News Summary
Generated by OK AI. Editorially reviewed.- एसईई परीक्षा अघि विद्यार्थीहरूमा मानसिक तनावका कारण पेट दुख्ने, टाउको दुख्ने, थकान जस्ता शारीरिक समस्या देखिन्छन्।
- अभिभावकले निगरानीभन्दा अर्थपूर्ण सहयोग र सहानुभूति देखाउँदा विद्यार्थीहरू आत्मविश्वासका साथ परीक्षा सामना गर्न सक्षम हुन्छन्।
केही वर्षअघि एसईई (माध्यमिक शिक्षा परीक्षा) सुरु हुनुअघि कक्षा १० का एक विद्यार्थी शान्त रूपमा मेरो कार्यकक्ष बाहिर उभिएका थिए । उनले कुनै गल्ती गरेका थिएनन्, परीक्षाको तयारी पनि गरिरहेकै थिए । उनले सुनाए– उनी राति राम्रोसँग सुत्न सकेका छैनन् । केही हप्तादेखि उनलाई पेट दुख्ने समस्या पनि थियो, तर चिकित्सकलाई देखाउँदा कुनै शारीरिक समस्या देखिएन । यही बोकेर आएका थिए, ती विद्यार्थी।
हरेक वर्ष हजारौं नेपाली विद्यार्थी एसईईमा सहभागी हुन्छन् । तर परीक्षा कक्षमा प्रवेश गर्नुअघि नै धेरै विद्यार्थीहरू परीक्षासँग जोडिएका अपेक्षाहरूका कारण थकित र चिन्तित भइसकेका हुन्छन् । परीक्षा नजिकिँदै जाँदा ज्वरो आउने, टाउको दुद्ने, पेट दुख्ने, वाकवाकी, अत्यधिक थकान हुने र बारम्बार बिरामी पर्नु सामान्य जस्तै देखिन्छ ।
यस्ता लक्षणलाई प्रायः बहाना ठानिन्छ, तर वास्तविकतामा यी गहिरा मानसिक तनावका संकेत हुन् । परीक्षा नजिकिँदै गर्दा धेरै बालबालिको मनले भन्न खोजिरहेको हुन्छ, ‘म पढ्न सक्दिन होइन, म यो दबाब सम्हाल्न सकिरहेको छैन ।’
जब चिन्ता शरीरमार्फत बोल्छ
किशोरावस्थामा भावनात्मक तनाव सधैँ शब्दमा व्यक्त हुँदैन । धेरैजसो अवस्थामा चिन्ता शारीरिक रूपमा देखिन्छ । परीक्षा समयमा बारम्बार बिरामी पर्नु भनेको ‘शरीरलाई के भयो ?’ भन्ने मात्रै होइन ‘मनमा के बोझ छ ?’ भनेर सोध्नु पर्ने संकेत हो ।
हार्वर्ड मेडिकल स्कुल (२०२३) को न्युरोसाइन्स अनुसन्धान अनुसार दीर्घकालीन तनावले शरीरको ‘फाइट अर फ्लाइट’ प्रणाली सक्रिय बनाउँछ, जसले कोर्टिसोल हर्मोन बढाउँछ । यसका कारण टाउको दुखाइ, पेटसम्बन्धी समस्या, थकान, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु र ध्यान केन्द्रित गर्न गाह्रो हुनु जस्ता समस्या देखिन्छन् विशेषगरी उच्च दबाबयुक्त परीक्षामा ।
यी संकेतलाई बेवास्ता गर्दा विद्यार्थीले आफ्नो पीडालाई कमजोरी ठान्न थाल्छन्, चेतावनी होइन ।
लक्षण चाँडै चिनेर अभिभावक र विद्यालयले दबाब होइन, सहानुभूति देखाउन सके विद्यार्थीहरू आत्मनियन्त्रणमा फर्कन्छन्, ध्यान केन्द्रित गर्न सक्छन् र डरभन्दा आत्मविश्वासका साथ परीक्षा सामना गर्न सक्षम हुन्छन्।
किशोरावस्था र अभिभावक–सन्तान सम्बन्ध
एसईई किशोरावस्थाको संवेदनशील चरणसँगै पर्छ । यस समयमा अभिभावक–सन्तान सम्बन्ध स्वाभाविक रूपमा परिवर्तन हुन्छ । कतिपय बालबालिका अझै आश्वासन खोज्छन् भने कतिपय सल्लाहबाट टाढा रहन्छन् । अभिभावकले सल्लाह दिँदा च्याठिने, रिसाउने गर्छन् वा मौन बन्छन् । यसलाई प्रायः असम्मान ठानिन्छ ।
युनिसेफ (२०२३) को अनुसन्धानअनुसार १४देखि १६ वर्षको उमेरमा देखिने प्रतिरोधी व्यवहार विकासको सामान्य चरण हो । यस उमेरमा किशोर-किशोरीहरू आफ्नो पहिचान, स्वायत्तता र आत्मनिर्णय खोजिरहेका हुन्छन्, तर भावनात्मक सुरक्षाको आवश्यकता अझै रहन्छ । उनीहरूको प्रतिक्रिया अवज्ञा होइन, आन्तरिक द्वन्द्वको संकेत हो ।
अभिभावकले ३.९ वा सोभन्दा माथिको जीपीए लक्ष्य राख्न आग्रह गर्दा ‘जे हुन्छ, हुन्छ’ भन्ने जवाफ आउन सक्छ । तर यस पछाडि असफलताको डर, चिन्ता वा भावनात्मक थकान लुकेको हुन्छ । धेरै विद्यार्थी स्वतन्त्रता चाहने र बुझाइ खोज्नेबीच डोलाइरहेका हुन्छन् ।
निगरानी कि अर्थपूर्ण सहयोग ?
अभिभावकको निगरानी आवश्यक छ, तर त्यसको तरिका महत्त्वपूर्ण हुन्छ । ‘तँ सधैँ मोबाइलमै हुन्छस्’, ‘पढ्दैनस्’ जस्ता टिप्पणीले सहयोगभन्दा पनि निरीक्षण भइरहेको अनुभूति गराउँछ ।
अर्थपूर्ण सहयोग भनेको साथ दिनुहोस्, विश्वास गर्नुहोस्, र बच्चालाई आफ्नै गति र क्षमतामा अघि बढ्न दिनुहोस्
-खुला प्रश्न सोध्नु
उपदेशदिनु भन्दा बढी सुन्ने
-नियन्त्रण होइन, मार्गदर्शन गर्नु
बालबालिका तब खुल्छन् जब उनीहरू सुरक्षित महसुस गर्छन्, निरन्तर मूल्यांकन भइरहेको होइन ।
‘मलाई भाग्न मन लाग्छ’
‘म पढ्न चाहन्न, म यहाँबाट भाग्न चाहन्छु’ जस्ता वाक्यलाई नाटक वा अल्छीपन ठान्नु हुँदैन । यी भावनात्मक अत्यधिक दबाब, असफलताको डर वा आत्मविश्वास गुमेको संकेत हुन् । धेरै विद्यार्थी सोध्छन्, ‘कक्षा १२ अझै महत्त्वपूर्ण छ भने कक्षा १० मा किन यति धेरै दबाब ? एसईईले भविष्य नै निर्धारण गर्छ भन्ने धारणा गलत भए पनि, निरन्तर तुलना र अपेक्षाबीच बाँचिरहेका विद्यार्थीका लागि यो अत्यन्त वास्तविक हुन्छ ।
तुलना र समान परिणामको भ्रम
अर्को ठूलो तनावको स्रोत तुलना हो । कसैले धेरै मिहिनेत गरेर पनि कम अंक ल्याउँछ, कसैले कम पढेजस्तो देखिएर पनि राम्रो गर्छ । घरघरमा सुनिने वाक्य, ‘यो त कहिल्यै पढेको देखिएन, तर कति राम्रो मार्क्स ल्यायो ।’ तर अंकले बुद्धिमत्ता, प्रयास वा भविष्यको सम्भावना मापन गर्दैन । सिकाइको शैली, गति, मार्गदर्शन भावनात्मक तयारी फरक-फरक हुन्छ ।
एसईई समयमा के वास्तवमै सहयोगी हुन्छ ?
-यथार्थपरक दिनचर्या
-दबाब होइन, अध्ययन विधिमा मार्गदर्शन
-पोषण र निद्रा
(लेखक नेहा केसी स्वस्ती श्री गुरुकुल स्कूलकी प्रिन्सिपल हुन् )
प्रतिक्रिया 4