीच भागमै राख्नु महत्त्वपूर्ण हुन्छ ।
बिजुली बचतमा ठूलो भूमिका
इन्डक्सन चुलोको सबैभन्दा ठूलो फाइदा ऊर्जा दक्षता हो । सही आकारको भाँडा गोलो घेराभित्र राख्दा करिब ९० प्रतिशत ऊर्जा सिधै भाँडालाई तताउन प्रयोग हुन्छ । यसले अनावश्यक ताप क्षति रोक्छ र बिजुलीको बिल कम गर्छ ।
गलत आकारको भाँडाले पुर्याउने असर
धेरै सानो वा धेरै ठूलो भाँडा प्रयोग गर्दा ताप समान रूपमा सर्दैन । यसले ऊर्जा खेर जानुका साथै लामो समयसम्म यस्तो गर्दा चुलोको कार्यक्षमता घट्न सक्छ ।
सुरक्षाका लागि पनि उत्तिकै आवश्यक
इन्डक्सन चुलोमा रहेका संवेदकहरूले भाँडा सही स्थानमा छ कि छैन भनेर जाँच गर्छन् । यदि भाँडा हटाइयो वा गलत ठाउँमा राखियो भने चुलो आफैं बन्द हुन सक्छ । यसले दुर्घटनाको जोखिम कम गर्छ ।
चुलोको आयु बढाउने उपाय
सही तरिकाले भाँडा राख्दा बाहिरी र भित्री विद्युत प्रणालीमा कम दबाब पर्छ । यसले अत्यधिक ताप बढ्न नदिई चुलोलाई लामो समयसम्म टिकाउ बनाउँछ ।
सानो जस्तो देखिने यही गोलो घेरा वास्तवमा चुलोको दीर्घायुका लागि निकै महत्त्वपूर्ण हुन्छ ।
प्रतिक्रिया 4