+

लो फाइबर डाइटले प्रभावित हुन सक्छन् शरीरका यी ५ कार्य

२०८२ चैत  २४ गते १४:०६ २०८२ चैत २४ गते १४:०६
Shares
लो फाइबर डाइटले प्रभावित हुन सक्छन् शरीरका यी ५ कार्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फाइबरको कमीले ब्लड सुगर अस्थिर, खराब कोलेस्ट्रोल बढ्ने, गट माइक्रोबायोम असन्तुलन र पाचन समस्या निम्त्याउछ।

पछिल्लो समय मानिसहरूले प्रशोधित खानेकुरा, छिट्टै बन्ने इन्स्ट्यान्ट फूडहरू, फास्ट फूड र रिफाइन्ड कार्बोहाइड्रेटहरू बढी खान थालेका छन् । यसको नतिजास्वरूप विभिन्न रोगहरू जस्तै मधुमेह, मोटोपन, हृदय रोग र आन्द्रासम्बन्धी समस्या बढिरहेका छन्।

पहिले-पहिले मानिसहरूले ताजा अन्नबाट बनेका परिकार, तरकारी, दालहरू बढी खान्थे ।  यस्ता खानेकुरामा प्रशस्त डाइटरी फाइबर हुन्थ्यो । फाइबरले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ, पाचन प्रक्रियालाई सहज बनाउँछ र शरीरका फोहोर पदार्थहरूलाई बाहिर निकाल्न मद्दत गर्छ । फाइबरले आन्द्रामा रहेका राम्रा ब्याक्टेरियालाई खाना उपलब्ध गराउँछ, जसले समग्र स्वास्थ्यलाई राम्रो बनाउँछ ।

विश्व स्वास्थ्य संगठन र विभिन्न स्वास्थ्य संस्थाहरूका अनुसार, वयस्कहरूले दैनिक २५–३० ग्राम (महिलाहरूका लागि २१–२५ ग्राम र पुरुषहरूका लागि ३०–३८ ग्राम) फाइबर खानुपर्छ । तर अधिकांश मानिसहरूले यो मात्राको आधा पनि खाइरहेका हुँदैनन् । फाइबरको कमीले शरीरमा गम्भीर असर पार्न सक्छ ।

१. ब्लड सुगरको स्तरमा उतार–चढाव र मधुमेहको जोखिम

यदि लो फाइबर डाइट लिइयो भने, खाना खाएपछि रगतमा चिनीको स्तर छिट्टै बढ्छ किनकि फाइबरले कार्बोहाइड्रेटको अवशोषणलाई ढिलो बनाउँछ । बारम्बार यस्तो हुँदा इन्सुलिन रेसिस्टेन्स बढ्छ र टाइप २ मधुमेहको जोखिम उच्च हुन्छ । अमेरिकन डायबिटिज एसोसिएसनका अनुसार, फाइबरयुक्त आहारले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।

२. खराब कोलेस्टेरोल बढ्ने

फाइबरको कमीले खराब कोलेस्टेरोल (एलडिएल) को स्तर बढाउँछ । फाइबर विशेष गरी सोल्युबल फाइबर आन्द्रामा बाइल एसिडसँग बाँधिएर शरीरबाट बाहिर निकाल्छ, जसले नयाँ बाइल एसिड बनाउन शरीरले कोलेस्टेरोल प्रयोग गर्छ र एलडिएल घट्छ ।

विभिन्न अध्ययनहरूले प्रमाणित गरेका छन् कि कम फाइबरयुक्त खानक सेवनले मुटु रोग, स्ट्रोक र उच्च रक्तचापको जोखिम बढाउँछ । ताजा फलफूल, तरकारी, दाल आदिबाट प्राप्त फाइबरले कोरोनरी हार्ट डिजिज, मधुमेह र मोटोपन कम गर्न मद्दत गर्छ ।

३. गट माइक्रोबायोमको असन्तुलन

आन्द्रामा रहेका राम्रा ब्याक्टेरियालाई गट माइक्रोबायोम भनिन्छ । फाइबर यी ब्याक्टेरियाको मुख्य खाना हो, जसले तिनको संख्या बढाउँछ र छोटो चेन फ्याटी एसिड उत्पादन गर्छ जसले आन्द्राको स्वास्थ्य र इम्युनिटी बलियो बनाउँछ । लो फाइबर डाइटले राम्रा ब्याक्टेरियाको संख्या घटाउँछ र नराम्रा ब्याक्टेरिया हावी हुन्छन् ।

यसले माइक्रोबायोम असन्तुलन निम्त्याउँछ, जसबाट कमजोर रोग प्रतिरोधि क्षमता, मेटाबोलिक समस्या, सूजन र लामो समयमा आन्द्राको क्यान्सरको जोखिम पनि बढ्छ । स्ट्यानफोर्ड युनिभर्सिटीको अध्ययनअनुसार, पुस्तौंसम्म लो फाइबर डाइटले गट ब्याक्टेरियाको विविधता स्थायी रूपमा घटाउन सक्छ ।

४. पाचन समस्याहरू 

फाइबरले मललाई नरम बनाउँछ र आन्द्राको गतिविधि बढाउँछ । यसको कमी हुँदा मल कडा हुन्छ, दिसा लाग्न गाह्रो हुन्छ र कब्जियत हुन्छ । लामो समयसम्म कब्जियत हुँदा हेमोराइड्स, डाइभर्टिकुलाइटिस र आन्द्राका अन्य रोगको जोखिम बढ्छ । यसबाहेक ग्यास, पेट फुल्ने, अपच, क्र्याम्प्स जस्ता समस्या पनि देखिन्छन् ।

५. वजन बढ्ने, मेटाबोलिज्म सुस्त हुने र समग्र मेटाबोलिक समस्या

फाइबरयुक्त खानेकुराले पेट लामो समय भरिएको महसुस गराउँछ, जसले बढी खाने सम्भावना कम गर्छ । तौल नियन्त्रणमा मद्दत गर्छ । लो फाइबर डाइटमा पोषण कम हुन्छ, छिट्टै भोक लाग्छ र क्यालोरी बढी हुने जोखिम हुन्छ ।

यसले तौल बढाउँछ, मेटाबोलिज्म सुस्त बनाउँछ र उच्च रक्तचाप, टाइप २ मधुमेह, हृदय रोग जस्ता मेटाबोलिक सिन्ड्रोमको जोखिम बढाउँछ । अध्ययनहरूले देखाएका छन् कि उच्च फाइबर डाइटले वजन घटाउन र मेटाबोलिक स्वास्थ्य सुधार्न मद्दत गर्छ ।

फाइबर बढाउँदा पानी पनि पर्याप्त पिउनुहोस् र बिस्तारै बढाउनुहोस् ताकि ग्यास वा ब्लोटिङ नहोस् । यसरी स्वस्थ आहार अपनाएर विभिन्न रोगबाट बच्न र समग्र स्वास्थ्य राम्रो बनाउन सकिन्छ । यदि कुनै स्वास्थ्य समस्या छ भने चिकित्सक वा डाइटिसियनसँग सल्लाह लिनु उत्तम हुन्छ ।

खाना फाइबर
प्रवीण भट्टराई
लेखक
प्रवीण भट्टराई
पोषणविद्

भट्टराई पोषणविद् हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय