भारतको झारखण्ड राज्यमा एक दु:खद् घटना घटेको छ । बिहेभोजमा रसबरी खाने क्रममा घाँटीमा अड्किएर एक व्यक्तिको मृत्यु भएको हो । भारतीय मिडियाहरूमा आएका खबरअनुसार घटना गत शुक्रबार रातिको हो ।
जमशेदपुरको बेलाजुरी पञ्चायतस्थित मलियान्ता गाउँमा शुक्रबार राति विवाह समारोहमा थियो । यसै गाउँमा ४१ वर्षीय ललित सिंह उक्त समारोहमा रातिको करिब १ बजेतिर पुगेका थिए । खाना खादै गर्दा जब उनले रसबरी खाए, त्यो उनको घाँटीमा अड्कियो । सास फेर्न समस्या भएपछि त्यहाँ भएका अरूले घाँटीमा अड्किएको रसबरी निकाल्ने कोसिस पनि गरे ।
निकाल्न नसकेपछि उनको अवस्था गम्भीर बन्दै गयो । गाउँलेले तुरुन्त एमजीएम अस्पताल पुर्याए । अस्पताल पुग्नेबित्तिकै चिकित्सकले ललितलाई मृत घोषणा गरे ।
पोस्टमार्टम रिपोर्टअनुसार रसबरी श्वासनलीमा प्रवेश गरेको पाइयो । घाँटीमा रसबरी अड्किएर श्वास–प्रश्वासको मार्ग बन्द भएपछि शरीरमा अक्सिजनको मात्रा कम भयो । यही कारण ती युवकको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखायो ।
एमजीएम अस्पतालका डा. रोहित झाका अनुसार एपिग्लोटिस नामको ग्रन्थीले खानालाई श्वासनलीमा प्रवेश गर्नबाट रोक्छ । तर हामी नसामा छौँ वा खाना निल्दै गरेको बेलामा बोलिरहेका छौँ भने त्यो समय यसले राम्रोसँग काम गर्दैन । यही कारण खाना श्वासनलीतिर प्रवेश गर्ने जोखिम हुन्छ । भोजन नलीतिर जानुपर्ने खाना श्वासनलीतिर जाँदा अड्किएर श्वास–प्रश्वास बन्द हुने र मृत्यु समेत हुने जोखिम हुन्छ ।
शनिबार नै परिवारले शव जिम्मा लिएर अन्त्येष्टि गरेका छन् ।
प्रतिक्रिया 4