प्रविधि क्षेत्रको दिग्गज कम्पनी एप्पलले भिडियो सम्पादनमा प्रयोग हुने प्लग–इन्स र टेम्प्लेटहरू निर्माण गर्ने चर्चित कम्पनी ‘मोसन भीएफएक्स’ खरिद गरेको छ ।
सोमबार सार्वजनिक गरिएको यस सम्झौताको वित्तीय विवरण भने गोप्य राखिएको छ । पोल्याण्डको वार्सामा मुख्यालय रहेको यो कम्पनीले विगत १५ वर्षदेखि एप्पलको ‘फाइनल कट प्रो’ का लागि उच्च गुणस्तरका भिजुअल इफेक्टहरू बनाउँदै आएको थियो ।
एप्पलले आफ्नो ‘सर्भिस’ व्यवसायलाई विस्तार गर्ने रणनीतिका साथ यो कदम चालेको देखिन्छ ।
यसै वर्षको जनवरीमा एप्पलले ’क्रिएटर स्टुडियो’ नामक नयाँ सब्सक्रिप्सन प्याकेज सुरु गरेको थियो, जसमा फाइनल कट प्रो, लजिक प्रो र पिक्सेलमेटर प्रो जस्ता एपहरू समावेश छन् ।
मोसन भीएफएक्सको प्रविधिलाई अब एप्पलले यही प्याकेजमा एकीकृत गर्ने सम्भावना छ ।
यसले गर्दा भिडियो सम्पादकहरूका लागि एप्पलको प्लेटफर्म अझ आकर्षक बन्ने र यसले सिधै ‘एडोबी प्रिमियर प्रो’ सँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
एप्पलको कुल आम्दानीमा सेवा क्षेत्रको हिस्सा अहिले २६ प्रतिशतभन्दा बढी पुगिसकेको छ ।
प्रतिक्रिया 4