+
+
Shares

चुनावी हारले विक्षिप्त कांग्रेस, के हुन्छ समीक्षा ?

पार्टी सभापति गगनकुमार थापासँगै अन्य सात जना पदाधिकारी नै निर्वाचनमा पराजित भएपछि कांग्रेसमा निराशा देखिएको छ ।

केशव सावद केशव सावद
२०८२ फागुन २९ गते १९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा कमजोर अवस्थामा पुगेको छ र सभापति गगनकुमार थापासहित आठ पदाधिकारी पराजित भएका छन्।
  • राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमान सिंह कार्कीले कांग्रेसले तत्काल अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने सुझाव दिनुभएको छ।
  • कांग्रेसले निर्वाचन परिणामको समीक्षा गर्न केन्द्रीय कार्यसमिति बैठक चैत महिनाको पहिलो साताभित्रै बोलाउने तयारी गरेको छ।

२९ फागुन, काटमाडौं । लामो राजनीतिक विरासत बोकेको नेपाली कांग्रेस प्रतिनिधिसभाको पछिल्लो चुनावपछि संसदीय इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ ।

गुटबन्दी र आन्तरिक विवाद, नेतृत्वको पुस्तान्तरणमा भएको ढिलाई, नयाँ दलहरूको उदय र युवा पुस्ताको बदलिँदो सोचका कारण कांग्रेसलाई निर्वाचनमा नराम्रो धक्का लागेको छ ।

मतदाताले पुराना राजनीतिक दलहरूप्रतिको असन्तुष्टि मतपेटिकमार्फत् पोखेपछि कांग्रेसका लागि परिणाम प्रतिकूल बन्न पुग्यो ।

पार्टी सभापति गगनकुमार थापासँगै अन्य सात जना पदाधिकारी नै निर्वाचनमा पराजित भएपछि कांग्रेसमा निराशा देखिएको छ ।

तर, राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमान सिंह कार्की कांग्रेस–एमाले नेतृत्वको सरकार हुँदा जेनजी आन्दोलन भएकाले अहिलेको अवस्थामा नेतृत्वमा जोसुकै भए पनि असर पर्ने स्थिति रहेको बताउँछन् ।

‘पार्टीमा विद्रोह गरेर गगन थापा नयाँ विद्रोही संस्था लिएर निर्वाचनमा जानुभएको हो । यसपटकको निर्वाचन पुराना दलहरूको लामो समयसम्मको शासन र त्यसमा देखिएका विकृतिहरूसँग गाँसिएको विषय हो,’ उनले अनलाइनखबरसँग भने, ‘त्यसमा पनि कांग्रेस–एमालेको दुईतिहाइको सरकार भएको बेला जेनजी आन्दोलन भएकाले यो बेला नेतृत्वमा जोसुकै भएपनि असर पर्ने स्थिति थियो ।’

निर्वाचनमा नराम्रो पराजय बेहोर्नु परेको भन्दै कांग्रेसमा एकथरी नेता–कार्यकर्ताहरूले सभापति गगनकुमार थापामाथि प्रश्न उठाइरहेका छन् । अर्काथरी नेता–कार्यकर्ताहरू कांग्रेसको निवर्तमान नेतृत्वको भूमिका कारण प्रतिकूल नतिजा आएको तर्क गरिरहेका छन् ।

कार्यकर्ताहरूले गुटअनुसार पक्ष–विपक्षमा जेसुकै तर्क गरे पनि पछिल्लो निर्वाचन परिणामले पार्टीको वर्तमान अवस्था, संगठनात्मक क्षमता र भावी कार्यदिशाबारे कांग्रेसमा बहस जन्माएको छ ।

निर्वाचन सम्पन्न भएको चार दिनपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन परिणामले गम्भीर सन्देश दिएको भन्दै अस्वाभाविक महत्वकांक्षाबाट मुक्त भएर पार्टीको वृहत एकताका लागि निष्टा र समर्पण भावका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

सोही दिन नेता अर्जुननरसिंह केसीले नेतृत्व पाएको ५० दिनकै अवधिमा वर्षौंदेखि थुप्रिएका विकृति–विसंगति र समस्याहरू जादुगरी झैं चुट्कीको भरमा समाप्त पार्ने काम नहुनु स्वाभाविक नै भएको तर्क गरेका छन् ।

उनले वर्तमान परिस्थिति र परिणामको निर्मम विश्लेषण, समीक्षा र मूल्यांकन गरेर भावी रणनीति तयार गर्न पार्टी नेतृत्व युद्धस्तरमा केन्द्रित हुनुलाई प्रमुख आवश्यकताका रूपमा औंल्याएका छन् ।

कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले त सार्वजनिक रूपमै सभापति थापाको राजीनामा मागिसकेका छन् । विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परेकाले सभापति थापाले पदबाट राजीनामा दिनुपर्ने उनको तर्क छ ।

अर्का नेता डा. गोविन्दराज पोखरेल भने निर्वाचनमा पराजय बेहोरे पनि सभापति थापाको भूमिका समाप्त नभएको बताइरहेका छन् । हिन्दु धर्मावलम्बीहरूको ग्रन्थ गीतालाई उद्धृत गर्दै उनले भनेका छन्, ‘परिणामको मोह छोडेर धर्म र कर्तव्यका लागि पुनः दृढ भएर अघि बढ्नुपर्छ । निराशा त्यागेर कमजोरी समीक्षा, नयाँ रणनीति र संगठन गर्दै अर्को युद्धका लागि तयारी गर्नु नै सच्चा नेतृत्व हो ।’

‘तत्काल अधिवेशनको टुंगो लगाउनुपर्छ’

निर्वाचनमा कमजोर नतिजा ल्याएको कांग्रेस अब कसरी अगाडि बढ्नुपर्छ ? कांग्रेसबारे विद्यावारिधि गरेका प्रा.डा. गोविन्दमान सिंह कार्की भन्छन्, ‘अब कांग्रेसको अधिवेशन छिटो गर्नुपर्छ । विशेष महाधिवेशनले धेरै लामो समय थाम्ने अवस्था रहेन । पार्टी सभापति पराजित हुनुभएको छ । अब उहाँले तत्काल अधिवेशनको टुंगो लगाउनुपर्छ ।’

पार्टीको अधिवेशनबाट बढीभन्दा बढी युवालाई समेट्नु पर्ने र विशेष महाधिवेशनबाट चुनिएका नेताले नै नेतृत्व लिनुपर्ने उनको भनाइ छ । ‘अधिवेशनमा निःसन्देश नयाँ युवालाई नै बढीभन्दा बढी समेट्नु पर्छ । विशेष महाधिवशेनबाट आएकाहरूले नै पार्टीको नेतृत्व गर्दा राम्रो हुन्छ,’ कार्कीले भने ।

कार्कीले अधिवेशनको टुंगो लगाएर सभापतिका लागि उम्मेदवारी दिन थापालाई सुझाव दिए । ‘गगन थापाले अधिवेशनको टुंगो गरेर आफैं उम्मेदवारी दिनुपर्छ,’ उनले भने, ‘किनभने त्यो हैसियत र क्षमता भएको दोस्रो पुस्ताको नेता पार्टीमा अरू छैनन् । भोलिका दिनमा पार्टीलाई राम्रोसँग अगाडि लैजाने हो भने क्षमता भएको, सामर्थ्य भएको नेता भनेकै गगन थापा हो ।’

कार्कीले सभापति थापा सर्लाही–४ बाट पराजित भए पनि निराश बन्नपर्ने अवस्था नरहेको पनि जिकिर गरे । ‘सभापति निर्वाचनमा हारेर निराश बन्नु पर्ने अवस्था त्यस्तो केही छैन,’ उनले भने, ‘ अधिवशेन तत्काल गरेर पार्टीलाई नयाँ सभापतिका रूपमा हाँकेर गए निःसन्देह केही असहज परिस्थितिहरू कम हुँदै जान्छ ।’

राजनीतिक विश्लेषक कार्की आन्तरिक लोकतन्त्रलाई कांग्रेसमा सबैभन्दा ठूलो समस्याका रूपमा ब्याख्या गर्छन् । कांग्रेसले पार्टीको विधान पालना गर्दै आन्तरिक लोकतन्त्रसहित जनताको चाहना र भावनासँग तदम्यता मिलाएर जानुपर्ने उनको सुझाव छ ।

‘कांग्रेसमा सबैभन्दा ठूलो समस्या भनेको आन्तरिक लोकतन्त्र हो । हिजो भ्रातृ संगठनहरूको चुनावै नहुने अवस्था थियो, अब चुनाव गर्नुपर्छ । पार्टीलाई विधान सम्मत रूपले अगाडि बढाउनुपर्छ,’ कार्कीले भने, ‘पार्टी विधानको राम्रोसँग पालना गर्ने, आन्तरिक लोकतन्त्रसहित अगाडि बढाउने, जनताका चाहना–भावनासँग पनि तदम्यता गरेर जानुपर्छ । यसो गर्‍यो भने कांग्रेस क्रमशः राम्रो सँग जान्छ ।’

चुनावी समीक्षा कहिले ?

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एकसाता बितिसक्दा पनि कांग्रेसले चुनावी पराजयको समीक्षा गरेको छैन । उसले चुनावी समीक्षाका लागि केन्द्रीय कार्यसमिति बैठकसमेत बोलाउन सकेको छैन ।

कांग्रेसको केन्द्रीय कार्यासमिति बैठक बस्ने मिति र बैठकले गर्ने निर्णय कांग्रेसका नेता–कार्यकर्ताहरूका लागि प्रतीक्षाको विषय बनेको छ । महामन्त्री प्रदीप पौडेलले अनलाइनखबरको जिज्ञासामा पार्टीको केन्द्रीय कार्यसमिति बैठक छिट्टै बस्ने प्रतिक्रया दिए ।

‘मतगणना सम्पन्न भएको छ । समीक्षात्मक बैठक एकदम छिटो हुन्छ,’ उनले भने । महामन्त्री पौडेलले पदाधिकारीहरूका बीचमा छलफल भइरहेको पनि बताए ।

कांग्रेस प्रवक्ता देवराज चालिसे पनि समीक्षात्मक बैठकका लागि छलफल चलिरहेको प्रतिक्रिया दिए । उनले चैत महिनाको पहिलो साताभित्रै कांग्रेसले चुनावी समीक्षा गर्ने बताए ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारहरू खडा गरेको थियो । जसमध्ये प्रत्यक्षतर्फ १८ जनामात्रै निर्वाचित भएका छन् ।

कांग्रेसमा कोशी प्रदेशबाट चार, मधेश प्रदेशबाट एक, गण्डकी प्रदेशबाट दुई, बागमती प्रदेशबाट एक, लुम्बिनी प्रदेशबाट दुई, कर्णाली प्रदेशबाट पाँच र सुदूरपश्चिम प्रदेशबाट तीन जना उम्मेदवार विजयी भएका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?