२४ फागुन, काठमाडौं । ओखलढुंगाको मतपरिणामप्रति नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले प्रश्न उठाएका छन् ।
५ मतले हारजित भएको ओखलढुंगामा मुचुल्काभन्दा १८६ मत कम भेटिएको भन्दै कांग्रेस लुइँटेलले निर्वाचन आयोगले घोषणा गरेको मतपरिणामप्रति प्रश्न उठाएका हुन् ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेललाई निर्वाचन अधिकृतको कार्यालयले विजयी घोषणा गर्दै प्रमाणपत्र समेत दिइसकेको छ ।
तर कांग्रेसका उम्मेदवार लुइँटेल भने उक्त मतपरिणामप्रति प्रश्न उठाउँदै कानुनी उपचारमा जाने तयारी गरिरहेका छन् ।
‘२१ फागुनमा खसेको मत र अहिले गणना सकिँदा जम्मा मत जोड्दा मत कम पाइयो । विजेता घोषणा गरेर प्रतिस्पर्धी उम्मेदवारलाई प्रमाणपत्र दिइसकेको अवस्था छ,’ कांग्रेस उम्मेदवार लुइँटेलले अनलाइनखबरसँग भने, ‘के गर्ने भनेर हामी छलफलमै छौं ।’
झिनै मतले विजेता घोषणा भएका कारण आशंका उत्पन्न भएको ओखलढुंगा कांग्रेसका नेताहरूले बताएका छन् ।
२१ फागुनमा यस क्षेत्रमा ५९ हजार ७७ मत खसेको थियो । मतदान सकिएपछि मतेपेटिका संकलन गर्नुअघि गरिएको मुचुल्कामा ५९ हजार ७७ मतदान भएको उल्लेख छ ।
आइतबार मतगणना सकिँदा भने सदर र बदर मत जोड्दा ५८ हजार ८९१ मात्र मत पाइएको कांग्रेस उम्मेदवार लुइँटेलको दाबी छ ।
मुचुल्काभन्दा एक सय ८६ कम मत पाइएपछि आशंका उत्पन्न भएको उनले बताए ।
ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले भने दलका प्रतिनिधिहरूकै अगाडि रुजु गरेर मतगणना गरिएका कारण कुनै गडबढी नरहेको बताए ।
उनले भने, ‘मतपरिणाम घोषणा भइसकेको छ । यसमा चित्त नबुझे कानुनी उपचारमा जान सकिन्छ ।’
आयोगका अनुसार मोलुङबाट ६ हजार ७७५, चिसंखुगढीबाट पाँच हजार ४८३, खिजीदेम्बाबाट पाँच हजार ६८६, सिद्धिचरण नगरपालिकाबाट ११ हजार ५०४ मत खसेको थियो ।
यसैगरी लिखुबाट ६ हजार ४१६, चम्पादेवीबाट ७ हजार ४४९, सुनकोशीबाट ७ हजार ८४४ र मानेमञ्ज्याङबा६ ७ हजार ९२० मत खसेको थियो ।
प्रतिक्रिया 4