News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले आफ्ना आमाबुबालाई लिएर समुद्रपारको रामेश्वरम धामको तीर्थयात्रामा निस्कँदै जीवनका मौन कर्तव्य पूरा गर्न खोजेका थिए।
- यात्रामा आमाबुबाले जहाज, विमानस्थल र नयाँ भाषा अनुभव गर्दा छोरोप्रति पूर्ण विश्वास देखाएका थिए।
- रामेश्वरमको समुद्र, मन्दिर र स्थानीय जीवनशैलीले आमाबुबालाई गहिरो आध्यात्मिक शान्ति र खुशी दिएको थियो।
कहिलेकाहीँ यात्राहरू केवल ठाउँ बदल्नका लागि हुँदैनन् । ती यात्राहरू सम्बन्धको गहिराइ महसुस गर्न र जीवनका केही मौन कर्तव्य पूरा गर्नका लागि पनि हुन्छन् । जीवनभर खेत, माटो, गाईभैँसी र मौसमसँगै बाँच्नुभएका मेरा आमाबुबालाई लिएर म त्यस्तै एउटा यात्रामा निस्कँदै थिएँ-समुद्रपारको एउटा टापुतिर, चारधाममध्ये एक धाम, रामेश्वरमतिर । यो केवल तीर्थयात्रा मात्र थिएन । सायद एउटा छोराले आफ्ना बाबुआमालाई संसारको अर्को पाटो देखाउन खोजेको सानो तर गहिरो प्रयास पनि थियो ।
विराटनगरबाट आफ्नै गाडीले काकडभिट्टा पुगियो। त्यहाँबाट एउटा भ्यानले बागडोगरा विमानस्थल । विमानस्थलमा पुग्दा आमाबुबाको अनुहारमा हल्का कौतुहल चम्किरहेको थियो । बुबा सधैँजस्तो शान्त, तर आँखामा केही उत्सुकता झल्किरहेको थियो । यात्रा लामो थियो, तर उहाँहरूको विश्वासले मेरो मनमा सहजता ल्याएको थियो । बोर्डिङ पास, सुरक्षा जाँच, झन्झटपूर्ण अनाउन्समेन्टहरू मेरा लागि नयाँ थिएनन् । आमाबुबाका लागि चाहिँ सबै नयाँ थियो । तैपनि उहाँहरूले कहिल्यै प्रश्न नगरी मेरा पछाडि हिँड्नुभयो । साथमा छोरो छ भन्ने विश्वास नै सायद उहाँहरूका लागि यस यात्राको सबैभन्दा ठूलो टिकट थियो ।
जहाजको ढोका बन्द भयो । करिब दुई सय पचास यात्रु अट्ने विशाल जहाज रनवेमा दौडियो । केही क्षणमै हामी जमिन छोडेर आकाशमा उचालियौँ । झ्यालबाट बाहिर हेरें-नेपालको हो कि भारतको खेत, घर, नदी सबै साना बिन्दुजस्ता देखिन थाले । बुबा झ्यालबाहिर हेर्दै बसिरहनुभयो । केहीबेरपछि उहाँले बिस्तारै भन्नुभयो, ‘बादलको नजिक पुग्नै लाग्यौ ।’ उहाँको आवाजमा बालसुलभ आश्चर्य मिसिएको थियो ।
केही मिनेटमै जहाज बादलको तह चिर्दै माथि पुग्यो । सेता, बाक्ला बादलको समुद्र फैलिएको थियो । त्यो दृश्यले मेरो मन अचम्म र सुखद अनुभूतिको मिश्रणले भरियो । आमाले मेरो हात समात्नुभयो र मुस्कुराउँदै भन्नुभयो, ‘यहाँ त आकाश माटोजस्तो देखिन्छ ।’ म मुस्कुराएँ, तर शब्दहरू बन्दै र हे। २ घण्टा ५० मिनेटको हवाई यात्रा यसपटक पट्यार लाग्दो भएन ।
चेन्नई विमानस्थलमा उत्रँदा अर्को अनुभव हाम्रो प्रतीक्षामा थियो । एउटा टर्मिनलबाट अर्को टर्मिनलसम्मको दूरी, बोर्डिङ पास र सुरक्षा जाँच, घोषणाहरू-यी सबै आमाबुबाका लागि नयाँ थिए । भाषा फरक थियो । शब्द बुझिँदैनथे, तर भाव बुझिन्थ्यो । अंग्रेजी बोल्नुपर्दा बुबाको आँखामा गर्वको भाव महसुस भयो । आमाले सोध्नुभयो, ‘यहाँ सबैले किन यति छिटो बोल्छन् ?’ म मुस्कुराएँ मात्र । उहाँहरूको आँखामा पूर्ण विश्वास थियो -‘छोरोसँग छौँ, सबै ठीक हुन्छ ।’ अनि हामी बिराटनगर–काठमाडौँ जस्तै ७२ सिटे जहाजमा चढ्यौँ, मदुरैका लागि ।
दक्षिण भारतको गर्मीले स्वागत गर्यो । साँझको आठ बजिसकेको थियो, तर सहर अझै जागै थियो । सडकमा हिँड्दा अनौठा दृश्यहरू देखिन्थे—धेरै मानिसहरू खाली खुट्टा हिँडिरहेका, पुरुषहरू कम्मरमा लुङ्गी बाँधेर सहरका काममा अबेर रातसम्म व्यस्त। छालाको रङ गाढा, तर सर्टको रङ सेतो । साधारण तर अनुशासित । आमा बिस्तारै भन्नुभयो, ‘मानिस कति सजिलै मौसमसँग मिलेर बस्दो रहेछ ।’
हामी सीधै मीनाक्षी अम्मन मन्दिर पुग्यौँ । प्रवेशद्वारको रंगीन गोपुरम देख्दा आमाको आँखामा चमक थियो, बुबाको अनुहारमा शान्त मुस्कान । झन्डै ३३ हजार मूर्तिहरूले भरिएको त्यो मन्दिर दृश्यभन्दा बढी महत्वपूर्ण बन्यो—आमाबुबाको खुशी र आश्चर्य । आमाले देखाउँदै भन्नुभयो, ‘हेर्नु, कति सुन्दर !’ भन्ने आवाज मलाई सम्झनामा अमिट रह्यो । भोलिपल्ट हाम्रो यात्रा रामेश्वरमतिर लाग्यो । समुद्रको किनारैमा रेल यात्रा—बिस्तारै बढ्दो गतिको आनन्द शब्दमा व्यक्त गर्न गाह्रो छ । समुद्रको हावा झ्यालबाट भित्र पसिरहेको थियो । बुबाले शान्त स्वरमा भन्नुभयो, ‘समुद्रसँगै रेलको अनुभव पनि जीवनमै रमाइलो रहेछ ।’
रामेश्वरम पुग्दा समुद्रको किनारैमा फैलिएको सुनौलो बालुवामा पाइला राख्दा एकदम फरक अनुभूति भयो । समुद्रको हावा छालसँगै खेलिरहेको थियो, सूर्य अस्ताउँदै गर्दा पानीमा सुनौलो रङ बुनिएको थियो । म आमाबुबासँगै बालुवामा हिँड्दै, एकअर्कातिर हाँस्दै र अनुभव साट्दै थिएँ । त्यहाँ स्थानीय जीवनशैली थप रोचक लाग्यो । धेरै मुस्लिम परिवारहरूले पनि साकाहारी खाना प्राथमिकता दिन्थे । जन्मले मुस्लिम, तर जीवनशैलीमा सादगी, अनुशासन र आध्यात्मिकता । यही भूमिमा जन्मिएका वैज्ञानिक तथा पूर्वराष्ट्रपति ए.पी.जे. अब्दुल कलामको जीवन पनि त्यस्तै सरल थियो । बुबाले भन्नुभयो, ‘धर्मभन्दा ठूलो कुरा त कर्म हो ।’ त्यो वाक्यले यात्रालाई अझ गहिरो अर्थ दियो । दक्षिण भारतको खाना स्वादिष्ट, हल्का र स्वास्थ्यकर लाग्यो-इड्ली, डोसा, सांभर, नारिवलको चटनी… यी सबै साकाहारी । आमाबुबा दुवै साकाहारी भएकाले खानाले उहाँहरूको अनुहारमा थप खुशी थप्यो । आमाले मुस्कुराउँदै भन्नुभयो, ‘यहाँ त हाम्रो लागि खाना खोज्न गाह्रो भएन ।’
तेस्रो दिन बिहान ४ बजे नै मन्दिरको परिसरमा प्रवेश गर्दा अद्भुत शान्ति महसुस भयो । लुङ्गी लगाएका मानिसहरू, खाली खुट्टा हिँड्ने भक्तजन र हल्का समुद्री हावा—यी सबैले प्राकृतिक र आध्यात्मिक वातावरण सिर्जना गरेको थियो । आमाले बुबाको हात समातेर मन्दिरतर्फ हिँड्नुभयो । बुबाको मुखले केही बोलेनन्, तर आँखामा शान्ति र प्रसन्नता थियो । आमाबुबासँग त्यो अनुभव मेरो लागि अमूल्य रह्यो। समुद्र, मन्दिर र स्थानीय जीवनशैलीको यो मिश्रणले रामेश्वरमलाई साँच्चिकै सम्झनायोग्य बनायो ।
फेरि राति नै बेंगलोरका लागि रामेश्वरमलाई विदाई गर्यौँ । चौथो दिन इस्कन मन्दिर र ओरियन मल घुम्यौँ । नेपालमा भाटभटेनीसम्म मात्र देखेका आमाबुबाका लागि त्यो विशाल कम्प्लेक्स कुनै सहरभन्दा कम थिएन । त्यस भव्यताभित्र उहाँहरूको खुशी पनि विशाल, निजी र अमूल्य थियो—एक मात्र सन्तानसँग अनुभव गरिएको खुशी ।
अन्ततः पाँचौँ दिन बागडोगरा हुँदै नेपाल फर्कियौँ । विराटनगर आइपुग्दा रात परिसकेको थियो । घरको खाना खाएर सुत्दा पनि मनमा त्यो यात्रा पुनर्जीवित भइरहेको थियो । अर्को बिहान फेरि उही हल्का कुहिरो । तर यो कुहिरो पहिले जस्तो थिएन । केही दिनअघि यही कुहिरोभित्रबाट निस्केर म आफ्ना आमाबुबालाई समुद्रपारको एउटा टापुमा लिएर गएको थिएँ । अहिले यो कुहिरोमा रामेश्वरमको मात्र होइन, आमाबुबाको थप न्यानोपन महसुस गरेँ । सायद यात्राले संसार मात्र देखाउँदैन। कहिलेकाहीँ यसले छोरोले आफ्ना बाबुआमाप्रति निभाउन चाहेको मौन कर्तव्य पनि पूरा गरिदिन्छ ।
प्रतिक्रिया 4