+
+
Shares
निर्वाचन २०८२ फिचर :

चुनावमा जनताले नपत्याएका उद्योगी-व्यवसायी

यसपालि चुनावमा ठूला भनिएका र आर्थिक रूपमा शक्तिशाली मानिएका धेरै उद्योगी-व्यवसायीहरूले मतदाताको मन जित्न सकेनन् ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ फागुन २५ गते १४:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा धेरै सफल उद्योगी र व्यवसायीहरूले मतदाताको साथ पाउन सकेनन्।
  • नेपाली कांग्रेसका डलर अर्बपति विनोद चौधरी ३५ हजार मतान्तरले पराजित भएका छन्।
  • धादिङ, रुपन्देही, पर्सा लगायतका क्षेत्रका व्यवसायी उम्मेदवारहरू पनि विभिन्न दलका प्रतिद्वन्द्वीसँग पराजित भएका छन्।

२५ फागुन, काठमाडौं । नेपाली राजनीतिको एउटा विशेषता बन्दै गएको छ- सफल उद्योगी र व्यवसायीहरूको सक्रिय राजनीतिमा प्रवेश । २१ फागुनमा सम्पन्न प्रतिनिनधिसभा निर्वाचनमा पनि यो प्रवृत्ति स्पष्ट देखियो ।

आर्थिक क्षेत्रमा आफ्नो दरिलो पहिचान बनाएका र मुलुकको अर्थतन्त्र चलायमान बनाउन भूमिका खेलेका दर्जनौं ‘कर्पोरेट’ अनुहारहरू यसपालि विभिन्न राजनीतिक दलको झन्डा बोकेर प्रत्यक्षतर्फबाट चुनावी मैदानमा उत्रिएका थिए ।

तर, यसपालि चुनावमा ठूला भनिएका र आर्थिक रूपमा शक्तिशाली मानिएका धेरै उद्योगी-व्यवसायीहरूले मतदाताको मन जित्न सकेनन् ।

नेपालका एकमात्र डलर अर्बपति उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसका तर्फबाट नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए । अघिल्लो निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

तर, यसपालि भने उनलाई मतदाताले साथ दिएनन् । उनले ३५ हजार मतान्तरले हारे । चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम खनालसँग पराजित भए । रास्वपाका खनालले ४५ हजार २ सय ४१ मत पाउँदा चौधरीले ९ हजार ५ सय २ मतमै चित्त बुझाए ।

यस्तै धादिङ क्षेत्र नम्बर २ मा कांग्रेसबाट पर्यटन व्यवसायी रमेशप्रसाद धमला उम्मेदवार थिए । उनी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष पनि हुन् । पहिलो पटक निर्वाचनमा होमिएका उनलाई रास्वपाका बोधनारायण श्रेष्ठले हराए ।

श्रेष्ठले २६ हजार १ सय ४३ मत ल्याएर निर्वाचित हुँदा धमलाले २० हजार २ सय ७७ मत ल्याए । निर्वाचित श्रेष्ठ र धमलाबीचको मतान्तर ५ हजार ८ सय ६५ छ ।

त्यस्तै रुपन्देही क्षेत्र नम्बर २ मा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेल कांग्रेसबाट उम्मेदवार बनेका थिए । सोना प्याकेजिङ तथा होटल स्याफ्रोनका अध्यक्ष समेत रहेका उनी रास्वपाका उम्मेदवार सुलभ खरेलसँग पराजित भए ।

खरेलले ५६ हजार ५ सय ५० मत पाएर निर्वाचित हुँदा पौडेलले ९ हजार ३ सय ९२ मत मात्रै ल्याए ।

यस्तै पर्सा क्षेत्र नम्बर-१ बाट कांग्रेस उम्मेदवार उद्योगी अनिलकुमार रुँगटा पनि पराजित भएका छन् । उनी जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक हुन् ।

रुँगटा पनि रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्त (हरि) सँग पराजित भए । पन्तले २७ हजार २ सय ७४ मत प्राप्त गर्दा रुँगटाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् ।

यसैगरी कपिलवस्तु क्षेत्र नम्बर ३ मा कांग्रेस त्यागेर एमालेबाट  व्यवसायी वीरेन्द्रप्रसाद कनौडिया उम्मेदवार बनेका थिए । उनी लुम्बिनी सुगर मिल्सका अध्यक्ष पनि हुन् । साथै, उनको अन्य उद्योग तथा व्यवसायमा पनि लगानी छ ।

कनौडिया कपिलवस्तु-३ मा कांग्रेसका अभिषेकप्रताप शाहसँग पराजित भए । शाह २३ हजार ५ सय ३५ मत ल्याएर विजयी हुँदा एमालेका कनोडियाले १४ हजार ७ सय ६३ मत ल्याए ।

कांग्रेसले झापा क्षेत्र नम्बर ३ मा नेपाल अलैँची व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाएको थियो ।

घिमिरे पनि रास्वपाका उम्मेदवार प्रकाश पाठकसँग पराजित भएका छन् । उनले ८ हजार १ सय १९ मत मात्रै पाएका छन् । पाठकले ३८ हजार ६ सय ७४ मत ल्याएका छन् ।

यस्तै पर्यटन व्यवसायी तथा पर्यटन बोर्डका पूर्वसदस्य कृष्ण रिजाल पनि धादिङ क्षेत्र नम्बर १ मा कांगे्रसबाट उम्मेदवार थिए । धादिङ–१ मा रास्वपाकी आशिका तामाङ विजयी भएकी छिन् । तामाङले ३९ हजार १ सय २८ पाइन् । रिजालको मत १० हजार ८० मात्रै छ ।

यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट काठमाडौं-८ को उम्मेदवार बनेका थिए व्यवसायी सुमन सायमी । उनी नेपालकै पुरानोमध्येको मिठाई पसल कालीमाटीस्थित ‘स्विट केभ’ का सञ्चालक हुन् ।

उनी रास्वपाका विराजभक्त श्रेष्ठसँग पराजित भए । श्रेष्ठले २४ हजार ५ सय ९२ मत ल्याउँदा सायमीले ३ हजार २ सय १७ मत पाए । सायमीको जमानत जफत भएको छ ।

यसैगरी राइड सेयरिङ एप ‘पठाओ’ का सञ्चालक असिममानसिंह बस्न्यातले काठमाडौं क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, उनलाई ५० मतदाताले मात्र पत्याए ।

त्यस्तै कैलाली-२ मा कांग्रेसका उम्मेदवार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष विजयबहादुर स्वाँर रास्वपाका केपी खनालसँग पराजित भए ।

ऊर्जा तथा मेडिकल व्यवसायी डा. सुनिलकुमार शर्मा मोरङ-३ मा पराजित भए । मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीका पूर्वअध्यक्ष भरतराज ढकाल स्याङ्जा-१ मा पराजित भए ।

यसैगरी घरजग्गा व्यवसायी प्रेमबहादुर खत्री गोरखा-१ मा पराजित भए । म्यानपावर व्यवसायी तिलक रानाभाट पनि पराजित भएका छन् । भन्सार एजेन्ट तथा व्यवसायी केशव पाण्डेले हार बेहोरे ।

गुल्मी-२ मा व्यवसायी भुवन श्रेष्ठ, धनुषा-२ मा व्यवसायी उमाशंकर अरगरिया र उद्योगपति दीलिप अग्रवाल मोरङ-२ मा पराजित भए ।

त्यसैगरी पूर्वबैंकर मिनबहादुर गुरुङ स्याङ्जा-१, मनाङमा व्यवसायी छोपाङ गुरुङ र मोरङ-५ मा व्यवसायी मनोज अग्रवाल यसपालि चुनावमा असफल भए ।

दुग्ध व्यवसायी रामचन्द्र उप्रेती झापा-१, स्याङ्जा-२ मा व्यवसायी खिम थापा, झापा-४ मा म्यानपावर व्यवसायी एलपी साँवा लिम्बू, नवलपुर-१ मा उद्योगी भगिरथ सापकोटा र काभ्रे-१ मा पर्यटन व्यवसायी अमित लामा पराजित भए ।

यसैगरी बारा-४ मा उद्योगी किसान श्रेष्ठ, सिराहा-४ मा व्यवसायी डा. वीरेन्द्रप्रसाद महतो, स्याङ्जा-२ मा यातायात व्यवसायी भागवत मल्ल र पर्यटन व्यवसायी ज्योत्सना सैँजु काभ्रे-२ मा पराजित भए ।

म्यानपावर व्यवसायीहरू किरणकिशोर घिमिरे दाङ-२ र रनबहादुर राई इलाम-१, ऊर्जा व्यवसायी पार्वत गुरुङ दोलखा, पूर्वबैंकर झपट बोहरा अछाम-१ र काठ व्यवसायी प्रेमबहादुर आले कैलाली-५ मा  पराजित भए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?