+
+
Shares

अन्तर्राष्ट्रिय मिडियामा ‘बालेन इफेक्ट’

मध्यपूर्वमा भइरहेका युद्ध, वैश्विक रूपमा भइरहेका सत्ता र शक्तिका द्वन्द्वबीच कूटनीतिक पक्षले ठुलो महत्त्व राख्ने कुराहरू बाहिर आउन थालेका छन्। विभिन्न मिडियाहरूले ‘नेपाल अज्ञात पथमा प्रवेश गर्दै छ’ समेत भनेका छन्।

कञ्चन कञ्चन
२०८२ चैत २ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय मिडियाले बालेनलाई ‘र्‍यापर टू पीएम’ र ‘अल्गोरिदमले जन्माएको नेता’ भनेर चिनाएको छ र उनको विजयलाई ‘राजनीतिक पराकम्प’ र ‘इलेक्सन शक’ भनेका छन् ।
  • बालेनको नेतृत्वमा भएको यो चुनावी सफलताले भ्रष्टाचार र कुशासनविरुद्ध नेपाली जनताको कडा सन्देश दिएको र नयाँ राजनीतिक युगको सुरुवात भएको विश्लेषण गरिएको छ ।

२ चैत, काठमाडौं । यस पटकको आम निर्वाचनले लामो समयपछि नेपालमा विश्वको ध्यान खिचेको छ। पुराना राजनीतिक दलहरूको असामान्य पराजय र नयाँ राजनीतिक शक्तिहरूको अपूर्व चुनावी नतिजाहरूमा सम्भवतः सबैभन्दा बढी उच्चारित उम्मेदवारको नाम हो -बालेन्द्र शाह।

नेपाली समुदायको बृहत्तर हिस्सामा मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा पनि बालेन नेपालमा क्रमिक रूपमा उदाएको नयाँ शक्तिको प्रतिनिधि पात्र बन्न पुगे। ३५ वर्षीय र्‍यापर तथा काठमाडौं महानगरका पूर्वप्रमुख बालेन्द्र शाह (बालेन) आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्को २७५ सिटमध्ये १८२ जितेर स्पष्ट बहुमत हासिल गरेको छ। यो नेपालको आधुनिक इतिहासमा एकै दलले प्राप्त गरेको सबैभन्दा ठूलो म्यान्डेट हो।

पुराना राजनीतिक दलहरूको  किल्ला भत्काउनमा सहयोग गरेका बालेनलाई अन्तर्राष्ट्रिय मिडियाले ‘र्‍यापर टु पीएम’ को रूपमा कभर गरेका छन् ।  

यस विषयमा इन्फ्लुएन्सरहरू, पोडकास्टरहरू र कलाकारहरूले पनि आफ्नो मत राखेका छन् । 

२०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर राजनीतिमा प्रवेश गरेका बालेनले विजय हासिल गरे । 

मेयर हुँदा उनले सडक सफाइ, सांस्कृतिक सम्पदा संरक्षण, भ्रष्टाचारमा शून्य सहनशीलता र युवा रोजगारीमा आफूलाई केन्द्रित गरे। उनलाई टाइम म्यागजिनले सन् २०२३ को ‘टाइम १०० नेक्स्ट’ सूचीमा समावेश गरेको थियो, जुन भविष्यलाई नयाँ आकार दिइरहेका १०० उदीयमान नेतृत्वकर्ताहरूको प्रतिष्ठित सूची हो ।

भदौ २३ र २४ मा सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार र बेरोजगारीविरुद्ध जेनजीले सडक आन्दोलन गरे, जसमा ७७ जना निहत्था नागरिकहरूको ज्यान गयो र ओली सरकार ढल्यो । बालेनले यो आन्दोलनलाई समर्थन गरे र अन्तरिम नेतृत्वका लागि धेरै जेनजीका पहिलो रोजाइ बने। उनका गीतहरू आन्दोलनका ‘एन्थम’ बने । 

जेनजी आन्दोलन पश्चातकाे निर्वाचन (जसलाई जेनजी इलेक्सन पनि भनियो) मा रास्वपा यो विद्रोहको ‘उत्तराधिकारी’ झैँ बनेर चुनाव लड्यो र रास्वपाको स्थापित चर्चामा बालेनको प्रवेशले झन् उत्साह थप्यो।

अन्तर्राष्ट्रिय मिडिया कभरेज

बालेन र उनको पार्टी रास्वपाको ऐतिहासिक विजयले अन्तर्राष्ट्रिय मिडियालाई पनि नेपालतर्फ आकर्षित गरेको छ। १२ मार्च २०२६ मा अलजजिरामा प्रकाशित एउटा समाचारमा बालेन र रास्वपाको यस जितलाई सन् २०२५ को सेप्टेम्बरमा भएको ‘जेनजी अपराइजिङ’ को परिणामका रूपमा व्याख्या गरिएको छ। 

लेखमा उनको ‘पूर्व सिभिल इन्जिनियर र हिप-हप कलाकार’ को परिचयात्मक आयाम जोड्दै उनले नेपालको राजनीतिमा दशकौँदेखि कायम रहेको ७० वर्ष नाघेका नेताहरूको वर्चस्वलाई ३५ वर्षीय युवाले तोडेको रूपमा प्रस्तुत गरिएको छ।

पत्रकार प्रणय राणाले अल जजिरासँग कुरा गर्दै बालेन शाहलाई ‘आउटसाइडर स्पिरिट’ को प्रतीक मानेका छन्, जसलाई नेपालका युवाहरूले वर्तमान राजनीतिक अवस्था परिवर्तन गर्न खोजिरहेका थिए।

त्यस्तै बीबीसीले ७ मार्च २०२६ मा गरेको रिपोर्टमा बालेन र रास्वपाको विजयलाई अप्रत्याशित र कल्पनाबाहिरको कुरा भन्दै ‘इलेक्सन शक’ को संज्ञा समेत दिएको छ। 

बीबीसीले रास्वपाको जितलाई एउटा ‘राजनीतिक परकम्प’ को रूपमा व्याख्या गरेको छ। दशकौँदेखि गठबन्धन सरकारको मारमा परेको नेपालमा १८२ सिटसहितको यो बहुमतले राजनीतिक स्थिरताको नयाँ आशा जगाएको उल्लेख छ। 

मतदाताहरूले दशकौँदेखि सत्तामा रहेका अनुहारहरूलाई अस्वीकार गर्दै नयाँ र युवा नेतृत्वलाई रोजेको बीबीसीको विश्लेषण छ।

नेपालको मिश्रित निर्वाचन प्रणाली (समानुपातिक र प्रत्यक्ष) मा कुनै पनि दलले बहुमत ल्याउन असम्भव जस्तै मानिन्थ्यो ।  तर, बालेन शाहको नेतृत्वमा भएको यो ‘क्लीन स्वीप’ ले अब नेपालमा एउटै दलको बलियो सरकार बन्ने बाटो खोलेको छ । 

बीबीसीले दशकौँदेखि गठबन्धन सरकारको मारमा परेको नेपालमा १८२ सिटसहितको यो बहुमतले राजनीतिक स्थिरताको नयाँ आशा जगाएको उल्लेख छ। 

रिपोर्टमा उल्लेख भए अनुसार, यो म्यान्डेट केवल एउटा चुनावी जित मात्र नभई भ्रष्टाचार र सुस्त प्रशासनिक संयन्त्रविरुद्ध नेपाली जनताले दिएको कडा सन्देश हो ।

न्युयोर्क टाइम्समा १० मार्च २०२६ मा बालेनको परिचयबारे तयार पारिएको रिपोर्टले बालेन शाहको उदय केवल एक चुनावी नतिजा मात्र नभई नेपालको परम्परागत राजनीतिक संरचनामा आएको उथलपुथलको रूपमा व्याख्या गरेको छ । यस उथलपुथलको आधार ‘जेनजी’ पुस्ताले राखेको हो ।  

बालेनलाई ‘पुग्नेसियस’ अर्थात् निडर र जुझारु नेताको रूपमा न्युयोर्क टाइम्सले चित्रण गरेको छ। उनले पुराना र स्थापित राजनीतिक दलका नेताहरूसँग डराउनुको साटो उनीहरूलाई सिधै चुनौती दिने र आफ्नो अडानमा अडिग रहने शैलीलाई जनताले रुचाएको उल्लेख छ।

लेखका अनुसार बालेनले परम्परागत चुनावी र्‍यालीभन्दा पनि डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गरेर मतदाताहरूसँग सिधै संवाद गरे । 

यसले गर्दा उनलाई ‘अल्गोरिदमले जन्माएको नेता’ का रूपमा समेत विश्लेषण गरिएको छ। रास्वपाले पाएको १८२ सिटको बहुमतलाई न्युयोर्क टाइम्सले ‘ऐतिहासिक र भारी म्यान्डेट’ भनेको छ । 

तर, सँगसँगै यो विशाल जनमतले बालेन शाहमाथि ‘डेलिभरी’ को ठूलो दबाब र चुनौती पनि थपेको टिप्पणी गरिएको छ। साथै, यो जितले दक्षिण एसियाका अन्य देशहरूमा पनि वैकल्पिक राजनीतिक शक्तिको उदय हुन सक्छ भन्ने एउटा नयाँ उदाहरण पेस गरेको न्युयोर्क टाइम्सको ठहर छ।

९ मार्च २०२६ मा टाइम्स अफ इन्डियाले बालेन शाहको यात्रालाई एक चलचित्रको कथा जस्तै ‘अन्डरग्राउन्ड र्‍यापर’ देखि देशको ‘कार्यकारी प्रमुख’ सम्मको यात्राका रूपमा चित्रण गरेको छ। उक्त लेख अनुसार बालेनले सङ्गीत र कलालाई राजनीतिक माध्यम बनाएर युवा पुस्तालाई सङ्गठित गरे। यसले नेपालको राजनीतिमा वर्षौँदेखि जरा गाडेर बसेका पारिवारिक र परम्परागत विरासतहरूलाई ध्वस्त पारेको उल्लेख छ। 

भू-राजनीतिक दृष्टिकोण समेत समेटिएको यस रिपोर्टमा बालेनको नेतृत्वमा नेपालको भारतसँगको सम्बन्ध र विशेष गरी सीमा विवादका विषयमा उनको ‘राष्ट्रवादी’ अडानले पार्न सक्ने प्रभावबारे पनि चर्चा गरिएको छ।

रोयटर्सले विशेष गरी रास्वपाले प्रयोग गरेको आधुनिक प्रविधि र तथ्याङ्कमा आधारित चुनावी प्रचारलाई मुख्य कारक मानेको छ । 

उनीहरूले परम्परागत राजनीतिक शक्तिहरूले गर्ने खर्चिलो र भीडभाडपूर्ण र्‍यालीभन्दा पनि लक्षित डिजिटल सन्देशहरूलाई प्राथमिकता दिएको उल्लेख छ। यस किसिमको प्रचार शैलीलाई रायटर्सले ‘सोफिस्टिकेटेड क्याम्पेन’ को नाम समेत दिएको छ। बालेन शाहको लोकप्रियताका दुईवटा पाटा- सिर्जनात्मक ‘र्‍याप’ र प्राविधिक ‘सिभिल इन्जिनियरिङ’ लाई यस रिपोर्टले जोड दिएको छ। यसले गर्दा उनलाई एकातिर युवाहरूलाई एकभावमा ढाल्न सक्ने शक्ति र अर्कोतिर विकासका आधारभूत समस्या समाधान गर्न सक्ने दक्ष व्यक्तिको रूपमा हेरिएको रायटर्सको विश्लेषण छ। यस जितलाई दक्षिण एसियाली राजनीतिमा देखिएको एक नयाँ आयाम भनिएको छ, जहाँ लोकप्रियतावाद र प्राविधिक विशेषज्ञताको संयोजनले पुराना राजनीतिक दलहरूलाई ठूलो चुनौती दिएको छ।

काउन्सिल अन फरेन रिलेसन्स (सीएफआर) को वेबसाइटमा जोसुवा कर्लान्टजिकद्वारा लिखित लेख ‘इन नेपाल जेनजी गेट्स अ भिक्टरी एण्ड द कन्ट्री मे टू’ ले बालेनको राजनीतिक सच्चरित्रको विश्लेषण गरे पनि बालेनमा तुलनात्मक रूपमा राजनीति र कूटनीतिको अनुभव नभएकाले चुनौतीहरू बढ्न सक्ने सङ्केत गरेको छ। 

आलेख अनुसार, बालेन कुनै पनि भ्रष्टाचारमा नमुछिएको एक सफा र नयाँ अनुहारका रूपमा हेरिएको र रास्वपाले पनि आफूलाई भ्रष्टाचारमुक्त र ‘टेक्नोक्र्याटिक’ समस्या समाधानकर्ताको रूपमा प्रस्तुत गरेका कारण युवा मात्र नभई परम्परागत पार्टीसँग थाकेका अन्य मतदाताहरूले पनि साथ दिएका छन् । 

लेखका अनुसार यदि यो सरकारले आफ्नो कार्यकाल पूरा गर्न सक्यो भने यसले नेपालको लोकतन्त्र पुनर्स्थापनापछिकै सबैभन्दा स्थिर सरकारको कीर्तिमान राख्न सक्नेछ।

डीडब्ल्यूले लेखेको रिपोर्टमा बालेनको व्यक्तिगत लोकप्रियता नै चुनावको निर्णायक भएकाले निर्वाचनको परिणामलाई ‘बालेन इफेक्ट’ को नाम दिइएको छ। रास्वपामा प्रवेश गरेपश्चात् नै पार्टीले उनलाई पहिले नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गरिसकेको थियो। डीडब्ल्यूले नेपाली बौद्धिक वृत्तमा चर्चित कृष्ण खनालसँग पनि कुरा गरेको थियो। उनले पनि रास्वपामा बालेनको प्रवेशलाई नै निर्वाचन नतिजाको नियन्ताको रूपमा हेरेका छन्। ‘रास्वपाको यो भारी विजय मुख्य रूपमा बालेनकै वरिपरि केन्द्रित थियो,’ राजनीतिक विश्लेषक कृष्ण खनालले डीडब्ल्यूलाई बताएका छन् । ‘जब पार्टीले उनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्‍यो, त्यसले मतदाताहरूमा निकै गहिरो प्रभाव पार्‍यो।’

गत सेप्टेम्बरमा भ्रष्टाचार र कुशासनप्रतिको आक्रोशले जन्माएको देशव्यापी ‘जेन-जी आन्दोलन’ ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य बनाएको थियो।

 त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनको स्थानमा अन्तरिम सरकार नियुक्त गरेका थिए। त्यस समयमा धेरै अभियन्ताहरूले सुरुमा बालेनलाई नै सो अन्तरिम प्रशासनको नेतृत्व सम्हाल्न आग्रह गरेका थिए ।

 ‘तर, जब उनले त्यसको सट्टा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरे, उनको लोकप्रियता अझै चुलियो,’ खनालले भने। 

यसलाई बालेनको एक रणनीतिक कदमका रूपमा हेरिएको थियो, जसले उनलाई तत्कालको नेतृत्वदायी भूमिकाबाट अलग रहेर पूर्ण रूपमा निर्वाचनमा केन्द्रित हुन मद्दत पुर्‍यायो।

इन्फ्लुएन्सर र पोडकास्टरहरूको प्रतिक्रिया

सोसल मिडियामा पनि बालेनको विजयले उत्तिकै तहल्का मच्चाएको छ। सामाजिक सञ्जाल ‘एक्स’ का पोस्टहरूमा उनलाई प्रधानमन्त्रीको रूपमा चर्चा गरिएको छ। एक पोस्टमा लेखिएको छ – ‘बालेन शाह झापा–५ बाट निर्वाचनमा विजयी भएका छन्। नयाँ सोच, इमानदार नेतृत्व, राम्रो शासनको अपेक्षा र देशका लागि सकारात्मक परिवर्तनको आशा सहित हार्दिक बधाई ।’ त्यस्तै अन्य पोस्टहरूमा बालेन शाह नयाँ प्रधानमत्री बन्ने विषयमा सकारात्मक अभिमतहरू रहेको देखिन्छ।

फेसबुकमा नेपालीहरूले अन्तर्राष्ट्रिय मिडियाको कभरेजबारे पोस्ट गरेका छन् । ‘द नेपाली फिभर’ नामक फेसबुक पेजले अन्तर्राष्ट्रिय मिडियाहरूले बालेनको बारेमा अपर्याप्त कुराहरू लेखेको भनेर आलोचना पनि गरेको छ। 

बालेनलाई ‘अल्गोरिदमले जन्माएको नेता’ का रूपमा समेत विश्लेषण गरिएको छ। रास्वपाले पाएको १८२ सिटको बहुमतलाई न्युयोर्क टाइम्सले ‘ऐतिहासिक र भारी म्यान्डेट’ भनेको छ ।

स्पोटिफाईमा ‘नेपाल अनकभर्ड: ट्राभल पडकास्ट’ को एपिसोडले बालेन शाहको चुनावी विजयलाई केवल राजनीतिक दृष्टिले मात्र नभई नेपालको पर्यटन र प्रविधिको भविष्यसँग जोडेर विस्तृत विश्लेषण गरेको छ।

 पोडकास्टमा रास्वपाको ‘वाचा पत्र’ मा उल्लेखित पर्यटन नीतिबारे चर्चा गरिएको छ। विशेष गरी झन्झटिलो कागजी प्रक्रिया अन्त्य गर्न एकद्वार डिजिटल अनुमति प्रणाली लागू गर्ने योजनालाई पदयात्रीका लागि ठूलो राहतका रूपमा हेरिएको छ। 

इन्फ्लुएन्सरहरूले ‘बालेन इफेक्ट’ लाई युवा सशक्तीकरणको रूपमा प्रचार गरे। बालेनको विजयलाई लिएर भारतीय इन्फ्लुएन्सरहरूले एमसी स्ट्यानलाई जोडेर मजाक गरे ,’यदि र्‍यापरले देश चलाउन सक्छ भने हामी पनि ?’

हिप-हप समुदायले बालेनलाई अपनाएको छ। ‘अल हिपहप’ ले ‘र्‍यापर बालेन शाह नेपालको प्रधानमन्त्री बन्दै’ शीर्षकका समाचार पनि लेखे र सेयर गरे । 

भारतीय र्‍यापरहरूले यस विषयलाई ट्रेन्डिङ गरे। अन्तर्राष्ट्रिय समुदायबाट बालेनले धेरै प्रशंसा र न्यून आलोचना प्राप्त गरिरहँदा उनका चुनौतीहरू भने बिस्तारै बढ्ने देखिन्छ। बालेनसँग मात्र ३ वर्षको शासन अनुभव छ। 

मध्यपूर्वमा भइरहेका युद्ध, वैश्विक रूपमा भइरहेका सत्ता र शक्तिका द्वन्द्वबीच कूटनीतिक पक्षले ठुलो महत्त्व राख्ने कुराहरू बाहिर आउन थालेका छन्। विभिन्न मिडियाहरूले ‘नेपाल अज्ञात पथमा प्रवेश गर्दै छ’ समेत भनेका छन्।

जेनजीले रुचाएका र अधिक विश्वास गरेका पात्रको रूपमा र कान्छो प्रधानमन्त्रीको रूपमा उनको सम्भावना र चुनौती दुवै देखिरहेको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
कञ्चन

लेखक साहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?