+
+
Shares

एमालेमा समस्या माथि, समीक्षा तल

तत्काल सचिवालय अथवा केन्द्रीय कमिटी बैठक बोलाउने संकेत नगरेको एमालेले कार्यकर्ता तहबाट समीक्षा थाल्ने शैली अपनाएको छ ।

सइन्द्र राई सइन्द्र राई
२०८२ चैत ३ गते २१:५०
पछिल्लोपटक बसेको एमाले सचिवालय बैठक ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको पराजय समीक्षा तल्लो कमिटीहरुमा शुरू गरेको छ।
  • महासचिव शंकर पोखरेलले भर्चुअल बैठकमार्फत निर्देशन दिएका छन्।
  • झापा लगायत प्रदेशहरुमा एमाले मतान्तरमा पराजित भएको र अन्तर्घातको आरोप लगाउँदै कारबाहीको तयारी भइरहेको छ।

३ चैत, काठमाडौं । पछिल्लो चुनावमार्फत् धराशायी बनेको नेकपा एमालेले तल्लो कमिटीहरुमा प्रतिनिधिसभा निर्वाचनको पराजय समीक्षा शुरू गरेको छ । कतिपय कमिटीले स्वत: स्फूर्त समीक्षा थालेका छन् भने कतिपयमा पार्टी केन्द्रको निर्देशन बमोजिम छलफल शुरू भएको छ ।

एमाले काठमाडौंमा महासचिव शंकर पोखरेलको निर्देशन बमोजिम यस्ता बैठकहरू राख्न थालिएका छन् । ‘सबैजसो कमिटीहरुमा निर्वाचनको समीक्षा गरिदैछ,’ एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले भने, ‘हाम्रो पार्टीले किन पराजय बेहोर्नपर्‍यो भन्ने विश्लेषण हुन्छ ।’

लामो समय एमालेको प्रभाव क्षेत्र रहेको राजधानी काठमाडौं सहित सिंगो बागमती प्रदेशमै यसपटक एमाले क्लिनस्वीप भएको छ । २०१५ सालको पहिलो निर्वाचनमै कम्युनिष्ट पार्टीले जितेको काठमाडौंमा (नेकपाले देशभर चार सिट जित्दा एक सिट काठमाडौं थियो) पञ्चायतमै पनि पद्यरत्न तुलाधार जनपक्षीय उम्मेदवार हुँदै निर्वाचित भएका थिए ।

मदन भण्डारीले २०४८ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाइ हराएसँगै राजधानीमा स्थापित एमाले यो निर्वाचनबाट नराम्रोसँग बढारिएको छ ।

प्रत्यक्ष तर्फका अधिकांश उम्मेदवारलाई जमानत जोगाउनै कठिन परेको काठमाडौं जिल्लाबाट एमालेले समानुपातिक तर्फ जम्मा ३६ हजार ८५४ मत पाएको छ, जबकि रास्वपाको मत झण्डै तीन लाख छ । सात लाख १० हजार मतदाता रहेको काठमाडौंको १० वटा निर्वाचन क्षेत्रबाट रास्वपाले २ लाख ९६ हजार ५५७ मत पाएको छ ।

‘कहाँ कमजोरी भयो त्यसको निर्क्यौल हुन्छ, कुन तहका नेताबाट गल्ती भयो, त्यो पनि समीक्षा हुन्छ,’ जिल्ला अध्यक्ष निरौलाले भने, ‘केन्द्रकै नेताले गल्ती गरेको हो भने पनि त्यसको पनि समीक्षा नगर्नु भनिएको छैन ।’

महासचिव पोखरेलले प्रदेश र जिल्ला अध्यक्षहरूसँग हिजो मात्र भर्चुअल बैठक राखेर समीक्षा गर्न निर्देशन दिएका छन् । जसअनुसार काठमाडौं सहितका जिल्ला कमिटीहरूमा समीक्षा शुरू भएको नेताहरू बताउँछन् ।

कतिपय जिल्लाहरुले भने यसअघि नै समीक्षा थालिसकेका छन् । पुरा प्रदेश नै क्लिन स्वीप भएपछि गण्डकी एमालेका जिल्ला अध्यक्षहरूले प्रारम्भिक समीक्षा गरिसकेका छन् । ‘पार्टीलाई पुनर्गठन गर्ने कि विघठनमा जाने भन्ने एउटा विकल्प रोज्नुपर्ने अवस्था आयो भन्ने प्रारम्भिक समीक्षा छ,’ गण्डकीका एक नेताले भने ।

एमालेको गढ मानिने पाल्पामा समेत यसपटक पराजय बेहोर्नु परेपछि त्यहाँको पार्टी पुनर्गठन अभियान शुरू भइसकेको छ । मतदातालाई धन्यवाद दिन र निर्वाचन समीक्षा गर्न ठाकुर गैरेले राखेको भेलाबाटै तानसेन नगर कमिटी विघटन गरी अधिवेशनको मिति तोकिएको छ ।

तानसेन नगर कमिटी विघटनको निर्णयलाई एमालेका ठूलै पंक्तिले स्वागत गर्दै केन्द्रदेखि स्थानीय तहसम्म यस्तै अभ्यासको थाल्नुपर्ने सुझावहरू राखेको देखिन्छ ।

‘तानसेनको अत्यन्तै उत्कृष्ट शुरुवात, यो अभियान केन्द्रदेखि वडासम्म चलाउनुपर्छ,’ केन्द्रीय सदस्य नरेश रोकायाले सामाजिक सञ्जालमै लेखेका छन् । रोकायाकै जस्तो प्रतिक्रिया अर्का केन्द्रीय सदस्य समिक बडालले पनि व्यक्त गरेका छन् । ‘यो अभियान मन पर्‍यो । स्थानीय निर्वाचनमा कामको योजना गज्जबको बनाएर पार्टीको साख जोगाउनुपर्छ,’ बडालले लेखेका छन् ।

दोष कार्यकर्तालाई मात्रै !

एमाले प्रचार संयोजक मीनबहादुर शाही भने निर्वाचनको औपचारिक समीक्षा शुरू नभएको बताउँछन् । ‘१३ दिनसम्म त औपचारिक बैठक बस्ने कुरै भएन, त्यसपछि बल्ल छलफल अगाडि बढ्ला,’ उनी भन्छन् । अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेकाले निर्वाचन पराजयको औपचारिक समीक्षा रोकिएको उनी बताउँछन् ।

शाहीकै जस्तो कुरा एमालेका अरू नेताहरूको पनि छ । ‘समानुपातिक तर्फको सांसद छान्न पनि उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक बस्यो,’ एक नेता भन्छन्, ‘यस्तो बेला निर्वाचन पराजयको तितापिरा कुरा थाल्ने भन्ने हुन्न ।’

गत शनिबार, (३० फागुनमा) बसेको सचिवालय बैठकले समानुपातिक सांसद सिफारिस र शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको थियो । ‘पार्टीको कुनैपनि कमिटीले निर्वाचनको समीक्षा थाल्ने निर्णय गरेको छैन, अब बस्ने बैठकबाट त्यो प्रस्ताव आउला,’ एक पदाधिकारीले भने ।

तर महासचिव पोखरेलले भर्चुअल बैठक मार्फत एमाले पराजित हुनुपर्ने निष्कर्ष सुनाएरै मातहतका कमिटीमा समीक्षा थाल्न निर्देशन दिएका छन् । ‘केपी ओली र एमालेविरुद्ध जनतामा भ्रम फैलाएर लोकप्रियतावाद र अराजकतावादको जगमा नयाँ शक्तिको उदय भएको हो,’ पोखरेलले नेताहरूलाई भनेका छन् ।

केन्द्रीय कार्यालयबाट महासचिव पोखरेलले निर्वाचन पराजयको राजनीतिक निष्कर्ष सुनाइसकेकाले अब तल्ला कमिटीहरुको समीक्षा प्राविधिक पक्षमा केन्द्रीत हुने अर्का एक नेता बताउँछन् । ‘महासचिवले नै निर्वाचन पराजयको निष्कर्ष सुनाइसकेपछि अब जिल्ला र पालिकाहरुमा कुन नेताले अन्तर्घात गरे, निर्वाचन जित्न के प्राविधिक समस्या आयो भन्ने जस्तो कार्यकर्ता तहको समीक्षा हुनुभयो,’ उनी भन्छन्, ‘यो शैली भनेको निर्वाचनको समीक्षालाई विषयान्तर गर्ने कुरा हो ।’

जेनजी आन्दोलनपछि उत्पन्न शून्यतामा पनि एमालेमा यस्तै शैली अपनाइएको थियो । नेपाली सेनाको नियन्त्रणबाट बाहिरिएर ओलीले सवैभन्दा पहिले जिल्ला अध्यक्षहरुसँग भर्चुअल बैठक गरेका थिए । प्रत्येक जिल्ला अध्यक्षसँग सम्वाद गरिसकेपछि बल्ल ओलीले केन्द्रीय कमिटी बैठक राखेका थिए । त्यसबेला पनि एमाले नेतृत्व पुनगर्ठनको आवाज उठेको थियो ।

‘जेनजी आन्दोलनपछि जस्तो शैली अपनाइएको थियो, फेरि उस्तै फोटोकपी गर्नतिर महासचिव लाग्नुभयो,’ ती नेता भन्छन्, ‘संभवत: अब केपी ओलीले जिल्ला अध्यक्षहरुसँग भर्चुअल बैठक राख्ने योजना हुन सक्छ ।’ तल्लो तहका कमिटी र त्यसमा आवद्ध कार्यकर्ताहरुको समीक्षामा पार्टी पंक्तिलाई अल्मल्याइएपछि केन्द्रीय नेतृत्व दोषबाट मुक्त हुने अर्का एक नेता बताउँछन् ।

‘जेनजी आन्दोलनमा केपी ओलीले भनेको कुरा सही हो कि बालेनले भनेको सही भन्नेमा निर्वाचन भयो,’ एमालेबाट उम्मेदवार रहेका उनी भन्छन्, ‘अब समीक्षा पनि तलबाट होइन, नेतृत्वबाट हुनुपर्छ ।’

मतदाताले उम्मेदवारहरुको कुनै कुरा नसुनी ओली र बालेनका कुरा मात्रै गरेको अनुभव उनी सुनाउँछन् । ‘स्थानीय समस्याको कुरा जनताले हेरेनन्, को कस्ता उम्मेदवार पनि हेरेनन्,’ उनी भन्छन् ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव योगेश भट्टराई, पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे लगायत नेताहरुले निर्वाचन लगत्तै नेतृत्व पुनर्गठनको आवाज उठाएका थिए ।

उनीहरुको तर्क छ– नीति, नेतृत्व, संगठन र शैली फेरेर एमालेलाई पुनर्जीवन दिनुपर्छ ।

यी नेताहरूको प्रतिवादमा महासचिव पोखरेल छन् । ‘..लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वभाविक हो । निराश नभई सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन सबैमा हार्दिक अनुरोध गर्दछु,’ दाङ–२ बाट पराजित भएलगत्तै पोखरेलले लेखेका थिए ।

अहिले पनि उनी निर्वाचनको पराजयलाई बाह्य कारण मान्नुपर्ने निष्कर्षमा देखिन्छन् ।

निर्वाचनको नतिजा हेर्दा एमालेलाई पुरानै अवस्थामा फर्काउन सामान्य मेहनत र पुनर्गठनले पुग्ने देखिदैन । प्रत्यक्षतर्फ जम्मा ९ सिटमा खुम्चिएको एमालेको समानुपातिक मत अझ दयनीय छ ।

चारपटक प्रधानमन्त्री बनेका ओलीले निर्वाचन लड्ने झापामा होस् अथवा देशब्यापी नतिजामा हेर्दा एमाले प्रतिस्पर्धाको नजिक समेत छैन । झापाकै मत विश्लेषण गर्दा पनि अन्तर्घात भनेर पन्छन सकिने स्थिति छैन ।

‘केही हजारको मतान्तरले हारजित भएको थियो भने अन्तर्घात भन्न मिल्थ्यो, समीक्षा गरेर गल्ती गर्ने नेतालाई कारबाही गर्न सकिन्थ्यो । यहाँ त ५० हजारको मतान्तर छ,’ एमाले झापाका एक नेता भन्छन्, ‘अब जनतालाई नै कारबाही गरे मात्रै हो ।’

चारपटक प्रधानमन्त्री बनेका ओलीकै जस्तो मतान्तरमा अरु एमाले उम्मेदवार पनि पराजित भएका छन् । झापा–२ मा पूर्वसभामुख देवराज घिमिरेले ११ हजार ३६८ मतमा खुम्चिँदा उनकै पालाकी पूर्वउपसभामुख इन्दिरा रानामगरले ६० हजार ११० मत सहित जितेकी छन् ।

झापा–१ मा रास्वपाकी निशा डाँगीले ४५ हजार ६८० मत ल्याएर जित्दा एमाले उम्मेदवार रामचन्द्र उप्रेती ७ हजार ६५९ मत सहित चौथो स्थानमा छन् । झापा–३ मा रास्वपाका प्रकाश पाठकले ३८ हजार ६७४ मत पाएर जित्दा एमालेका हरि राजवंशी ७ हजार ४९२ मत सहित चौथो स्थानमा सीमित भएका छन् । झापा–४ मा रास्वपाकै शम्भु ढकाल ४३ हजार ६३१ मत सहित निर्वाचित हुँदा एमालेका लालप्रसाद साँवाले जम्मा ११ हजार ९८६ मत पाएका छन् ।

झापा–५ मा ओली झण्डै ५० हजार मतान्तरले पराजित भएका छन् । ६८ हजार ३४८ मत पाएर बालेन निर्वाचित हुँदा ओलीले जम्मा १८ हजार ७३४ मत पाएका छन् । यदि श्रम संस्कृति पार्टीका समिर तामाङ यो क्षेत्रमा उम्मेदवार हुन्थेनन् भने बालेनको मतान्तर अझ बढी हुने रहेछ ।

तेस्रो स्थानमा रहेका तामाङले ९ हजार २३३ मत पाएका छन् । श्रम संस्कृति नयाँ पार्टी भएकाले तामाङ उम्मेदवार नहुँदा बालेनकै मत थपिने सहज अनुमान लगाउन सकिन्छ ।

तर ओली र उनलाई साथ दिने नेताहरूले भने अन्तर्घातकै खोजी गर्ने उद्देश्य सहित समीक्षा अघि बढाएका छन् । ‘अन्तर्घातकै कारण मैले हारेँ भनेर अध्यक्षले नेताहरुलाई भनिरहनुभएको छ,’ उच्च स्रोत भन्छ, ‘झापा–५ मा अन्तर्घात गर्ने १५ जनाको प्रारम्भिक सूची बनिरहेको छ । समीक्षाका क्रममा अझ बढ्न सक्छ ।’

संभवत: यही संकेत पाएर पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डेले कार्यकर्ताहरुलाई कारबाहीको धम्की नदिन नेतृत्वमा रहेका अरु सहकर्मीसँग आग्रह गरेको हुन सक्छ ।

‘जब जनताले मतपत्रबाटै अस्वीकारको कठोर फैसला सुनाइसकेका छन्, तब आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु कतिसम्म बुद्धिमानी होला ?,’ केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमा पाण्डेले लेखेका थिए, ‘यति ठूलो नैतिक पराजयपछि पनि अरुलाई कारबाही गर्ने नैतिक आधार अब नेतृत्वसँग कति बाँकी छ ?’

तर अन्तर्घात गर्नेलाई कार्बाही हुने प्रष्ट सन्देश सहित एमालेमा समीक्षा बैठकहरू शुरू भइसकेको छ । र मतविश्लेषण गर्दा तुलनात्मक बढी समीक्षा एमालेमै गर्नुपर्ने पनि देखिन्छ ।

समानुपातिकतर्फ १६ सिटमा खुम्चिएको एमाले ओलीको गृह प्रदेश कोशी मा त चौथो शक्तिमा धकेलिएको छ । ८ लाख ५३ हजार १८३ मत सहित कोशीमा रास्वपाले पहिलो मत पाउँदा एमाले २ लाख ८८ हजार १८६ मतमा सीमित भएको छ । भर्खरै खुलेको श्रम संस्कृति पार्टी २ लाख ९२ हजार ४९ मत पाएर दोस्रो हुँदा २ लाख ९० हजार ५६२ मत पाएर कांग्रेस तेस्रो शक्ति बनेको छ । बाँकी ६ प्रदेशमा एमाले तेस्रो शक्तिमा धकेलिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?