News Summary
Generated by OK AI. Editorially reviewed.- २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण विद्यालय तहको अन्तिम परीक्षा तालिका प्रभावित हुने भएको छ।
- राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैतको पहिलो साता गर्ने तालिका सार्वजनिक गरेको छ तर चुनावका कारण परिमार्जन गर्नुपर्ने छ।
- मतपत्र र प्रश्नपत्र छपाइ जनक शिक्षा सामग्री केन्द्रबाट हुने भएकाले परीक्षा तालिका र मतदानका कारण विद्यालय तीन दिन बन्द हुने तयारी भइरहेको छ।
२२ पुस, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण शैक्षिक क्यालेन्डर प्रभावित हुने भएको छ । चुनावका कारण परीक्षा तालिकामा केही परिमार्जन गर्नुपर्ने देखिएको छ ।
फागुन–चैत महिना विद्यालय तहको अन्तिम परीक्षा हुने समय हो । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) चैतको पहिलो साता गर्ने तालिका सार्वजनिक गरेको छ ।
तर, निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुने भएकाले परीक्षाको तालिकामा केही परिमार्जन गर्नुपर्ने भएको हो । यसबारे राष्ट्रिय परीक्षा बोर्डले थप निर्णय गर्ने तयारी गरेको छ । ‘चुनावको मिति घोषणा भएको छ । परीक्षाको रुटिन निकाल्दा चुनावलाई मध्यनजर गरेर निकाल्छौँ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने ।
माघको पहिलो साता एसईईको रुटिन सार्वजनिक गर्ने कार्यतालिका छ । ‘बोर्ड बैठक बसेर निर्णय गर्छौं । तोकिएको समयमा चुनाव भएमा तालिकामा केही हेर्नुपर्ने हुन्छ,’ उनले भने । निर्वाचनको मतपत्र र प्रश्नपत्र छपाइको तालिका मिलाउनुपर्ने भएकाले पनि केही तलमाथि हुन सक्नेछ ।
जनक शिक्षाका अनुसार सोमबारदेखि मतपत्र छपाइको काम सुरु भएको छ । ‘मतपत्र छपाइको काम आजदेखि सुरु भएको छ । दुई दिन नमुना मतपत्र र त्यसपछि समानुपातिकको मतपत्र छपाइ सुरु हुन्छ,’ केन्द्रका प्रवक्ता रामबहादुर कुँवरले भने ।
एसईईको प्रश्नपत्र छपाइमा करिब २५ दिन जति लाग्नेछ । ‘प्रश्नपत्र छपाइको तालिका आयो भने छपाइमा समस्या हुँदैन,’ कुँवरले भने । तर, मतपत्र छपाइले प्रश्नपत्र छपाइको तालिकामा केही फरक पर्न सक्ने उनले बताए । परीक्षा बोर्डले माघको चौथो सातादेखि फागुन मसान्तसम्म प्रश्नपत्र छाप्ने तालिका बनाएको थियो ।
समानुपातिकको मतपत्र छपाइको काम सकिएपछि प्रत्यक्षतर्फ चुनावको मतपत्र पनि छपाइ गर्नुपर्ने भएकाले जनक शिक्षालाई कामको भार पर्नेछ । सँगै ५ लाख बढी विद्यार्थी एसईईमा सहभागी हुने भएकाले सोही बराबर प्रश्नपत्र पनि छपाइ गर्नुपर्ने जिम्मेवारी केन्द्रलाई छ ।
एसईईको मात्र होइन, विद्यालय तहका अन्य कक्षाको पनि परीक्षामा केही फरक पर्ने भएको छ । विद्यालयमा समेत मतदान केन्द्र राख्ने गरिएकाले परीक्षाको तालिका प्रभावित हुने अधिकारीहरूले बताएका छन् ।
‘विद्यालय तहको अन्तिम परीक्षाको समय हो । चुनावले केही दिन असर गर्नसक्छ । यो विषयमा छलफल गर्नु पर्नेछ,’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले भने ।
मतदानको समयमा विद्यालय तीन दिनसम्म बन्द हुने भएकाले सोहीअनुसार परीक्षाको नयाँ तालिका बनाउने तयारी गरिएको हो । यस विषयमा निर्वाचन आयोगले पनि थप निर्णय लिने बताइएको छ ।
‘विद्यालयमा मतदान केन्द्र विगतमा पनि रहने गरेको छ । अब यसबारेमा आयोगले थप निर्णय गर्छ,’ आयोगका सहप्रवक्ता कुलबहादुर जीसीले भने । विद्यालय तहको धेरैजसो पाठ्यपुस्तक जनक शिक्षामा नै छापिने गरेको छ । चुनावको मतपत्र, प्रश्नपत्र र पुस्तक छपाइ सँगसँगै लैजादा शैक्षिक क्यालेन्डरमा केही प्रभावित हुने भएको हो ।
प्रतिक्रिया 4